पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

काठमाडौं । मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ । एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ ।      अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा सहभागी हुन इस्लामाबाद पुग्दैछ । यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ । उनले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइबारे छलफल हुने सङ्केत गरेका छन् ।       यद्यपि, वार्ता सुरु हुनुअघि नै चुनौतीहरू स्पष्ट देखिएका छन् । दक्षिणी लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी रहनु र इरानले पूर्वसर्तहरू अघि सार्नुले पाकिस्तानले मध्यस्थता गरेको युद्धविरामलाई कमजोर बनाउने जोखिम देखिएको छ ।      वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन् । सुरक्षा निकायहरूले मुख्य मार्गहरू बन्द गरेका छन् भने सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ । यसले सहरमा कफ्र्यूजस्तो अवस्था सिर्जना गरेको छ ।      पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले द्वन्द्व ‘कठिन चरण’ मा प्रवेश गरिरहेको बताउँदै अस्थायी युद्धविरामलाई स्थायी समाधानतर्फ रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे ।      वासिङ्टनबाट इस्लामाबादतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भान्सलाई शुभकामना दिँदै इरान सैन्य रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गरे । भान्सले पनि वार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका छज्, तर आवश्यक परे कडा अडान अपनाइने चेतावनी दिएका छन् ।      यसैबीच, इजरायल र लेबनानबीच पनि प्रत्यक्ष वार्ताको तयारी भइरहेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनको कार्यालयका अनुसार उक्त वार्ता अमेरिकी राजधानीमा सुरु हुने अपेक्षा गरिएको छ । बेरुतले इजरायलसँग प्रत्यक्ष संवाद गर्न तत्परता देखाए पनि त्यसलाई इरानसँगको जस्तै युद्धविरामको ढाँचामा अघि बढाउन चाहेको छ ।      तर इजरायलले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही नरोकिने अडान लिँदा सहमति प्रक्रिया थप जटिल बनेको छ । हिजबुल्लाह इरानको समर्थनमा युद्धमा संलग्न भएको हो । युद्धविराम घोषणा भएकै दिन बेरुतमा इजरायली हवाई आक्रमण हुँदा ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वयताकै सबैभन्दा ठूलो क्षति हो ।      त्यसपछि पनि आक्रमणहरू जारी रहेका छन् । दक्षिणी सहर नबातीहमा इजरायली आक्रमणमा १३ जना सुरक्षा अधिकारी मारिएको लेबनानी पक्षले जनाएको छ । इजरायली सेनाले भने उत्तरी इजरायलतर्फ प्रहार गरिएका रकेट लन्चरहरूलाई निशाना बनाएको दाबी गरेको छ ।      यस द्वन्द्वको अर्को महत्त्वपूर्ण आयाम स्ट्रेट अफ होर्मुज बनेको छ । इरानले यो जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो असर परेको छ । तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने विश्व अर्थतन्त्रमा दबाब सिर्जना भएको छ । युद्धअघि दैनिक १०० भन्दा बढी जहाज आवतजावत गर्ने उक्त मार्गबाट अहिले अत्यन्तै कम जहाज मात्र गुज्रिरहेका छन् ।      ट्रम्पले इरानसँग वार्तामा सीमित विकल्प रहेको दाबी गर्दै उसले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोगलाई दबाबको साधन बनाएको टिप्पणी गरे । उनका अनुसार वार्तामा सहभागी हुनु नै इरानका लागि अहिलेको प्रमुख विकल्प बनेको छ ।      यस परिस्थितिमा पाकिस्तानमा सुरु हुन लागेको अमेरिका–इरान वार्ताले केवल द्वन्द्वमा अस्थायी विराम ल्याउने मात्र नभई व्यापक क्षेत्रीय स्थायित्वतर्फ मार्ग खोल्न सक्छ कि सक्दैन भन्ने चासो अन्तर्राष्ट्रिय समुदायमा बढ्दो छ । रासस    

