टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे
काठमाडौं । टेस्लाका कार्यकारी तथा एलन मस्कका लामो समयदेखि नजिकका सहयोगी ओमिद अफशारले कम्पनी छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्वव्यापी माग सुस्त भइरहेका बेला टेस्लाबाट अर्को वरिष्ठ कर्मचारीको बहिर्गमन भएको हो । अफशार सीईओको अफिसको हिस्सा थिए र सन् २०२३ देखि युरोप र उत्तर अमेरिका क्षेत्रको बिक्री तथा उत्पादनको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले सन् २०१७ मा टेस्लामा काम सुरु गरेका थिए र चाँडै मस्कका विश्वासिलो पात्र बनेका थिए । टेक्सास गिगाफ्याक्टोरीजस्ता ठूला योजनामा उनले केन्द्रीय भूमिका खेलेका थिए । स्रोतहरूले अफशारले किन कम्पनी छाडे भन्ने विवरण दिन सकेनन् । उनले यसै साता सामाजिक सञ्जाल एक्समा टेस्लासम्बन्धी पोस्ट गरेका थिए र बुधबारसम्म उनका एक्स र लिंक्डइन प्रोफाइलमा अझै टेस्ला कार्यकारीको पद उल्लेख गरिएको थियो । युरोप र उत्तर अमेरिकामा टेस्लाका पुराना मोडल गाडीप्रति ग्राहकको चासो घट्दै गएको छ भने प्रतिस्पर्धी कम्पनीहरूले सस्तो मूल्यका विकल्पहरू ल्याएका छन् । यस्तो पृष्ठभूमिमा अफशारले टेस्ला छाडेका हुन् । टेस्लाको आन्तरिक कामकाजसँग परिचित दुई जनाका अनुसार एलन मस्क वाशिंगटनतर्फ केन्द्रित भइरहँदा अफशारले यस वर्ष थप जिम्मेवारी सम्हालेका थिए । एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारको खर्च कटौती अभियानमा नेतृत्व गरेपछि टेस्लालाई समय नदिएको भन्दै लगानीकर्ता र विश्लेषकहरू चिन्तित बनेका थिए । सोमबार अफशारले एक्समा अष्टिनमा सुरु भएको रोबोट्याक्सीलाई ‘टेस्लाका लागि साँच्चिकै ऐतिहासिक दिन ! ’ भनेका थिए र थपेका थिए- ‘हामी सबैलाई अगाडि बढाउनुभएकोमा धन्यवाद, एलन !’ अतीतमा अफशारले मस्कसँग बिदाहरू र रातभर काम गरेको अनुभवसमेत एक्समा बाँडेका थिए, विशेष गरी सन् २०१८ मा मोडल ३ गाडीको उत्पादन तीव्र भइरहँदा । उनले मार्च महिनाको एक पोस्टमा लेखेका थिए- ‘त्यो बेला हामी कारखानामै बस्थ्यौं, साँच्चिकै २४/२७’ टेस्लाका पूर्व मिड-लेभल बिक्री प्रबन्धक म्याथ्यु लाब्रोट भन्छन्, ‘अफशार मस्कसँग धेरै नजिक थिए र पछि उत्तर अमेरिका तथा युरोप क्षेत्रको बिक्री-उत्पादनको नेतृत्वमा पुगेका थिए ।’ उनका अनुसार बिक्री घट्न थालेपछि आन्तरिक रूपमा ठूलो दबाब थियो, खासगरी युरोपमा यो समस्या गम्भीर बनिरहेको थियो । लाब्रोटले मस्कको आलोचना गरेपछि उनी कम्पनीबाट बाहिरिएका थिए । ब्लूमबर्ग न्यूजले अफशारको बहिर्गमनबारे सबैभन्दा पहिले रिपोर्ट गरेको थियो, जसले टेस्लाका उत्तर अमेरिकी मानव संसाधन निर्देशक जेना फेरुआले पनि कम्पनी छाडेको जनाएको छ । अफशारको बहिर्गमन पुष्टि गर्ने तीनमध्ये दुई जनाले फेरुआले पनि त्यही समयमा कम्पनी छाडेको बताए । तीमध्ये एक जनाले अफशार र फेरुआ नजिकका सहकर्मी भएको बताउँछन् । जसकारण दुवैले एकै समयमा कम्पनी छाड्नु अचम्मको विषय होइन । अर्का स्रोतका अनुसार फेरुआ अफशारकी प्रत्यक्ष एचआर सल्लाहकार थिइन् । अफशारको बहिर्गमन टेस्लामा विगत १४ महिनामा भएका एकपछि अर्को उच्चस्तरीय बहिर्गमनहरूमध्ये पछिल्लो हो । कम्पनीले हजारौं कर्मचारी हटाउँदै एआई-आधारित सेल्फ-ड्राइभिङ प्रविधि र रोबोटिक्सतर्फ ध्यान केन्द्रित गर्न थालेपछि यस्ता संरचनात्मक परिवर्तनहरू भएका हुन् । यस अवधिमा रोबोट, ब्याट्री र सार्वजनिक नीति विभागका नेताहरू पनि बाहिरिए । टेस्लाको ह्युमनाइड रोबोट ‘अप्टिमस’ टोलीका प्रमुख मिलान कोभाकले यसै महिना टेस्ला छाडेको घोषणा गरेका थिए र ब्याट्री विभागका शीर्ष कार्यकारी विनीत मेहताले मे महिनामा कम्पनी छाडेका थिए । मुख्य ब्याट्री इन्जिनियर ड्र्यु बाग्लिनो, सुपरचार्जिङ विभाग प्रमुख रेबेका टिनुच्ची, र सार्वजनिक नीति प्रमुख रोहन पटेल