सेयर बजार घट्दा म्युचुअल फण्डमा प्रभाव, अधिकांशको खुद सम्पत्तिमा गिरावट, सिटिजन्सको मात्र सुधार

काठमाडौं । सेयर बजार निरन्तर गिरावटको प्रत्यक्ष प्रभाव म्युचुअल फण्डहरुमा परेको छ । हाल सञ्चालनमा रहेका अधिकाँश फण्डको खुद सम्पत्ति र प्रतिएकाई खुद मूल्य (एनएभी) घटेको छ । गत असोज महिनाको अन्त्यमा सेयर बजार परिसूचकमा अघिल्लो मसान्तको तुलनामा करिब १० पैसाको सामान्य गिरावट देखिँदा अधिकांश म्युचुअल फण्डहरुको एनएभी सोही अनुपातमा गिरावट आएको छ । फण्डहरुले अधिकाँश रकम सेयरमा लगानी गर्दै आएका छन् । सेयर बजार बढ्दा फण्डको खुद सम्पत्तिमा पनि वृद्धि हुने गरेको छ । उक्त समयावधिमा सिटिजन्स म्युचुअल फण्डले एनएभीमा सामान्य सुधार गर्दा नबिल इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, लक्ष्मी भ्यालु फण्ड तथा एनएमबी हाइब्रिड फण्ड—१ मा सामान्य गिरावट देखिएको छ । यसबीचमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को मूल्य भने निराशाजनक रुपमा घटेको छ । नबिल इक्विटी फण्डले सञ्चालन गरेको नबिल इक्विटी फण्डले पनि खुद सम्पत्ति करिब डेढ करोडले गुमाउँदा एनएभीमा १२ पैसाको गिरावट आई प्रतिएकाई ८ रुपैंया ५९ पैसामा सीमित भएको छ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–१ ले भने अघिल्लो महिनामा आफ्नो खुद सम्पत्तिमा सामान्य सुधार गरेको छ । फण्डले खुद सम्पत्ति ८५ करोड ३१ लाखबाट बढेर ८६ करोड २२ लाख रुपैयाँ पुर्याउँदा प्रतिएकाई खुद मुल्यमा १२ पैसा सुधार गरी १० रुपैंया ५२ पैसा पुर्याएको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको सम्पत्ति घटेर ८६ करोड ६४ लाखबाट घटेर ८६ करोडमा सीमित हुँदा यसको पनि प्रतिएकाई मूल्यमा सामान्य गिरावट आएको छ । उक्त फण्डको एनएभी ४ पैसा घटेर १० रुपैंया ३१ पैसामा सीमित भएको छ । लक्ष्मी म्युचुअल फण्डको लक्ष्मी भ्यालु फण्ड–१ ले पनि ३३ लाख खुद सम्पत्ति गुमाउँदा १० रुपैंया ८९ पैसा प्रतिएकाई खुद मूल्यमा सीमित भएको छ जुन अघिल्लो महिनाको तुलनामा ६ पैसाले कम हो । एनआईबिएल म्युचुअल फण्डको एनआईबिएल समृद्धि फण्ड–१ को खुद सम्पत्तिमा पनि १ करोड ३० लाख रुपैंयाको गिरावट आउँदा प्रतिइकाई सम्पत्तिमा १४ पैसाको गिरावट आएको छ । एनएमबी म्युचुअल फण्डले सञ्चालन गरेको दुई फण्डहरुमध्ये एनएमबी हाइब्रिड फण्ड एल–१ को मूल्य स्थिर रहे पनि अर्को फण्ड एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले भने गत महिना खुद सम्पत्तिमा ठूलो क्षति व्यहोरेको छ । उक्त फण्डको खुद सम्पत्ति १ अर्ब १ करोडबाट घटेर ८४ करोडमा झर्दा प्रतिएकाई खुद सम्पत्ति मूल्यमा २ रुपैंया २४ पैसाको गिरावट आएको छ । यो अघिल्लो महिनाको सुरुको खुद सम्पत्तिको आधारमा १६.५४ प्रतिशतको गिरावट हो । हालसम्म प्रकाशित भएका विभिन्न म्युचुअल फण्डका विभिन्न योजनाहरुमध्ये असोज महिनामा सिटिजन्स म्युचुअल फण्डको मात्र प्रतिइकाई खुद सम्पत्ति मूल्यका सुधार देखिएको छ भने अन्य सबै फण्डहरुको मूल्य घटेका छन् ।

क्रेडिट क्रन्चले घटायो सेयर बजार, सोमबार पनि दोहोरो अंकको गिरावट

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव र बढ्दो ब्याजदरले गर्दा पुँजीबजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । आइतबार १४ अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । दिनभर उतारचढाव आएको सोमबारको बजारमा नेप्से परिसूचक १०.५६ अंकले ओरालो लागेर १२१६.९३ अंकमा झरेको छ । समग्रमा दशैं पछिको सेयर बजार निरन्तर रुपमा घटेको छ । यसको मतलब बजारमा चाडपर्वको प्रभाव परेको भन्ने बुझ्न सकिन्छ । साथै, लगानीकर्ताहरु प्रथम त्रैमासिकको पर्खाइमा रहेकाले पुँजी बजारमा गिरावट आएको एक ब्रोकरले बताएका छन् । बजार घट्नुको मुख्य कारण क्रेडिट क्रन्च रहेको उनी बताउँछन् । बजारमा परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबारको बजारमा कुल १६० कम्पनीको २४ करोढ ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी गोर्खा फाइनान्सको २ करोड ५७ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । त्यस्तै, कारोबारमा आएको १० वटै समूहका सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ७५ अंकले घटेको छ । होटल ४८, हाइड्रोपावर १४, विकास बैंक १२, जीवन बीमा र उत्पादनमूलक समूह ११ अंकले ओरालो लागेका छन् ।

