इजरायलद्वारा दक्षिणी गाजाबाट सेना फिर्ता

काठमाडौं । इजरायलले आईतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्रहरू स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ । इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ । सेनाको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ ।

कस्ता छन् भारतीय धनाढ्यका उपभोग्य वस्तु रोजाइ ?

काठमाडौं । भारतको अर्थतन्त्र रकेट गतिमा बढिरहेको छ । र, योसँगै देशमा धनीहरूको संख्या पनि बढिरहेको छ । बढ्दो धन सम्पत्तिसँगै विलासिताका वस्तुतर्फ पनि मानिसको झुकाव बढ्दै गएको छ । गत वर्ष लक्जरी कम्पनीहरूले भारतमा रेकर्ड बिक्री गरेका थिए । सन् २०२३ मा लक्जरी कारको बिक्री २० प्रतिशतले बढेर ४२ हजार ७ सय ३१ युनिट पुगेको छ । गत वर्ष भारतमा १ सय ३ ल्याम्बोर्गिनी गाडी बिक्री भएका थिए । भारतमा ती गाडीको मूल्य ३ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ । त्यसैगरी पोर्शले पनि गत वर्ष कीर्तिमानी बिक्री गरेको थियो गत वर्ष ५० करोड वा सोभन्दा बढीका महँगो घर बिक्रीका लागि उत्कृष्ट थियो । त्यसैगरी भारतमा २४ करोड डलर बराबरको स्वीस घडी आयात भएको थियो । यी हुन् भारतीयलाई सबैभन्दा मनपर्ने लक्जरी ब्रान्डहरू हस्पिटालिटी हुरून इन्डिया लग्जरी कन्जुमर सर्भे २०२३ अनुसार ताज, ह्यात र मेरिअट ग्रुपका होटलहरू भारतीयहरूको मनपर्ने लक्जरी हस्पिटालिटी ब्रान्डहरू हुन् । ताज ग्रुप अफ होटल्स देशको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको हो । यसका देशभरि धेरै होटलहरू छन् । ह्यात होटल्स कर्पोरेसन एक अमेरिकी कम्पनी हो जसको विश्वभरि धेरै होटल र रिसोर्टहरू छन् । मेरिअट पनि एक अमेरिकी कम्पनी हो जसको विश्वभरि करिब ६ सय होटलहरू छन् । ​निजी जेट बढ्दो सम्पत्तिसँगै भारतमा निजी जेटको चलन पनि बढेको छ । देशका धेरै धनी व्यक्तिहरूसँग आफ्नै निजी जेटहरू छन् । भारतीयहरू विशेषगरी गल्फस्ट्रिम, बम्बार्डियर र होन्डा जेटहरू मन पराउँछन् । स्टिलका राजा लक्ष्मी निवास मित्तल, कुमार मंगलम बिर्ला, अतुल पुन्ज र केपी सिंहको गल्फस्ट्रिम जेटको स्वामित्व छ। त्यस्तै अनिल अम्बानी र गौतम सिंघानियासँग बम्बार्डियर कम्पनीको निजी जेट विमान छ । लक्जरी कार जहाँसम्म लक्जरी कारहरूको सवाल छ, गत वर्ष २ करोडभन्दा बढी मूल्यका कारको बिक्रीले रेकर्ड कायम गरेको थियो । भारतीयहरूको पहिलो रोजाइ अडी, ल्याम्बोर्गिनी र एस्टन मार्टिन हुन् । गत वर्ष ल्याम्बोर्गिनीले भारतमा १ सय गाडी बिक्री गरेको थियो । भारतमा ती कारको मूल्य ३ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ । त्यस्तै पोर्शले पनि गत वर्ष रेकर्ड बिक्री गरेको थियो । त्यस्तै, भारतमा अस्टिन मार्टिन गाडीको मूल्य पनि २ करोड ८५ लाख रुपैयाँबाट सुरु हुन्छ । लक्जरी स्पोर्ट्स कार लक्जरी स्पोर्ट्स कारमा भारतीयहरूको पहिलो रोजाइ ल्याम्बोर्गिनी एभेन्टडोर हो । भारतमा यसको पेट्रोल संस्करणको मूल्य ५ करोड १ लाखदेखि ५ करोड ६२ लाख रुपैयाँसम्म रहेको छ । लक्जरी स्पोर्ट्स कार र एसयूभी बनाउने इटालीको प्रसिद्ध अटोमोबाइल निर्माताले सन् २०२२ मा आफ्नो एभेन्टाडोर अल्टिमे रोडस्टर लन्च गर्ने घोषणा गरेको थियो । यसले मात्र २।