जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने

जापान । जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनः निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । जापानका प्रधानमन्त्री प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनःनिर्माणका उक्त रकम खर्च गर्ने बताएका छन् । उनले शनिबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि नयाँ आर्थिक सहायताको घोषणा गरेका हुन् । सन् २०२४ जनवरी १ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको इशिकावा क्षेत्रको केही भागलाई तहसनहस बनाएको थियो । भूकम्पका कारण धेरै भवनहरू र सडकहरू भत्किएका थिए भने विशाल आगलागी समेत भएको थियो । भूकम्पमा परी अहिलेसम्म २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० हजार भन्दा बढी मानिसहरू शिविर र होटलमा शरण लिइरहेका छन्, र इशिकावाका केही भागहरूमा अझै पनि खानेपानीको सेवा सहज हुनसकेको छैन । ‘अस्थायी आश्रयस्थलमा बस्ने अवस्थामा सुधार भइरहेको छ, तर म यो कुरा मनमा राख्नेछु कि वास्तविकता पहिलेजस्तै कठिन छ,’ किशिदाले सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पत्रकारहरूसँग भने । ‘निरीक्षणले ‘थप सहयोग प्रदान गर्ने दिशामा काम गर्ने सरकारको दृढतालाई पुनः पुष्टि गरेको छ’, उनले भने । किशिदाले चालू आर्थिक वर्षको सञ्चित कोषबाट करिब १०० अर्ब येन (६६ करोड अमेरिकी डलर) को अतिरिक्त खर्चलाई आगामी दिनमा आफ्नो क्याबिनेटले अनुमोदन गर्ने बताए । यो नयाँ वर्षको दिनको भूकम्पबाट पुनरुत्थानको प्रयासका लागि आपतकालीन कोषको तेस्रो विनियोजन हो, जुन रकम अब कुल २६० अर्ब येन (१.७ अर्ब डलर) भन्दा बढी हुने अपेक्षा गरिएको छ । किशिदाले भने, ‘नवीनतम कोषहरू अनुदान प्रणालीको वित्तपोषणको लागि डिजाइन गरिएको छ जसले युवा र बाल–पालन गर्ने परिवारहरूलाई उनीहरूको ध्वस्त घरहरू पुनर्निर्माण गर्न मद्दत गर्दछ ।’ प्रधानमन्त्री बिशिदाले पूर्वनिर्मित अस्थायी आवास निर्माणका लागि प्रयासलाई तीव्रता दिइने र वाजिमाको परम्परागत कलाकृति उद्योगका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भूकम्पका कारण इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ अर्ब डलर)  देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको सरकारी अनुमान छ । तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा पनि यो अनुमान निकै कम हो । त्यस विपत्तिमा लगभग १८ हजार ५०० मानिसहरू मृत्यु वा वेपत्ता भएका थिए । यसले फुकुशिमा आणविक केन्द्रमा विपत्ती निम्त्यायो, जुन चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो । रासस

उज्बेकिस्तानमा ७६६ औद्योगिक क्षेत्र स्थापना

ताशकन्द । व्यापक राष्ट्रिय सुधार भएपछि उज्वेकिस्तानले जनवरी १ सम्म ७६६ वटा औद्योगिक क्षेत्र स्थापना गर्न सफल भएको छ । लगानी, उद्योग तथा व्यापार मन्त्रालयले शनिबार सिन्ह्वालाई बताएअनुसार उज्बेकिस्तान आत्मविश्वासका साथ विस्तारै औद्योगिक क्षेत्रहरू विकास गर्न अग्रसर छ, यसले देशको चरणबद्ध आर्थिक विकासका लागि रणनीतिक लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्याउनेछ । औद्योगिक क्षेत्रहरूमा रहेका उद्यमहरूले सन् २०२३ मा कुल ५३.४ ट्रिलियन सोम (४.३ बिलियन अमेरिकी डलर) बराबरका दत्पादन गरी राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्‍याएको छ । यसैबीच, सन् २०२३ मा औद्योगिक क्षेत्रमा २० हजार ७ सय रोजगारी सिर्जना भएको थियो भने यो वर्ष २७ हजार ७ सय नया रोजगारीका पद सिर्जना भएको थियो । हालका वर्षहरूमा उज्बेकिस्तानले स्वदेशी र विदेशी लगानीकर्ताहरूका लागि आकर्षक र सहज व्यापारका निम्ति वातावरण सिर्जना गर्न उल्लेख्य सुधारका कार्यक्रम लागु गर्दै छ ।

अमेरिकाको जागिर छाडेर आहानाले बनाइन् ३० वर्षको उमेरमै १ अर्बको कम्पनी

काठमाडौं । यदि तपाईं कुनै पनि काम गर्न दृढ हुनुहुन्छ र सक्दो प्रयास गर्नुहुन्छ भने पक्कै सफलता पाउनुहुने छ। संसारका धेरैजसो मानिसले आफ्नो पढाइ पूरा गरेपछि राम्रो जागिर पाउने सपना देख्छन् । विदेशमा जागिर छ र तलब राम्रो छ भने कसैले छाड्न चाहँदैनन् । तर, त्यस्ता केही व्यक्तिहरू हुन्छन् जसले आफ्नो स्टार्टअप सुरु गर्न उत्कृष्ट सेवा सुविधाको जागिर छाड्न पनि हिचकिचाउँदैनन् । भारतकी आहाना गौतमले स्टार्टअप सुरु गर्न आकर्षक तलबसहितको जागिर छाडेकी छिन् । राजस्थान भरतपुरकी ३० वर्षीया आहानाले आफ्नै स्टार्टअप सुरु गर्न जागिर छाडेकी थिइन् । आज उनले आफ्नो मिहिनेतका आधारमा १ अर्बको भारु मूल्यांकनको कम्पनी बनाएकी छन् । अहिले उनी भारतीय व्यापार जगतमा चर्चित बनेकी छिन् । सन् २०१० मा आहानाले आईआईटी बम्बेबाट केमिकल इन्जिनियरिङमा बीटेक डिग्री हासिल गरेकी थिइन् र त्यसपछि हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेकी थिइन् । राम्रो प्याकेज लिएर अमेरिकामा काम गरेकी उनी जागिर छाडेर भारत आइन् । यो स्टार्टअप सुरु गर्नुअघि आहानाले धेरै एफएमसीजी कम्पनीहरूमा काम गरेकी थिइन् । त्यहाँ काम गर्ने क्रममा उनले परिष्कृत चिनी, पिठो, कृत्रिम रङ र स्वादले भरिएको जंक फूडबारे थाहा पाएकी थिइन् । तिनै खानेकुराहरूबाट उनलाई जंक फूड फ्री स्न्याक्सको आइडिया आयो । सन् २०१९ मा भारत आएपछि आहानाले ‘ओपन सेक्रेट’ नामक आफ्नो स्टार्टअप सुरु गरिन्, जसले स्न्याक्स उत्पादन र बिक्री गर्छ। उनको कम्पनी ओपन सेक्रेट धेरै सफल भएको छ । तीन वर्षमा यो १ अर्बबराबर कारोबार भएको कम्पनी बन्यो । एनबीटीको समाचार अनुसार युवा उद्यमी बनेकी आहानाले धेरै अवार्ड र सम्मान पाइसकेकी छिन् । उनले फोर्ब्स इन्डिया ३० अन्डर ३०, ईटी ४० अन्डर ४०, बिजनेस टुडे ४० अन्डर ४० सूचीमा पनि स्थान बनाएकी छिन् । एजेन्सी