सेयर बजारमा टेलिकम, नबिल र इन्भेष्टमेन्ट बैंक अब्बल कम्पनी

काठमाडौँ । बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा रहेको हो । बजार पूँजीकरण मूल्यका आधारमा टेलिकमको हिस्सा रु एक खर्ब १७ अर्बको रहेको छ । यस्तै दोस्रो नम्बरमा नविल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ७६ अर्ब ८४ करोड ९० लाख ४० हजार रहेको छ । सामान्यता उक्त बैंक पनि शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ । स्टकका अनुसार तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण मूल्य रु ६८ अर्ब ३२ करोड ७९ लाख ८० हजार रहेको छ । यस्तै चोथो स्थानमा स्ट्याण्डर्ड चार्डड बैंक छ । सो बैंकको रु ५६ अर्ब ८० करोड १० हजार बराबरको बजार पूँजी छ । पाँचौँ स्थानमा एभरेष्ट बैंक रहेको छ । सो बैंकको रु ५१ अर्ब १३ करोड ११ लाख २० हजार, छैटौँ स्थानमा रहेको हिमालयन बैंकको रु ४४ अर्ब ७० करोड ९२ लाख ४० हजार, सातौँ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४१ अर्ब छ करोड ७३ लाख १० हजार बजार पूँजी रहेको छ । त्यस्तै आठौँ स्थानमा नेपाल एसबिआइ बैंकको रु ३९ अर्ब ९९ करोड ३१ लाख २० हजार, नवौँ स्थानमा रहेको एनआइसी एशिया बैंकको रु ३५ अर्ब ७३ करोड ८४ लाख ७० हजार र दशौँ स्थानमा रहेको एनएमबी बैंकको रु ३१ अर्ब चार करोड तीन लाख बराबरको बजार पूँजी रहेको छ । यस साता शेयर सङ्ख्याका आधारमा कालिका पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको दुई हजार १७ कित्ता शेयर कारोबार भए । यस्तै पञ्चकन्या माई हाइड्रोको एक हजार २९७, प्रभु बैंकको एक हजार १५९, नाडेप लघुवित्त वित्तीय संस्थाको ७८८, मेघा बैंकको ५१२, एनआइसी एशिया बैंकको ५०७, एनएमबी बैंकको ३७७, सिद्धार्थ बैंकको ३५४, जनता बैंकको ३४७ र कुमारी बैंकको ३३७ कित्ता शेयर कारोबार भएका थिए । यस्तै कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । भने क्रमशः कुमारी, मेघा, एनआइसी एशिया, जनता, सिभिल, माछापुच्छ्रे, एनएमबी, सिद्धार्थ र सेञ्चुरी कर्मसियल बैंकको शेयर कारोवार भए । रासस

सेयर बजार १४ अंकले उकालो, निर्जीवन बीमा समूह ८७ अंक माथि

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । दिनभर केही उतारचढाव आएको बजार कारोबार बन्द हुँदा १४.१५ अंकले उकालो लागेर १२४२ अंकमा पुगको छ । सो दिन कुल १५८ कम्पनीको २६ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ । सो मध्ये एनएमबी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकै दिन २ करोड ४५ लाख कित्ता सेयर किनबेच भएको छ, जसको सेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ रहेको छ । त्यस्तै, मेगा बैंक र जनता बैंक नेपालको पनि २ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार निर्जीवन बीमा समूहको सूचक ८७ अंकले बढेको छ । उत्पादनमूलक ९५ र हाइड्रोपावर १.३१ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य बाँकी समूहको सूचक सामान्य अंकले बढेको छ । बजारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को मूल्य ५.९८ प्रतिशतले बढेको छ । उता यूनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ७.२९ प्रतिशतले घटेको छ ।

वाल स्ट्रिटमा आएको मन्दीको असर एसियाली सेयर बजारमा, भारी गिरावट

सिंगापुर । अमेरिकी सेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली सेयर बजारमा बिहीबार देखिएको छ । चीनको सेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको सेयर बजारमा पनि कमी आएको छ । चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ । दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ । लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका थिए। जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए । अमेरिकी-चिनीया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ । टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ । ताइवान समेतका अन्य मुलुकको सेयर बजारमा पनि मन्दी आएको छ । रासस/एपी

साताको पहिलो दिनमा सेयर बजार १३ अंक घट्यो, नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार १३ अंकले घटेको छ । अघिल्लो साता निरन्तर घटिरहेकोमा यो साता पनि बजार घट्ने संकेत देखिएको छ । आईतबार नेप्से परिसुचक घटेर १ हजार २१४ अंकमा सीमित भएको छ । उत्पादनमुलक बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । उत्पादन समूहको सामान्य वृद्धि भएको छ । आइतबार ४० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम पनि घट्दै गएको छ । बजार घटे पनि सबैभन्दा बढी सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाईफको प्रतिकित्ता ९३२ रुपैयाँमा २ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफ वित्तीय रुपमा मजवुत र राम्रो प्रतिफल दिने र सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् ।

सेयर बजार रातो हुदा एनएमबी बैंकको सेयर बढी करोबार, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । साताको अन्तिम दिन सेयर बजार ३ अंकले घटेर नेप्से परिसुचक १ हजार २२७ अंकमा झरेको छ । एनएमबीको प्रतिकित्ता ३५० मा ३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनएमबीको सेयर सस्तो भएकाले लगानीकर्ताले खरिद गरेको ब्रोकरहरुको भनाई छ । चुक्ता पुँजी ८ अर्ब ७४ कराेड रूपैयाँ रहेकाे यस बैंककाे जगेडा काेषमा ९ अर्ब ३७ कराेड रूपैयाँ छ । बैंककाे इपीएस २८ रूपैयाँ छ भने पीइ रेसियाे १२ रूपैयाँ छ । एनएबी पछि माछापुच्छे बैंकको सेयर कारोबार भएको छ । प्रतिकित्ता २२२ रुपैयाँमा २ करोड २८ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार व्यापार, वित्त र जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको छ भने बैंक, होटल, जलविद्युत, निर्जिवन बीमा र लघुवित्त समूहको घटेको छ । बजार घटेपनि नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