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

काठमाडौं । दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी व्यापार तनाव थप चर्किएको छ । इक्वेडरले कोलम्बियाली सामानमा कर बढाएको भोलिपल्ट नै कोलम्बियाले पनि प्रतिउत्तरस्वरूप इक्वेडरबाट आयात हुने वस्तुमा १०० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने निर्णय गरेको जनाएको छ । कोलम्बियाको वाणिज्य मन्त्रालयका अनुसार यो कदम प्रत्यक्ष रूपमा इक्वेडरको निर्णयको प्रतिक्रिया हो । बिहीबार इक्वेडरले कोलम्बियाली वस्तुमा लगाइँदै आएको ५० प्रतिशत करलाई बढाएर १०० प्रतिशत पुर्‍याएको थियो । त्यसको जवाफमा कोलम्बियाले पनि समान स्तरको शुल्क लागू गरेको हो ।      दुवै देशबीच केही महिनादेखि व्यापारिक विवाद चल्दै आएको छ । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले साझा सीमामा लागुऔषध तस्करी र अवैध खनन नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै औल्एका छन् । यही विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।      कर वृद्धि मात्र नभई कूटनीतिक सम्बन्धमा पनि असर परेको छ । इक्वेडरको निर्णयपछि कोलम्बियाले आफ्नो राजदूतलाई बोगोटा फिर्ता बोलाएको छ । वर्षको सुरुदेखि नै इक्वेडरले चरणबद्ध रूपमा भन्सार शुल्क बढाउँदै आएको र त्यसको जवाफमा कोलम्बियाले पनि पारस्परिक भन्सार शुल्क लागू गर्दै आएको देखिन्छ । यो सुरुमा ३० प्रतिशतबाट बढ्दै १०० प्रतिशतसम्म पुगेको छ ।      यद्यपि, कोलम्बियाले केही क्षेत्रलाई भने आंशिक रूपमा सहज बनाउने सङ्केत दिएको छ । राष्ट्रपति पेट्रोले औद्योगिक उत्पादनका लागि आवश्यक केही कच्चा पदार्थमा ‘शून्य प्रतिशत कर’ लागू गरिने उल्लेख गरेका छन्, जसले घरेलु उद्योगलाई राहत दिन सक्छ ।      कोलम्बियाकी वाणिज्यमन्त्री डायना मोरालेसले दुवै देशबीच कूटनीतिक प्रयासहरू लगभग समाप्त भइसकेको बताउँदै स्थिति गम्भीर बन्दै गएको सङ्केत गरे । यसै साता पेट्रोले इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्ज ग्लासलाई ‘राजनीतिक बन्दी’ भनेपछि विवाद झन् बढेको हो ।      ग्लासले २०१३ देखि २०१८ सम्म विभिन्न सरकारहरूमा सेवा गर्नुभएको थियो र गत वर्ष भ्रष्टाचारको आरोपमा १३ वर्षको जेल सजाय पाएकी थिइन् । उनले जेलमा अमानवीय व्यवहार भोग्नुपरेको दाबी गर्दै आएका छन् । तनाव यति बढेको छ कि कोलम्बियाले पेरु, बोलिभिया र इक्वेडर सम्मिलित क्षेत्रीय सङ्गठन एन्डियन कम्युनिटी अफ नेसन्स (क्यान) बाट बाहिरिने सम्भावना पनि उठाएको छ । यद्यपि, क्यानले शुक्रबार दुवै देशबीच संवाद गराउने प्रयासस्वरूप कूटनीतिक बैठक आयोजना गरेको जनाएको छ ।      आर्थिक दृष्टिले दुवै देश एकअर्कामा निर्भर छन् । कोलम्बियाले इक्वेडरमा मुख्य रूपमा बिजुली, औषधि, सवारी साधन, सौन्दर्य सामग्री र प्लास्टिकजन्य वस्तु निर्यात गर्छ भने इक्वेडरबाट तरकारीजन्य तेल, डिब्बाबन्द टुना, खनिज तथा धातु आयात गर्छ ।      यस क्षेत्रको अर्को जटिल पक्ष लागुऔषध तस्करी पनि हो । कोलम्बिया र पेरुमा उत्पादित करिब ७० प्रतिशत कोकेन इक्वेडर हुँदै प्रशान्त महासागरका बन्दरगाहबाट बाहिरिने गरेको छ । यसले इक्वेडरलाई आपराधिक गतिविधिको केन्द्र बनाएको छ ।      एक समय शान्त मानिएको इक्वेडर अहिले आपराधिक समूहहरूबीचको सङ्घर्षले प्रभावित भएको छ, जसका कारण हिंसा र हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । यस्तो अवस्थामा व्यापार युद्धसँगै सुरक्षाको चुनौतीले पनि क्षेत्रीय स्थायित्वमा थप दबाब सिर्जना गरेको छ । रासस

