कर्मचारी संचय काेष र नागरिक लगानी काेषकाे ३३ अर्ब रूपैयाँ लगानी जाेखिममा
काठमाडौं । कर्मचारी संचय काेष र नागरिक लगानी काेषले नेपाल वायुसेवा निगमलार्इ प्रवाह गरेकाे ३३ अर्ब रूपैयाँ कर्जा जाेखिममा पुगेकाे छ । निगमकाे व्यवस्थापनमा सरकारले गरेकाे हस्तक्षेप, कमजाेर बन्दै गएकाे व्यवस्थापन, घट्दाे बजार हिस्साले दुर्इ काेषले गरेकाे कर्जा लगानी जाेखिममा परेकाे छ । निगमले कर्मचारी संचय काेषसँग करिब २१ अर्ब रूपैयाँ ऋण लिएकाे छ । पछिल्लाे समय एयर बस किन्न निगमले १२ अर्ब ऋण लिएकाे र त्यसअघिकाे पुरानाे कर्जा करिव ९ अर्ब रूपैयाँ भएकाे काेषका प्रशासक तुलसी गाैतमले जानकारी दिए । त्यस्तै नागरिक लगानी काेषबाट निगमले १२ अर्ब ऋण लिएकाे छ । सम्झाैता अनुसार सबै रकम निगमले लगिसकेकाे काेषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए । गत साता निगमले स्वेश्तपत्र जारी गर्दै अार्थिक संकट देखाएपछि कर्जा लगानी गर्ने दुबै संस्था चिन्तित भएका छन् । ‘निगमले सरकारसँग सहयाेग लिनुपर्छ, सरकारले पनि निगमलार्इ युराेप, अमेरिकासम्म सेवा विस्तार गर्न सहयाेग गर्नुपर्छ’ काेषका प्रशाशक गाैतमले भने-‘निगमलार्इ कसरी बलियाे बनाउने भनेर सबैले सहयाेग गर्नुपर्छ । निगम ढुब्याे भने काेषकाे ऋण मात्र डुब्दैन, नेपालकाे पर्यटन उद्याेग र समग्र अर्थतन्त्रलार्इ नै धक्का लाग्छ ।’ गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन् । निगमले जारी गरेको स्वेतपत्रअनुसार अघिल्लो वर्षको तुलनामा निगमको विदेशी बजार हिस्सा १.८ प्रतिशतले घटेको छ भने आन्तरिकतर्फ १.३ प्रतिशतले बढेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष निगमको आन्तरिक बजार कमजोर थियो । निगमले हालै भित्र्याएको वाइड बडी ए३३० जहाजले नयाँ गन्तव्य पाउन सकेको छैन । पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । वाइड बडी जहाजले जापान, कोरिया र रियादमा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जिएसए छनोट कार्य भइरहेको बताइएको छ । व्यवसायिक अवस्थालाई सुधार्न उक्त जहाजलाई लामो गन्तव्यमा यथासक्य चाँडो सञ्चालन गर्नुपर्ने स्वेतपत्रमा औँल्याइएको छ । निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ । निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बैंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ । निगमले आन्तरिक बजारतर्फ हाल आफ्नो आन्तरिक बजारलाई २५ वटा सेक्टरमा विस्तार गरेको छ । ट्रङक सेक्टरमा भद्रपुर, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, सिमरा, सुर्खेत र पोखरा उडान गर्छ भने स्टल सेक्टरतर्फ बागलुङ, बाजुरा, भोजपुर चौरजहारी, डोल्पा, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला, मेघौली, मुगु, फाप्लु, रुकुम, सिमिकोट, ताप्लेजुङ र थामखर्कमा सेवा विस्तार गरेको छ । गत आव भन्दा चालू आवको साउन र भदौमा ‘सेट फ्याक्टर’ घटेको र यसलाई तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाई अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । आन्तरिकतर्फ सम्पूर्ण सेक्टर गत आवमा ८३ प्रतिशत रहेकोमा चालू आवको साउनमा ६६ प्रतिशतमा आएको तथा भदौमा ७४ प्रतिशत ‘सेट फ्याक्टर’ रहेको निगमले जनाएको छ । निगमको अन्तर्राष्ट्रिय उडानतर्फ बजार अंश आव २०७०/७१ मा ५.६, आव २०७१/७२ मा ७.३५, २०७३/७४ मा ४ र २०७४/७५ मा ९.७५ प्रतिशत रहेको छ । निगमले दुई थान एयरवस ए ३२० थपे पश्चात निगमको बजार अंशमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४/७५ मा अन्तर्राष्ट्रियतर्फ निगमको बजार अंश केही तल झरेको देखिएको छ । आन्तरिक उडानतर्फ निगमको बजार अंश आव २०७४/७५ मा ३.३ बाट ४.६ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रियतर्फ कार्गोमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४/७५ मा एक हजार २३१ टन कार्गो निगमले बोकेको छ । दीर्घकालीन कर्जा तथा ब्याज दायित्वले निगमलाई उच्च वित्तीय जोखिममा पारेको छ । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुईवटा नयाँ वाइड बडी जहाज भित्र्याएको निगमले ऋणाभार बढी भएकै कारण अधिकृत पूँजी विस्तार गर्न सरकारलाई गुहारेको छ । निगमले नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अधिक रहेकाले तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय जोखिम न्यूनीकरणका लागि तत्काल पूँजी वृद्धि गर्नुपर्ने औँल्याएको छ । वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । “निगमलाई कर्जाको असमानताले तत्कालै आर्थिक समस्या देखिएको हो, वित्तीय सन्तुलन र व्यावसायिक योजनालाई प्रभावकारी बनाउन सरकारसँग पूँजी अभिवृद्धिका लागि आग्रह गरेका हौँ”, उनले भने । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो बडी ए ३२० जहाज र एक थान बोइङ जहाज छन् । आन्तरिक उडानका लागि तीन टुइनटर, दुई एमए–६० र चार थान वाई–१२ इ विमान छन् ।
सिद्धार्थ राणा पाँचौ पटक उत्कृष्ट करदाता, बढी कर तिर्ने १५ कम्पनी सम्मानित
काठमाडौं ।सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । सातौं राष्ट्रिय कर दिवसको असवरमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीहरुलाई सम्मान गरेको हो । सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने व्यवसायी सिद्धार्थ राणा सम्मानित भएको छ । उनी यसअघि चार पटक सबैभन्दा बढी आय कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भएका छन् । तर पाँचौ पटक सम्मानित हुँदा मात्र उनी सम्मान थाप्न मञ्चमा उक्लिएका हुन् । उनको कम्पनी सिप्रदी ट्रेडिङ प्रा.लि व्यापार तर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मान ग्रहण गरेका छन् । कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिरेर सूर्य नेपाल सम्मानित भएको छ । कम्पनीका उपाध्यक्ष रवि केसीले सम्मान ग्रहण गरे कम्पनी सबैभन्दा बढी आयकर एनसेलले तिरेको भएपनि कर विवादमा मुछिएकोले एनसेललाई सम्मान दिन नसकिएको स्रोतले बतायो । निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ । उद्योगतर्फ हिमाल पावर कम्पनीले धेरै कर तिरेको छ । कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि सम्मानित भएको छ । कम्पनीका कार्यकारी निर्देशक डा. दिशेन गौतम सम्मानपत्र ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ । लघुवित्तमा छिमेक लघुवित्त सम्मानित भएको छ । बीमा व्यवसायतर्फ नेपाल पूनर्बीमा कम्पनी लिमिटेड सम्मानित भएको छ । स्वास्थ्य तथा शिक्षा तर्फ बिराटनगरको नोबेल मेडिकल कलेजले धेरै कर तिरेको छ । सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टरनेशनल सम्मानित भएको छ । त्यस्तै पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल सम्मानित भएको छ । तारागाउँका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन्। ४० करोड रुपैयाँसम्म व्यवसाय गर्ने मध्यमस्तरीय करदताबाट नेपाल इन्भेष्टमेन्ट लिमिटेड सम्मानित भएको छ । ४० देखि ८० करोड रुपैयाँ कारोबार गर्नेमध्येबाट नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ । यस्तै पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित भएको थियो । कम्पनीका वित्त प्रमुख उद्धव तिमल्सिना सम्मानित भएका छन्। आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको छ। विभागले हरेक वर्ष धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ । विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिका कर्मचारीलाई पनि सम्मान तथा पुरस्कार वितरण गरेको छ । सातौ कर दिवसको अवसरमा सम्मानित व्यक्ति तथा कम्पनीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका छन् ।
सन्दर्भ – कर दिवस : सर्वाधिक कर उठाउने विश्वका १० मुलुकहरु, जहाँ धनी बन्नै पाइँदैन