तरलता संकुचनसँगै सेयर बजार राताम्मे, धितोपत्र बोर्ड भन्छः आत्तिनु पर्दैन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको संकुचन देखिएसँगै सेयर बजार घट्न थालेको छ । केहि दिन अघिसम्म कर्जा दिन बोलाउने बैंकहरुले निक्षेपका योजना अघि सारेपछि तरलता संकुचनको संकेत देखिएको हो । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार बुधबार बैंक तथा वित्तिय संस्थाहरुमा ३८ अर्बको तरलता मौजुद छ । दशैं नजिकिँदै गरेको वर्तमान अवस्थामा ३८ अर्बको तरलता खासै ठूलो होइन् । कर्जाको माग बढ्दै गएपछि तरलता घट्दै गएको राष्ट्र बैंकले जनाएको छ । चालु अार्थिक वर्षकाे पहिलाे तीन महिना बैंकहरूले कर्जा लगानीमा जाेड दिएका थिए । उनीहरूले घर कर्जा, सेयर कर्जा, सवारी कर्जा प्रवाहमा जाेड दिएका थिए । तर केहि दिनयता नविल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक लगायतले निक्षेप आव्हान गरेका छन् । बजारमा तरलता अभावका संकेत देखिएसँगै सेयर बजारका लगानीकर्ता सेयर बेच्न उद्यत देखिएका हुन् । त्यसमाथी दशैंको खर्च जोहो गर्न पनि सेयर बेच्नेहरुको चाप बढेको छ । पछिल्लो चार दिनमा सेयर बजार ३६.५४ अंकले घटेको छ । आइतबार १०.४७ प्रतिशतले घटेको बजार सोमबार १८ अंकले ओरालो लागेको थियो । मंगलबार २.६९ प्रतिशतले बढ्दा बुधबार फेरी १०.७६ प्रतिशतले ओरालो लाग्यो । एक मर्चेण्ट बैंकरका अनुसार बैंक तथा वित्तिय संस्थामा ऋणको चाप बढ्न थालेको छ । ऋणको चाप बढेपछि बैंकहरु निक्षेप आकर्षित गर्न केन्द्रित भएका छन जसको प्रभाव सेयर बजारमा देखिएको हो । सेयर बजार घट्नुको मुल कारण बैंकको ब्याजदर र्नै भएको उनको निष्कर्ष छ । केही बैंकले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाएका थिए । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने लगानीकर्ताहरु बजार बुक गर्न लागेको दावी गरे । उनले बजार घट्ने र बढ्ने प्रक्रिया निरन्तर जारी रहने बताउँदै आत्तिनुपर्ने अवस्था नरहेको दावी गरे । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पनि सेयर बजार केहि अंकले घट्दैमा आक्तिनु नपर्ने बताएका छन् । विश्व लगानीकर्ता सप्ताहको दोश्रो दिन आयोजीत कार्यक्रममा उनले सेयर बजार अलिकति घट्ने वित्तिकै सिद्धिन लाग्यो भनेर आत्तिनु नपर्ने बताएका हुन् ।

सेयर बजार अलिकति घट्ने वित्तिकै सिद्धिनै लाग्यो भन्दै अफवाह फैलाउनु हुन्नः अध्यक्ष कार्की

डा. रेवत बहादुर कार्की, अध्यक्ष-नेपाल धितोपत्र बोर्ड हामी विश्व लगानीकर्ता सप्ताह मनाईरहेका छौं । एक हप्ताभरी बिभिन्न कार्यक्रम गरेर पुँजी बजारको दिगो विकासको अभियानमा हुनेछौं । बजार अलिकति घट्यो भने बजार सिद्धियो भन्ने अनि अलिकति बढ्यो भने पनि चलखेल भयो भन्ने कुरा छाड्नुपर्छ । बजारलाई स्थिर हिसाबले चल्न दिनुपर्छ । बजार निर्जिव हो, त्यसलाई जीवन्त बनाउने लगानीकर्ताले हो । अलिकति घट्ने वित्तिकै बजार सिद्धिन लाग्यो भनेर अफवाह फैलाउनु हुन्न । लगानीकर्ता सप्ताहमा देखिएको उत्साहले लगानीकर्ता मात्रै नभएर हामी नियामकलाई पनि उत्साहित बनाएको छ । यसमा धितोपत्र बोर्ड र सबै सम्वद्ध पक्षहरुको ठूलो योगदान छ । हामीले करिब एक दर्जन प्रकाशनहरु सार्वजनिक गरेका छौं । यो सबै पुँजी बजारका लगानीकर्ताका लागि नै हो । ज्ञान भन्ने कुरा सधै नयाँ हुन्छ । यी प्रकाशनहरुको मुल उदेश्य भनेको लगानीकर्तालाई शसक्तिकरण गर्ने, सुसुचित गर्ने, विवेकशिल ढंगले लगानी गर्न अभिप्रेरित गर्ने हो । बजार भनेको बढ्ने अनुमान गर्ने र घट्ने अनुमान गर्ने लगानीकर्ताहरु बीचको सन्तुलनले चल्ने हो । बढ्छ मात्रै भन्ने र घट्छ मात्रै भन्नेहरुका आधारमा बजार अघि बढ्न सक्दैन् । २०३ देश भएको संसारमा १२६ देश मात्रै आइएसकोको सदस्य भएका छन् । हामी त्यसमा परेका छौं, जसलाई ठूलो प्रगति मान्नुपर्छ । लगानीकर्ताहरुलाई यो हप्ता बिशेष रुपले पुज्नुपर्छ । अझ यो हप्ता मात्रै होइन सधै पुजा गर्नु पर्छ । लगानी कर्ताबिना बजार अपुर्ण हुन्छ । देशको विकास गर्नुछ भने पुँजी बजारको विकास गर्नुपर्छ । पुँजी बजारको विकास बिना संसारका कुनै पनि देश विकसित भएका छैनन् । न्युन आय भएका देशहरुमा पुँजी बजार नभै हुन्न भन्ने सन्देश स्थापीत भैसकेको छ । हामीले पनि देश विकासका लागि पुँजी बजारको दिगो विकास गर्नु पर्छ भनेका छौं । संघिय संरचना अनुसार प्रदेश नम्बर १ मा प्रदेश कार्यालय स्थापीत गर्दैछौं । विकासमा नागरिकको प्रत्यक्ष सहभागीता हुनुपर्छ । हाल पर्याप्त सूचनाको अभावमा लगानी कर्ता अलमलिएका छन् । हामीले लगानीकर्तालाई पर्याप्त सूचना दिने प्रयास गरेका छौं । जिल्ला गत आर्थिक, प्रशासनिक तथा व्यवसायीक र बैंकिङ अवस्था चित्रण गरिएको प्रतिवेदन सार्वजनिक गर्दैछौं । बोर्डले पुँजी बजारको दिगो विकासका लागि भनेरै गत बर्षदेखि बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । नियामक निकाय नै सबै भन्दा पहिले अनुशासित र पारदर्शी हुनुपर्छ । आफु अनुशासनमा नबसि अरुलाई पाठ सिकाउन पाइँदैन् । केहि दिन अघि लगानीकर्ताका संघ संस्थाबाट साथीहरुले ३० बुँदे सुझाव दिनुभयो । हामीले त्यो कुरा नीति तथा कार्यक्रममा सबै राखिसकेका छौं । उहाँहरुको एउटा सुझाव चाँही अनलाईन मिडियाहरुको नियमन पनि गर्नु परो भनेर लेखेको देखियो । कानुन सम्वत माग पत्र राख्नुस् । मिडियालाई पनि नियमन गर्नुस भनेर हामीलाई अख्तियार पठाउने प्रयास नगर्नुस् । पुँजी बजारको वृद्धि र विकास सबैको दायित्व हो । मार्जिन ट्रेडिङ चाँडै आउँदैछ । सबै ब्रोकरले पुँजी ५ करोड पुर्याउनुस, सबैले मार्जिन ट्रेडिङ गर्नुस् । ५० वटा ब्रोकरले १०।१० करोडको मार्जिन ट्रेडिङ गर्न पाउनु भयो भने ५ अर्बको सुबिधा भैहाल्छ । ५ गुणासम्मको व्यवस्था गरियो भने अरबौंको मार्जिन ट्रेडिङको सुबिधा प्राप्त हुन्छ । ब्रोकरहरुले पनि यसरी नै सोच्नु पर्यो । खाली बैंकबाट लिएर मात्रै अघि बढ्ने सोँच त्याग्नुस् । पुँजी बढाउनुस अनि मार्जिन ट्रेडिङ सुबिधाको अधिकतम सदुपयोग गर्नुस् । हामी खाली अरुलाई गाली मात्रै गरेर बसिरहेका छौं । सरकारलाई गाली मात्रै गरिन्छ । सरकारले नीति मात्रै ल्याउने हो, काम गर्ने हामीले हो । सरकार स्थिर हुने वित्तिकै देश आकाशमा उड्ने होइन् । २०३१ सालमा कोरिया र नेपाल उस्तै अवस्थामा थियो । कोरियनहरुले काम गर्ने रहेछन हामी चाँही खाली गफ मात्रै गर्ने रहेछौं । कोरियाली नागरिकको प्रति बर्ष आम्दानी ७० हजार डलर पुगिसक्यो, हामी एक हजारमै अल्झिएका छौं । त्यसकारण हामीले पनि काम गर्नु पर्यो । आर्थिक गतिबिधी बढाउनु पर्छ । त्यसले कुल गार्हस्थ उत्पादन बढ्छ र जनताको जीवन स्तर उकासिन्छ ।-विश्व लगानीकर्ता सप्ताहको दोश्रो दिन बोर्डका अध्यक्ष डा. कार्कीले व्यक्त गरेको विचार

