इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाएँ, घर बेच्दा घाटा लागेर पैसा सकियो

  २०७८ कार्तिक ५ गते १७:५७     विकासन्युज

काठमाडौं । गत असोज १७ गते नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा सहकारी विभागले पठाएको एउटा पत्र दर्ता भयो ।

पत्रको आशय थियो– सिभिल सहकारीमा संस्थापक अध्यक्ष इच्छाराज तामाङ र उनको समुहले रकम हिनामिना गरेर ठगी गरेका छन्, उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्यो ।

विभागको पत्र पाउनुभन्दा निकै अघिदेखि नेपाल प्रहरी र सीआईबीलाई तामाङ र उनको समुहले सहकारीमा जम्मा भएको बचत हिनामिना गरेकोले उनीहरुलाई कारबाही गरी रकम फिर्ता गराई पाउँ भन्ने अनुरोध धेरै नै आउने गरेका थिए । तर, प्रहरीलाई समस्या थियो । समस्या के थियो भने सहकारी वा बैंक वित्तीय संस्थामा भएको रकम हिनामिनाको मुद्दा प्रहरीले सोझै हेर्ने मिल्दैनथ्यो ।

सीआईबीले सहकारी वा बैंक वित्तीय संस्थामा भएको अपचलन, हिनामिनाको अनुसन्धान गर्न कि त सम्बन्धित नियामक (नेपाल राष्ट्र बैंक वा सहकारी विभाग) ले पत्राचार गर्नुपर्ने हुन्थ्यो कि त सम्बन्धित मन्त्रालयले पत्राचार गरेको हुनुपथ्र्याे । तर, नेपाल राष्ट्र बैंक, सहकारी विभाग वा अर्थमन्त्रालय, सहकारी मन्त्रालय कसैले पनि सीआईबीलाई यस्तो पत्र लेखेकै थिएनन् ।

बचतकर्ता भनिरहेका थिए– प्रहरीले सत्ताको आडमा हाम्रो रकम ठग्ने तामाङलाई कारबाही गरेन । जबकि सहकारी विभागको असक्षमताको अपजस सीआईबीले बोकेर हिड्नु परिरहेको थियो ।

असोज १७ गते पत्र दर्ता हुने वित्तिकै सीआईबीले त्यसको भोलिपल्ट अर्थात असोज १८ गते नै तामाङ सहित सहकारीमा आवद्ध १२ जनालाई पक्राउ गर्यो ।

सीआईबीले पक्राउ परेका १२ जनाबारे असोज १९ गते विस्तृत जानकारी दियो । उनीहरुलाई सिभिल सहकारीका १३७ जना बचतकर्ताको ७० करोड ८७ लाख १३ हजार रुपैयाँ हिनामिना गरेकोले सहकारी ऐन २०७४ को दफा १२२ अनुसार कसुर गरेको अभियोगमा पक्राउ गरिएको सीआईबीले जानकारी दियो ।

सीआईबीले तामाङ सहित पक्राउ गरेका १२ जनामाथि अनुसन्धान गर्दै जादाँ उनी र उनको समुहले ठगी गरेका भनिने व्यक्तिहरु थपिदै गए । अहिलेसम्म तामाङ विरुद्ध ११२६ जनाले जाहेरी दिएको र उनले ४ अर्ब ६१ करोड २५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

‘जाहेरी दिनेको संख्या थपिदैछ, हिनामिना भएको रकम पनि बढ्दै गएको छ, प्रत्येक दिन पीडित र रकम बढिरहेको छ,’ सीआईबी प्रवक्ता महतोले विकासन्युजसँग भने ।

तामाङ बनाएका थिए २२ कम्पनी

तामाङले आफ्नो व्यवसायिक साम्राज्य तयार पार्न २२ कम्पनी बनाएका थिए । यी प्राय सबै कम्पनीमा तामाङको नै अधिकांश स्वामित्व थियो । यसमध्ये बढी रकम चलाउने कम्पनीहरुमा सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्ट र सिभिल बिजनेस कम्प्लेक्स थिए । तर, सिभिल सहकारीको बढी रकम भने सिभिल होम्सले नै चलाएको पाइएको छ ।

कहाँ गयो पैसा ?

तामाङ विरुद्ध अनुसन्धान गर्दै जाँदा अहिले प्रहरी एउटा गम्भीर प्रश्नको वरिपरी रुमल्लिएको छ । प्रश्न हो– अहिले जाहेरी नै परिसकेको ४ अर्ब ६१ करोड र सहकारीको बाँकी रकम कहाँ गयो ?

सीआईबीले यो प्रश्न तामाङसँग बयानको क्रममा पनि गरेको छ । तर, तामाङले दिएको जवाफले सीआईबीको अनुसन्धान टोली सन्तुष्ट हुन सकिरहेको छैन ।

‘सहकारीको धेरै पैसा सिभिल होम्समा गएको देखियो, सिभिल होम्सका धेरै घरहरु विक्री भएका देखिए, बेच्न बाँकी धेरै देखिएका छैनन्, अन्य धेरै सम्पत्ति पनि छैन, नगद पनि भेटिएन, पैसा कहाँ गयो भन्दा घाटा भएर सकियो भन्ने वयान दिएका छन्,’ तामाङको विषयमा अनुसन्धान गरिरहेका सीआईबीका एक अधिकृतले भने ।

सीआईबीको प्रारम्भिक अनुसन्धानले सिभिल होम्स विक्री गरेर आएको रकम तामाङले विदेश पुर्याएको हुन सक्ने देखिएको छ । यद्यपि, प्रहरी यस विषयमा कुनै टुंगोमा भने पुगेको छैन ।

सम्बन्धित समाचार

सिभिल बैंकको अध्यक्ष बन्न सञ्चालकबीच प्रतिस्पर्धा, राष्ट्र बैंकले भन्यो- छिटो गर्नुस्

कमल, राजेन्द्र, सुधिरपछि इच्छाराजको नजिरः रातारात अर्बपति बनाउँदै जेल पठाउँदै घरजग्गा व्यवसाय

४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

तामाङसहित पक्राउ पर्ने १२ जनाकाे विवरण सार्वजनिक, बचतकर्ताकाे ७१ करोड हिनामिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.