बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण विश्व व्यापार प्रणाली खतरामा

काठमाडौं । उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले बुधबार चेतावनी दिएका छन् ।  गुटेरेसले धेरै देशहरू ऋणको सङ्कटमा फसेको र स्वास्थ्य र शिक्षामा भन्दा ऋण दाताहरूको सेवामा बढी रकम खर्च गरिरहेको बताए । ‘विश्वव्यापी ऋण बढेको छ । गरिबी र भोकमरी अहिले पनि व्याप्त छ । अन्तर्राष्ट्रिय वित्तीय संरचनाले विकासोन्मुख देशहरूका लागि पर्याप्त सुरक्षा कवच प्रदान गरिरहेको छैन र नियममा आधारित व्यापार प्रणाली गलत बाटोमा जाने जोखिममा छ,’ महासचिव गुटेरेसले जेनेभामा व्यापार र विकाससम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा भने ।  गुटेरेसले भने, ‘व्यापार र विकासले परिवर्तनको आँधीबेहरीको सामना गरिरहेको र विश्वव्यापी वृद्धिको तीन चौथाइ अहिले विकासशील देशबाट आएको छ, सेवा जन्य व्यापारमा वृद्धि भइरहेको छ र नयाँ प्रविधिले विश्व अर्थतन्त्रलाई बढावा दिइरहेको छ ।’ यद्यपि भू-राजनीतिक विभाजन, असमानता, द्वन्द्व र जलवायु सङ्कटले प्रगतिलाई सीमित बनाइरहेको संयुक्त राष्ट्र सङ्घका महासचिवले बताए ।  उथलपुथलमा अर्थतन्त्र यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्य देशहरूमाथि व्यापक कर वृद्धि गरेको छ, जसले विश्वभर व्यापार तनाव निम्त्याएको छ। गुटेरेसले भने, ‘संरक्षणवाद केही परिस्थितिहरूमा अपरिहार्य हुन सक्छ तर यो तर्कसङ्गत हुनुपर्छ।’ संयुक्त राष्ट्र सङ्घका प्रमुखले अनिश्चितता बढिरहेको, लगानी घट्ने र आपूर्ति श्रृङ्खलामा उथलपुथल मच्चिएको भन्दै विकासोन्मुख देशहरूमा ‘छोटो-छोटो परिवर्तन’ जारी रहेको चेतावनी दिए ।  उनले भने, ‘व्यापार अवरोधहरू बढिरहेका छन्, केही कम विकसित देशहरूले ४० प्रतिशतको करको सामना गरिरहेका छन्, जबकि उनीहरूको विश्वव्यापी व्यापार प्रवाहको एक प्रतिशत मात्र प्रतिनिधित्व रहन्छ ।’ ‘हामी वस्तुका लागि व्यापार युद्धको बढ्दो जोखिम देख्छौँ । हामी जनताको समृद्धि र कल्याणमा भन्दा मृत्युमा बढी लगानी गरिरहेका छौँ भन्नै सैन्य खर्चको प्रवृत्तिले देखाउँछ,’ उनले भने । गुटेरेसले यी खतराहरूको सामना गर्दै अघि बढ्दा अन्तर्राष्ट्रिय कार्यका लागि चार प्राथमिकताहरू रहेको बताए ।  ‘निष्पक्ष विश्वव्यापी व्यापार र लगानी प्रणाली, विकासशील देशहरूको लागि वित्तीयकरण, अर्थव्यवस्थालाई प्रोत्साहित गर्न प्रविधि र नवीनता र जलवायु उद्देश्यहरूसँग व्यापार नीतिहरू परिवर्तन गर्नुपर्नेमा उनले जोड लिए । 

सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट

काठमाडौं । तिहारको बेलामा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय स्तरमा मंगलबार सुनको मूल्य ६.३ प्रतिशतले घट्यो, जुन पछिल्ला दशकभन्दा बढी अवधिमा सबैभन्दा ठूलो एक दिनको गिरावट हो।  चाँदीमा पनि ७.१ प्रतिशतको गिरावट दर्ता भएको छ । बुधबार पनि एसियाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुनको मूल्य २.९ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ४.२६ अमेरिकी डलरमा पुगेको छ भने चाँदी पनि २ प्रतिशतभन्दा बढी घटेर ४७.६ डलरमा पुगेको छ । यस वर्ष सुन र चाँदीको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको थियो । लगातारको यो तीव्र वृद्धि देखेर धेरै लगानीकर्ताहरूले यसको स्थायित्वबारे शंका गर्न थाले — कतै यो वृद्धि अस्थायी बबल (आर्थिक भाषामा कुनै वस्तु जस्तै सुन, चाँदी, घरजग्गा वा सेयर — को मूल्य वास्तविक मूल्यभन्दा धेरै बढ्ने अवस्थालाई बबल भनिन्छ।) त होइन भन्ने । यही आशंका र मुनाफा सुरक्षित गर्न चाहने मनोवृत्तिका कारण धेरैले आफ्नो लगानी फिर्ता लिन थाले । त्यसको सीधा असर बजारमा पर्‍यो र सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट देखियो । सुनचाँदीको मूल्य घट्नुका पछाडि धेरै कारणहरू छन् । पहिलो- चीन र अमेरिकाबीच पछिल्ला हप्ताहरूमा भएका सकारात्मक व्यापार वार्ताले विश्व बजारमा थोरै स्थिरता ल्याएको छ, जसका कारण लगानीकर्ताहरूले सुरक्षित आश्रय मानिने सुन र चाँदीबाट पैसा निकाल्न थालेका छन् ।  दोस्रो- अमेरिकी डलर हाल बलियो बन्दै गएको छ । जब डलरको मूल्य बढ्छ, तब अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीजस्ता धातुहरू किन्ने लागत विदेशी लगानीकर्ताहरूका लागि बढ्ने हुँदा माग घट्ने हुन्छ । तेस्रो कारण- प्रविधिक रूपमा पनि सुन र चाँदीका मूल्यहरू अत्यधिक बढिसकेका थिए, जसले बजारमा ओभरबाय (अत्यधिक मात्रामा खरिद हुने अवस्था) को संकेत दिएको थियो । यस्तो अवस्थामा सानो नकारात्मक संकेत वा मुनाफा असुल्ने मनोवृत्तिले पनि ठूला गिरावट ल्याउन सक्छ ।  चौथो कारण- अमेरिकी सरकारी शटडाउनको सम्भावना हो, जसले बजारमा अनिश्चितता बढाएको छ। लगानीकर्ताहरूले आफ्नो पोजिसन घटाउँदै जोखिम कम गर्न खोजिरहेका छन् । यी सबै कारणहरू मिलेर अहिले सुन र चाँदीमा देखिएको गिरावट केवल अस्थायी प्रतिक्रिया नभई बजारको स्वाभाविक सुधारको संकेत पनि हुनसक्छ । विश्लेषकहरूका अनुसार यदि विश्व अर्थतन्त्र स्थिर रह्यो भने आगामी महिनाहरूमा मूल्यवान धातुहरूको मूल्य फेरि सन्तुलनमा फर्किन सक्छ । डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?  

युरोपमा रुसी ग्यास पूर्णरूपमा बन्द, ऊर्जामा गम्भीर संकट निम्त्याउने

काठमाडौं । युरोपेली संघका सदस्य राष्ट्रहरूले रुसी प्राकृतिक ग्यासको आयातलाई चरण बद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन् । यो निर्णय सन् २०२२ मा सुरू गरिएको ‘रीपावर युरोप’ रणनीतिको महत्वपूर्ण अङ्ग हो ।  जसको उद्देश्य रुसमा हुने इन्धन निर्भरतालाई समाप्त गर्दै वैकल्पिक तथा स्वदेशी ऊर्जातर्फ संक्रमण गर्नु हो । यस प्रस्तावअनुसार सन् २०२६ जनवरी १ बाट नयाँ रुसी ग्यास आयातमा पूर्ण प्रतिबन्ध लाग्नेछ । यद्यपि, पहिल्यै भएका सम्झौताहरूलाई केही समयका लागि जारी राख्न अनुमति दिइनेछ। छोटो अवधिका सम्झौता सन् २०२६ जुन १७ सम्म र दीर्घकालीन सम्झौता सन् २०२८ जनवरी १ सम्म मान्य रहनेछन्। ऊर्जा क्षेत्रको पारदर्शिता बढाउन, ग्यास आयात गर्ने कम्पनीहरूले ग्यासको स्रोत, सम्झौताहरूको अवधि लगायतका विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। यद्यपि, हङ्गेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले उक्त प्रस्तावको विरोध जनाउँदै यसले युरोपेली मुलुकहरूको ऊर्जा सुरक्षामा गम्भीर संकट निम्त्याउने बताएका छन् । उनले ऊर्जा जस्तो महत्वपूर्ण विषयलाई राजनीतिक एजेन्डामा परिणत गर्नु उचित नहुने स्पष्ट पारे ।  हाल युरोपेली संघमा रुसबाट करिब १३ प्रतिशत प्राकृतिक ग्यास आयात हुने गरेको छ, जसको वार्षिक मूल्य लगभग १५ अर्ब युरो (अन्दाजी १७.५ अर्ब अमेरिकी डलर) बराबर छ। उक्त प्रस्ताव कानुनी रूपमा लागू हुनु अघि युरोपेली संसदमा छलफल र स्वीकृति आवश्यक पर्नेछ । स्वीकृत भएपछिमात्र यो नियम कार्यान्वयनमा आउनेछ र यसले युरोपेली संघको दीर्घकालीन ऊर्जा नीतिमा एक ऐतिहासिक मोड ल्याउनेछ ।