सेयर बजारमा सामान्य सुधार, ग्लोबल आईएमई बैंकको बढी कारोबार

काठमाडौं । लगातार २ दिन गिरावट आएको सेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ । मंगलबार सेयर बजार २.६९ अंक बढेर नेप्से परिसुचक १ हजार २४१ अंकमा पुगेको छ । आइतबार र सोमबार दुई दिन बजार २८ अंकले घटेको थियो । मंगलबार बजार लयमा फर्किएको छ । बैंक व्यापार र निर्जीवन बीमाको मूल्यमा समान्य बढेको छ भने अन्य समूहको घटेको छ । बजार सामान्य बढ्दा ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३१६ मा ३ करोड ६५ लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोमा सानिमामाई हाइड्रोपावर लिमिटेडको भएको छ । सानिमाको २ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सानिमाले लाभांश घोषणा गरेपछि लगानीकर्ता आर्कर्षित भएका हुन् । मंगलबार ४५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

वर्ल्ड इन्भेष्टर्स विकः सेयर बजार सडकमा, २८ अंकले घट्यो बजार

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह मनाईरहँदा सेयर बजार भने २८ अंकले घटेको छ । आइतबार १०.४७ अंकले घटेको सेयर बजार सोमबार १८ अंकले घटेको हो । सोमबार बिहानै सेयर बजारका सबै सम्बद्ध निकायहरु सम्मिलित ३ हजार सहभागीले विश्व लगानीकर्ता सप्ताहको आरम्भ गरे । तर सोही दिन बजार भने १८ अंकले ओरालो लाग्यो । बजार घट्न थालेपछि लगानीकर्ताहरुका बीचमा ‘बिहान सडकमा गएको, अहिले सडकमै पुगिने भो’ भन्ने चर्चा चलेको थियो । बिहानको प्रभात फेरी कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मर्चेण्ट बैंकर र लगानीकर्ताका प्रतिनिधीहरु सहभागी थिए । उनीहरुले सेयर बजारको विकासका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले नेपालको पूँजी बजारलाई दिगो र भरपर्दाे बनाउन बोर्डले कुनै कसर बाँकी नराखेको धारणा राखेका थिए । नेपाल स्टक एक्सचेञ्(नेप्से)का महाप्रबन्धक चन्द्रसिंह साउँदले अब अनलाईन सेयर कारोबारको युग आरम्भ भएको बताए । उनले नमुना कारोबारमा लागनीकर्ताहरुको चासो कम देखिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।‘अब घरमै बसेर एक क्लिकमा सेयर खरिद बिक्रि गर्न सकिने दिन आउँदैछ, तर नमुना कारोबारमा अभ्यासमा भने लगानीकर्ताहरुको सहभागीता कम देखियो’, साउँदले भने । बिहान सेयर बजारको दिगो विकासको कसम खाएर छुटेकाहरु दिउसोँ बजार घटेपछि भने तनाबमा पुगेका थिए । दशैंको खर्च जोहो गर्ने अभियानमा लगानीकर्ता जुटेसँगै बजार घट्न थालेको स्वंय लगानीकर्ताहरुले बताईरहेका छन् ।