पनि सन् २०२४ को वसन्तमा टेस्लाबाट बाहिरिएका थिए । मस्कले मे महिनाको अन्त्यतिर वाशिंगटनको भूमिका समाप्त गरेपछि केही लगानीकर्तालाई ब्रान्ड इमेजबारेको चिन्ता कम भएको थियो । तर वर्षको सुरुवातमा टेस्लाको सेयर मूल्य केही बढेपनि अहिलेसम्म करिब १९ प्रतिशतले घटिसकेको छ । प्रारम्भिक वृद्धिको कारण ट्रम्पको विजयले रोबोट्याक्सीका लागि नियामकीय बाटो खुल्ने आशा थियो । आइतबार टेस्लाले टेक्सासको अष्टिनमा आफ्नो पहिलो सेल्फ(ड्राइभिङ ट्याक्सी सेवा सुरु गरेको छ । विश्लेषकहरूका अनुसार यस सेवा विस्तार गर्न अन्य सहरहरूमा जाँदा सुरक्षा र प्रविधिसम्बन्धी चुनौतीहरू आउन सक्ने सम्भावना छ । स्वचालित ड्राइभिङ फिचरकै कारण दुर्घटना ? टेस्लाविरुद्ध मृतक परिवारको मुद्दा अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक
एनभीडीया सीईओ जेन्सेन हुआङले कमाए एकैदिन ५.५४ अर्ब डलर
काठमाडौं । एनभीडीया कम्पनीका सह-संस्थापक तथा सीईओ जेन्सेन हुआङमाथि अहिले पैसाको वर्षा भएको छ । उनले मात्र २४ घण्टामा ५.५४ अर्ब अमेरिकी डलर (झन्डै ७६.८ हजार करोड नेपाली रुपैयाँ) कमाएका छन् । यो कमाइसँगै उनी विश्वका धनाढ्यहरूको विशेष ‘एलीट क्लब’ मा प्रवेश गर्ने सँघारमा पुगेका छन् । हुआङको सम्पत्तिमा आएको यो तीव्र वृद्धिको मुख्य कारण एनभीडीयाका सेयरहरूमा आएको तीव्र उछाल हो । बुधबार कम्पनीका सेयरहरूले नयाँ कीर्तिमान कायम गर्दै बजारमा आकासिएपछि कम्पनीले पनि इतिहास रच्यो। ब्लुमबर्ग बिलियनियर्स इन्डेक्स अनुसार २४ घण्टामा ५.५४ अर्ब डलर कमाइसँगै जेन्सेन हुआङको नेटवर्थ अहिले १३५ अर्ब डलर पुगेको छ । यससँगै उनी अहिले विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा ११औं स्थानमा छन् । उनी अब शीर्ष १० मा पुग्न सिर्फ एक पाइलामात्र टाढा छन्, जहाँ हाल १०औं स्थानमा सर्गेई ब्रिन छन्, जसको नेटवर्थ १४६ अर्ब डलर छ । बुधबार एनभीडीयाको सेयरमा तीव्र उछाल देखियो । यसले जनवरीमा बनाएको अघिल्लो कीर्तिमानसमेत तोड्यो । बुधबार कारोबारको सुरुवातमा एनभीडीयाको सेयर २.६ प्रतिशतले बढ्यो र जनवरीको १४९.४३ डलरको रेकर्ड पार गर्दै १५४.३१ डलरमा बन्द भयो । कुलमा ४ प्रतिशतभन्दा बढी वृद्धि भएको हो । एनभीडीयाको सेयरमा आएको उछालको एउटा प्रमुख कारण माइक्रोन टेक्नोलोजी (एमयू) को त्रैमासिक आम्दानी रिपोर्ट हो । माइक्रोनले हाई-ब्यान्डविड्थ मेमोरी (एचबीएम) चिप बनाउँछ, जुन एनभीडीयाका एआई एक्सिलरेटरहरूमा प्रयोग हुन्छन् । माइक्रोनका सकारात्मक परिणामहरू एआई हार्डवेयरको उच्च मागको संकेत दिन्छन्, जसले एनभिडिया र अन्य एआई सप्लाइ चेन कम्पनीहरूलाई राम्रो बढुवा दिने अपेक्षा गरिएको छ। सेयर बजारमा आएको तीव्र वृद्धिका कारण एनभिडियाले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्ने कीर्तिमान पनि बनाएको छ । कम्पनीको बजार मूल्य (मार्केट क्यापिटलाइजेसन) ३.७६ ट्रिलियन डलर पुगेको छ, जसले माइक्रोसफ्टको ३.६५ ट्रिलियन डलरको मूल्यलाई समेत उछिनेको छ ।
वार्ताबाट क्षेत्रीय सुरक्षा पुनर्स्थापित गर्न इजिप्ट र इरानको आग्रह
काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र उनका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधबार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गरेका छन् । वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई नेताहरूको भनाइ छ । दुई नेताहरूले वासिङ्टन र तेहरान बीचको आणविक कार्यक्रममा वार्ता पुनः शुरु गर्ने महत्वलाई दोहोर्याएका छन् । मध्य पूर्वमा आम विनाशकारी हतियारमुक्त क्षेत्र स्थापनालाई प्रवर्द्धन गर्ने आवश्यकतामा जोड दिएका छन् । सिसीले कतारमा रहेको अमेरिकी आधारलाई लक्षित गरी हालै गरिएको इरानी क्षेप्यास्त्र आक्रमणलाई इजिप्टले अस्वीकार गरेको कुरालाई पुनः पुष्टि गरे ।