ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् ।      यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको थियो ।      राष्ट्रपति ट्रम्पले उक्त विज्ञापनलाई ‘नक्कली र भ्रामक’ भन्दै क्यानाडासँगका सबै व्यापार वार्ता दुई दिनअघि नै समाप्त गरेका थिए ।      'उनीहरूले त्यो विज्ञापन तुरुन्तै हटाउनुपर्ने थियो, तर उनीहरूले गत रात विश्व शृङ्खलाको समयमा समेत प्रसारण गरे, यो ठगी नै हो', उनले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत एसियाली क्षेत्रका प्रमुख नेताहरूसँगको बैठकका लागि उडान भर्दै लेखे, 'तथ्यहरूको गम्भीर गलत प्रस्तुतीकरण र शत्रुतापूर्ण व्यवहारका कारण म क्यानाडामाथि हाल तिर्दै आएको करमा थप १० प्रतिशत वृद्धि गर्ने आदेश दिन्छु ।'      ओन्टारियो प्रान्तको विज्ञापनमा सन् १९८७ मा राष्ट्रपति रेगनले दिनुभएको व्यापारसम्बन्धी रेडियो सम्बोधनका अंशहरू प्रयोग गरिएको थियो । उक्त सम्बोधनमा रेगनले विदेशी आयातमा उच्च भन्सार शुल्क लगाउँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका थिए ।      रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरीको आधिकारिक वेबसाइटमा उपलब्ध भाषणसँग मेल खाने उद्धरणमा भनिएको छ, “उच्च भन्सार शुल्कले विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र गम्भीर व्यापार युद्धको रूप लिन्छ ।”      यसैबीच, रोनाल्ड रेगन फाउन्डेसनले ओन्टारियो सरकारले ‘चयनात्मक अडियो र भिडियो’ प्रयोग गरेको आरोप लगाउँदै कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ ।      विज्ञापन विवादबीच बेसबलको विश्व शृङ्खलामा क्यानाडाको टोली टोरन्टो ब्लू जेसले अमेरिकी टोली लस एन्जलस डोजर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा ब्लू जेसले डोजर्सलाई ११–४ ले पराजित गरेको थियो ।      ओन्टारियो सरकारले सोमबार आपत्तिजनक विज्ञापन फिर्ता लिने र वार्ता पुनः सुरु गर्न तयार रहेको जनाएको थियो, तर शनिबार राति दोस्रो खेलको प्रसारणका बेला उक्त विज्ञापन फेरि देखाइएको थियो ।      राष्ट्रपति ट्रम्पका विश्वव्यापी कर नीतिहरू—विशेषगरी स्टिल, एल्युमिनियम र अटो उद्योगमा—क्यानाडाको अर्थतन्त्रका लागि निकै गम्भीर साबित भएका छन् । यी नीतिका कारण क्यानाडामा रोजगारी गुम्ने र व्यवसायहरूमा दबाब बढ्ने अवस्था आएको छ ।      हाल संयुक्त राज्य अमेरिका र क्यानाडा युएसएमसिए भनिने उत्तर अमेरिकी व्यापार सम्झौताअनुसार चलिरहेका छन्, जसले दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार करमुक्त बनाएको छ ।      तर बुधबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी भन्सार शुल्क ‘ग्रेट डिप्रेसन’ को समयपछिकै उच्चतम स्तरमा पुगेको टिप्पणी गरेका थिए । उनले भने, 'हाम्रो आर्थिक रणनीति अब नाटकीय रूपमा परिवर्तन गर्नु अपरिहार्य छ, यो प्रक्रियामा केही त्याग र समय लाग्नेछ ।'      आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनका अवसरमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री कार्नी दुवै सहभागी हुने कार्यक्रम छ, तर ट्रम्पले उनलाई भेट्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । रासस  

