एकै वर्षमा डबलभन्दा बढी पुँजी वृद्धि गर्न सजिलो छैन

  २०७८ चैत १४ गते ९:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्र दवावमा छ । नियामक निकाय बीमा समितिले एकैपटक साढे २ गुणाले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुलाई दवाव परेको हो ।

हाल २ अर्ब रुपैयाँ पुँजी भएकालाई ५ अर्ब र एक अर्ब पुँजी भएका कम्पनीलाई साढे २ अर्बको चुक्ता पुँजी पुर्याउन समितिको निर्देशन छ । जसको लागि कम्पनीहरुले के कसरी बढाउन सकिन्छ भन्ने योजना एकमहिना भित्रै नियामक निकाय समितिमा पेश गर्नुपर्ने छ ।

नयाँ व्यवस्था अनुसार अधिकांश कम्पनीहरुलाई गाह्रो हुने देखिएको छ । निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरुलाई तोकिएको समयमा पुँजी पुर्याउन असज हुने जानकारहरु बताउँछन् ।

निर्जीवन बीमा कम्पनीहरुको छाता संघठन बीमक संघका अध्यक्ष चंकी क्षेत्री पुँजी वृद्धिको लागि कम्पनीहरुलाई दुई वटा मात्रै विकल्प रहेको बताउँछन् । उनका अनुसार एउटा मर्जर र अर्को बोनस तथा हकप्रद सेयर जारी गर्ने बाहेक पुँजी बढाउने अन्य कुनै विकल्प छैन ।

‘हामी (संघ) ले देखेको अनुसार पुँजी बढाउनको लागि की त मर्जरमा जानुपर्छ की बोनस सेयर वितरण गरेर बाँकी रहेको हकप्रद नै जारी गर्नुपर्छ, अरु त अप्सन नै छैन,’ सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले भने ।

मर्जरमा जान नचाहने कम्पनीहरुले बोनस र हकप्रदबाट नै जारी गरेर तोकिएको न्युनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्छ । तर अहिलेको व्यवस्था अनुसार पनि कम पुँजी भएका कम्पनीहरुलाई बोनस र हकप्रदले मात्र पुँजी वृद्धि नहुने र मर्जरमा जानै पर्ने बाध्यकारी व्यवस्था आउन सक्ने अध्यक्ष क्षेत्री बताउँछन् ।

समितिले कम्पनीहरुलाई एक वर्षभित्र तोकिएको न्यूनतम पुँजी बढाउन निर्देशन दिएको छ । जुन समय एकदमै सीमित रहेको संघका अध्यक्ष क्षेत्री बताउँछन् । साथै, समितिले मर्जरलाई प्राथमिकतामा राखेर पुँजी वृद्धिको निर्णय गरेको हुन सक्ने उनको भनाई छ ।

‘समितिले पुँजी बढाउनुको मूख्य उद्देश्य कम्पनीहरुलाई मर्ज गराउनु जस्तो लाग्छ, यो मिल्यो भने राम्रो हो, कम्पनीहरुको संख्या घट्छ, सिनर्जी आउँछ, म्यानपावरको समस्या समाधान हुन्छ, हालको अस्वस्थ प्रतिस्पर्धा कम हुन्छ, त्यसैले यो सकारात्मक नै हो, अब मर्ज हुन सकेनन् भने हकप्रद नै हो,’ आफ्नो धारणा व्यक्त गर्दै क्षेत्रीले विकासन्युजसँग भने ।

यता जीवन बीमा कम्पनीको छातासंगठन नेपाल बीमक संघले ठूला र साना दुबैलाई एउटै लेभलको पुँजी वृद्धि गर्न असज हुने बताएको छ । उनीहरुलाई एउटै लेभलको क्यापिटलभन्दा पनि रिक्स बेस क्यापिटलको आधारमा व्यवस्था भईदिएको भए राम्रो हुने संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ बताउँछन् ।

