
काठमाडौं । करलाई राज्य सञ्चालनको मुख्य स्रोतको रुपमा लिइन्छ । करबिना कुनै मुलुक चल्न सक्दैन । अचम्म त के छ भने विश्वमा करको सुरुवात कहिले भयो भन्ने यकीन तथ्याङ्क आजसम्म पनि भेटिएको छैन । अर्थात् यो मानव सभ्यतासँग जोडिएको छ । त्यसैले अर्थशास्त्री फ्याङ्कलिनले मृत्यु र करलाई मात्र संसारका शास्वत् सत्य माने ।
यद्यपि करको एउटा सीमा हुन्छ । कर जनताको लागि एउटा बोझ हो तर आजकल करलाई राज्य सञ्चालनको स्रोतको रुपमा मात्र नभएर सार्वजनिक वस्तुको दुरुपयोग गरेबापत मानिसले तिर्नुपर्ने क्षतिपुर्तिका रुपमा समेत परिभापित गरिन्छ । तर करलाई जसरी परिभाषित गरिए पनि यो त्यो मात्रामा मात्र लिइनुपर्छ जति मानिसमा तिर्ने क्षमता हुन्छ ।
कुल ग्राहर्स्थ उत्पादनका अाधारमा सर्वाधिक राजश्व उठाउने १० मुलुकहरु
सामान्य अवस्थामा चलिरहेको पुँजीवादी तथा मिश्रित अर्थव्यवस्था भएका मुलुकमा कुल ग्राहर्स्थ उत्पादनको २५ प्रतिशत हाराहारीको कर संकलनलाई सामान्य मानिन्छ । नेपालमा यो दर करिब २४ प्रतिशत छ । संयुक्त राज्य अमेरिकामा यो दर २६ प्रतिशत हुँदा भारतमा १६ प्रतिशतकाे हाराहारीमा मात्र छ ।
सन् २०१५ मा संकलन गरिएकाे थथार्थ तथ्याङ्कका अाधारमा कुल ग्राहर्स्थ उत्पादनमा सर्वाधिक कर संकलन गर्ने मुलुक अल्जेरिया छ, जसले ६४.०७ प्रतिशत राजश्व उठाएकाे छ । त्यस्तै पूर्वी टिमोरले ६१.५ प्रतिशत,नर्वेले ५४.८ प्रतिशत, फिनल्यान्डले ५४.२ प्रतिशत, डेनमार्कले ५०.८ प्रतिशत, स्वीडेनले ४९.८ प्रतिशत, फ्रान्सले ४७.९ प्रतिशत, बेल्जियमले ४७.९ प्रतिशत, क्युवाले ४४.८ प्रतिशत, जर्मनीले ४४.५ प्रतिशत र इटालीले ४३.५ प्रतिशत राजश्व उठाएर सर्वाधिक १० देशकाे सूचिमा अटाएका छन् ।
व्यक्तिगत अायमा सर्वाधिक कर लिने १० मुलुकहरु
सन् २०१८ मा घाेषणा गरिएकाे व्यक्तिगत अायकरकाे दरमा भने हंगेरी सबैभन्दा बढी कर लिने देश बनेकाे छ । ट्रेडिङ इकाेनाेमिक्सकाे तथ्याङ्क अनुसार त्यसपछिका देशहरुमा चाड र अाइभरी काेष्टले ६०/६० प्रतिशत, जापानले ५५.९५ प्रतिशत, डेनमार्कले ५५.८० प्रतिशत अष्ट्रियाले ५५ प्रतिशत, बेल्जियमले ५३.७० प्रतिशत, नेदरल्यान्डले ५२ प्रतिशत, फिनल्यान्डले ५१.६ प्रतिशत र यजरायल र जिम्बावेले समान ५०/५० प्रतिशत व्यक्तिगत अायकर उठाउने घोषणा गरेका थिए ।
एजेन्सीहरुकाे सहयाेगमा