
काठमाडौं । सेयर बजार निरन्तर गिरावटको प्रत्यक्ष प्रभाव म्युचुअल फण्डहरुमा परेको छ । हाल सञ्चालनमा रहेका अधिकाँश फण्डको खुद सम्पत्ति र प्रतिएकाई खुद मूल्य (एनएभी) घटेको छ ।
गत असोज महिनाको अन्त्यमा सेयर बजार परिसूचकमा अघिल्लो मसान्तको तुलनामा करिब १० पैसाको सामान्य गिरावट देखिँदा अधिकांश म्युचुअल फण्डहरुको एनएभी सोही अनुपातमा गिरावट आएको छ । फण्डहरुले अधिकाँश रकम सेयरमा लगानी गर्दै आएका छन् । सेयर बजार बढ्दा फण्डको खुद सम्पत्तिमा पनि वृद्धि हुने गरेको छ ।
उक्त समयावधिमा सिटिजन्स म्युचुअल फण्डले एनएभीमा सामान्य सुधार गर्दा नबिल इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, लक्ष्मी भ्यालु फण्ड तथा एनएमबी हाइब्रिड फण्ड—१ मा सामान्य गिरावट देखिएको छ । यसबीचमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को मूल्य भने निराशाजनक रुपमा घटेको छ ।
नबिल इक्विटी फण्डले सञ्चालन गरेको नबिल इक्विटी फण्डले पनि खुद सम्पत्ति करिब डेढ करोडले गुमाउँदा एनएभीमा १२ पैसाको गिरावट आई प्रतिएकाई ८ रुपैंया ५९ पैसामा सीमित भएको छ ।
सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–१ ले भने अघिल्लो महिनामा आफ्नो खुद सम्पत्तिमा सामान्य सुधार गरेको छ । फण्डले खुद सम्पत्ति ८५ करोड ३१ लाखबाट बढेर ८६ करोड २२ लाख रुपैयाँ पुर्याउँदा प्रतिएकाई खुद मुल्यमा १२ पैसा सुधार गरी १० रुपैंया ५२ पैसा पुर्याएको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको सम्पत्ति घटेर ८६ करोड ६४ लाखबाट घटेर ८६ करोडमा सीमित हुँदा यसको पनि प्रतिएकाई मूल्यमा सामान्य गिरावट आएको छ । उक्त फण्डको एनएभी ४ पैसा घटेर १० रुपैंया ३१ पैसामा सीमित भएको छ ।
लक्ष्मी म्युचुअल फण्डको लक्ष्मी भ्यालु फण्ड–१ ले पनि ३३ लाख खुद सम्पत्ति गुमाउँदा १० रुपैंया ८९ पैसा प्रतिएकाई खुद मूल्यमा सीमित भएको छ जुन अघिल्लो महिनाको तुलनामा ६ पैसाले कम हो ।
एनआईबिएल म्युचुअल फण्डको एनआईबिएल समृद्धि फण्ड–१ को खुद सम्पत्तिमा पनि १ करोड ३० लाख रुपैंयाको गिरावट आउँदा प्रतिइकाई सम्पत्तिमा १४ पैसाको गिरावट आएको छ ।
एनएमबी म्युचुअल फण्डले सञ्चालन गरेको दुई फण्डहरुमध्ये एनएमबी हाइब्रिड फण्ड एल–१ को मूल्य स्थिर रहे पनि अर्को फण्ड एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले भने गत महिना खुद सम्पत्तिमा ठूलो क्षति व्यहोरेको छ । उक्त फण्डको खुद सम्पत्ति १ अर्ब १ करोडबाट घटेर ८४ करोडमा झर्दा प्रतिएकाई खुद सम्पत्ति मूल्यमा २ रुपैंया २४ पैसाको गिरावट आएको छ । यो अघिल्लो महिनाको सुरुको खुद सम्पत्तिको आधारमा १६.५४ प्रतिशतको गिरावट हो ।
हालसम्म प्रकाशित भएका विभिन्न म्युचुअल फण्डका विभिन्न योजनाहरुमध्ये असोज महिनामा सिटिजन्स म्युचुअल फण्डको मात्र प्रतिइकाई खुद सम्पत्ति मूल्यका सुधार देखिएको छ भने अन्य सबै फण्डहरुको मूल्य घटेका छन् ।