पाकिस्तानको पञ्जाबमा अक्टोबर ७ सम्म भारी वर्षा हुने, २७ जिल्लामा बाढी आउने
काठमाडौं । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का महानिर्देशक इरफान अली काठियाले शनिबार हालैको बाढीबाट भएको क्षतिको मूल्याङ्कनका लागि सर्वेक्षण कार्य जारी रहँदा पञ्जाबमा आगामी दिनमा थप भारी वर्षा हुने पूर्वानुमान गरिएको बताएका छन् । पाकिस्तानभरि जुन महिनादेखि जारी मनसुन वर्षाका कारण अहिलेसम्म कम्तीमा १ हजार ३७ जनाको ज्यान गएको छ । प्रमुख नदीहरू भरिएपछि तिनका किनारमा रहेका ग्रामीण बस्तीहरूमा ठूलो क्षति पुगेको छ । पञ्जाब प्रान्तमै चार हजार सात सय गाउँका करिब ४७ लाख जनसङ्ख्या प्रभावित भएको डन पत्रिकाले जनाएको छ । लाहोरमा आयोजित पत्रकार सम्मेलनमा काठियाले पञ्जाबभरि आइतबार बिहानदेखि वर्षा सुरु हुने र विशेषगरी उत्तरी भागहरूमा अक्टोबर ७ (मङ्गलबार) सम्म जारी रहने अनुमान गरिएको जानकारी दिए । रावलपिन्डीदेखि लाहोरसम्मको उत्तर तथा उत्तरपूर्वी भागमा औसत ३० देखि ३५ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने दक्षिणी पन्जाबमा पाँचदेखि १० मिलिमिटर वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए । अक्टोबर ६ र ७ मा वर्षाको तीव्रता अझै बढ्ने चेतावनी दिँदै उनले भने, ‘उत्तरी र उत्तरपूर्वी पञ्जाबमा ५० देखि ७० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ र यसको प्रभाव केही मध्य जिल्लामा पनि देखिन सक्छ ।’ काठियाले चिनाब नदीको हेड मारालामा हाल २० हजार क्युसेक पानी मापन गरिएको उल्लेख गरे । साथै उनले पाकिस्तान प्रशासित काश्मीरमा रहेको दुल हस्ती जलविद्युत् परियोजनामा आगामी ४८ घण्टामा वर्षा र सिल्ट फ्लसिङका कारण पानीको बहाव १ लाखदेखि १ लाख ५० हजार क्युसेकसम्म बढ्न सक्ने ‘अनौपचारिक स्रोत’ हरूको आधारमा जानकारी दिए । यसैबीच, रावलपिन्डी र इस्लामाबादमा शुक्रबार हल्कादेखि भारी वर्षा भइसकेको र तल्लो भू–भाग जलमग्न भएको डनले उल्लेख गरेको छ । पाकिस्तानको मौसम विभागले पनि अक्टोबर ३ देखि तीव्र हुँदै गएर अक्टोबर ७ सम्म सक्रिय रहने चेतावनी जारी गरेको छ । काठियाका अनुसार चेनाब, रावी र सतलज नदीको किनारमा फैलिएको बाढीपछिको क्षति मूल्याङ्कनका लागि पञ्जाबका २७ जिल्लामा सर्वेक्षण जारी छ । सेप्टेम्बर २७ बाट सुरु भएको यो सर्वेक्षण एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ, जसमा ६९ तहसिल समेटिएका छन् । ृृनका अनुसार हालसम्म बाढीबाट ४७ लाख मानिस प्रभावित भएका छन्, २६ लाख ३० हजार मानिस र २१ लाख १० हजार गाईवस्तुहरू सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबमा मृत्युको सङ्ख्या १३४ पुगेको छ, यद्यपि पूर्ण सर्वेक्षणपछि यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको निर्देशनमा २७ जिल्लाका ११ हजार ५ सय सर्वेक्षणकर्मी २ हजार २१३ टोलीमार्फत फिल्डमा खटिइरहेका छन् । गणनाको पारदर्शिता सुनिश्चित गर्न पाकिस्तानी सेना, सहरी एकाइ, कृषि तथा पशुधन विभागका कर्मचारी र जिल्ला प्रशासनका प्रतिनिधिहरू संयुक्त रूपमा समावेश