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

काठमाडौं । आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ । अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे ।      करिब १० दिन लामो यस अभियानले चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्‍यो । अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रालाई वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनायो ।      मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उनीहरूमा उत्साह र राहत दुवै झल्किएको थियो । सैन्य हेलिकप्टरहरूले उनीहरूलाई एक–एक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज युएसएस जोन पी मुर्तासम्म पुर्‍याएका थिए ।      नासाका प्रशासक जारेड आइज्याकम्यानले यस टोलीलाई ‘मानवताको प्रतिनिधि’ का रूपमा व्याख्या गर्दै उनीहरूको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताए । नासाको मिसन कन्ट्रोलमा पनि सफल अवतरणसँगै उत्सवको माहोल देखिएको थियो । अधिकारीहरूले यसलाई ‘नयाँ मूनसटको सुरुआत’ का रूपमा चित्रण गरेका छन् ।      ओरिअन क्याप्सुल ‘इन्टिग्रिटी’ ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा यात्रा गरेको थियो । पुनःप्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा रातो–तातो प्लाज्माले घेरिएको थियो, जसका कारण केही समय सञ्चार अवरुद्ध भएको थियो । यही क्षण मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो, जहाँ तापीय ढालको सफलतामाथि सम्पूर्ण टोलीको सुरक्षाको निर्भरता थियो ।      छ मिनेट लामो ब्ल्याकआउटपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा परिवारजन र वैज्ञानिकहरू दुवैले राहत महसुस गरेका थिए । अन्ततः करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो ।      यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ । क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बनिन् भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैर–अमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज भए । उनीहरूले आफ्नो अनुभव साझा गर्दै भावुक क्षणहरू पनि व्यक्त गरेका थिए ।      अप्रिल १ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको यो अभियानले चन्द्रमाको परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दूरी चार लाख छ हजार ७७१ किलोमिटर पार गर्दै नयाँ कीर्तिमान बनायो । यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दृश्यहरू क्यामेरामा कैद गरेका थिए, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन ।      यात्राका क्रममा केही प्राविधिक समस्या पनि देखिएका थिए । पिउने पानी प्रणाली, इन्धन प्रवाह नियन्त्रण गर्ने भल्भमा समस्या देखिएको थियो र शौचालयमा समस्या आए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गरेको जनाएको छ । पुनःप्रवेशपछि क्याप्सुलको तापीय ढालको थप परीक्षण गरिने तयारी गरिएको छ ।      नासाका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडान थियो । संशोधित कार्यक्रमअनुसार अर्को चरणमा आर्टेमिस तृतीय मार्फत कक्षीय अभ्यास गरिनेछ भने सन् २०२८ मा आर्टेमिस चतुर्थअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ ।      अन्तरिक्ष यात्री वाइसम्यानले यस अभियानलाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गरे । उनले पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशिष्ट स्थान सम्झनुपर्ने आवश्यकता औँल्याउँदै यस यात्राले सबैलाई साझा भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । रासस