सेयर बजार घट्दैमा म्युचअल फण्डका लगानीकर्ताले डराउनु पर्दैन-समीर दाहाल

सन् २००२ मा चाटर्ड एकाउन्टेट भएपछि सीमरप्रसाद दाहाल आफैंले २ वर्ष लेखापरीक्षण फर्म सञ्चालन गरे । त्यसपछि हिमालयन बैंकमा इन्टरर्नल अडिटरको रुपमा सन् २००५ देखि काम सुरु गरेका दाहाल सन् २०१२ पछि सिटिजन्स बैंकमा गए । सिटिजन्सले प्रवद्र्धन गरेको सीबीआईएल क्यापिटलमा हाल उनी २ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । सेयर रजिस्ट्रार भन्दा पनि सीबीआईएलले लगानी व्यवस्थापन  र यो वर्ष पनि नयाँ पोर्टफोलियो योजना ल्याउने सीईओ दाहाल बताउँछन् । प्रस्तुत छ, नेपालमा पुँजी बजारको विकास र म्युचअल फण्डका बारेमा केन्द्रीत रहेर सीईओ दाहालसंग विकासन्युजले गरेको वहस । सीबीआईएल क्यापिटल २ वर्ष पुरानो भयो । अहिले संस्था कुन अवस्थामा पुगेको छ ? यसले आफुलाई बजारमा कुशल लगानी व्यवस्थापकको रुपमा चिनाईसकेको छ । लगानीकर्ताले सीबीआईएल क्यापिटल लगानी व्यवस्थापक हो, म्युचुअल फण्डको व्यवस्थापन गरेको छ, पोर्टफोलियो म्यानेजमेन्टको काम पनि गरेको छ भनेर बुझ्नु भएको छ । हामीले इन्भेष्टमेन्ट बैंकिङ व्यवसायलाई प्राथमिकतामा राखेका छौं । साथै, सेयर रजिष्टार तथा निष्काशन प्रवन्धक, डिम्याट खाता खोल्ने, अन्डरराइटिङको कार्य पनि स्थापनाकाल देखि नै गरिरहेका छौं । अन्य मर्चेन्ट बैंकर आक्रमक रुपमा आइरहँदा सीबीआईएलले नगर्नुको कारण के हो ? हामी स्थापना हुनु भन्दा पहिले सीमित मर्चेन्ट बैंकर मात्र रहेका हुँदा सेवाग्राहीले अनिवार्य रुपमा सीमित संस्थाहरुबाट मात्र सेवा लिनुपर्ने बाध्यता रहेकोमा हाल आएर मर्चेन्ट बैंकरहरुको संख्या वृद्धि भएको हुँदा सेवाग्राहीहरुलाई विकल्प प्रशस्तै छन् । तसर्थ व्यवसाय वृद्धिमा पूर्ण रुपमा आशावादी छौं । यहाँले इन्भेष्टमेन्ट पोर्टफोलियमा ध्यान केन्द्रीत भएको कुरा गर्नुभयो । सीबीआईएलले कुन क्षेत्रमा लगानी गरिरहेको छ ? अहिले हामीले व्यक्तिगत र संस्थागत लगानीकर्ताको लगानी व्यवस्थापन गरिरहेका छौं । पुँजी बजारमा प्राविधिक जनशक्ति चाहिने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सेयर बजारमा ठुलो मात्रामा लगानी गरेका छन् । तर, सबैसंग सेयर बजारका बारेमा जानकार कर्मचारी नहुन सक्छन् । सेयर सम्बन्धि विस्तृत विश्लेषण गर्ने संयन्त्र तथा अर्थशास्त्री कर्मचारीको अभाव हुन सक्छ । व्यक्तिगत लगानीकर्ता मध्ये धेरै जसोले बजार बढ्न थाल्यो भनेपछि सेयरको बारेमा विस्तृत अध्ययन नगरी लगानी गरेको पाइएको छ । यसले गर्दा हामीले लगानीकर्तालाई सुरक्षित लगानी गराउने तर्फ ध्यान दिएका छौं । लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ? सेयर बजार जहिले पनि तलमाथि भइरहेको हुन्छ । लगानी गर्दा कम्पनीको कमाई कति हुन्छ र प्रतिफल कति दिन्छ भन्ने हो । छोटो समयमा कति मूल्य वृद्धि हुन सक्छ भनेर मूल्य वृद्धिका लागि लगानी गर्ने भनेको स्पेकुलेसन हो, हामी यसमा विश्वास गर्दैनौं । हामी स्पेकुलेसनलाई व्यवस्थापन गरेर वास्तवमा प्रतिफल राम्राे दिने संस्थामा लगानी गर्छौं । गत फागुनमा ८२ करोड रुपैयाँको म्युचुअल फण्ड निष्कासन गर्नुभएको थियो । म्युचुअल फण्डको वित्तीय विवरण कस्तो छ ? फागुन अन्तिममा आएर म्युचुअल फण्ड बाँडफाँड गरेका हौं । सीबीआईएलले व्यवस्थापन गरेको कोषको मूल्य प्रति इकाई १० रुपैयाँ ५१ पैसा पुगेको छ । अर्को वर्षको लक्ष्य भनेको लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने हो । जुनकुरा हामीले विवरणपत्र निष्कासन गर्दा भनेका छौं । म्युचुअल फण्ड र मुद्धति निक्षेपबीचको फरक के हो भने फण्डले निक्षेपको प्रतिफल पनि दिन्छ भने बजारमा भएको मूल्य वृद्धि अनुसार आफ्नो भ्यालु बढाएर मूल्य वृद्धि अनुसार आफुलाई समायोजन गर्दै जान्छ । वर्षेनी लाभांश पनि आउँछ । म्युचुअल फण्ड पुँजीबजार र मुद्रा बजार दुबैको लाभ भएको लगानी गर्ने क्षेत्र हो । यसमा लगानी गर्दा कहिले बजार मूल्य घटेर तल पनि पुग्छ । त्यसबेला संयमता आवश्यक पर्छ । पछिल्लो समयमा म्युचुअल फण्डको खुद सम्पत्ति घट्दै गएको छ । यसको कारण के होला ? जुन म्युचुअल फण्डहरुको मूल्य घटेको छ, उसको सेयर बजारमा प्रवेश गर्ने बेला अहिलेको तुलनामा सेयर मूल्य महंगो थियो । सेयर परिसुचक माथि भएको बेला प्रवेश गरेको भएपनि कन्टेन्जेसी फण्डको व्यवस्था नगरी पुरै कोष लगानी गरेको देखियो । त्यसले गर्दा उहाँहरुले सेयर बजार घटेका बेला किनेर मौकाको फाइदा उठाउन पाउनु भएन् । म्युचुअल फण्डले सबै पैसा सेयरमा मात्र लगानी गर्नुपर्छ भन्ने हैन । त्यसैले सम्बन्धित स्टेकहोल्डरहरुले हाम्रो योजना हेरेर सुझाव दिंदा उचित हुनेछ । तर सेयर किन्नु नै भनेर डण्डा हानेर किन्न वाध्य पारिनु हुन्न । म्युचुअल फण्डले कम्पनीको कस्ता सुचकको विश्लेषण