अमेरिकी प्रतिबन्धमा आंशिक छुट, समुन्द्रमा अड्किएको रुसी तेल भारत लैजान अनुमति

काठमाडौं । अमेरिकाले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धबीच विश्व ऊर्जा बजारमा सम्भावित अवरोध कम गर्ने उद्देश्यले समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी अनुमति दिएको छ । अमेरिकी सरकारले बिहीबार उक्त निर्णय सार्वजनिक गर्दै सीमित समयका लागि प्रतिबन्धमा आंशिक छुट दिएको जनाएको छ । अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले जारी गरेको विशेष इजाजतपत्रमार्फत मार्च ५, २०२६ सम्म जहाजमा लोड गरिएको रुसी सङ्घको कच्चा तेल तथा पेट्रोलियम उत्पादन भारतमा पुर्‍याउने र बिक्री गर्ने कारोबारलाई अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार यस्तो तेलसँग सम्बन्धित लेनदेन अप्रिल ३, २०२६ को दिनको अन्त्यसम्मका लागि वैध रहनेछ। अर्थमन्त्री स्कट बेसेन्टले विश्व बजारमा तेलको आपूर्ति निरन्तर रहोस् भन्ने उद्देश्यले यो अस्थायी छुट जारी गरिएको स्पष्ट गरे । उनका अनुसार यस निर्णयले रुसी सरकारलाई उल्लेखनीय आर्थिक लाभ पुग्ने सम्भावना छैन, किनकि अनुमति समुद्रमा पहिले नै अड्किएको तेलसँग सम्बन्धित सीमित कारोबारमा मात्र लागू हुनेछ । बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै यस्तो अस्थायी कदमले ऊर्जा बजारमा देखिएको दबाब केही हदसम्म कम गर्ने विश्वास व्यक्त गरे । उनले भारतलाई गरिने बिक्रीले ‘इरानले विश्व ऊर्जा आपूर्तिलाई दबाबमा पार्ने प्रयासबाट सिर्जित तनावलाई कम गर्न सहयोग पुग्ने’ उल्लेख गरे । भारतले अमेरिकासँग भएको व्यापारिक सहमतिको एक हिस्साका रूपमा रुसी तेल खरिद क्रमशः बन्द गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको भए पनि समुद्रमा अड्किएको तेलको व्यवस्थापनका लागि यो अस्थायी अनुमति दिइएको जनाइएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बरमा रुसका प्रमुख तेल कम्पनी लुकोइल र रोजनेफ्टमाथि कडा प्रतिबन्ध घोषणा गरेका थिए । युक्रेनमाथि रुसले गरेको आक्रमणको सन्दर्भमा ट्रम्प प्रशासनले रुसमाथि चालेका कदममध्ये ती प्रतिबन्धलाई सबैभन्दा कडा कदमका रूपमा हेरिएको थियो । ती प्रतिबन्ध लागू भएपछि रुसी तेलका प्रमुख खरिदकर्ताहरूले वैकल्पिक आपूर्तिकर्ता खोज्ने प्रयास तीव्र बनाएका थिए । ऊर्जा बजारमा अनिश्चितता बढेपछि विभिन्न देशहरूले वैकल्पिक आपूर्ति मार्ग र स्रोतको खोजी गरिरहेका छन् । यसैबीच, सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि वासिङ्टन, युरोपेली सङ्घ (इयु) र जी–७ समूहका देशहरूले रुसमाथि व्यापक प्रतिबन्ध लगाएका थिए । ती प्रतिबन्धबाट बच्न रुसले अपारदर्शी स्वामित्व भएका पुराना तेल ट्याङ्करहरूको ठूलो बेडा सञ्चालनमा ल्याएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताउँदै आएका छन् ।

६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी

काठमाडौं । इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने तयारी गरेको छ । अनलाइन पोर्नोग्राफी, साइबरबुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएको भन्दै यस्तो कदम चाल्न लागिएको सञ्चारमन्त्री मेउत्या हफिदले शुक्रबार जानकारी दिए । मन्त्री हफिदका अनुसार उच्च जोखिम मानिएका सामाजिक सञ्जाल प्लेटफर्महरूमा १६ वर्षमुनिका प्रयोगकर्ताका खाताहरू क्रमशः निष्क्रिय बनाइनेछ । यसमा युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, बिगो लाइभ र रोब्लक्सजस्ता लोकप्रिय प्लेटफर्महरू समेटिएका छन् । उहाँले सरकारले यस्तो निर्णय अभिभावकलाई अनलाइन जोखिमसँग एक्लै जुध्न नपरोस् भन्ने उद्देश्यले लिएको बताए। सरकारले नयाँ व्यवस्था मार्च २८, २०२६ देखि चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मन्त्री हफिदका अनुसार सबै डिजिटल प्लेटफर्महरूले आवश्यक मापदण्ड पूरा नगरेसम्म प्रतिबन्ध विस्तार हुँदै जानेछ ।      यस विषयमा टिकटक इन्डोनेसिया र गुगल इन्डोनेसियासँग प्रतिक्रिया मागिएको भए पनि तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन । इन्डोनेसियाको यो पहल विश्वका अन्य देशहरूमा भइरहेका यस्तै प्रयाससँग पनि जोडिएको देखिन्छ । गत डिसेम्बरमा अस्ट्रेलियाले टिकटक, युट्युब, स्न्यापच्याटलगायतका सामाजिक सञ्जाललाई १६ वर्षमुनिका बालबालिकाका खाताहरू हटाउनुपर्ने व्यवस्था गरेको थियो । यस्तै कदमबारे युरोपेली सङ्घ (इयु) मा पनि छलफल सुरु भएको छ । ब्रसेल्सले अस्ट्रेलियाको प्रतिबन्ध कति प्रभावकारी हुन्छ भन्ने विषयलाई नजिकबाट नियालिरहेको छ । यसबीच उक्त निर्णयविरुद्ध कानूनी चुनौतीहरू पनि दर्ता भइसकेका छन् । फ्रान्स, डेनमार्क, ग्रिस र स्पेनले पनि इयुको स्तरमै यस्तै नीति लागू गर्न दबाब दिइरहेका छन् भने भारतले पनि किशोर प्रयोगकर्तामाथि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सम्भावना अध्ययन गरिरहेको छ । मन्त्री हफिदले नयाँ नियमनले सुरुआती चरणमा प्रयोगकर्तालाई केही असुविधा हुन सक्ने स्वीकार गर्नुभयो । तर डिजिटल वातावरणमा बढ्दो जोखिमलाई ध्यानमा राख्दा यस्तो कदम आवश्यक रहेको उनको भनाइ छ । ‘हामीलाई थाहा छ, यसले सुरुमा केही असुविधा ल्याउन सक्छ,’ उनले भने, ‘तर डिजिटल आपतकालको अवस्थाबीच सरकारले चाल्नुपर्ने उचित कदम यही हो भन्ने हाम्रो विश्वास छ ।’ उनका अनुसार यो नीति बालबालिकाको भविष्य सुरक्षित गर्न र प्रविधिको प्रयोगलाई अझ मानवीय बनाउनका लागि ल्याइएको हो ।  ‘हामी हाम्रा बालबालिकाको भविष्यको सार्वभौमसत्ता जोगाउन चाहन्छौं,’ उनले थपे, हामी प्रविधिलाई मानिसलाई सहयोग गर्ने माध्यमका रूपमा देख्न चाहन्छौं, बालबालिकाको बाल्यकाल गुमाउने माध्यमका रूपमा होइन ।’  