काठमाडौं । करलाई राज्य सञ्चालनको मुख्य स्रोतको रुपमा लिइन्छ । करबिना कुनै मुलुक चल्न सक्दैन । अचम्म त के छ भने विश्वमा करको सुरुवात कहिले भयो भन्ने यकीन तथ्याङ्क आजसम्म पनि भेटिएको छैन । अर्थात् यो मानव सभ्यतासँग जोडिएको छ । त्यसैले अर्थशास्त्री फ्याङ्कलिनले मृत्यु र करलाई मात्र संसारका शास्वत् सत्य माने । यद्यपि करको एउटा सीमा हुन्छ । कर जनताको लागि एउटा बोझ हो तर आजकल करलाई राज्य सञ्चालनको स्रोतको रुपमा मात्र नभएर सार्वजनिक वस्तुको दुरुपयोग गरेबापत मानिसले तिर्नुपर्ने क्षतिपुर्तिका रुपमा समेत परिभापित गरिन्छ । तर करलाई जसरी परिभाषित गरिए पनि यो त्यो मात्रामा मात्र लिइनुपर्छ जति मानिसमा तिर्ने क्षमता हुन्छ । कुल ग्राहर्स्थ उत्पादनका अाधारमा सर्वाधिक राजश्व उठाउने १० मुलुकहरु सामान्य अवस्थामा चलिरहेको पुँजीवादी तथा मिश्रित अर्थव्यवस्था भएका मुलुकमा कुल ग्राहर्स्थ उत्पादनको २५ प्रतिशत हाराहारीको कर संकलनलाई सामान्य मानिन्छ । नेपालमा यो दर करिब २४ प्रतिशत छ । संयुक्त राज्य अमेरिकामा यो दर २६ प्रतिशत हुँदा भारतमा १६ प्रतिशतकाे हाराहारीमा मात्र छ । सन् २०१५ मा संकलन गरिएकाे थथार्थ तथ्याङ्कका अाधारमा कुल ग्राहर्स्थ उत्पादनमा सर्वाधिक कर संकलन गर्ने मुलुक अल्जेरिया छ, जसले ६४.०७ प्रतिशत राजश्व उठाएकाे छ । त्यस्तै पूर्वी टिमोरले ६१.५ प्रतिशत,नर्वेले ५४.८ प्रतिशत, फिनल्यान्डले ५४.२ प्रतिशत, डेनमार्कले ५०.८ प्रतिशत, स्वीडेनले ४९.८ प्रतिशत, फ्रान्सले ४७.९ प्रतिशत, बेल्जियमले ४७.९ प्रतिशत, क्युवाले ४४.८ प्रतिशत, जर्मनीले ४४.५ प्रतिशत र इटालीले ४३.५ प्रतिशत राजश्व उठाएर सर्वाधिक १० देशकाे सूचिमा अटाएका छन् । व्यक्तिगत अायमा सर्वाधिक कर लिने १० मुलुकहरु सन् २०१८ मा घाेषणा गरिएकाे व्यक्तिगत अायकरकाे दरमा भने हंगेरी सबैभन्दा बढी कर लिने देश बनेकाे छ । ट्रेडिङ इकाेनाेमिक्सकाे तथ्याङ्क अनुसार त्यसपछिका देशहरुमा चाड र अाइभरी काेष्टले ६०/६० प्रतिशत, जापानले ५५.९५ प्रतिशत, डेनमार्कले ५५.८० प्रतिशत अष्ट्रियाले ५५ प्रतिशत, बेल्जियमले ५३.७० प्रतिशत, नेदरल्यान्डले ५२ प्रतिशत, फिनल्यान्डले ५१.६ प्रतिशत र यजरायल र जिम्बावेले समान ५०/५० प्रतिशत व्यक्तिगत अायकर उठाउने घोषणा गरेका थिए । एजेन्सीहरुकाे सहयाेगमा
‘सातौं राष्ट्रिय कर दिवस’ शनिबार मनाइँदै , बढी कर तिर्ने १५ करदाता सम्मानित हुँदै
काठमाडौं । सरकारले शनिबार ‘सातौं राष्ट्रिय कर दिवस–२०७५’ मनाउँदै छ । नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ६ बर्ष अघिदेखि प्रत्येक मंसिर १ गते यो दिवस मनाइँदै आएकोमा शनिबार सातौं दिवस मनाउन लागेको हो । उक्त अवसरमा सरकारले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहको आयोजना गरेको छ । उक्त समारोहलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्नेछन् । शनिबार आयोजना हुने कार्यक्रम अघि काठमाडौं र ललितपुर जिल्लाका सबै आन्तरिक राजश्व कार्यालयहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र राष्ट्रिय उद्योग व्यापार संगठन र तीसँग सम्बन्धित वस्तुगत संघ संगठनहरु समेतको सहकार्यमा प्रभातफेरीको आयोजना गरिनेछ । उक्त प्रभातफेरी प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामा परिणत हुने जनाइएको छ । आन्तरिक राजश्व विभागको आयोजना केन्द्रीय तहमा मनाइने उक्त हुने कार्यक्रममा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने १५ जना करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, प्रत्येक आन्तरिक राजश्व कार्यलयबाट १/१ जना उत्कृष्ठ कर्मचारीलाई समेत पुरस्कृत गरिने जनाइएको छ । त्यस्तै कर दिवसको दिनमा देशभर विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिनेछ चने अघिल्लो वर्ष उक्त कार्यक्रममा प्रथम हुनेहरुलाई प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कृत समेत गरिनेछ । उक्त कार्यक्रम आयोजनाका लागि आन्तरिक राजश्व विभागका महानिर्देशकको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । सो समिति अन्तर्गत ७ ओटा उपसमिति समेत गठन गरिएको आन्तरिक राजश्व विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिँदै, लागत एक अर्ब छ करोड
