क्यानडामा ब्याजदर स्थिर, वृद्धि दर बढ्ने अपेक्षा

काठमाडौं । क्यानाडाको केन्द्रीय बैंकले बुधबार आफ्नो मुख्य नीतिगत ब्याजदर हालको २.२५ प्रतिशतमा कायम राख्ने निर्णय गरेको छ । बैंकका गभर्नर टिफ म्याकलेमका अनुसार अमेरिकाद्वारा एलुमिनियम, अटोमोबाइल र काठमा लागू गरिएका कडा शुल्कले ती क्षेत्रहरूमा उल्लेखनीय असर परेको छ ।  साथै, अमेरिकी व्यापार नीतिमा रहेको अनिश्चितताले व्यावसायिक लगानीमा समेत दबाब सिर्जना गरेको छ । तर गभर्नर म्याकलेमले भने, ‘अहिलेसम्म क्यानडाको अर्थतन्त्र समग्रमा स्थिर र लचिलो देखिएको छ ।’ केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा क्यानडाको अर्थतन्त्र २.६ प्रतिशतको अपेक्षाभन्दा बढी वृद्धि भएको जनाएको छ । विश्वका अन्य ठूला अर्थतन्त्रहरूले अमेरिकी व्यापार संरक्षणवादको प्रभावको बाबजुद स्थिरता देखाइरहेका छन्, यद्यपि अनिश्चितता अझै उच्च रहेको छ । बैंकका अनुसार चौथो त्रैमासिकमा घरेलु माग बढ्ने अपेक्षा गरिएको छ, तर निर्यातमा सम्भावित कमीले सकल घरेलु उत्पादन (जीडीपी) लाई केही कमजोर बनाउने सम्भावना छ ।  ‘सन् २०२६ मा वृद्धि दर बढ्ने अपेक्षा छ, यद्यपि अनिश्चितता उच्च नै रहन सक्ने र व्यापारमा उतार–चढावले त्रैमासिक अस्थिरता ल्याउन सक्नेछ,’ बैंकले उल्लेख गरेको छ । मूल्यस्तरको अवस्थाबारे बैंकले आधारभूत मुद्रास्फीति अझै २.५ प्रतिशत आसपास रहेको भनेको छ । अर्थतन्त्रको वर्तमान कमजोरीले व्यापार पुनर्संरचनासँग सम्बन्धित लागत दबाबलाई केही हदसम्म समेट्ने अपेक्षा गरिएको छ, जसले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीतिलाई २ प्रतिशत लक्ष्य नजिक राख्नेछ । केन्द्रीय बैंकले यस वर्ष जनवरी, मार्च, सेप्टेम्बर र अक्टोबरमा ब्याजदर २५ आधार अङ्कले घटाएको थियो भने अप्रिल, जुन र जुलाईमा यसलाई स्थिर राखेको थियो ।