गरेर सेयर खरिद गरेका हुन्छन् ? पहिलो कुरा लगानीकर्ताको पैसा महंगो सेयरमा नपरोस् भनेर पीई रेसियोमा अत्यन्तै ध्यान दिन्छौं । यसपछि कम्पनीको व्यवसायको विश्लेषण गर्ने जसको दीगोपना र बजार हेरिन्छ । तेस्रो व्यवस्थापन पक्षको अवस्था हेरिन्छ । यसमा ग्रेडिङ गरिन्छ । बढी ग्रेड आएकोमा लगानी गर्नेछौं । सेयर बजारमा उतार चढाव आइरहेको देखिन्छ । अब बजार बढ्ने संभावना कतिको छ ? सेयर बजारमा तलमाथि भइरहन्छ, यो नियमित प्रक्रिया नै हो । बजार घटेपछि किन्न थालिन्छ बजार बढ्नु स्वभाविक हो । मूल्य बढेपछि आवश्यकताअनुसार बिक्री गर्ने गरेका हुन्छ । हाम्रो लामो समयसम्म घट्दै गएकाले लगानीकर्ता निराश हुने अवस्था आएको छ । सरोकारवालाहरुबाट पनि बेलाबेलामा पुँजीबजारका बारेमा नकारात्मक टिप्पणीहरु आउँदा लगानीकर्ताको मनोवल खस्किएको छ जस्तो लाग्छ । सेयर बजार घट्दै गएपछि सबै म्युचुअल फण्ड धरासायी बन्ने अवस्था देखिएको हो ? म्युचुअल फण्डले योजनाबद्धरुपमा प्रतिफल गणना गरि रकम लगानी गरेका हुन्छन् । बजार धेरै तलमाथि भइरह्यो भने रोलओभर भएर नाफा पनि बढी नै हुन्छ । दीर्घकालीन लगानीमा अल्पकालीन उतारचढावमा संयमता अपनाइन्छ । अहिले आएका म्युचुअल फण्ड सकिने भन्ने हुदैन् । प्रतिफल त आइरहन्छ । सबैले राम्रो कम्पनी छानेर लगानी गरेका हुन्छन् । अहिले पो घटेको छ, यो सधै निरन्तर हुदैन् । अहिले १० रुपैयाँको मूल्य घटेर ८ रुपैयाँसम्म आएको छ । अन्तत यो बढ्ने छ । दीर्घकालीन अवस्थालाई हेरेर लगानी गरिने भएकाले यसमा चिन्ता लिनु पर्ने अवस्था छैन । सीबीआइएल क्यापिटलले अहिले के गरिरहेको छ ? सीबीआईएलले बजारमा लगानी व्यवस्थापन गर्ने संस्थाको रुपमा आफनो परिचय बनाएको छ । गत वर्ष हामीले नेपाल बैंकको सबैभन्दा बढी एफपीओ अण्डरराइटिङ गरेर सफलता पूर्वक सम्पन्न गराईयो । थप म्युचुअल फण्ड योजना र लगानी व्यवस्थापन योजना पनि ल्याएका छौं । आउँदो वर्ष ७ प्रदेशमा शाखा विस्तार गरेर काम सुरु गर्ने योजनामा छौं । ८२ करोड रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा आइसकेको छ भने अर्को १ अर्ब रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा ल्याउने तयारी गरेका छौं । नयाँ म्युचुअल फण्ड ल्याउनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौं । स्वीकृति दिएको म्युचुअल फण्ड १ को पैसा लगानी गर्न बाँकी रहेको अवस्थामा तपाईलाई अरु थप फण्ड संचालन गर्ने स्वीकृति दिएर के गर्नु भन्नु हुन्छ ? हामी जस्तो फण्ड म्यानेजरहरुले अध्ययन गरेर मात्र लगानी गर्छौ । एकै पटक ह्वातै लगानी गर्नु पनि हुँदैन । बजारलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ । हामीले विस्तारै लगानी गरिरहेका छौं । सेयर बजार घटबढ भएकाले हामीसंग कन्टिेजन्सी कोष पनि चाहिन्छ । नयाँ अवसर आयो भने कसरी लगानी गर्ने ? त्यसलै बोर्ड नीतिगत रुपमा स्पष्ट हुन आवश्यक छ । एउटा स्किमलाई एक किसिमले चलाइरहेका हुन्छौं । फेरी अर्को स्किम सञ्चालनका लागि अनुमति मागेका छौं । सीबीआइएलले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको धेरै समय भइसक्यो हालसम्म आएको छैन । आईपीओ कहिले आउने छ ? मर्चेन्ट बैंकरले आईपीओ ल्याउने कुरामा नीतिगत रुपमा व्यवस्थापन गर्दैैछौं भन्ने जानकारी प्राप्त हुन आएको छ । स्पष्ट नीति नहुँदा अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । हाम्रो २० करोड रुपैयाँ चुत्तापूँजीको कम्पनी हो । यसमा १७ करोड रुपैयाँ संस्थापक लगानीकर्ताको स्वामित्व रहेको छ । सिटिजन्स बैंक मुख्य कम्पनी हो भने नागरिक लगानी कोष र कर्मचारी संचय कोष संस्थागत सेयरधनी हुन् । बाँकी १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेका छौं । यदि आइपीओ निष्कासनमा थप ढिलाई हुने भएमा हकप्रद सेयर जारी गरेर चुत्तापुँजी २० करोड रुपैयाँ पुर्याउने गृहकार्य पनि गरिरहेका छौं । सीबीआईएलको यो वर्षका लागि नयाँ कार्यक्रम के छन् ? कर्पोरेट एडभाइजरी सेवा सुरु गर्ने छौं । ७ प्रदेशमा शाखा खोलेर लगानी व्यवस्थापनको सेवा दिने योजना अघि बढाएका छौं । साथै धितोपत्र बोर्ड बाट स्वीकृति प्रदान गरिने कुनै पनि कार्य गर्न तयार छौं । कर्पोरेट एडभाइजरी सेवा दिने कुरा गर्नुभयो । यो कस्तो योजना हो ? कर्पोरेट एडभाइजरी सेवा नेपालमा मर्चेन्ट बैंकका लागि नयाँ कुरा हो । सिविआइएल क्यापिटलले आफुलाई यसको लागि तयार गरिसकेको छ । संगठित संस्थाको संरचना हेरफेर, मूल्याँकन , व्यवसायिक योजना, लोन सिन्डिकेशन, र्विर्कङ क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्श सेवा प्रदान गरिने जिम्मेवारी संस्थागत परामर्शदाताको हुनेछ । २० करोड रुपैयाँ चुत्तापुँजी भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर यो काम शुरु गर्नेछौं ।