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिने भएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण हुने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच/पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेका छ । अबको पाँच महीनामा निर्माण कार्य सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा ५९ करोड खर्च हुने भएको छ। विमानस्थलका अनुसार उत्तरपूर्वतर्फ दुईवटा वाइड बडी जहाज र तीनवटा साना (एटिआर) जहाज तथा दक्षिणपश्चिमतर्फ दुईवटा वाइड बडी र तीनवटा एटिआर जहाज राख्न सकिने छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उत्तरपूर्वतर्फको रिमोट पार्किङ-वे आगामी फागुनभित्र सम्पन्न गरिनेछ भने दक्षिणपश्चिमतर्फको पार्किङ वैशाखभित्र पूरा गर्नेगरी काम अघि बढाइने भएको छ । पार्किङ थपिएपछि विमानस्थलमा परेको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा रहेको छ । हाल विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङका लागि नौवटा विमानको क्षमता छ जहाँ तीनवटा वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ-वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतङ्ककारी गतिविधिको शङ्का भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ । विमानस्थलबाट तीनवटा नेपालीसहित ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० वटा विमान पार्किङ गर्न सकिन्छ । रासस
चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख राजश्व सङ्कलन
काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । सो नाका भएर गत आर्थिक वर्षको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । गत आर्थिक वर्ष भन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीको भनाइ छ । गत आर्थिक वर्षमा सो अवधिमा एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ । रासस
सानिमा लाइफले ल्यायो ‘सानिमा दम्पती’ योजना, धितोमा ९० प्रतिशत कर्जा पाइने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा दम्पती(सावधिक) नामक नयाँ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ । उक्त योजनामा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ र अधिकतम् असिमित रहेको छ । कम्पनीले २१ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्युनतम बीमा अवधि १५ वर्ष, अधिक्तम ३० वर्ष र अधिक्तम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने हुँदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित भएको इन्स्योरेन्सले जनाएको छ । कम्पनीको प्रबिधिक तथा व्यवस्थापन समुह र जीवन बीमा व्यवसाय सम्बन्धमा विशेष योग्यता प्राप्त दक्ष बीमाङ्कीको समुहबाट विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना बजारमा ल्याएको इन्स्योरेन्सले जनाएको छ । बीमाङ्क रकम भुक्तानी दिने अवस्था बीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जीवीत रहेमा बीमाङ्क र पुरा अवधिको बोनस एक मुष्ट प्रदान गरिने छ । बीमा अवधिभित्र बीमा लेख चालु रहेको अवस्थामा बीमीत दम्पती मध्य कुनै एकको मृत्यु भएमा बीमाङ्क र रकम भुक्तानी गरिने छ । त्यस्तै, बीमा लेख चालु रहेको अवस्थामा बीमीत दम्पती मध्य बाँकी जीवीत बीमितको मृत्यु भएमा बीमाङ्क समानुपातिक आर्जित बोनस एक मुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ । सामान्य शर्त तथा सुविधा यस सानिमा दम्पती जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गरी न्यूनतम २ वर्षको बीमा शुल्क भुक्तानी पश्चात बीमा लेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ । त्यस्तो बीमा लेखबाट बीमितले चाहेमा सम्पूर्ण मूल्य प्राप्त गर्न सकिने छ । बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले सम्पुर्ण मुल्य निधारण गरिने छ र बीमा लेखको धितोमा सम्पुर्ण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ । ऐक्षिक सुविधा बीमीतले यस बीमा योजनामा थप बीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ(एडीबी) अपाङ्ग र अशक्त(पीटीडी/पीडब्लुडी)सुविधा लिन सक्नेछन् ।
पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको बढ्दो आकर्षण
