अमेरिका र चीनबीच आरोप-प्रत्यारोप, दूर्लभ खनिज विवादले झनै तनाव
काठमाडौं । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू- अमेरिका र चीनबीचको सम्बन्ध दिन प्रतिदिन बिग्रँदो छ । चीनबाट अमेरिका जाने जहाजहरूको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ । पछिल्ला १५ दिनमा यो सङ्ख्या फेब्रुअरीपछि सबैभन्दा न्यूनतम् तहमा पुगेको छ । अप्रिलको मध्यदेखि यसमा ५० प्रतिशत गिरावट आइसकेको छ । अमेरिकाका वित्त मन्त्रीका अनुसार चीनले विभिन्न प्रकारका सामग्रीहरू रोकिरहेको छ, जसमा रेयर अर्थ (दुर्लभ खनिज) पनि समावेश छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीनले गत महिना दुबै देशबीच भएको व्यापार सम्झौताको उल्लङ्घन गरेको बताएका छन् । सो सम्झौता पछि दुबै देशबीच चलिरहेको ट्यारिफ युद्ध रोकिएको थियो । अर्कोतर्फ चीनले अमेरिकामाथि नयाँ आर्थिक तथा व्यापारिक विवाद भड्काएको आरोप लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी चीनले व्यापार वार्ताको सम्झौतालाई कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ । उसले अमेरिकाले यसलाई गम्भीर रूपमा कमजोर पारिरहेको आरोप लगाएको छ । मन्त्रालयका अनुसार अमेरिकाले एकतर्फी रूपमा नयाँ आर्थिक तथा व्यापारिक विवादहरू उत्पन्न गराइरहेको छ, जसले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरता बढाइरहेको छ । यदि अमेरिका आफ्ना निर्णयहरू आफैले मात्र गर्न खोजिरहन्छ र चीनका हितहरूलाई कमजोर बनाउँदै जान्छ भने चीनले आफ्ना वैध अधिकार र हितहरूको रक्षाका लागि कडा र प्रभावकारी कदम चाल्ने मन्त्रालयको चेतावनी छ । जेनेभामा भएको सम्झौता यो घटनाक्रम ट्रम्पको शुक्रबार दिएको अभिव्यक्तिबाट आएको हो । उनले भनेका थिए कि चीनले अमेरिकासँग भएको सम्झौतोलाई पूर्ण रूपमा उल्लङ्घन गरेको छ । ट्रम्पले ट्रूथमा पोस्ट गर्दै भनेका छन् कि उनले चीनलाई एक अत्यन्तै खराब स्थितिबाट जोगाउन त्यससँग हतारमा सम्झौता गरेका थिए । उनले लेखका छन्, ‘मिस्टर नाइस गाइ बन्नुको यही नतिजा हो ।’ दुबै देशबीच केही हप्ताअघि जेनेभामा एउटा सम्झौता भएको थियो, जसअनुसार अप्रिलमा एकअर्कामाथि लगाइएको ट्यारिफमा कटौती गरिएको थियो । यो व्यवस्था ९० दिनका लागि मात्र गरिएको थियो । तर अब यो सम्झौता टुट्ने नजिक पुगेको छ, किनभने दुबै पक्षले एकअर्कामाथि सम्झौताको भावना विपरीत कार्य गरिरहेको आरोप लगाइरहेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुबै पक्षबीचको वार्ता हाल रोकिन पुगेको छ । उनीहरूले वार्तामा प्रगति ल्याउन राष्ट्रपति ट्रम्प र चिनियाँ नेता सी चिनफिङको सहभागिता आवश्यक रहेको बताउँछन् । दुर्लभ खनिजमा प्रतिबन्ध अमेरिकी अधिकारीहरूले सम्झौता भएपछि चीनले दुर्लभ खनिज निर्यातमा लगाइएको प्रतिबन्ध घटाउने आशा गरेका थिए । यी खनिजहरू आईफोन, इलेक्ट्रिक गाडीहरूदेखि एफ-३५ लडाकु विमानहरू र क्षेप्यास्त्र प्रणालीहरूमा प्रयोग हुँदै आइरहेका छन् । उता चीनले अमेरिकाले आफ्ना कम्पनीहरूका लागि प्रविधिको बिक्री सीमित गरिरहेको आरोप लगाएको छ । साथै अमेरिकाले चिनियाँ विद्यार्थीहरूको सङ्ख्या सीमित गर्नसमेत कदम चालेको छ । यसले देखाउँछ कि दुबै देशबीचको प्रतिस्पर्धा अब केवल व्यापारमा मात्र सीमित छैन । चीनको निर्माण क्षेत्रको गतिविधि मे महिनामा लगातार दोस्रो महिनासम्म घटिरहेको छ ।
विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ
काठमाडौं । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् । चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार राति एक विज्ञप्तिमा बताएको छ । 'थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ', भन्सारले भन्यो । कुनै विवरण सार्वजनिक नगरिएका ती यात्रुसँग तीन स्पाइडर–टेल्ड हर्न्ड भाइपर पाँच एसियाली कछुवा पनि थिए । यी भाइपर विषालु हुन्छन् तर सामान्यतया चराहरू जस्ता साना शिकारलाई मात्र लक्षित गर्दछन् । मुम्बई भन्सारले जफत गरिएका सर्पहरूका तस्बिरहरू जारी गरेको छ । तस्बिरमा बाल्टिनमा घुमिरहेका नीलो र पहेँलो सरीसृपहरू समावेश छन् । सर्पहरू मुम्बईमा अपेक्षाकृत असामान्य कब्जा हो । भन्सार अधिकारीहरूले नियमित रूपमा तस्करी गरिएको सुन, नगद, गाँजा वा यात्रुहरूले निलिएका कोकेनको संदिग्ध गोलीको तस्वीरहरू पोस्ट गर्छन् । तर, फेब्रुअरीमा मुम्बई विमानस्थलमा भन्सार अधिकारीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको जङ्गलमा पाइने सानो बाँदर, पाँचवटा सियामाङ गिब्बनसहित एकजना तस्करलाई पनि रोकेका थिए । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरद्वारा खतरामा परेका रूपमा सूचीबद्ध ती साना जीवहरूलाई यात्रुको ट्रली ब्यागभित्र राखिएको प्लास्टिकको टोकरीमा ‘चलाखीपूर्वक लुकाएर’ राखिएको भन्सार अधिकारीहरूले बताए । नोभेम्बरमा भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आइपुगेका विमानहरूमा १२ वटा कछुवा र एक महिनाअघि चारवटा हर्नबिल चराहरू बोकेका यात्रुलाई समातेका थिए । सेप्टेम्बरमा, अलिगेटर परिवारमा पर्ने एउटा सरीसृप, पाँच किशोर कैमन्ससहित दुई यात्रुहरूलाई पक्राउ गरिएको थियो । रासस
अत्यधिक तापक्रमका कारण खाडी कामदार जोखिममा, नेपालीहरू अत्याधिक मारमा
काठमाडौं । खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ । उक्त संस्थाले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न देशहरूलाई आग्रह गरेको छ । पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिने मध्यपूर्वका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार र कुवेतमा आप्रवासीहरूले श्रमशक्तिको ठूलो हिस्साको प्रतिनिधित्व गर्छन् । यहाँ ग्रीष्मकालीन तापमान प्रायः ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्छ । एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक माइकल पेजले भने, 'जलवायु सङ्कटका कारण हुने अत्यधिक गर्मीको चपेटामा परेका लाखौं आप्रवासी कामदारहरूको व्यावसायिक स्वास्थ्य र सुरक्षा विपत्तिलाई हरेक ग्रीष्मऋतुले चुनौति दिने गरेको छ ।' उनले भने, 'खाडी मुलुकहरूले प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका छन् भने सम्भावित सुरक्षा उपायलाई अवलम्बन नगरिँदा आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाउने गरेका छन् ।' उनीहरू यस मौसमजन्य समस्यालाई सम्बन्धित पक्षले असावधानी देखाइदिँदा मृगौला फेल हुने र अन्य दीर्घरोगबाट पीडित हुने गरेका छन् । धनी खाडी मुलुकहरू विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने लाखौं आप्रवासी कामदारहरूमा अत्यधिक निर्भर छन् र त्यहाँ निर्माण क्षेत्रमा काम गर्ने अत्यधिक श्रमिक नेपाल, भारत, पाकिस्तानलगायतका एसियाली मुलुकका रहेका छन् । गत महिना संयुक्त अरब इमिरेट्स (युएई) ले लगातार दोस्रो दिन मे महिनाको तापक्रम ५१.६ डिग्री सेल्सियस मापन गरेको थियो । श्रमिकहरूको सुरक्षाको लागि राज्यहरूले लामो समयदेखिको ‘मध्याह्न ब्रेक’ नीतिको एक भागको रूपमा मध्य जूनदेखि मध्य सेप्टेम्बरसम्म प्रत्यक्ष सूर्यको प्रकाश र तातो चल्ने क्षेत्रमा अत्यधिक गर्मीको समयमा काम गर्न प्रतिबन्ध लगाएको छ । तर खाडी विशेष गरी जलवायु परिवर्तनको जोखिममा रहेकाले एचआरडब्ल्युले भनेको छ, 'यी अत्यधिक गर्मीको अवस्था आजभोलि मध्याह्नमा आराम गर्न दिने समय शुरू हुनुभन्दा पहिले मे महिना देखि नै शुरू हुन थालेको छ। यसले कामदारको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।' न्युयोर्कस्थित अधिकारवादी समूहले कुवेतका एक इलेक्ट्रिसियनसँग लिएको अन्तर्वार्तामा गर्मीको महिनामा काम गर्दा ‘चक्कर आउने, बान्ता हुने, टाउको दुख्ने र आँखा धमिलो हुने’ र ‘गर्मीका कारण धेरै मानिस ढल्ने’ महसुस हुने बताएका छन् । एचआरडब्ल्युले अधिकारी र व्यवसायहरूलाई ‘क्यालेन्डर–आधारित मध्याह्न प्रतिबन्धहरू’ यस पहिले अपनाइएको समयभन्दा अन्य समयमा पनि व्यवसायको गर्मी तनाव मापन गरी जोखिम नियन्त्रणका लागि उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । वैज्ञानिकहरूका अनुसार बारम्बार आउने उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको प्रभावका कारण देखिने गरेको र यअधिक बारम्बार, लामो र अधिक तीव्र हुन थालेका छन् । विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको सङ्ख्या झण्डै दोब्बर भएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०२४ को एक प्रतिवेदनअनुसार अरब मुलुकका रहेका आप्रबासी कामदारहरूले विश्वमा सबैभन्दा बढी गर्मीको तनावको सामना गर्नुपरेको छ । रासस