काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) पदमा गोविन्दप्रसाद नागिलाको बढुवा भएको छ । यसअघि निर्देशक पदमा कार्यरत नागिला वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा पदोन्नति भएका हुन् ।
राष्ट्र बैंकका अनुसार नरेश शाक्य अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको एक कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा नागिलालाई बढुवा गरिएको हो ।
राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भाव्य निर्देशकहरू मध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार उनलाई बढुवा गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
नवनियुक्त कार्यकारी निर्देशक नागिलालाई मानव संसाधन व्यवस्थापन विभागको प्रमुख जिम्मेवारी समेत प्रदान गरिएको छ ।
यसैबीच, मानव संसाधन व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै, गभर्नरको कार्यालयमा कार्यरत मुक्ति नाथ सापकोटालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ । सोही विभागमा कार्यरत राजनविक्रम थापालाई लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।