झडपमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानको आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको बताएका छन् । काबुलमा आइतबार पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् ।  उनका अनुसार जवाफी कारबाहीमा २० पाकिस्तानी चौकीमा कब्जा गरिएको थियो, तर झडप सकिएपछि ती फिर्ता गरिएका थिए । जबिहुल्लाह मुजाहिदको दाबीमा अहिलेसम्म पाकिस्तानको कुनै प्रतिक्रिया आएको छैन । यद्यपि गृहमन्त्री मोहसिन नकवीले शनिबार राति दाबी गरेका थिए कि अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको छ । प्रवक्ताले झडपको क्रममा ९ जना तालिबानका सदस्य मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरेका छन् । जबिहुल्लाह मुजाहिदले आरोप लगाएका छन् कि आईएसआईएसको प्रमुख पाकिस्तानमा छ र यो संगठन हाल पनि खैबर पख्तूनख्वाह र बलुचिस्तान प्रान्तहरूमा सक्रिय छ । उनले अफगानिस्तानबाट आईएसआईएस नरहेको दावीसमेत गरे । आईएसआईएसका प्रशिक्षण केन्द्र पाकिस्तानमा स्थापित रहेकाले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनु आवश्यक रहेको उनले बताए । उनले अफगानिस्तानका विदेशमन्त्रीको भारत यात्रा कुनै देशको विरोधमा नभएको र यसमा आपत्ति जनाउन पनि नहुने बताए ।

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपिन जोशी

काठमाडौं । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपिन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ ।      सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे ।      गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ ।      गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि हुन् । उनलाई जीवित रहेको विश्वास गरिएको छ ।      चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।      कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए ।      विपीनका परिवारका अनुसार उनी गाजामा जीवित रहेको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उनीकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेका छन् ।      अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौं आउन आठ–आठ घण्टाको बस यात्रा गरे ।     गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् । विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उनका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गरेका थिए ।      इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ ।  विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किए त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’ रासस     

टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै

काठमाडौं । चीनले दुर्लभ खनिज (रेयर अर्थ) निर्यात नियन्त्रणलाई ‘वैध’ भन्दै अमेरिकाको नयाँ शुल्क कदमको कडा आलोचना गरेको छ, जसले ट्रम्प–सी भेट हुने वा नहुने अवस्थालाई अनिश्चित बनाएको छ । आइतबार चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रणलाई अन्तर्राष्ट्रिय कानुनअनुसारको ‘वैध कदम’ भन्दै अमेरिकाले लगाएको ‘आर्थिक दबाब’ का आरोपहरू अस्वीकार गरेको हो । वाशिङ्टनले चीनमाथि व्यापक प्रतिशोधात्मक शुल्क र निर्यात प्रतिबन्ध घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो । चीनको वाणिज्य मन्त्रालयले अक्टोबर ९ मा जारी ती नियन्त्रणहरूलाई आफ्नो निर्यात नियन्त्रण प्रणाली सुदृढ गर्ने र ‘विश्व शान्ति तथा क्षेत्रीय स्थायित्वलाई संरक्षण गर्न’ उठाइएको कदम बताएको छ । मन्त्रालयका अनुसार यो निर्णय विश्व सुरक्षा अवस्थाको अस्थिर पृष्ठभूमिमा गरिएको हो । यी नयाँ कदमहरूले दुर्लभ खनिज मात्र होइन, त्यससँग सम्बन्धित बौद्धिक सम्पत्ति र प्रविधिलाई पनि समेटेका छन् । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सम्भावित भेट हुनुअघि केही साताअघि गरिएको हो । ‘यी नियन्त्रणहरू निर्यात प्रतिबन्ध होइनन्। निर्धारित मापदण्ड पूरा गर्ने आवेदनहरू स्वीकृत गरिनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘चीनले यी कदमहरूको आपूर्ति शृंखलामा पर्ने प्रभावको पूर्ण मूल्यांकन गरिसकेको छ र प्रभाव अत्यन्तै सीमित हुनेमा विश्वस्त छ ।’ नयाँ नियमअनुसार अब विदेशी कम्पनीहरूले ०.१ प्रतिशतभन्दा बढी चिनियाँ स्रोतबाट प्राप्त दुर्लभ खनिज भएका वा चीनको खनन, प्रशोधन, चुम्बक निर्माण वा पुनःप्रयोग प्रविधि प्रयोग गरी बनेका उत्पादनहरू निर्यात गर्न विशेष अनुमति लिनुपर्नेछ । हतियार वा सैन्य प्रयोजनका लागि प्रयोग हुन सक्ने वस्तुहरूका लागि आवेदन अस्वीकृत गरिनेछ । बेइजिङले यी नियन्त्रण कडा बनाएको केही समयमै चीनस्थित युरोपेली वाणिज्य मण्डलले निर्यात अनुमति पत्रका आवेदनहरू रोकिने अवस्थाको जानकारी दिँदै नयाँ नियमहरूले ‘दुर्लभ खनिज आपूर्ति शृंखलामा थप जटिलता’ थपेको बताएको छ । यसको जवाफमा ट्रम्पले अक्टोबर १० मा चीनबाट आयात हुने वस्तुहरूमा हालको भन्दा ‘अतिरिक्त १०० प्रतिशत शुल्क’ नोभेम्बर १ देखि लागू हुने घोषणा गरे । उनले सोही मितिदेखि ‘महत्त्वपूर्ण सफ्टवेयरहरू’ मा पनि अमेरिकी निर्यात नियन्त्रण लागू हुने बताएका थिए । ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेखेको सन्देशपछि विश्व बजारमा ठूलो गिरावट आयो — जसले करिब २ ट्रिलियन डलर बराबरको बजार मूल्य नष्ट गर्‍यो । उनले भनेका थिए, ‘चीनलाई दुर्लभ खनिज नीतिमार्फत विश्वलाई ‘बन्धक’ बनाउन दिइनु हुँदैन ।’ चीनको वाणिज्य मन्त्रालयले अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाउँदै भन्यो — ‘अमेरिकाको नियन्त्रण सूचीमा ३ हजारभन्दा बढी वस्तु छन्, जबकि चीनको सूचीमा १ हजारभन्दा कम छन् ।’ विश्वको करिब ७० प्रतिशत दुर्लभ खनिज आपूर्ति चीनले गर्छ र उसले यी आवश्यक खनिजहरूलाई बारम्बार व्यापारिक वार्तामा दबाबका रूपमा प्रयोग गर्दै आएको छ । तनाव थप चुलियो दुर्लभ खनिज निर्यात नियन्त्रण कडा बनाएलगत्तै चीनले अक्टोबर १४ देखि अमेरिकी जहाजहरूले चिनियाँ बन्दरगाह प्रयोग गर्दा शुल्क तिर्नुपर्ने घोषणा गर्‍यो । यो कदम अमेरिकाले पनि सोही मितिदेखि चिनियाँ जहाजहरूलाई लाग्ने नयाँ शुल्क घोषणा गरेसँगै आएको हो । रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका अनुसार विश्व जहाज निर्माण बजारमा अमेरिकाको हिस्सा ०.१ प्रतिशत मात्र छ भने चीनको ५३.३ प्रतिशत छ । चीनले आफ्नो निर्णयलाई ‘आवश्यक र रक्षात्मक प्रतिक्रिया’ बताउँदै अमेरिकाको कदमले ‘दुवै देशबीचको आर्थिक र व्यापारिक वार्ताको वातावरणलाई गम्भीर रूपमा नोक्सान पुर्‍याएको’ जनाएको छ । ट्रम्पले सुरु गरेको विश्वव्यापी व्यापार युद्धपछि पहिलो पटक अमेरिकी र चिनियाँ वरिष्ठ अधिकारीहरू मे महिनामा जिनेभामा व्यापार वार्तामा बसेका थिए । जुन महिनामा लण्डनमा भएको दोस्रो वार्तामा व्यापार ‘ढाँचा’मा सहमति भएको थियो । तेस्रो चरणको उच्चस्तरीय वार्ता जुलाईमा भयो, जहाँ दुवै पक्षले प्रगति भएको संकेत दिएका थिए । सेप्टेम्बरमा म्याड्रिडमा सम्पन्न पछिल्लो वार्तामा टिकटकको अमेरिकी स्वामित्व फिर्ता सम्बन्धी ‘आधारभूत सहमति’ भएको थियो । सेप्टेम्बर १९ मा ट्रम्प र सीबीच टेलिफोन वार्ता भए पनि टिकटकबारे अन्तिम निर्णय भएन । त्यसपछि ट्रम्पले घोषणा गरे कि उनी र सी अक्टोबरको अन्तिम साता दक्षिण कोरियाको ग्येओन्जुमा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनको क्रममा भेट्नेछन् । चीनले आगामी भेटबारे मौनता साधेको भए पनि ट्रम्पले आगामी वर्ष चीन भ्रमण गर्ने र त्यसपछि सी अमेरिका आउने बताएका थिए । तर, चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रण कडा बनाएपछि ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो सीसँगको आगामी भेट रद्द गर्ने चेतावनी दिएका छन्।