
काठमाडौं । सेयर बजारमा दशैँ लागेको छ । दशैं आउन डेढ हप्ता मात्रै बाँकी रहँदा बजारका लगानीकर्ता भने दशैं खर्चको जोहोमा लागेका छन् । आइतबार बजार १०.४७ अंकले घटेको छ । कारोबार रकम खासै नघटेर ५८ करोड कायम रहेको भएपनि बजारमा सेलिङ प्रेसर भने निकै बढि देखिएको एक ब्रोकरले बताए ।
लगानीकर्ताले पनि दशैंको जोहो गर्न थालेको अनुभूति लगानीकर्ताका नेताहरुले नै गर्न थालेका छन् । सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने– यति चाँडै दशैं नलाग्नुपर्ने थियो, चाँडै लागेको जस्तो देखियो । लगानीकर्ताले दशैं र ब्याजका लागि पैसाको जोहो गर्न थालेको जस्तो देखियो । यो नियमित प्रक्रिया हो, बजार सामान्य करेक्सनको बाटोमा गएको हुन सक्छ’, फुल्लेलले भने । उनले भने बजारमा सेयरको सेलिङ प्रेसर नभएको दावी गरे । दशैं तिहारमा बजार सामान्यतया केहि सुस्ताउने पनि उनले जिकिर गरे ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि केहि चाँडै लगानीकर्ता दशैंको जोहो गर्न लागेको हुन सक्ने बताए ।
‘यो नराम्रा कम्पनीहरुको सेयर बेचेर राम्रामा लगानी गर्ने समय हो, अर्काे भनेको दशैंका लागि नाफा सुरक्षित गर्ने समय पनि हो, बुझ्ने लगानीकर्ताले भने मध्यमकालको लगानीका लागि राम्रा कम्पनीको सेयर किन्न सक्छ’, रौनियारले भने । उनले पनि दशैं तिहार लगायतका मुल चाडबाडका समयमा सेयर केहि सुस्ताउन सक्ने स्वीकार गरे ।
अर्का लगानीकर्ता ज्योति दाहालले पनि साना लगानीकर्ताले दशैंको जोहो गर्न थालेको बताए । ‘अहिले साना लगानीकर्ताहरु सेयर बेच्न तम्सिएका छन्, त्यसमा दशैंको जोहो जोडिएको छ’, दाहालले भने । उनले सेयर बजारका साना लगानीकर्ताले सेयर बजार बढ्दा सेयर किन्ने र घट्दा बेचेर सधैँ नोक्सानी व्यहोर्ने गरेको दावी पनि गरे ।
‘साना लगानीकर्ता बेलैमा सोच्दैनन्, बढ्यो भने कागज हेरेर बस्नछन् । घट्यो भने मारवाडी आएनन्, एनआरइनलाई आउन दिएनन् भनेर गाली गर्दै नोक्सानी नै व्यहोर्छन् ।’, दाहालले भने ।