सिटीसी मल बेचेको पैसा आफुलाई पनि दिन सहकारीको कोषलाई आग्रह, २१ करोड असुल्न लिलाम गरिँदै

  २०७८ माघ ९ गते १३:३६     सन्तोष रोकाया

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको स्वामित्वमा रहेको सुन्धारास्थित सीटीसी मल लिलाम गर्ने तयारी गरेको छ । सिटीसी मल लिलामका लागि अब केही दिनमै सूचना निकाल्ने कोषकाे तयारी छ ।

कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता तामाङ सम्पर्कमा नआएपछि कोष लिलामी प्रक्रियामा जान लागेकाे कोषले जनाएको छ । कर्मचारी सञ्चय कोषले गत मंसिर ६ मा ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो । पुस १० गते सो सूचनाको म्याद सकिसकेको छ ।

कोषका अनुसार अहिले सीटीसी मलको मूल्याङ्कन भइरहेको छ । तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालि नाममा कोषबाट मल धितो राखी ऋण लिएका थिए ।

‘अहिले सिटिसी मलको मूल्यांकन भइरहेको छ, मूल्याङ्कन पूरा भएपछि कानुन बमोजिम धितो लिलामीका लागि सूचना जारी गर्छौं, सूचना अब चाँडै निकाल्ने हाम्रो तयारी छ,’ कोष स्रोतले भन्यो ।

कोष स्रोतका अनुसार तामाङले कोषको  २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हाराहारीमा ऋण तिर्न बाँकी छ । सो ऋण असुल्नका लागि कोषले सिटीसी मल लिलाममा राख्न लागेको हो ।

अब सुन्धारास्थित मलको ६ रोपनी जग्गा र सोमा निर्माण भएको पसल कवलहरू लिलामीमार्फत बिक्री गरी २० करोड ९७ लाख ५४ हजार असुल गरिने कोषले जनाएको छ । उक्त धितो लिलामीबाट सम्पूर्ण ऋण रकम र अन्य रकम अशुल उपर नभएमा कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल, अचल सम्पत्तिबाट असुल उपर गरिने पनि कोषको भनाइ छ ।

तर, आफ्नो ऋणभन्दा मलको बढी मूल्यांकन आउन सक्ने कोषको प्रारम्भिक अनुमान छ । ‘हाम्रो ऋण २२ करोड रुपैयाँको हाराहारीमा मात्रै हो, सिटीसी मल त्यत्रो छ, मूल्यांकन बढी नै आउँछ होला,’ कोष स्रोतले भन्यो ।

कोष स्रोतका अनुसार अहिले सहकारीका बचतकर्ताहरु पनि आफुहरुलाई पनि सिटिसी मल बेचेको पैसा दिनु पर्ने काेषालाई आग्रह गरिरहेका छन् । त्यसैले पनि कोषलाई लिलामको सूचना निकाल्न ढिलाई भइरहेको छ । सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा नै प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो ।

‘सिटिसी मल बन्दा नै सिभिल सहकारीका बचतकर्ताको पैसा लगानी गरेकाे रहेछ, त्यसैले पनि सहकारीका बचतकर्ताहरु सिटिसी मल बिक्री भइसकेपछि पैसा तामाङलाई फिर्ता दिने भन्दा पनि आफुहरुलाई दिन आग्रह गरिरहेका छन्, उनीहरुको कारणले नै ढिलाई भएको हो, अब हामी हाम्रो प्रक्रियामा अगाडि बढ्दैछौं,’ स्रोतले भन्यो ।

कोषले सिटिसी मलमा लगानी रहेको भनेर दावी गर्ने सहकारीका बचतकर्तालाईडकुमेन्टस् लिएर आउन भनेको छ । तामाङ सभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका सल्लाहकार हुन । उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । तामाङ अहिले पनि थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.