‘सञ्चालनमा रहेका सबै जीवन कम्पनीहरु एकनासका छैनन्, कति पुराना छन्, भने कति भर्खर सञ्चालनमा आएका छन् त कति अझै पनि पब्लिकमा गएका छैनन्, त्यसैले सबैलाई एउटै पुँजी भन्दा पनि रिक्स बेस क्यापिटलमा नै गएको भए राम्रो हुने थियो,’ आफ्नो व्यक्तिगत धारणा राख्दै उनले भने ।

उनका अनुसार जीवन बीमा कम्पनीहरु पुँजी बढाउनको लागि अब रिक्स बेस क्यापिटलमै जानु पर्ने देखिन्छ । ठूला कम्पनीले त ठूलो क्यापिटल अफोर्ड गर्न सक्लान्, तर भर्खर खुलेका साना कम्पनीको हकमा त्यो सम्भव नहुने उनको भनाई छ । एउटै क्यापिटल कार्यान्वयन धेरै कम्पनीहरुलाई असहज हुन्छ ।

त्यस्तै, अब आईपीओ निकाल्न बाँकी रहेका कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने प्रकृयामा जान दुई वटा अप्सन रहेको बताउँदै उनले भने- ‘पहिला आईपीओको प्रकृयामा गएर त्यसपछि कसरी पुँजी वृद्धि गराउने भन्नेमा जाने, अर्को, प्रमोटरहरुले पुँजी मिलाउने त्यसपछि मात्रै आईपीओको प्रकृयामा जाने, तर अहिले  नै यो गर्न सकिन्छ भन्न नसकिँदैन ।’

पुँजी वृद्धिको योजना पेश गर्ने एक महिनाको समयसीमा भएकाले त्यो समयसम्ममा सबै कम्पनीको संस्थापक र सञ्चालक समितिसँग छलफल भइसकेर के गर्ने भन्ने निर्णय आइसक्ने उनले बताए ।

‘कसरी पुँजी वृद्धि गराउने भनेर प्लान दिनको लागि एक महिनाको समय ठिकै हो, तर एकै वर्षमा डबलभन्दा बढी पुँजी वृद्धि गर्नलाई त्यति सजिलो छैन, अब कसरी गर्न सकिन्छ भन्नेमा सञ्चालक तथा प्रमोटरहरुसँग थप डिस्कसन होला, त्यहि अनुसार समितिमा प्लान तथा प्रपोजल जाला,’ उनले भने ।

तर, पुँजी वृद्धिको विषयमा कम्पनीहरुको संस्थापकहरुसँग छलफल नै भएपनि एउटै डिसिजन आउन भने गाह्रो हुने पनि उनको भनाई छ । ‘नियामकले गरेको नयाँ व्यवस्थामा प्रमोटरहरुले लगानी गर्ने विषय हो, कम्पनीहरुको प्रमोटरहरुसँग छलफल भएपछि मात्रै के गर्ने भन्ने निष्कर्ष आउँछ, हाल भने प्रमोटरहरुसँग छलफल भइसकेको छैन, तर छलफल नै भएपनि सबै प्रमोटरबाट एउटै डिसिजन आउन गाह्रो हुन्छ,’ मेटलाइफका सीईओ समेत रहेका श्रेष्ठले बताए ।

यता बीमा समितिले भने हकप्रद जारी गर्छु भन्ने प्रस्तावलाई कडाई गरिने बताएको छ । कम्पनीको संख्या बढी भएकोले घटाउने उद्देश्यले नै चुक्ता पुँजी बढाइएको प्रष्ट पार्दै हकप्रद जारी गर्छु भन्ने प्रस्तावलाई कडाईका साथ हेरिने बीमा समितिका एक अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार

बीमा कम्पनीहरु मर्जर/एक्वीजीसनमा जानै पर्ने, हकप्रद जारी गरेर मात्रै पुँजी पुर्‍याउन नदिइने

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन

निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित)

आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ?

जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.