काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको स्वामित्वमा रहेको सुन्धारास्थित सीटीसी मलकाे मूल्यांकन सकेको छ । कोषले धितो मूल्यांकन सकेर अब केही दिनभित्रै लिलामको सूचना निकाल्ने तयारी गरेको हो ।
कोषले यसअघि ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता तामाङ सम्पर्कमा नआएपछि धितोको मूलयांकन गरेर लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको हाे । कर्मचारी सञ्चय कोषले गत मंसिर ६ मा ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो । पुस १० गते सो सूचनाको म्याद सकिसकेको छ ।
अब केही दिनभित्रै लिलामीको सूचना निकालेर सीटीसी मलका पसलहरु बिक्री गर्ने तयारी कोषको छ । तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालि नाममा कोषबाट मल धितो राखी ऋण लिएका थिए ।
‘सिटिसी मलको मूल्यांकन सकिएको छ, अब केही दिनमै लिलामको सूचना जारी गरेर कानुन बमोजिम बिक्री गर्छौं, कोष स्रोतले भन्यो’ कोष स्रोतले भन्यो ।
कोषका अनुसार तामाङले कोषको २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हाराहारीमा ऋण तिर्न बाँकी छ । सो ऋण असुल्नका लागि कोषले सिटीसी मलमा रहेका केही सटर लिलाम गरेर बिक्री गर्न लागेको हो ।
‘धेरैले यति सानो ऋणका लागि काेषले त्यत्रो सीटीसी मल लिलाम गर्ला र भन्ने गरेका छन् तर, हामीले पुरै सीटीसी मल लिलामी गर्ने होइन, मलभित्रका पसलहरु (युनिट) लिलाम गरेर बिक्री गर्ने हो, तामाङले सुरुमा ९० करोड रुपैयाँ बढी ऋण लिए वाफत ३ सय बढी पसलहरु धितोमा राख्नु भएको थियो, विस्तारै ऋण तिर्दै जाँदा ती पसलहरु पनि फुकुवा हुँदै गए, अब २० करोड ९७ लाख रुपैयाँ ऋणको १ सय ३० वटा पसल धितोमा छन्, ती पसललाई नै लिलाम गरेर बिक्री गर्ने हो,’ कोष स्रोतले भन्यो ।
कोषका अनुसार ती पसलहरुको १ अर्ब रुपैयाँभन्दा कमको मूल्यांकन भएको छ । करिब १३० पसलहरुको मूल्यांकन १ अर्बभन्दा कम भएको स्रोतको भनाई छ ।
‘हामीले १ अर्ब रुपैयाँको हाराहारीमा मूल्यांकन आउँछ कि भन्ने मनसाय बनाएका थियौं तर, १ अर्ब रुपैयाँको पनि भएन १ अर्बभन्दा कम नै धितोको मूल्यांकन भएको छ, अब केही दिनभित्रै लिलामको सूचना निकालेर बिक्री प्रक्रिया सुरु गर्नेछौं,’ कोष स्रोतले भन्यो ।
सुन्धारास्थित सीटीसी मलमा रहेका १३० बढी पसलहरु बिक्री गरेर आफ्नो २० करोड ९७ लाख ५४ हजार असुल गर्ने कोषको योजना छ । तर, ऋणभन्दा धितोको मूल्याकंन बढी आएको छ ।
कोष स्रोतका अनुसार अहिले सहकारीका बचतकर्ताहरु पनि आफुहरुलाई पनि सिटिसी मलका पसलहरु बेचेको पैसा दिन कोषलाई आग्रह गरिरहेका छन् । सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा नै प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो ।
‘सिटिसी मल बन्दा नै सिभिल सहकारीका बचतकर्ताको पैसा लगानी गरेको रहेछ, त्यसैले पनि सहकारीका बचतकर्ताहरु सिटिसी मल बिक्री भइसकेपछि पैसा तामाङलाई फिर्ता दिने भन्दा पनि आफुहरुलाई दिन आग्रह गरिरहेका छन्, उनीहरुको कारणले नै ढिलाई भएको हो,’ स्रोतले भन्यो ।
कोषले सिटिसी मलमा लगानी रहेको भनेर दावी गर्ने सहकारीका बचतकर्तालाई डकुमेन्टस् लिएर आउन भनेको छ । तामाङ सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका सल्लाहकार हुन् । उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
तामाङ अहिले पनि थुनामा छन् । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागले पनि उनीविरुद्द अब केही दिनभित्रै मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित सामग्री: