विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” लागु, १६ अर्ब अमेरिकी डलरमा ५० कराेड जनाकाे बीमा

नयाँदिल्ली । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । यो कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना छ । प्रधानमन्त्री मोदीले झारखण्ड राज्यको राजधानी राँचीमा आयोजित समारोहमा पहिलो मेडिकल कार्ड आइतबार हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री मोदीले स्वास्थ्य क्षेत्रमा भारतको यो पहिलो ऐतिहासिक दिन भएको बताए । उनले यो बीमा कार्यक्रम भारतका गरिब परिवारका लागि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर कायम गर्न ठूलो कदम भएको बताउँदै यसबाट बर्सेनि १० करोडभन्दा बढी परिवारले लाभ लिन सक्ने बताए । भारतमा अस्पताल र चिकित्सकको अभावका कारण अधिकांश भारतीयले निजी स्वास्थ्य क्लिनिक र अस्पतालबाट उपचार लिइरहेको पाइन्छ । तर निजी क्लिनिकमा उपचार गर्न चाहने व्यक्तिले चिकित्सकको शुल्कबापत भारु १००० तिर्नु पर्दछ । दैनिक २ डलरभन्दा कम आम्दानी हुने यहाँका गरिब परिवारका लागि यो रकम ज्यादै बढी हो । सरकारी अनुमान अनुसार भारतमा आम्दानीको ६० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ । विज्ञहरुले सरकारको पछिल्लो अभियानलाई स्वागतयोग्य भनी प्रशंसा गरेका छन् । तर उनीहरुले यो सेवा सामान्य र दैनिक उपचार सेवामा पनि उपलब्ध हुनुपर्ने बताएका छन् । एजेन्सी

चीनले अमेरिकासँग लियो बदला, ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि

चीन । अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनले पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ । करिब पाँचदेखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब पाँच हजार २०० अमेरिकी सामानमा सोमबारदेखि नै लागु हुनेगरी कर बढाएको थियो । अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले बताएको छ । यदि अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गएमा चीनले यथोचित प्रतिक्रिया दिनेछ, मन्त्रालयद्धारा सोमबार जारी वक्तव्यमा भनिएको छ । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको थियो । “यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार र चाहनालाई प्रत्याभूत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताए । विश्वका यि दुई शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ जसका कारण दुबै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसपहिलेदेखि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो । हालै वासिङटनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई चीनले गत हप्ता स्वागत गरेको थियो । यस बिषयमा दुई पक्षबीच छलफल चलिरहेको थियो जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका मुलुक व्यापार युद्धबाट फिर्ता हुने आशा पलाएको थियो । तर मङ्गलबार अमेरिकी प्रशासनले गरेको निर्णयपछि चीनको यो प्रतिक्रिया आएको हो । ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ । अमेरिकाको पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ । अमेरिकाले चीनबाट बार्षिक करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ । रासस/एएफपी

अमेरिका विरुद्ध आर्थिक र सैन्य गठबन्धन बनाउँदै चीन र रुस

रूस । चीन र रुसले अमेरिका विरुद्ध सैन्य तथा आर्थिक गठबन्धन बनाउन सुरु गरेका छन् । चीनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका विरुद्ध गठबन्धन तयार पारेका हुन् । अब यी दुई मुलुकले मस्को र बेइजिङले द्धिपक्षिय व्यापारमा डलरको प्रयोग गर्ने छैनन् । चीन र रुसले व्यापारका क्रममा अब डलरको साटो आफ्नै मुद्राको उपायेग गर्नेछन् । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समयमा दुई देशका प्रमुखबीच यस्तो सहमति भएको हो । रुसले शितयुद्धपछि आयोजनाको गरेको सबै भन्दा ठूलो सैन्य अभ्यासमा ३ हजार भन्दा बढी चिनियाँ सेनाहरुले सहभागीता जनाईरहेका छन् । संयुक्त सैन्य अभ्यास र द्धिपक्षिय व्यापारमा डलरलाई निषेध गरेर यी दुई मुलुकले अमेरिका विरुद्ध गठबन्धन बनाएका हुन् । अमेरिकाले चीन र रुसमा उत्पादिन समानहरुमा कर वृद्धि गरेपछि सम्बन्ध चिसिँदै आएको छ । यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उनले बताए । पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताए । रासस