पुटिन-सुबियान्तो भेट : भारत, रूस र ग्लोबल साउथको शक्ति-समीकरणमा नयाँ संकेत

काठमाडौं । इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो हाल रूसको भ्रमणमा छन्, जहाँ उनले दुबै देशबीचको सैन्य सहकार्यदेखि लिएर व्यापारसम्मका विषयमा छलफल गरेका छन् ।  यस दौरान मस्कोमा उनको भेट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भयो । भेटवार्तामा सुबियान्तोले पुटिनलाई इन्डोनेशिया आउने निम्ता दिए र यस क्रममा भारतको पनि उल्लेख गरे । सुबियान्तोले भने, ‘म तपाईंलाई इन्डोनेशिया आउने निम्ता दिन चाहन्छु । तपाईंलाई जब समय मिल्छ, २०२६ वा २०२७ मा । तपाईं आउनुभयो भने हामीलाई धेरै खुसी हुनेछ । किनकि मात्र भारत नै त्यो देश हुनु हुँदैन जहाँ तपाईं जानुहुन्छ ।’ सुबियान्तोको यो कुरा सुनेर पुटिन पनि मुस्कुराए । पुटिन ४ र ५ डिसेम्बरमा भारतको दुईदिने औपचारिक भ्रमणमा थिए । यस क्रममा दुबै देशबीच धेरै सम्झौताहरू भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई गरेको स्वागत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा भयो । यो इन्डोनेशियाका राष्ट्रपतिको यस वर्षको रूस दोस्रो भ्रमण थियो । पुटिन केही समयदेखि ग्लोबल साउथका मुलुकहरूसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्, ताकि युक्रेन युद्धपछि अमेरिका र पश्चिमी देशहरूले लगाएका प्रतिबन्धबीच रूसको अर्थतन्त्रलाई पुनः अघि बढाउन सकियोस् । पुटिनले भेटवार्तामा इन्डोनेशियासँग बढ्दै गएको सैन्य सम्बन्धबारे खुसी व्यक्त गर्दै भने कि रूस परमाणु ऊर्जा क्षेत्रमै पनि इन्डोनेशियालाई सहयोग गर्न तयार छ । यसभन्दा पहिला पुटिनले मंगलबार भारतको प्रशंसा गर्दै भनेका थिए कि भारत पनि रूसकै जस्तै ‘विविधतामा एकता’ भएको देश हो र यस ‘विशेषता’लाई जोगाएर राख्नु अत्यन्त महत्त्वपूर्ण छ । सिभिल सोसाइटी एन्ड ह्युमन राइट्स काउन्सिललाई सम्बोधन गर्दै पुटिनले भने, ‘म हालै भारत गएको थिएँ, जहाँ डेढ अर्ब मानिस बस्छन् । तर करिब एक तिहाइ अर्थात् झण्डै ५० करोडले मात्र हिन्दी बोल्छन् । बाँकी सबैले फरक–फरक भाषा बोल्छन् । कहिलेकाहीँ त उनीहरू एकअर्काको कुरा पनि बुझ्दैनन् । रूसमा पनि करिब २७० भाषा बोलिन्छन् । दुवै देशभित्र कति विविधता छ । भारत र रूसजस्ता देशहरूको यस बहुसांस्कृतिक पहिचानलाई हामीले बचाएर राख्नु छ ।’ पुटिनको भारत भ्रमण चर्चित बन्नुको कारण पुटिनको भारत भ्रमणका क्रममा दुबै देशबीच मिडिया, अन्तरिक्ष (स्पेस) र फर्मा क्षेत्रलगायत करिब एक दर्जन समझौतामा सहमति भएको थियो । यद्यपि कुनै ठूलो घोषणा नभए पनि विश्वभर अमेरिकी र युरोपेली प्रतिक्रिया तथा भारतको आतिथ्यका कारण यो भेटघाट निकै चर्चामा रह्यो । संयुक्त राज्य अमेरिकाले भारतले रूसी तेल किन्दै आएको भन्दै ५० प्रतिशत टैरिफ लगाएको छ । अमेरिका लगातार भारतलाई रूसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ । धेरै युरोपेली देशहरूले पनि भारत–रूस व्यापारिक सम्बन्धप्रति आपत्ति जनाउँदै यसले ‘युक्रेन युद्धमा पुटिनलाई अप्रत्यक्ष सहयोग’ पुर्याइरहेको दाबी गरेका थिए । भारतले भने यो आरोपलाई सदैव अस्वीकार गर्दै आएको छ र आफ्नो नीति ‘घरेलु उपभोक्ताको हितअनुसार निर्णय लिनु’ रहेको बताउँदै आएको छ । यी सबै कारणहरूलाई लिएर नै पुटिनको भारत भ्रमणमा विश्वको ध्यान परेको थियो । चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जाकुनले नियमित प्रेस ब्रिफिङमा भने, ‘चीन, भारत र रूस द्रुत गतिमा बढिरहेका अर्थतन्त्र हुन् र ग्लोबल साउथको महत्त्वपूर्ण हिस्सा हुन् । तिनबीचको राम्रो सम्बन्ध केवल तिनकै लागि होइन, विश्व शान्तिका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।’ यसअघि रूसी मिडियाले पनि पुटिनको भारत भ्रमणलाई ट्रम्प र युरोपेली देशका लागि ‘असहज बनाउने घटना’ भनेर वर्णन गरेको थियो । ५ डिसेम्बर शुक्रबार रूसी सरकारी टिभीको करेन्ट अफेयर्स टक शोमा होस्टले पुटिनको भारत भ्रमणबारे युरोपेली मिडियामा आएका टिप्पणीकामाथि व्यङ्ग्य गरे । रसिया–१ च्यानलको ‘६० मिनेट्स’ कार्यक्रममा होस्ट ओल्गा स्काबेयेभाले भने कि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई जुन तरिकाले स्वागत गरे त्यसले ‘रूसका विरोधीहरूलाई असहज बनाएको’ हुनुपर्छ । त्यसैगरी रूसी विश्लेषक भ्लादिमिर कोर्निलोभले पुटिनको भारत भ्रमणलाई ‘वास्तविक अर्थमा एउटा वैश्विक घटना’ भने । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का पूर्व अधिकारी माइकल रुबिनले एएनआईसँग कुरा गर्दै भने, ‘भारत र रूसलाई नजिक ल्याउन डोनाल्ड ट्रम्प नोबेल पुरस्कारका हकदार छन् ।’  ‘रूसको दृष्टिकोणले हेर्दा यो भ्रमण अत्यन्त सकारात्मक छ र भारतले पुटिनलाई जुन सम्मान दियो, त्यो उनलाई संसारका अन्य ठाउँमा पाउन कठिन छ । म त भन्छु, ट्रम्पलाई नोबेल पुरस्कार मिल्नै पर्छ किनकि भारत र रूस जसरी एकअर्कासँग नजिक आए, त्यो उनकै कारण सम्भव भएको हो,’ उनले भने । (बीबीसी हिन्दीबाट अनूदित तथा सम्पादित)

दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै, बेरोजगार सङ्ख्या ६ लाख ६१ हजार

काठमाडौं । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहकाे अवसर बढेसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ ।  १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०.८ प्रतिशतले बढेर २ करोड ९० लाख ४६ हजार पुगेको छ, जसअन्तर्गत ६० वर्षभन्दा माथिका व्यक्तिहरूका रोजगारी मात्र ३ लाख ३३ हजारले बढेका छन् । तर १५-२९ वर्ष उमेर समूहमा १ लाख ७७ हजार र ४० को दशकमा ९ हजारले रोजगारी घटेको छ । स्वास्थ्य तथा सामाजिक सेवा, व्यवसाय व्यवस्थापन, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा क्रमशः २ लाख ८१ हजार, ६३ हजार र ६१ हजार रोजगारी बढेका छन्, भने निर्माण र उत्पादन क्षेत्र क्रमशः १ लाख ३१ हजार रहेका छन् । नियमित र अनियमित कर्मचारी सङ्ख्या बढे पनि दैनिक मजदुर र एक्लै व्यवसाय गर्ने स्वरोजगार घटेका छन् । रोजगार दर १५ वर्षमाथिका जनसङ्ख्यामा ०.२ प्रतिशतले बढेर ६३.४ प्रतिशत पुगेको छ, जबकि ओईसीडी विधिअनुसार १५-६४ वर्ष समूहको दर ७०.२ प्रतिशतमा उक्लिएको छ । बेरोजगारी दर २.२ प्रतिशतमै स्थिर रहे पनि बेरोजगार सङ्ख्या ५ हजारले बढेर ६ लाख ६१ हजारमा पुगेको छ । आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या अलि घटेको छ ।