सेयर बजारमा दशैं लाग्यो, ठूला लगानीकर्तालाई खरिदको अवसर

काठमाडौं । सेयर बजारमा दशैँ लागेको छ । दशैं आउन डेढ हप्ता मात्रै बाँकी रहँदा बजारका लगानीकर्ता भने दशैं खर्चको जोहोमा लागेका छन् । आइतबार बजार १०.४७ अंकले घटेको छ । कारोबार रकम खासै नघटेर ५८ करोड कायम रहेको भएपनि बजारमा सेलिङ प्रेसर भने निकै बढि देखिएको एक ब्रोकरले बताए । लगानीकर्ताले पनि दशैंको जोहो गर्न थालेको अनुभूति लगानीकर्ताका नेताहरुले नै गर्न थालेका छन् । सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने– यति चाँडै दशैं नलाग्नुपर्ने थियो, चाँडै लागेको जस्तो देखियो । लगानीकर्ताले दशैं र ब्याजका लागि पैसाको जोहो गर्न थालेको जस्तो देखियो । यो नियमित प्रक्रिया हो, बजार सामान्य करेक्सनको बाटोमा गएको हुन सक्छ’, फुल्लेलले भने । उनले भने बजारमा सेयरको सेलिङ प्रेसर नभएको दावी गरे । दशैं तिहारमा बजार सामान्यतया केहि सुस्ताउने पनि उनले जिकिर गरे । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि केहि चाँडै लगानीकर्ता दशैंको जोहो गर्न लागेको हुन सक्ने बताए । ‘यो नराम्रा कम्पनीहरुको सेयर बेचेर राम्रामा लगानी गर्ने समय हो, अर्काे भनेको दशैंका लागि नाफा सुरक्षित गर्ने समय पनि हो, बुझ्ने लगानीकर्ताले भने मध्यमकालको लगानीका लागि राम्रा कम्पनीको सेयर किन्न सक्छ’, रौनियारले भने । उनले पनि दशैं तिहार लगायतका मुल चाडबाडका समयमा सेयर केहि सुस्ताउन सक्ने स्वीकार गरे । अर्का लगानीकर्ता ज्योति दाहालले पनि साना लगानीकर्ताले दशैंको जोहो गर्न थालेको बताए । ‘अहिले साना लगानीकर्ताहरु सेयर बेच्न तम्सिएका छन्, त्यसमा दशैंको जोहो जोडिएको छ’, दाहालले भने । उनले सेयर बजारका साना लगानीकर्ताले सेयर बजार बढ्दा सेयर किन्ने र घट्दा बेचेर सधैँ नोक्सानी व्यहोर्ने गरेको दावी पनि गरे । ‘साना लगानीकर्ता बेलैमा सोच्दैनन्, बढ्यो भने कागज हेरेर बस्नछन् । घट्यो भने मारवाडी आएनन्, एनआरइनलाई आउन दिएनन् भनेर गाली गर्दै नोक्सानी नै व्यहोर्छन् ।’, दाहालले भने ।

सेयर बजार दोहोरो अंकले घट्दा ग्लोबल आईएमईको सबैभन्दा बढी कारोबार

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेर नेप्से परिसुचक १ हजार २५६ मा सीमित भएको छ । बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । व्यापारिक बाहेक सबै क्षेत्रको सुचक घटेको छ । नेप्से घटेका बेला सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३२० रुपैयाँमा ६ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ग्लोबलको सेयर मूल्य कम भएकाले पनि लगानीकताले बढी खरिद गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशन र बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, प्रभु बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सम्हालिन नसक्दा दुई अंकले गिरावट आएको छ । बिहीबार बजार १०.५६ अंकले घटेको छ । बुधबार पनि बजार सामान्य गिरावट आएको थियो । बिहीबार बजार १ हजार २६७ अंकमा झरेको छ । होटल र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य केही बढेपनि बैंक, वित्त, जलविद्युत, बीमा क्षेत्रको घटेको छ । बजार घटेपछि कारोबार रकम पनि घटेर ५७ करोड २६ लाख रुपैयाँमा झरेको छ । बुधबार ९१ करोड रुपैयाँको कारोबार भएको थियो । बजार घटे पनि प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । प्रभुको प्रतिकित्ता २३९ रुपैयाँमा ४ करोड ६९ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेयर बजार २२ अंकले बढ्यो, प्रभु र एनआईसी एशिया बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । सेयर बजार मंगलबार २२ अंक बढेको छ । पछिल्लो समयमा लगानीकर्ताको विश्वास बढ्दै गएपछि यसको सकरात्मक असर बजारमा परेको हो । लगानीकर्ताको विश्वास बढेपछि बजार सुधार हुन थालेको छ । बजार बढेर नेप्से परिसुचक १ हजार २८० अंकमा पुगेको छ । मंगलबार १ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा बैंक, वित्त, होटल, व्यापार, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंकको भएको छ । प्रभु बैंकको प्रतिकित्ता २४० रुपैयाँमा ३ लाख ५१ हजार १०४ कित्ता सेयर किनबेच भएको छ । यस्तै एनआईसी एशिया बैंकको प्रतिकित्ता ४४८ रुपैयाँमा ५ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार भागर्व विकास बैंक, सनराइज बैंक र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् । कर्जाको ब्याजदर घट्दो क्रममा रहेको, बैंकहरुले सेयर कर्जा लिन बोलाएको सेयर मूल्य सस्तो भएको र कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेकाले यसको सकरात्मक असर बजारमा परेको ब्रोकरहरु बताउछन् ।

सेयर बजार बढ्ने क्रम शुरु, यस्ता छन् कारण

  काठमाडौं । ‘ सेयर बजारलाई ९०० अंकमा झार्ने खेल थियो, १ हजार १६५ भन्दा तल झरेन, अहिले घट्दो ब्याजदर, अनलाइन कारोबारको उत्साह, लाभांशको आशले सेयर बजार बढिरहेको छ । र, यो निरन्तर रहन्छ’, यो भनाई हो इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको । रौनियारले मात्रै होइन अर्का लगानीकर्ता ज्योति दाहालले पनि बजारमा उत्साह थपिएको बताए । ‘सेयर बजारमा उत्साह थपिएको छ, ब्याजदर, लाभांशको आश, समाधान उन्मुख करको सवालले बजार बढाउन मदत गरेको छ’, दाहालले भने । उनले नेपाल टेलिकम, एनआईसी एसिया बैंक लगायतका कम्पनीहरुको मूल्य बढेर पनि नेप्से परिसूचकमा प्रभाव परेको बताए । त्यस बाहेक अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय सेयर बजार प्रति देखाएको सकारात्मक चासो, कम मूल्यमा पाइएका सेयरले पनि लगानीकर्तालाई आकर्षित गरेको उनीहरु बताउँछन् । पछिल्लाे समयमा लगानीकर्तामाझ विश्वास पनि बढेको छ । ‘सेयर बजार घट्नेक्रम रोकियो भन्ने मनोविज्ञान स्थापित भएको छ, सबै कम्पनीले चौथो त्रैमासिकको विवरण पनि प्रकाशित गरिसकेका छन्, अब लाभांश घोषणाको क्रम सुरु हुन्छ, यीनै कारणले बजार बढ्न सघाईरहेको छ’, रौनियारले भने । अर्थमन्त्री डा. युवराज खतिवडाले हकप्रद र बोनस सेयरमा लगाईको ७.५ प्रतिशतको कर सम्बन्धी विवाद समाधान गर्न आफु सकारात्मक रहेको लगानीकर्ताहरुलाई बताएका थिए । त्यस बाहेक केहि समयभित्रै पूर्ण अनलाईन सेयर कारोबारले पनि लगानीकर्तामा राम्रो सन्देश दिएको छ । ‘यतिबेला सेयर बजारमा राम्रो सन्देश गैरहेको छ, लाभांश आउने, करको विवाद समाधान हुने, ब्याज दर घट्ने कुराले लगानीकर्ताहरु उत्साहका साथ सेयर खरिद गर्न आईरहेका छन्, सेयर किन्नेहरुको संख्या ह्वात्तै बढिरहेको छ’, एक जना ब्रोकरले भने । बिहिबार बजार बढेर नेप्से परिसुचक १ हजार १४० अंक नजिक पुगेकाे छ ।

