
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको संकुचन देखिएसँगै सेयर बजार घट्न थालेको छ । केहि दिन अघिसम्म कर्जा दिन बोलाउने बैंकहरुले निक्षेपका योजना अघि सारेपछि तरलता संकुचनको संकेत देखिएको हो ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार बुधबार बैंक तथा वित्तिय संस्थाहरुमा ३८ अर्बको तरलता मौजुद छ । दशैं नजिकिँदै गरेको वर्तमान अवस्थामा ३८ अर्बको तरलता खासै ठूलो होइन् । कर्जाको माग बढ्दै गएपछि तरलता घट्दै गएको राष्ट्र बैंकले जनाएको छ ।
चालु अार्थिक वर्षकाे पहिलाे तीन महिना बैंकहरूले कर्जा लगानीमा जाेड दिएका थिए । उनीहरूले घर कर्जा, सेयर कर्जा, सवारी कर्जा प्रवाहमा जाेड दिएका थिए ।
तर केहि दिनयता नविल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक लगायतले निक्षेप आव्हान गरेका छन् । बजारमा तरलता अभावका संकेत देखिएसँगै सेयर बजारका लगानीकर्ता सेयर बेच्न उद्यत देखिएका हुन् । त्यसमाथी दशैंको खर्च जोहो गर्न पनि सेयर बेच्नेहरुको चाप बढेको छ ।
पछिल्लो चार दिनमा सेयर बजार ३६.५४ अंकले घटेको छ । आइतबार १०.४७ प्रतिशतले घटेको बजार सोमबार १८ अंकले ओरालो लागेको थियो । मंगलबार २.६९ प्रतिशतले बढ्दा बुधबार फेरी १०.७६ प्रतिशतले ओरालो लाग्यो ।
एक मर्चेण्ट बैंकरका अनुसार बैंक तथा वित्तिय संस्थामा ऋणको चाप बढ्न थालेको छ । ऋणको चाप बढेपछि बैंकहरु निक्षेप आकर्षित गर्न केन्द्रित भएका छन जसको प्रभाव सेयर बजारमा देखिएको हो । सेयर बजार घट्नुको मुल कारण बैंकको ब्याजदर र्नै भएको उनको निष्कर्ष छ । केही बैंकले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाएका थिए ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने लगानीकर्ताहरु बजार बुक गर्न लागेको दावी गरे । उनले बजार घट्ने र बढ्ने प्रक्रिया निरन्तर जारी रहने बताउँदै आत्तिनुपर्ने अवस्था नरहेको दावी गरे ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पनि सेयर बजार केहि अंकले घट्दैमा आक्तिनु नपर्ने बताएका छन् । विश्व लगानीकर्ता सप्ताहको दोश्रो दिन आयोजीत कार्यक्रममा उनले सेयर बजार अलिकति घट्ने वित्तिकै सिद्धिन लाग्यो भनेर आत्तिनु नपर्ने बताएका हुन् ।