छन् । केही टोलीहरू अझै पनि पानीमुनिका क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको काठियाले स्वीकार गरे । तर, उनले मुख्यमन्त्री मरियम नवाजसहित सबै सरोकारवाला अधिकारीहरूले सर्वेक्षणलाई वास्तविक समयमा निगरानी गरिरहेको र तथ्याङ्क गणना भएलगत्तै प्रान्तीय आपत्कालीन सञ्चालन केन्द्रमा पठाउने व्यवस्था गरिएकोमा जोड दिए । उनले बहुस्तरीय प्रमाणीकरण प्रक्रियाबारे पनि स्पष्ट पारे । तहसिल र जिल्ला तहमा प्रारम्भिक जाँचपछि तथ्याङ्क अर्बन युनिटमा पठाइन्छ र त्यसपछि पञ्जाब सूचना प्रविधि बोर्ड (पिआइटिबी) द्वारा प्रमाणीकरण गरिन्छ । पहिलो चरणमा राष्ट्रिय डाटाबेस तथा दर्ता प्राधिकरण (एनएडिआरए) द्वारा नागरिकताको प्रमाणीकरण (सिएनआइसी) जाँच गरिन्छ । त्यसपछि पशुधन खोप रेकर्डसँग तथ्याङ्क क्रस–म्याच गरी शुद्धता सुनिश्चित गरिन्छ । यससँगै, गैर–मालिकहरूको समावेश रोक्न र वास्तविक लाभार्थी छुट्न नदिन पञ्जाब ल्यान्ड रेकर्ड अथोरिटी (पिएलआरए) डाटाबेससँग पनि परामर्श गरिन्छ । पिआइटिबीले अन्तिम चरणमा आफ्नै आन्तरिक जाँच गरेपछि मात्र तथ्याङ्क वित्तीय वितरणका लागि खाली हुन्छ । काठियाले भने, ‘लाभार्थीहरूका लागि बैंक अफ पञ्जाब (बिओपी) काउन्टरहरू स्थापना गरिनेछ, उनीहरूलाई क्षतिपूर्ति सङ्कलन गर्नुपर्ने मिति र स्थानको सूचना सन्देशमार्फत दिइनेछ र आवश्यक परे यातायातको व्यवस्था पनि मिलाइनेछ ।’
हमास शान्ति वार्ताका लागि तयार, आक्रमण रोक्न इजरायललाई ट्रम्पको आग्रह
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आव्हानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको शुक्रबार बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा ट्रम्पको शान्ति प्रस्तावले लामो द्वन्द्व र शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धकहरूको रिहाइ गर्ने गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ । योजनाले हमास र अन्य गुटहरूको ‘गाजामा कुनै भूमिका छैन’ भन्ने कुरामा जोड दिँदै यस क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा रहेको युद्धको संक्रमणकालीन अवस्था पछि सम्बन्धित निकायले लिने जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक रहेको हमासका प्रवक्ता ताहेर अल-नुनुलाई उदृत गर्दै एएफपीले जनाएको छ । हमास कैदी आदान-प्रदान गर्न, युद्धको अन्त्य गर्न र गाजा पट्टीबाट (इजरायली) सेनाको फिर्ती सुनिश्चित गर्न तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको उनले बताए । नेतान्याहुको कार्यालयले जवाफमा इजरायलले सबै बन्धकहरूको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ । राष्ट्रपति ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा इजरायलले तय गरेको सिद्धान्त अनुसार युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भुमिका खेल्नै नेतान्याहुको कार्यालयले जनाएको छ । संक्षिप्त भिडियो सन्देश जारी गर्दै ट्रम्पले गाजा वार्तामा सबै पक्षलाई निष्पक्ष व्यवहार गरिने भन्दै यो घटनाक्रम भएको दिनलाई विशेष दिनको