सेयर बजार दोहरो अंकले बढ्यो, सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार

काठमाडौं । पछिल्लो समयमा सेयर बजार निरन्तर बढ्न थालेको छ । बुधबार सेयर बजार १३ अंक बढेर नेप्से परिसुचक १ हजार २३१ अंक नजिक पुगेको छ । बजार बढेपछि बुधबार ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, बीमा र लघुवित्त समूहको सेयर मूल्य बढेको छ । बुधबार एनआईसी एसियाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ४०८ रुपैयाँमा ५ करोड १३ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनआईसी एसिया बैंकको सेयर मूल्य बढ्न थालेको छ । बैंकको ब्याजदर घटेको र अनलाइन ट्रेडिङ पुर्ण रुपमा कार्यन्वयनमा आउन लागेकाले यसको असर बजारमा परेको लगानीकर्ता छोटेलाल रौनियार बताउछन् । विकासन्युजसंग कुरा गर्दै उनले भने “बजार अब बढ्छ घट्दैन ।” उनले पछिल्लो समयमा लगानीकर्ताको विश्वास बढेको बताए ।

एक सातादेखि सेयर बजारमा हरियाली, लगानीकर्तामा ल्यायो उत्साह, बुधबार २४ अंकले बढ्याे

काठमाडौं । साताको शुरुवातदेखि सेयर बजार उकालो लाग्ने क्रममा रहेको छ । तीन दिन लगातार बढेको बजार साताको दोश्रो अन्तिम दिन पनि नेप्से २३.८९ अंकले उकालो लागेर १२३४ अंकमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढेकाे हाे । बैंक तथा वित्तीय कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा सुधारात्मक संकेत देखिएको लगानीकर्ताले बताएका छन् । त्यस्तै, बजारमा सेयरको मूल्य सस्तिदै गएपछि केही दिनदेखि लगानीकर्ताहरु बाणिज्य बैंकको सेयरप्रति आकर्षित भएका हुन् । लगानीकर्ता अाकर्षित भएपछि वाणिज्य बैंककाे काराेबार रकम र सेयर मूल्यमा सुधार अाएकाे छ । बुधबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । कुल १६७ कम्पनीको कारोबार भएको बजारमा ७० करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी कुमारी बैंकको एकैदिन ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ रहेको छ । उत्पादनमूलक र ट्रेडिङ बाहेक कारोबारमा आएका बाँकी समूहहरु उकालो लागेका छन् । सबैभन्दा बढी निर्जिवन बीमाको समूह १६२ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा ९५, माइक्रोफाइनान्स ४२, हाइड्रोपावर ३९ र डेभलपमेन्ट बैंक समूहको सूचक ३० अंकले उकालो लागेका छन् । बजारमा दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य ९.७५ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र कुमारी बैंकका लगानीकर्ताले क्रमशः ८.४७ र ८.३३ प्रतिशत कमाएका छन् ।

सेयर बजार निरन्तर घट्दाको परिणाम, ९ वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक

काठमाडौ । कुनै समय बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौंं लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैक तथा वित्तीय संस्थाको सेयर मूल्य समेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैक तथा वित्तीय संस्थाको सेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोबार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैकको सेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ । नेपाल स्टकका अनुसार सेञ्चुरी बैककाे प्रतिसेयर मूल्य १६९ रुपैयाँ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैककाे सेयर मूल्य २२७ रुपैयाँ थियो । यस्तै सिभिल बैककाे सेयर पनि घटेको छ । सो बैंक प्रतिसेयर मूल्य १४८ रुपैयाँ छ । गत वर्ष भदौमा सो बैकको सेयर  २३० रुपैयाँमा खरिद बिक्री भएको थियो । जनता बैंककाे सेयर प्रतिकित्ता १५३ रुपैयाँ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो बैककाे सेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैंकको सेयर २५४ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै मेगा बैकको सेयर १६१ रुपैयँमा कारोबार भएको छ । गत वर्ष ४४९ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर निरन्तर ओरालो लागेको छ । माछापुच्छ्रे बैङ्कको सेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैंकको सेयर गत बिहिबार २०४ रुपैयाँमा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैंकको सेयर ३२७ रुपैयाँमा कारोबार भएको थियो । सेयर बजारमा नेपाल बङ्गलादेश बैक कमजोर देखिएको छ । सो बैकको सेयर १९९ रुपैमा कारोबार भएको छ । गत वर्ष भदौमा सो बैकको सेयर ३३२ रुपैयाँमा खरिद बिक्री भएको थियो । एनसीसी बैकको सेयर पनि ओरालो लागेको छ । सो बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा बिक्री भएको थियो । गत वर्ष भदौमा ३६४ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै प्रभु बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा ३७० मा कारोबार भएको थियो । सिटिजन बैकको प्रतिकित्ता सेयर २३५, ग्लोबल आइएमइ बैकको २९६, लक्ष्मी बैकको २३३, बैक अफ काठमाण्डुको २८९, नेपाल बैकको २८६, एनएमबी बैकको ३१६, प्राइम बैकको २९५, सनराइजको २२०, एनआइसी एसियाको ३४० तथा सानिमा बैकको प्रतिकित्ता ३२० रुपैयाँमा कारोबार भएको छ । तीन बैककाे सेयर मात्रै बढी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैक तीन बैकको सेयर मात्र मात्रै ५०० रुपैयाँ माथि रहेको छ । स्ट्याण्डर्ड चार्टड बैककाे प्रतिकित्ता ७१५ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष २ हजार २०१ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर मूल्य घट्दै गएको छ । नबिल बैंकको प्रतिकित्ता ९४७ रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष सो बैकको सेयर १ हजार ६६५ रुपैयाँमा खरिद बिक्री भएको थियो । एभरेष्ट बैकको सेयर मूल्य ६५८ रहेको छ । गत वर्ष १ हजार २६६ रुपैयाँमा कारोबार भएको थियो । नेपाल एसबिआई बैंकको सेयर ४९३ मा कारोबार भएको छ । नयाँ लगानीकर्तालाई अवसर सेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्ने अवसर रहेको बताउछन् । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ । सामान्यता बैक तथा वित्तीय संस्थाको सेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ । ‘वियरिस टेन्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैकको तथा वित्तीय संस्थाको सेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर भएको बताउछन् ।