
डा. रेवत बहादुर कार्की, अध्यक्ष-नेपाल धितोपत्र बोर्ड
हामी विश्व लगानीकर्ता सप्ताह मनाईरहेका छौं । एक हप्ताभरी बिभिन्न कार्यक्रम गरेर पुँजी बजारको दिगो विकासको अभियानमा हुनेछौं ।
बजार अलिकति घट्यो भने बजार सिद्धियो भन्ने अनि अलिकति बढ्यो भने पनि चलखेल भयो भन्ने कुरा छाड्नुपर्छ । बजारलाई स्थिर हिसाबले चल्न दिनुपर्छ । बजार निर्जिव हो, त्यसलाई जीवन्त बनाउने लगानीकर्ताले हो । अलिकति घट्ने वित्तिकै बजार सिद्धिन लाग्यो भनेर अफवाह फैलाउनु हुन्न ।
लगानीकर्ता सप्ताहमा देखिएको उत्साहले लगानीकर्ता मात्रै नभएर हामी नियामकलाई पनि उत्साहित बनाएको छ । यसमा धितोपत्र बोर्ड र सबै सम्वद्ध पक्षहरुको ठूलो योगदान छ । हामीले करिब एक दर्जन प्रकाशनहरु सार्वजनिक गरेका छौं । यो सबै पुँजी बजारका लगानीकर्ताका लागि नै हो । ज्ञान भन्ने कुरा सधै नयाँ हुन्छ । यी प्रकाशनहरुको मुल उदेश्य भनेको लगानीकर्तालाई शसक्तिकरण गर्ने, सुसुचित गर्ने, विवेकशिल ढंगले लगानी गर्न अभिप्रेरित गर्ने हो ।
बजार भनेको बढ्ने अनुमान गर्ने र घट्ने अनुमान गर्ने लगानीकर्ताहरु बीचको सन्तुलनले चल्ने हो । बढ्छ मात्रै भन्ने र घट्छ मात्रै भन्नेहरुका आधारमा बजार अघि बढ्न सक्दैन् । २०३ देश भएको संसारमा १२६ देश मात्रै आइएसकोको सदस्य भएका छन् । हामी त्यसमा परेका छौं, जसलाई ठूलो प्रगति मान्नुपर्छ । लगानीकर्ताहरुलाई यो हप्ता बिशेष रुपले पुज्नुपर्छ । अझ यो हप्ता मात्रै होइन सधै पुजा गर्नु पर्छ । लगानी कर्ताबिना बजार अपुर्ण हुन्छ ।
देशको विकास गर्नुछ भने पुँजी बजारको विकास गर्नुपर्छ । पुँजी बजारको विकास बिना संसारका कुनै पनि देश विकसित भएका छैनन् । न्युन आय भएका देशहरुमा पुँजी बजार नभै हुन्न भन्ने सन्देश स्थापीत भैसकेको छ । हामीले पनि देश विकासका लागि पुँजी बजारको दिगो विकास गर्नु पर्छ भनेका छौं । संघिय संरचना अनुसार प्रदेश नम्बर १ मा प्रदेश कार्यालय स्थापीत गर्दैछौं । विकासमा नागरिकको प्रत्यक्ष सहभागीता हुनुपर्छ ।
हाल पर्याप्त सूचनाको अभावमा लगानी कर्ता अलमलिएका छन् । हामीले लगानीकर्तालाई पर्याप्त सूचना दिने प्रयास गरेका छौं । जिल्ला गत आर्थिक, प्रशासनिक तथा व्यवसायीक र बैंकिङ अवस्था चित्रण गरिएको प्रतिवेदन सार्वजनिक गर्दैछौं । बोर्डले पुँजी बजारको दिगो विकासका लागि भनेरै गत बर्षदेखि बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । नियामक निकाय नै सबै भन्दा पहिले अनुशासित र पारदर्शी हुनुपर्छ । आफु अनुशासनमा नबसि अरुलाई पाठ सिकाउन पाइँदैन् ।
केहि दिन अघि लगानीकर्ताका संघ संस्थाबाट साथीहरुले ३० बुँदे सुझाव दिनुभयो । हामीले त्यो कुरा नीति तथा कार्यक्रममा सबै राखिसकेका छौं । उहाँहरुको एउटा सुझाव चाँही अनलाईन मिडियाहरुको नियमन पनि गर्नु परो भनेर लेखेको देखियो । कानुन सम्वत माग पत्र राख्नुस् । मिडियालाई पनि नियमन गर्नुस भनेर हामीलाई अख्तियार पठाउने प्रयास नगर्नुस् ।
पुँजी बजारको वृद्धि र विकास सबैको दायित्व हो । मार्जिन ट्रेडिङ चाँडै आउँदैछ । सबै ब्रोकरले पुँजी ५ करोड पुर्याउनुस, सबैले मार्जिन ट्रेडिङ गर्नुस् । ५० वटा ब्रोकरले १०।१० करोडको मार्जिन ट्रेडिङ गर्न पाउनु भयो भने ५ अर्बको सुबिधा भैहाल्छ । ५ गुणासम्मको व्यवस्था गरियो भने अरबौंको मार्जिन ट्रेडिङको सुबिधा प्राप्त हुन्छ । ब्रोकरहरुले पनि यसरी नै सोच्नु पर्यो । खाली बैंकबाट लिएर मात्रै अघि बढ्ने सोँच त्याग्नुस् । पुँजी बढाउनुस अनि मार्जिन ट्रेडिङ सुबिधाको अधिकतम सदुपयोग गर्नुस् ।
हामी खाली अरुलाई गाली मात्रै गरेर बसिरहेका छौं । सरकारलाई गाली मात्रै गरिन्छ । सरकारले नीति मात्रै ल्याउने हो, काम गर्ने हामीले हो । सरकार स्थिर हुने वित्तिकै देश आकाशमा उड्ने होइन् । २०३१ सालमा कोरिया र नेपाल उस्तै अवस्थामा थियो । कोरियनहरुले काम गर्ने रहेछन हामी चाँही खाली गफ मात्रै गर्ने रहेछौं । कोरियाली नागरिकको प्रति बर्ष आम्दानी ७० हजार डलर पुगिसक्यो, हामी एक हजारमै अल्झिएका छौं ।
त्यसकारण हामीले पनि काम गर्नु पर्यो । आर्थिक गतिबिधी बढाउनु पर्छ । त्यसले कुल गार्हस्थ उत्पादन बढ्छ र जनताको जीवन स्तर उकासिन्छ ।-विश्व लगानीकर्ता सप्ताहको दोश्रो दिन बोर्डका अध्यक्ष डा. कार्कीले व्यक्त गरेको विचार