रूपमा प्रशंसा गरे । शुक्रबारको घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायबाट आशावादी बनाई प्रतिक्रियाको लागि आकर्षित गरेको छ । प्रमुख मध्यस्थकर्ता कतार र इजिप्ट दुवैले हमासको बयानलाई स्वागत गर्दै यसले द्वन्द्वको अन्त्य सुनिश्चित गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले “सबै पक्षलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको उहाँका प्रवक्ताले बताए । फ्रान्सका इमानुएल म्याक्रोन, जर्मनीका फ्रेडरिक मेर्ज र बेलायतका कीर स्टारमर सबैले यसलाई शान्तितर्फको ठूलो कदमका रूपमा स्वागत गरेका छन् । टर्कीले हमासको प्रतिक्रियाले गाजामा तत्काल युद्ध विराम स्थापना गर्ने अवसर प्रदान गरेको बताएको छ ।
भारत-चीन सम्बन्ध सामान्य बन्दै, ५ वर्षपछि प्रत्यक्ष उडान गर्दै
काठमाडौं । भारत र चीनबीच ५ वर्षदेखि रोकिएको प्रत्यक्ष उडान सेवा फेरि सुरु हुने भएको छ । दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्ध विस्तारै सहज हुँदै जाँदा दुवै देशले पुनः प्रत्यक्ष हवाई सम्पर्क बहाल गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् । सन् २०२० मा कोभिड-१९ महामारी सुरु भएपछि दुवै मुलुकबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो । त्यसपछि पनि बेइजिङ र नयाँदिल्लीबीच सीमा विवादका कारण सम्बन्धमा तनाव रहँदा उडान सेवा निरन्तर निलम्बित रह्यो । चीनका लागि भारतीय दूतावासले सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित एक विज्ञप्तिमा तोकिएका केही प्रमुख सहरहरूबीचको प्रत्यक्ष उडान अक्टोबर महिनाको अन्त्यसम्ममा पुनः सुरु हुने उल्लेख गरेको छ । तर यो निर्णय कमर्सियल विमान सेवाहरू अर्थात् एयरलाइनहरूको अन्तिम सहमति र तयारीमा आधारित हुने जनाइएको छ । दूतावासले यसलाई भारत सरकारले अवलम्बन गरेको ‘भारत-चीन सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण गर्ने नीति’ अन्तर्गतको महत्त्वपूर्ण कदम भएको पनि स्पष्ट गरेको छ । यसबीच, भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी इन्डिगोले बिहीबार घोषणा गर्दै अक्टोबर २६ देखि भारतको कोलकाता र चीनको ग्वान्झाउबीच प्रत्यक्ष उडान सेवा पुनः सञ्चालन गर्ने बताएको छ । यो विकास हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सात वर्षपछि चीन भ्रमणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । प्रधानमन्त्री मोदीले गत महिना एक क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी हुन चीनको यात्रा गर्नुभएको थियो, जसलाई दुई देशले आपसी सम्बन्धलाई पुनः सहज बनाउने प्रयासका रूपमा हेरिएको छ । स्मरणीय छ, सन् २०२० मा भारत-चीन सीमा क्षेत्रमा हिमाली क्षेत्रमा भएको झडपपछि दुवै देशबीचको सम्बन्धमा गम्भीर गिरावट आएको थियो । त्यस घटनामा चार जना चिनियाँ सैनिक र २० जना भारतीय सैनिकको ज्यान गएको थियो, जुन दशकमै भएको सबैभन्दा भीषण हिंसात्मक झडप मानिएको थियो । त्यसपछिका वर्षहरूमा उच्चस्तरीय राजनीतिक सम्पर्क र सहकार्यमा ठप्प अवस्था देखिएको थियो ।