इच्छाराज तामाङमाथिको अनुसन्धान सक्यो सीआईबीले, सहकारीको रकम २१ ‘डमी’ कम्पनीमा

  २०७८ मंसिर ९ गते १०:३६     विकासन्युज

काठमाडौं । सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङमाथिको अनुसन्धान करिब सकिएको छ । तामाङमाथि लागेका आरोपको अनुसन्धान करिब सकिएकोले सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को छ ।

सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले तामाङलाई गत असोज १८ गते पक्राउ गरेको थियो । बैंकिङ कसुरको अभियोग लागेका व्यक्तिलाई बढीमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

कानुनले तोकेको म्यादभित्रै अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी भएको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

सिभिल बैंकको संचालक समिति अध्यक्ष समेत रहेका तामाङले सहकारीको ५ अर्ब ६३ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको पुष्टी भएको सीआईबीले जानकारी दिएको छ । सीआईबीले पक्राउ गरेपछि सिभिल बैंक संचालक समितिले उनलाई पदबाट हटार प्रतापजंग पाण्डेलाई अध्यक्ष बनाइसकेको छ ।

तामाङले सिभिल सहकारीमा राखेको आफ्नो बचत रकम हिनामिना गरिदिए भन्दै १४ सय ८७ जनाले सीआईबीमा जाहेरी दिएका छन् । सीआईबीले तामाङसहित १२ जनालाई असोज १८ गते काठमाडौबाट पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

भेटियो सहकारीको रकम

सीआईबीको सबैभन्दा टाउको दुखाईको विषय बनेको थियो– तामाङले सहकारीबाट लगेको रकम कहाँ लगानी गरेका छन् भन्ने । उनले आफ्नै करिब एकल स्वामित्वको सिभिल होम्समा सहकारीबाट लगेको ८० प्रतिशत जति रकम लगानी गरेको देखिए पनि सिभिल होम्सका घर विक्री गरेर आएको रकम कहाँ लगानी गरेका छन् भन्ने पत्ता लगाउन सीआईबीलाई निकै गाह्रो भएको थियो ।

तर, अनुसन्धान गर्दै जादा तामाङले सहकारीबाट लगेको रकमले डमी कम्पनी खडा गरी त्यसको नाममा सम्पत्ति जोड्ने गरेको खुलेको छ । तामाङको अधिकांश स्वामित्व भएका २१ कम्पनी फेला परेको सीआईबीले जानकारी दिएको छ ।

‘सहकारीबाट लगेको रकम सिभिल होम्ससहित विभिन्न २१ वटा कम्पनीमा लगानी गरेको देखियो, ती कम्पनीमा तामाङको अधिकांश सेयर हिस्सा रहेछ, ती कम्पनीको पनि खोजविन गर्ने क्रममा सहकारीको रकम लगेर सम्पत्ति जोडिएको भेटियो,’ सीआईबीका एक अधिकारीले भने ।

सीआईबीका अनुसार तामाङले कानुनी रुपमा डिभोर्स गरेका श्रीमती सिर्जना तामाङको नाममा पनि सम्पत्ती जोडेको पाइएको छ । सिर्जनाको नाममा काठमाडौंको जोरपाटीमा ४१ रोपनी र किर्तिपुरमा ९ रोपनी जग्गा भेटिएको सीआईबीले जानकारी दियो ।

सम्बन्धित समाचार

८ अर्ब ऋण नतिरेपछि इच्छाराजको सीटीसी मल लिलाम हुँदै, ऋण तिर्न सञ्चय कोषको ३५ दिने म्याद

४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाएँ, घर बेच्दा घाटा लागेर पैसा सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.