अमेरिकी उपराष्ट्रपति भन्छन्, ‘इरानले गलत बुझ्यो, युद्धविराममा लेबनान समावेश छैन’

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिका र इरानबीच भएको युद्धविराममा लेबनान समावेश नभएको बताएका छन् । रोयटर्सका अनुसार भेन्सले बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मलाई लाग्छ यहाँ गलत बुझाइ भएको छ । इरानीहरूले युद्धविराममा लेबनान पनि समावेश छ भन्ने ठाने तर वास्तविकता त्यस्तो होइन । उनले अमेरिका पक्षको धारणा युद्धविरामलाई इरान र अमेरिकाका सहयोगीहरूबीच केन्द्रित राख्ने रहेको बताए, जसमा इजरायल र खाडीका अरब देशहरू समावेश छन् । भेन्सले भने, ‘इसराइलले लेबनानमा संयमता देखाउने सहमति त जनाएको छ, तर यसबारे विस्तृत जानकारी दिएको छैन ।’ उनले थपे, ‘मेरो बुझाइअनुसार, इजरायलले लेबनानमा केही हदसम्म आफूलाई नियन्त्रणमा राख्ने प्रस्ताव गरेको छ, किनकि उनीहरू हाम्रो वार्ता सफल होस् भन्ने चाहन्छन् । यसअघि बुधबार शेहबाज शरिफले युद्धविराम लेबनानमा पनि लागू हुने बताएका थिए। तर इसराइलले आफ्नो आधिकारिक वक्तव्यमा दुई साताको युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको स्पष्ट पारेको थियो । इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत

‘बिटक्वाइनको स्रष्टा’ पहिचान गरेको ‘न्यूयोर्क टाइम्स’को दाबी

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनका रहस्यमय स्रष्टा सातोशी नाकामोटोको वास्तविक पहिचानबारे दशकौंदेखि चलिरहेको बहस पुन: एकपटक चर्किएको छ।  न्यू वर्क टाइम्सले गरेको एक वर्ष लामो अनुसन्धानले बेलायती कम्प्युटर वैज्ञानिक एडम ब्याक नै सातोशी हुन सक्ने दाबी गरेपछि यो विषय पुनः चर्चाको केन्द्रमा आएको हो । सन् २००८ मा प्रकाशित ‘बिटक्वाइन : मध्यस्थकर्ता विहीन डिजिटल नगद प्रणाली’ नामक श्वेतपत्रमार्फत बिटक्वाइनको अवधारणा सार्वजनिक गरिएको थियो । त्यसपछि २००९ मा यसको सफ्टवेयर कार्यान्वयन सुरु भयो र केही वर्षमै यो विश्वव्यापी वित्तीय प्रणालीमा ठूलो प्रभाव पार्ने प्रविधि बन्यो । तर यसको आविष्कारकर्ता सातोशी नाकामोटो भने २०१०–११ तिर सार्वजनिक रूपमा हराए र आजसम्म पनि उनको वास्तविक पहिचान रहस्यमै छ । न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार एडम ब्याक सातोशी हुन सक्ने सम्भावना विभिन्न प्राविधिक, भाषिक र ऐतिहासिक प्रमाणका आधारमा प्रस्तुत गरिएको छ ।  एडम ब्याक रिपोर्टमा विशेषगरी ‘स्टाइलोमेट्रिक एनालाइसिस’ अर्थात् लेखन शैलीको तुलना प्रयोग गरिएको छ । सातोशीका इमेल, फोरम पोस्ट र बिटक्वाइनसँग सम्बन्धित प्रारम्भिक सामग्रीहरूलाई ब्याकका पुराना लेखनहरूसँग तुलना गर्दा समान ढाँचा, ब्रिटिश अंग्रेजीको प्रयोग र केही विशिष्ट शब्द प्रयोगमा मिल्दोजुल्दो पाइएका छन् । यस अनुसन्धानका लागि पत्रकारले हजारौं क्रिप्टोग्राफी मेलिङ लिस्टका पोस्टहरू अध्ययन गरेका थिए, जहाँबाट सम्भावित उम्मेदवारहरूको सूची ३४ हजारभन्दा घटाएर अन्ततः एक जनामा सीमित गरिएको दाबी गरिएको छ । एडम ब्याक बिटक्वाइनको विकासभन्दा पहिलेदेखि नै डिजिटल मुद्रा र क्रिप्टोग्राफी क्षेत्रमा सक्रिय व्यक्ति