चिनियाँ राष्ट्रपति सी जिनपिङले मोदीलाई भने– ‘ड्रागन र हात्ती मिल्नु धेरै जरुरी’

काठमाडौं । चीनका राष्ट्रपति सी ‍जिनपिङले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटमा ड्रागन र हात्तीको साथ आउनु धेरै जरुरी रहेको बताएका छन् । सी चिनफिङले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढ्दैछ । चीन र भारत संसारका दुई सबैभन्दा पुराना सभ्यताहरू हुन् । हामी दुवै संसारकै सबैभन्दा बढी जनसंख्या भएका देश हौं र ग्लोबल साउथको हिस्सा हौं ।’ चीनी राष्ट्रपतिले भने, ‘दुवै देश मित्र बनेर रहनु, राम्रो छिमेकी हुनु र ड्रागन र हात्तीको सहकार्य हुनु धेरै जरुरी छ ।’ यसअघि प्रधानमन्त्री मोदीले पनि सोही बैठकमा भारत र चीनका सम्बन्धलाई एक सकारात्मक दिशा मिलेको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार तियानजिन पुगेका हुन् । २०१८ पछि प्रधानमन्त्री मोदीको यो पहिलो चीन भ्रमण हो । गत वर्ष भारत र चीनबीचको द्विपक्षीय व्यापार करिब १२७.७ अर्ब अमेरिकी डलरको रहेको थियो । चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म शाङ्घाई को–अपरेसन अर्गनाइजेशन (एससीओ) को बैठक भइरहेको छ । यसमा मोदी र सी जिनपिङसँगै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका छन् ।

थाइल्याण्डमा कार्यवाहक प्रधानमन्त्रीको नियुक्ति, नयाँ सरकारको दिशा तय गर्ने तयारी

काठमाडौं । थाइल्याण्डको मन्त्रिपरिषद्ले शनिबार उपप्रधानमन्त्री फुमथम वेचायाचाईलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् । यो निर्णय अदालतको निर्णय पछिको कदम हो । प्रधानमन्त्री कार्यालयका मन्त्री चुसक सिरिनिलले विशेष मन्त्रिपरिषद बैठकको दौरान यो नियुक्ति घोषणा गरेका थिए । सो बैठकमा प्रमिन लेर्टसुरीलाई प्रधानमन्त्रीको सचिवालयको प्रमुखको रूपमा नियुक्त गरिएको छ । चुसकले यस अवसरमा  मन्त्रिपरिषद्ले संक्रमणकालीन अवधिमा सरकारको कार्यलाई स्थिर राख्नका लागि एक कडा ढाँचा स्वीकृत गरेको जनाएको छ । अदालतको निर्णयपछि यो कदम अनिवार्य थियो, जसअनुसार हालको मन्त्रिपरिषद्ले नयाँ प्रशासन गठन नभएसम्म एक कार्यवाहक सरकारको रूपमा कार्य गर्नुपर्नेछ । यस सन्दर्भमा, संसद सचिवालयले ३ सेप्टेम्बरदेखि ५ सेप्टेम्बरसम्म संसद सदस्यलाई बैठकको लागि आह्वान गरेको छ ।  

अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र

काठमाडौं । संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो । अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो देखिएको हो । आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा आएको परिवर्तनलाई जनाइन्छ । जुन महिनाको तुलनामा यो दर ०।३ प्रतिशतले वृद्धि भएको छ, जुन आर्थिक जानकारहरूको अनुमानसँग मेल खाएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, मूल्यवृद्धिको गति अपेक्षाकृत मन्द देखिएकाले सेप्टेम्बर महिनामा ऋणको ब्याजदर घट्ने सम्भावना रहेको उल्लेख गरिएको छ । संयुक्त राज्य अमेरिकामा आर्थिक अवस्था आँकलन गर्ने मुख्य सूचकको रूपमा रहेको उपभोग व्यय मूल्य सूचकांक अनुसार, अमेरिकामा बसोबास गर्ने नागरिकहरू वा तिनीहरूका तर्फबाट किनमेल गरिने वस्तु तथा सेवाहरूको मूल्य यही माध्यमबाट मापन गरिन्छ ।