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम

काठमाडौं । चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनियाँ सहर कुन्सानमा परीक्षण भइरहेको यो १० यात्रु क्षमताको विद्युतीय विमानलाई चीनमा हालसम्म निर्माण गरिएको सबैभन्दा ठूलो सिधै माथि उड्न र सिधै अवतरण गर्न सक्ने (इभिटिओएल) विद्युतीय विमान मानिन्छ । साङ्घाई बन्दरगाहबाट करिब ६० किलोमिटर पश्चिममा रहेको कुन्सानस्थित एक ह्याङ्गरमा हालै यस विमानको प्रदर्शन गरिएको थियो । विशाल ड्रोनजस्तै देखिने ‘म्याट्रिक्स’ करिब पाँच टन तौलको इभिटिओएल विमान हो, जसले भविष्यमा सहरभित्रको हवाई ट्याक्सी सेवाको सम्भावनालाई सङ्केत गरेको छ । सन् २०१७ मा स्थापना भएको चिनियाँ कम्पनी अटोफ्लाइटले यो विमान विकास गरेको हो । कम्पनीका अनुसार म्याट्रिक्सले एकपटकमा १० जनासम्म यात्रु बोक्न सक्छ । यसको पखेटाको फैलावट करिब २० मिटर (लगभग ६६ फिट) छ भने विमानको लम्बाइ १७.१ मिटर र उचाइ ३.३ मिटर रहेको छ । पूर्ण रूपमा चार्ज गरिएको अवस्थामा यसले करिब एक घन्टासम्म उडान भर्न सक्ने क्षमता राख्छ । अटोफ्लाइटले एसोसिएटेड प्रेसका लागि आफ्नो कम उचाइ उडान परीक्षण केन्द्रमा यसको प्रत्यक्ष उडान प्रदर्शन पनि गराएको थियो । चिसो दिनमा गरिएको उक्त प्रदर्शनमा कर्मचारीहरूले म्याट्रिक्सलाई ह्याङ्गरबाट हेलिप्याडमा सारेपछि उडानका लागि तयारी गरिएको थियो । प्रोपेलरहरू सुरु गरिएपछि केही मिनेटसम्म प्रणालीको जाँच गरियो । सबै उपकरण ठीक रहेको पुष्टि भएपछि विमान विस्तारै आकाशतर्फ उड्न थाल्यो । यसको आवाज सुनिन्थ्यो तर सामान्य हेलिकप्टरको तुलनामा कम थियो । करिब १० मिनेटसम्म उडान भरेपछि र हेलिपोर्ट वरिपरि दुई चक्कर लगाएपछि म्याट्रिक्स सहज रूपमा फर्किएर सुरक्षित अवतरण गरेको थियो । यद्यपि यस्तो प्रविधि व्यापक रूपमा प्रयोगमा आउन अझै केही समय लाग्ने देखिन्छ । अटोफ्लाइटका वरिष्ठ उपाध्यक्ष स्टिभन याङका अनुसार उडान ट्याक्सी वास्तविक सेवाका रूपमा कहिले सञ्चालनमा आउला भन्ने प्रश्नको स्पष्ट उत्तर दिन अहिले कठिन छ । उनले कम्पनीसँग पहिले नै दुई टन क्षमताको यात्रुवाहक इभिटिओएल विमान तयार भइसकेको तर आवश्यक प्रमाणीकरण प्रक्रियाको प्रतीक्षामा रहेको जानकारी दिए । अटोफ्लाइटले सन् २०२७ सम्म नियामक निकायबाट ‘टाइप प्रमाणपत्र’ प्राप्त गर्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । यस्तो प्रमाणपत्रले विमानको डिजाइनले सुरक्षा मापदण्ड पूरा गरेको पुष्टि गर्छ । तर यात्रु बोकेर सञ्चालन गर्न ‘अपरेटर प्रमाणपत्र’ लगायत अन्य स्वीकृतिहरू पनि आवश्यक पर्नेछन् । हाल म्याट्रिक्स अझै प्रोटोटाइपकै चरणमा रहेको छ । चीनका अन्य केही कम्पनीहरूले पनि इभिटिओएल विमान विकास गरिरहेका छन् । गुआङ्गडोङ प्रान्तमा आधारित एहाङ कम्पनीले विकास गरेको विमानलाई व्यावसायिक यात्रु सेवा सञ्चालनका लागि अधिकारीहरूले प्रमाणीकरण प्रदान गरिसकेका छन्, तर व्यावहारिक सेवा अझै सुरु भएको छैन । विशेषज्ञहरूका अनुसार यस्तो उडान ट्याक्सी सेवा सञ्चालन गर्न अनुमति मात्र पर्याप्त हुँदैन । त्यसका लागि आवश्यक पूर्वाधार, उडान मार्ग, सुरक्षा प्रणाली र सञ्चालन व्यवस्थापन पनि तयार हुनुपर्छ । चीनले पछिल्लो समय ‘कम–उचाइ अर्थतन्त्र’ नामक अवधारणालाई अघि बढाइरहेको छ । यसअन्तर्गत ड्रोन तथा साना उडान उपकरणहरूको प्रयोग विस्तार भइरहेको छ । उदाहरणका लागि, दक्षिणी सहर सेन्जेनमा अहिले नै ड्रोनमार्फत खाना डेलिभरी सेवा सञ्चालन भइरहेको छ । न्याटिक्सिस कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङका वरिष्ठ अर्थशास्त्री ग्यारी एन्गले उडान ट्याक्सी उद्योगको विकासलाई नजिकबाट अध्ययन गरिरहनुभएको छ । उन का अनुसार चीनले सुरक्षा सुनिश्चितता, आवश्यक पूर्वाधार निर्माण तथा उडान मार्ग व्यवस्थापन जस्ता चुनौतीहरू पार गर्नुपर्नेछ । उनले प्रविधि मात्र पर्याप्त नभएको उल्लेख गर्दै यससँग सम्बन्धित सम्पूर्ण इकोसिस्टम अझै पूर्ण रूपमा विकसित भइनसकेको बताए । उनका अनुसार व्यावहारिक रूपमा यस्तो सेवा देखिन कम्तीमा पनि थप तीन वर्ष लाग्न सक्छ । यद्यपि म्याट्रिक्सको परीक्षण उडान हेर्दा भविष्यमा सहरमाथि यस्ता विद्युतीय विमानहरू देखिने सम्भावना भने स्पष्ट देखिन्छ । अटोफ्लाइटका याङका अनुसार विद्युतीय उडान ट्याक्सी अन्ततः वास्तविकतामा परिणत हुने विश्वास कम्पनीलाई छ । तर यस्तो भविष्य निर्माण गर्न एउटा कम्पनीको प्रयास मात्र पर्याप्त नहुने र सम्पूर्ण उद्योग तथा पूर्वाधारको संयुक्त विकास आवश्यक पर्ने उनले उल्लेख गरे ।