पाकिस्तानी ध्वजावाहक विमानद्वारा ५ वर्षपछि बेलायतका लागि पुनः उडान सुरु

इस्लामावाद । बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको निलम्बन अन्त्य गरेपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले शनिबार बेलायतका लागि सीधा उडान पुनः सुरु गरेको छ।   पाकिस्तानी ध्वजावाहक विमान एयरबस ए ३२० कराँचीको नजिकै दुर्घटना भई करिब १०० जनाको मृत्यु भएको एक महिनापछि ऋणमा डुबेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लाई सन् २०२० को जुनमा बेलायत, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिका उडानमा रोक लगाइएको थियो ।  उक्त घातक दुर्घटनामा मानवीय त्रुटि भएको आरोप लगाइएको थियो। बेलायतले जुलाईमा हवाई सुरक्षा मापदण्डहरू सन्तोषजनक र अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप रहेको निष्कर्ष निकाल्दै पाकिस्तानी ध्वजा बाहकहरूमाथिको प्रतिबन्ध हटाएको थियो। इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनस्थापनाका लागि एक प्रमुख कोसेढुङ्गा भएको बताए । ‘पाँच वर्षको लामो र कठिन ढिलाइपछि आज इस्लामावादबाट म्यानचेस्टरसम्मको उडान पुनः सुरु हुनु भनेको हामीले हाम्रो कडा परिश्रम र दृढताबाट हासिल गरेको उपलब्धि हो,’ आसिफले भने । बेलायतले प्रतिबन्ध लगाएपछिका वर्षहरूमा पाकिस्तानी अधिकारीहरूले पाइलटको प्रशिक्षण, इजाजतपत्र, विमान मर्मत र सुरक्षा प्रोटोकलमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न परिवर्तन गरेको उनले बताए । इस्लामावाद र म्यान्चेस्टरको बीचमा हप्तामा दुई उडान भर्नेबाहेक पिआईएले लन्डन र बर्मिंङ्घमको लागि पनि उडानहरू सञ्चालन गर्ने योजना बनाएको छ। युरोपेली सङ्घ उड्ड्ययन सुरक्षा निकायले सन् २०२४ नोभेम्बरमा पिआईएमाथि लगाइएको प्रतिबन्ध हटाउपछि जनवरीमा पेरिसका लागि उडानहरू पुनः सुरु गर्न एअरलाइन्सलाई अनुमति दिइएको थियो। करिब सात हजार व्यक्तिलाई रोजगारी दिइरहेको पाकिस्तानी ध्वजाबाहक पिआईएले लामो समयदेखि ऋण, कुव्यवस्थापन र नियामक मुद्दाहरूविरूद्ध सङ्घर्ष गर्दै आएको छ। सरकारले एयरलाइन्सलाई निजीकरण गर्ने वाचा गरेको छ, यद्यपि गत वर्ष एक खरीदकर्ता कम्पनीले प्रस्तावित मूल्यभन्दा धेरै कम प्रस्ताव गरेपछि सम्झौता हुन सकेको थिएन ।  सन् १९५५ मा स्थापना भएको पिआईए कुनै समय पाकिस्तानको राष्ट्रिय गौरव र द्रुत विकासको प्रतीक थियो तर दशकौँदेखिको वित्तीय घाटा र सुरक्षा कमजोरीका कारण यसको प्रतिष्ठा खस्कँदै गएको छ। रासस

पटका पड्काउँदा प्रदूषणले ढाकेको दिल्लीमा कृत्रिम वर्षा गरेर सफा गरिँदै

काठमाडौं । भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा शहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उप्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् । नयाँ दिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा शहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् । दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै भने, ‘आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो ।’ उनका अनुसार, यो उडानले विमानको क्षमताको मूल्याङ्कन, उपकरणहरूको सहनशीलता, समन्वय संयन्त्र र क्लाउड सिडिङका लागि आवश्यक तयारीको प्रमाणीकरण गरेको हो । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भने, ‘यदि मौसम अनुकूल रह्यो भने, दिल्लीले अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा अनुभव गर्नेछ ।’ उनले यो परियोजना दिल्लीवासीका लागि ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्त्वपूर्ण कदम’ भएको बताए । तर, परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी तत्काल सार्वजनिक गरिएको छैन । ३ करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँ दिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक मानिन्छ । प्रत्येक जाडोमा सहर बाक्लो धुवाँले ढाकिन्छ । चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जन मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ । रगतमा प्रवेश गर्न सक्ने सानो आकारको हुने र क्यान्सरसमेत उत्पन्न गर्न सक्ने ए स् २.५ नामक सूक्ष्म कण कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमा भन्दा ६० गुणासम्म बढी पाइन्छ । दीपावली पर्वको आतशबाजीपछि यस हप्ताको प्रदूषण स्तर झनै बढेको छ । एः २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था ‘आइक्युएयर’ ले जनाएको छ । यो वृद्धि सर्वोच्च अदालतले यसअघि नै पूर्ण प्रतिबन्ध हटाएर ‘हरियो पटाका’ अर्थात् कम प्रदूषण गर्ने आतशबाजीलाई अनुमति दिएको निर्णयपछि आएको हो । बिहीबार बिहान मात्र नयाँ दिल्लीका केही क्षेत्रमा ए: २.५ को स्तर १५४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनको सिफारिस भन्दा १० गुणा बढी हो । सेप्टेम्बरमा गरिएको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो । भारतीय र इटालियन वैज्ञानिकहरूको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्व सम्पदा स्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ । कहिले खडेरी कम गर्न, कहिले वन आगलागी नियन्त्रणमा त कहिले हवाई यातायातमा कुहिरो हटाउन सन् १९४० को दशकमा विकसित गरिएको क्लाउड सिडिङ प्रविधि दशकौँदेखि विभिन्न देशले प्रयोग गर्दै आएका छन् । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । तर वैज्ञानिकहरूबीच यस प्रविधिको प्रभावकारितामा मतभेद छ । केही अनुसन्धानहरूले क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र लक्षित क्षेत्रबाहेक अन्य क्षेत्रमा अप्रत्याशित असर पर्ने देखाएका छन् । त्यसैले दिल्लीको यो प्रयास सफल हुनेछ वा छैन भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन अझै बाँकी छ ।