काठमाडौं । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको प्राविधिक शिक्षामा आकर्षण बढ्दै गएको छ । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सब–ओभरसियर, प्लम्बर, कम्प्युटरलगायत सीपमूलक विषय अध्यापनका लागि उक्त शिक्षालयले स्थापनाको पहिलो वर्ष वन विज्ञानबाट पढाइ शुरु गरेको हो । सातवटै प्रदेशमा एक/एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले (आर्थिक वर्ष २०७३/०७४) को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा स्थापना गरिएकोे उक्त शिक्षालयमा आगामी शैक्षिकसत्रदेखि सबै विषय पढाइ हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१स्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटीए) कक्षा शुरु गरेको छ । सीटीईभीटीको मान्यता प्राप्त उक्त विद्यालयमा प्राविधिक एसएलसीतर्फ १८ महिने अध्यापनको उक्त कक्षामा ४० विद्यार्थी भर्ना भएका छन् । छैसठ्ठी जनाको आवेदन परेकामा प्रवेश परीक्षा लिइ कोटाअनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले बताएका छन् । २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट पढाइ पूरा हुने विद्यालयले जनाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा सञ्चालन गर्ने भएको छ । ज्योति मावि जालपा र सरस्वती मावि दिक्तेलले यसै वर्षदेखि पठनपाठन शुरु गरेको हो । खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत प्राविधिक विषयको अध्ययन तथा तालीममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सामान्य शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको अवस्थामा प्राविधिक शिक्षालयको लहर चलेको पञ्च मावि दिक्तेलका प्रधानाध्यापक भवकृष्ण ढकालले बताएका छन् । पञ्च माविले आर्थिक वर्ष २०६९/०७० देखि मावि तहमा बाली विज्ञान विषयअध्यपन गराउँदै आएको छ । यस्तै साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति पाएको जनाएको छ । रासस
लाखौं मध्यम वर्गका मानिसकाे करोडाैं रुपैंया शेयरबजारमा डुबिसकेको छ : शेखर गोल्छा
शेखर गाेल्छा काठमाडौँ । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले मध्यमवर्गीय व्यक्तिहरुकाे कराेडाैं रुपैंया शेयर बजारमा डुबेकाे भन्दै प्रतिपक्षिलार्इ जनताकाे सम्पत्तिकाे रक्षा गर्नेगरी सरकारलार्इ घच्घच्याउन अाग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा अायाेजित काँग्रेसकाे नयाँ अार्थिक एजेन्डा निर्माणका लागि उद्याेगीहरुसँग सुझाव संकलन गर्न अायाेजित कार्यक्रममा बोल्दै उपाध्यक्ष गाेल्छाले सरकारी नीति र व्यवहार नै निजी क्षेत्रमैत्री नभएकाे गुनासाे गरेका छन् । यसले गर्दा हाम्रो अर्थतन्त्र झन गरिब हुँदै गएकाे उनकाे भनार्इ थियाे । उनले नेपालमा उद्योग सञ्चालका लागि बैंकमा भएको तरलता, ढुवानी खर्च धेरै र विदेशबाट लगानीभन्दा पनि विकृति आउनुका कारणले नेपालमा उद्योग सञ्चालन र उद्योग स्थापनाका लागि समस्या भएको बताएका छन् । काँग्रेसले वर्तमान सरकारकाे नीति र व्यवहारकाे कारणले अार्थिक क्षेत्रमा कस्ताे प्रभाव पारेकाे छ भन्ने सम्बन्धमा व्यवसायी एवं विज्ञहरुसँग सुझाव संकलन सुरु गरेकाे छ । बुधबार विज्ञहरुसँग छलफल गरेकाे काँग्रेसले बिहीबार अाफूनिकट चेम्बरका पदाधिकारीहरुसँग छलफल गरेकाे थियाे । साे कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणासहित दर्जनाैं व्यवसायीहरुकाे सहभागिता थियाे । काँग्रेसले महासमिति बैठककाे पूर्वसन्ध्यामा अार्थिक क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेकाे हाे । छलफलका क्रममा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत लगायतले उद्याेगीहरुसँग काँग्रेसले प्रतिपक्षकाे फाेरमबाट सरकारमाथि दिनुपर्ने दवावबारे सुझाव दिन अाग्रह गरेकाे थियाे ।
बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि
काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा २२ करोड नाफा कमाएको बैंकले यसपाली ३७ करोड कमाएको हो । बैंकले ३० करोड ब्याज आम्दानी बढाउन सफल भएको छ । गत आवको असोज मसान्त अवधीमा ५७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यसपाली ८७ करोड पुर्याएको छ । तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेको बैंकले कर्जा भने ४ अर्बले बढाएको छ । ७ अर्ब ७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९६ करोड रुपैंयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत छ भने खराब कर्जा १.६१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने २२.०२ रुपैंयाँ रहेको छ ।
एनएमबी बैंकको नाफा ५५ करोड, प्रतिशेयर आम्दानी २६.२१ रूपैयाँ
काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रूपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो । बैंकको उक्त नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैंया २१ पैसा हुन आउँछ । यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २ रुपैंया कम हो । बैंकले गत वर्ष चुक्ता पुँजीमा वृद्धि गर्दा ईपीएस घट्न पुगेको हो । बैंकको पुँजी पर्याप्तता अनुपात १५.२६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशत, पुँजीकोषको लागत ७.३६ प्रतिशत र आधार ब्याजदर १०.६८ प्रतिशत छ ।
नेपाल एसबिआईको नाफा ५ करोडले ओरालो
काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा ५ करोडले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३२ करोड नाफा कमाएको बैंक यसपाली सोही अवधीमा भने जम्मा २७ करोड मात्रै कमाउन सफल भएको हो । बैंकको ब्याज आम्दानी गत बर्षको पहिलो त्रैमासिकको तुलनामा १० करोड बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ९० करोड थियो भने यसपाली १ अर्ब पुर्याएको हो । बैंकको निक्षेप तीन महिनामा ८४ अर्बबाट ९४ अर्ब पुर्याएको छ । बैंकको आधार ब्याजदर १०.४३ प्रतिशत छ भने खराब कर्जा ०.२० प्रतिशत रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब २८ करोड छ । बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ३५ पैसा रहेको छ ।
हिमालयन बैंकको नाफा ४७ करोड, ब्याज आम्दानी ५४ करोडले बढ्यो
काठमाडौं । हिमालयन बैंकले ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो । हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४ अर्बले निक्षेप बढाएर १ खर्ब २ अर्ब पुर्याएको छ । त्यस्तै ऋण भने ८ अर्बले वृद्धि गरेको छ । ८ अर्ब ११ करोड चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ६ अर्ब ८९ करोड रहेको छ । हिमालयनको आधार ब्याज दर ९.२२ प्रतिशत छ भने खराब कर्जा १.४६ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी ३२.०२ रुपैंयाँ रहेको छ ।
नेपाल टेलिकमले ३ महिनामा कमायो ४ अर्ब ४९ करोड, ईपीएस ११९ रुपैंया
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड रुपैंया खुद मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४९ करोडले बढी हो । टेलिकमको उक्त नाफाको आधारमा प्रतिशेयर आम्दानी ११९ रुपैंया ७५ पैसा कायम भएको छ । टेलिकमले उक्त अवधिमा कुल १० अर्ब ८५ करोड रुपैंया आम्दानी गरेकोमा ९ अर्ब ४९ करोड सेवा शुल्कबापत र बाँकी १ अर्ब ३६ करोड अन्य लगानीबाट कमाएको छ । कम्पनीको उक्त अवधिको कुल खर्च भने अर्ब ९५ करोड रुपैंया भएको विवरणमा उल्लेख छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६.५१ गुणा र प्रतिशेयर नेटवर्थ ६८६.६० रुपैंया छ ।
नबिल बैंकको नाफा ९३ करोड, प्रतिशेयर आम्दानी सर्वाधिक
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९३ करोड ६१ लाख रुपैंया नाफा गरेको छ । बैंकले उक्त अवधिमा १ खर्ब ४३ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैंया कर्जा प्रबाह गर्दा उक्त परिमाणको नाफा देखिएको हो । बैंकको उक्त नाफाका आधारमा बैंकले ५१ रुपैंया ६४ पैसा हुन आउँछ, जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो । उक्त अवधिमा बैंकले १ अर्ब ८५ करोड ब्याज आम्दानी गरी करिब ७३ करोड सञ्चालन खर्च गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.७५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशत, पुँजीकोषको लागत ५.६५ प्रतिशत, आधार ब्याजदर ८.०६ प्रतिशत, ब्याजको स्प्रेडदर ४.९६ प्रतिशत छ ।