हुन् । उनले सन् १९९७ मा ‘ह्यासक्यास’ नामक प्रणाली विकास गरेका थिए, जुन पछि बिटक्वाइनको ‘प्रूफ अफ वर्क’ मेकानिज्मको आधार बनेको मानिन्छ । साथै ब्याक सातोशीसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो व्यक्तिमध्ये एक रहेको पनि उल्लेख गरिएको छ । तर, यी सबै दाबीहरूका बाबजुद एडम ब्याकले आफू सातोशी नभएको कुरा बारम्बार अस्वीकार गरेका छन् । उनले न्यूयोर्क टाइम्सको रिपोर्टपछि पनि उक्त दाबीलाई अस्वीकार गर्दै यसलाई संयोग मात्र भएको बताएका छन्। हङ्गेरीमा रहेको बिटक्वाइनका अज्ञात संस्थापकको सालिक  सातोशीको पहिचानबारे यस्ता दाबीहरू पहिला पनि सार्वजनिक भएका थिए । यसअघि पनि विभिन्न व्यक्तिहरू जस्तै हल फिन्ने, निक स्जाबो वा अन्य प्राविधिक व्यक्तिहरूलाई सातोशीको रूपमा प्रस्तुत गरिएको थियो, तर ती सबैले दाबी अस्वीकार गरेका थिए । सातोशी नाकामोटोको पहिचान महत्त्वपूर्ण हुनुको प्रमुख कारण बिटक्वाइनसँग सम्बन्धित ठूलो धनराशि हो । अनुमान अनुसार प्रारम्भिक चरणमा सातोशीले करिब १० लाखभन्दा बढी बिटक्वाइन माइन गरेका थिए, जसको मूल्य हाल अर्बौं डलर बराबर छ । यदि यी बिटक्वाइनहरू चलायमान भए भने विश्व क्रिप्टो बजारमा ठूलो प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ । यद्यपि क्रिप्टो समुदायका धेरै सदस्यहरू भने न्यूयोर्क टाइम्सको निष्कर्षप्रति सशंकित छन् । उनीहरूको भनाइमा अहिलेसम्म कुनै पनि दाबीलाई प्रमाणित गर्ने निर्णायक ‘क्रिप्टोग्राफिक प्रूफ’ सार्वजनिक भएको छैन । त्यसैले सातोशीको पहिचान अझै रहस्यकै विषय रहेको छ । केही विशेषज्ञहरू त सातोशी एकल व्यक्ति नभई समूह पनि हुन सक्ने तर्क गर्छन् । बिटक्वाइनको कोड र अवधारणाको जटिलता हेर्दा यस्तो सम्भावना बलियो देखिने उनीहरूको भनाइ छ । यसैबीच केहीले सातोशीको पहिचान खुलाउनु आवश्यक छैन भन्ने पनि तर्क गर्छन् । उनीहरूका अनुसार बिटक्वाइनको मूल दर्शन नै विकेन्द्रीकरण र गुमनामतामा आधारित भएकाले यसको स्रष्टाको पहिचान सार्वजनिक हुनु आवश्यक छैन । समग्रमा न्यूयोर्क टाइम्सको पछिल्लो अनुसन्धानले बिटक्वाइनका स्रष्टाबारेको बहसलाई पुनः ताजा बनाएको छ । तर एडम ब्याकको अस्वीकार र ठोस प्रमाणको अभावका कारण यो रहस्य अझै पूर्ण रूपमा सुल्झिएको भने छैन । सातोशी नाकामोटो को हुन् भन्ने प्रश्न अझै पनि आधुनिक प्रविधि र वित्तीय इतिहासकै सबैभन्दा ठूलो अनुत्तरित रहस्यहरूमध्ये एक बनेको छ ।

इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानको पूर्वाधारमा योजनाबद्ध आक्रमण दुई साताका लागि स्थगित गर्न सहमति भएको बताएका छन् । यसअघि उनले इरानको ‘पूरै सभ्यता ध्वस्त पार्ने’ धम्की दिएका थिए । यो निर्णय अमेरिका र इजरायलले युद्ध सुरु गरेको पाँच हप्ताभन्दा बढी समयपछि आएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै भनेका छन् कि यो सहमति ‘इरानले होर्मुज जलडमरू पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुने सर्तमा आधारित’ छ । उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल असिम मुनिरसँगको छलफलपछि गरिएको हो । ‘यो दुवै पक्षबाट हुने युद्धविराम हुनेछ !’ ट्रम्पले घोषणा गरेका छन् । यो घोषणापछि तेलको मूल्य करिब १६ प्रतिशतसम्म घट्यो भने अमेरिकी सेयर बजारका फ्युचर्स तीव्र रूपमा बढे। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले छुट्टै वक्तव्यमा भनेका छन् कि दुई साताको अवधिमा इरानी सशस्त्र बलसँगको समन्वयमा र प्राविधिक सीमाहरूलाई ध्यानमा राख्दै जहाजहरूलाई सुरक्षित रूपमा होर्मुज जलडमरूबाट आवतजावत गर्न दिइनेछ । ट्रम्पको घोषणा इरानलाई दिइएको समयसीमाभन्दा दुई घण्टा कमअघि आएको हो । उक्त समयसीमाअनुसार इरानले जलडमरू खोल्ने सम्झौता नगरेमा यसको नागरिक पूर्वाधारमा ठूलो आक्रमण हुने चेतावनी दिइएको थियो। आइतबार ट्रम्पले सामाजिक सञ्जालमा आक्रामक पोस्ट गर्दै इरानलाई ‘जलडमरू खोल’ भन्ने कडा चेतावनी दिएका थिए, जसका कारण अमेरिका र विश्वभर तनाव बढेको थियो । मंगलबार बिहान उनले अझ कडा अभिव्यक्ति दिँदै ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ’ भनेर लेखेका थिए । पाकिस्तानका प्रधानमन्त्री शरिफले मंगलबार दिउँसो ट्रम्पसँग इरानका लागि दुई साताको समय थप्न आग्रह गरेका थिए । साथै उनले इरानलाई ‘सद्भावनाको संकेतस्वरूप’ दुई साताका लागि जलडमरू खोल्न अनुरोध गरेका थिए । शरीफले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरताका लागि कूटनीतिलाई मौका दिन सबै युद्धरत पक्षलाई दुई सातासम्म युद्धविराम पालना गर्न आग्रह गर्छौं ।’ अमेरिका र इरान दुवैले यस घटनालाई आफ्नो सफलता भनेर व्याख्या गरेका छन् । ट्रम्पले भनेका छन् कि अमेरिका पहिले नै आफ्ना सबै सैन्य लक्ष्य पूरा गरिसकेको छ र इरानसँग दीर्घकालीन शान्ति सम्झौतामा पुग्ने चरणमा छ । उनका अनुसार इरानले दिएको १० बुँदे प्रस्ताव वार्ताका लागि ‘कार्यान्वयनयोग्य आधार’ हो र अधिकांश विवादित विषयमा सहमति भइसकेको छ । दुई साताको अवधिमा अन्तिम सम्झौता टुंगो लाग्ने अपेक्षा गरिएको छ । इरानको मेहर न्युज एजेन्सीले पनि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको वक्तव्य उद्धृत गर्दै अमेरिका वार्ताका आधारभूत सिद्धान्त स्वीकार गर्न बाध्य भएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ, ‘यदि वार्तामा शत्रुको आत्मसमर्पण निर्णायक राजनीतिक उपलब्धि बन्छ भने हामी यो ऐतिहासिक विजय मनाउनेछौं, नत्र इरानी जनताको सबै माग पूरा नभएसम्म संघर्ष जारी रहनेछ । वक्तव्यअनुसार आगामी दिनहरूमा इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा दुई सातासम्म वार्ता हुने छ । इरानको १० बुँदे प्रस्तावमा क्षेत्रीय सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता, सबै प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गर्ने, युद्ध क्षतिपूर्ति तिर्ने र होर्मुज जलडमरूमा नियन्त्रित आवतजावतको व्यवस्था गर्ने विषय समावेश छन् । सोमबार ट्रम्पले इरानको युद्धविराम प्रस्ताव ‘पर्याप्त रूपमा राम्रो नभएको’ बताएका थिए । तर केही घण्टामै उनले उक्त प्रस्तावलाई वार्ताका लागि स्वीकार्य आधार मानेका छन् । यस परिवर्तनको कारण भने स्पष्ट भइसकेको छैन । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)