एभरेष्ट इन्स्योरेन्स र साल्ट ट्रेडिङका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । बिहीबारकाे बजारमा दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। सो दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९.७९ प्रतिशत कमाएका छन् । सम्रगमा बिहीबारको बजार सामान्य अंकले अाेरालाे लागेको छ । दिनभर उतारचढाव दखिएकाे बजारमा नेप्से परिसूचक ३.३१ अंकले घटेर १२०५ अंकमा अडिएको छ । बजारमा कुल १५८ कम्पनीको २३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । जसको एकैदिन २ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ पुग्ने छ । सो दिन होटल समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक २४ अंकले ओरालो लागेको छ । बिहीबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८८ प्रतिशत गुमाएका छन् ।
अघि बढ्यो माथिल्लो अरुण जलविद्युत आयोजना, लागत ९० करोड अमेरिकी डलर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले संखुवासभास्थित माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आब्हान गरेको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र (४ जनवरी २०१९) आवेदन दिन सक्ने आयोजनाले जनाएको छ । विराटनगर-किमाथाङ (कोसी राजमार्ग) सडक अन्तर्गत गोला र बरुण बजारबीचमा पर्ने छङग्रानबाट आयोजनाको बाँधस्थल (चेपुवा नजिक)सम्मको पहुँच सडकमा २ किलोमिटर सुरुङ र २ वटा पक्की पुल बनाउनु पर्ने छ । सरकारले चीनसँगको नाका जोड्ने कोसी राजमार्गको निर्माण गरिरहेको छ । इच्छुक कम्पनीको प्रस्ताव मूल्याङकन गरी पूर्व योग्यतामा सफल भएका कम्पनीसँग चैतको पहिलो साताभित्रमा प्राविधिक तथा आर्थिक प्रस्तावका लागि टेण्डर आहन गर्ने कार्यतालिका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘परामर्शदाता कम्पनीले पहुँच सडकको डिजाइन गरिरहेको छ, सडक अभावका कारण आयोजनाको मुख्य संरचनाको निर्माण प्रभावित हुन नदिन सडक निर्माणका लागि टेण्डर आहन गरिएको हो’,घिसिङले भने । ‘पहुँच सडक निर्माण सुरु भएको २४ महिनाभित्र काम सक्ने र त्यसबीचमा आयोजनाको विस्तृत इक्जिनियरिङ सक्ने, लगानी जुटाउने, ठेकेदार छनोट गर्ने लगायतका काम समानान्तर रुपमा अगाडि बढाइने छ ।’ कम लागतमा बढी ऊर्जा (हिउँदमा) प्राप्त हुने भएकाले आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण अगाडि बढाइएको उनले बताए । प्राधिकरणले पहुँच सडक सन् २०१९को जुनबाट निर्माण शुरु गर्ने र सन् २०२१को जुनमा सक्ने योजना बनाएको छ । माथिल्लो अरुणको सन् २०२१को अप्रिलमा ठेकेदार कम्पनी छनोट गरी निर्माण शुरु गर्ने र सन् २०२६को सेप्टेम्बरमा सक्ने लक्ष्य राखिएको छ । सरकारले सर्वसाधारणलाई समेत सेयर दिने गरी आयोजना कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरिसकेको छ । सरकारले प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न अपर अरुण जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको छ । सरकारले फागुन ०६९मा आफ्नो स्वामित्वमा रहने गरि प्राधिकरण मार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । यही निर्णयका कारण कम्पनीले आयोजनाको सर्वे लाइसेन्स पाउन सकिरहेको थिएन । कम्पनीले ०७३को चैतमा लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ । मन्त्रिपरिषद्बाट निर्णय भइसकेकेकाले आयोजनाको लाइसेन्स पनि अव प्राप्त हुने घिसिङले बताए । दातृ निकाय विश्व बैकको सहुलीयतपूर्ण ऋणमा आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ । यो काम सन् २०२०को फेब्रुअरीमा सक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा पनि विश्व बैकले लगानी गर्ने इच्छा व्यक्त गरेको छ । ‘विश्व बैक पनि सर्वसाधारणलाई सेयर दिने गरी कम्पनी मोडलमा लगानी गर्न तयार देखिएको छ, बैकले लगानी नगरेमा पनि पैसा जुटाउन कुनै समस्या छैन’, कार्यकारी निर्देशक घिसिङले भने । ‘कर्मचारी सञ्चय कोष जस्ता निकायमार्फत लगानी जोहो गर्न सकिन्छ ।’ विश्व बैकले अरुण तेस्रोबाट पछि हटेपछि सरकारीस्तरबाट अगाडि बढाइएको जलविद्युत आयोजनामा लगानी गरेको छैन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थ मन्त्री डा. युवराज खतिवडा, विश्व बैकका उपाध्यक्ष हार्टविग साफेरलगायतको टोली शुक्रबार आयोजनाको स्थलगत अध्ययन गर्न जाँदैछ । मन्त्री पुनले जनताको लगानी रहने गरी आकर्षक आयोजना अगाडि बढाउने घोषणा गरेका छन् । यही घोषणा कार्यान्वयन गर्न जनतालाई सेयर दिने गरी माथिल्लो अरुण अगाडि बढाउन लागिएको हो । सन् १९८५मा गरिएको कोसी बेसिन मास्टर प्लानबाट माथिल्लो अरुण अर्ध जलाशययुक्त आयोजनाको रुपमा पहिचाहन भएको थियो । | प्राधिकरणले सन् १९९१मा आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो भने सन् २०११मा यसको पुनरावलोकन गरेको थियो । अध्ययनबाट आयोजनाको क्षमता ३३५ मेगावाट र २ अर्ब ६५ करोड युनिट वार्षिक ऊर्जा प्राप्त हुने देखिएको थियो । अहिले आयोजनाको क्षमता ७ सय मेगावाट माथि रहने र लागत ९० करोड अमेरिकी डलरको हाराहारीमा रहने अनुमान गरिएको छ । आयोजना निर्माण स्थलमा नदीको वार्षिक बहाव दर उच्च रहेकोले ऊर्जा बढी प्राप्त हुने र उच्च हिमाली क्षेत्रमा रहेका कारण खेतीयोग्य जमिन, मानव वस्ती कम भएकाले वातावरणीय प्रभाव कम पर्ने छ । माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना पनि अगाडि बढाएको छ ।
नेपाल बंगलादेश बैंकको नाफा २२ करोड, खुद ब्याज आम्दानी बढ्दा नाफामा उत्साहजनक सुधार
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उत्साहजनक प्रगति गरेको छ । बैंकले नाफामा करिब ४३ प्रतिशतले वृद्धि गरी खुद नाफा २२ करोड पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा नाफाको यो आकार १५ करोड ४० लाख थियो । यो प्रतिशेयर १४.९३ रुपैंया हो । बैंकको नाफा बढ्नुमा बैंकले आर्जन गरेको खुद ब्याज आम्दानीले प्रमुख भूमिका खेलेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी पुर्याएर ३४ करोडबाट ६९ करोड पुर्याएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेप १ अर्बले घटाएको बैंकले तथा कर्जाको आकार भने करिब ५ अर्बले बढेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १३.६५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.५५ प्रतिशत, कुल लगानी कोषको लागत ७.४३ प्रतिशत, आधार ब्याजदर १०.८४ प्रतिशत छ ।
सेञ्चुरी बैंकको नाफा २७ करोड
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीन महिनामै २७ करोड नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा २७ करोड नाफा कमाउन सफल भएको हो । यो नाफामा ब्याज आम्दानीको हिस्सा धेरै रहेको छ । बैंकले ब्याज आम्दानीलाई ४६ करोडबाट बढाएर ८० करोड पुर्याएको छ । ८ अर्ब ६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैंयाँ रहेको छ । बैंकले ६२ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको आधार ब्याजदर ११.५१ प्रतिशत रहँदा खराब कर्जा ०.८२ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने १३ रुपैंयाँ ६४ पैसा रहेको छ ।
१९ बाणिज्य बैंकले ३ महिनामै कमाए ८ अर्ब २४ करोड नाफा, एभरेष्टबाहेक सबै उकालो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १८ वाणिज्य बैंकहरुको नाफा ८ अर्ब नाघेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुका आधारमा बैंकहरुको कुल नाफा ८ अर्ब २४ करोड देखिएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको भन्दा करिब ३८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा उक्त आकार ५ अर्ब ९४ करोड थियो । प्रकाशित वित्तीय विवरणहरुमध्ये सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । बैंकले १ अर्ब ५ करोड नाफा गर्दै ३ महिनामै अर्ब भन्दा बढी कमाउने नेपालको पहिलो बैंक बनेको छ । त्यस्तै जनता बैंकले २९४ प्रतिशत नाफा बढाएर सबैभन्दा धेरै नाफा वृद्धि गर्ने बैंक बनेको छ । उक्त अवधिमा नाफाको आकार घटाउने बैंक भने एभरेष्ट मात्र रहेको छ । उसको नाफो अघिल्लो वर्ष भन्दा ४ करोडले घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको भने निक्षेप नै घटेको देखिएको छ ।