८ सेकेन्डमा १ सय किमी प्रतिघण्टाको गति लिन सक्छ। लम्बोर्गिनीले २०११ मा जेनेभा मोटर शोमा एभेन्टडोर लन्च गरेको थियो । त्यसबेलादेखि यो आफ्नो अद्वितीय स्टाइलको लागि विश्वव्यापी रूपमा परिचित भएको छ । लक्जरी एसयूभी लक्जरी एसयूभीहरूमध्ये रोल्स रोयस कलिनन भारतीयहरूको पहिलो रोजाइ हो । यो ५ सिटर एसयूभी हो, जसको मूल्य ६ करोड ९५ लाख रुपैयाँबाट सुरु हुन्छ । यो ६७४९ सीसी इन्जिन र गियरबक्स विकल्पको साथ एउटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले आफ्नो कलिनन ब्ल्याक ब्याज कार २०२० मा भारतमा लन्च गरेको थियो। भारतमा यसको मूल्य ८ करोड २० लाख रुपैयाँ छ । लक्जरी घडी जहाँसम्म लक्जरी घडीहरूको सवाल छ, रोलेक्स, ओमेगा र पाटेक फिलिप भारतीयहरूको पहिलो रोजाइ हुन् । हालै जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा अभिनेता सलमान खानले पाटेक फिलिप एक्वानॉट रेन्बो लुस मिनेट रिपीटर घडी लगाएका थिए । भारतीय रुपैयाँमा हेर्ने हो भने यसको मूल्य २२ करोडभन्दा बढी छ । लक्जरी गहना गहनामा धनी भारतीयहरूको पहिलो रोजाइ लुइस भिटन, टिफनी र कार्टियर हुन् । लुइस भिटन विश्वको सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टको स्वामित्वमा रहेको फ्रान्सेली ब्रान्ड हो । टिफनी एक प्रसिद्ध अमेरिकी लक्जरी गहना ब्रान्ड हो । कार्टियर एक फ्रान्सेली ब्रान्ड हो । हालै यसको गहनाले भारतमा पनि धेरै नाम कमाएको छ । फेसन लक्जरी फेसन ब्रान्डहरूमा भारतीयहरूको पहिलो रोजाइ गुच्ची, बर्बेरी र जर्जियो अरमानी हुन् । गुच्ची एक इटालियन लक्जरी फेसन ब्रान्ड हो । यो कम्पनीले विगत धेरै वर्षदेखि भारतमा व्यापार गर्दै आएको छ । बर्बेरीले हालैका वर्षहरूमा भारतमा आफ्नो व्यापार द्रुत रूपमा विस्तार गरेको छ । त्यस्तै, इटालियन फेसन डिजाइनर जर्जियो अरमानीले पनि भारतका धेरै साना ठूला सहरमा स्टोर खोलेका छन् । एजेन्सी

टेस्लाको स्वचालित ‘रोबोट्याक्सी’ सार्वजनिक गर्दै एलन मस्क

टेक्सास । सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गरेका छन् । यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताए । टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने र टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालकरहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले यस पहिले सन् २०१९ मा नै घोषणा गरेका थिए । कारहरूले पूर्ण रूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न र विना कुनै मानवीय सहयोग यात्रुहरूलार्ई ट्याक्सी चढाउने र झार्ने गर्नुका साथै राम्रो आम्दानी गर्न सक्ने उनले बताए । अप्रिल सन् २०१९ मा टेस्लाले सन् २०२० सम्ममा ‘रोबोट्याक्सी’ सञ्चालन गर्न थाल्ने उनले बताएका थिए । टेस्ला कम्पनीद्वारा उत्पादित स्वायत्त कार ११ वर्ष टिक्ने र १६ लाख किलोमिटरभन्दा बढी चल्ने र यसबाट कम्पनी र कार मालिकले प्रत्येक वर्ष ३० हजार अमेरिकी डलर बराबरको नाफा कमाउन सक्ने उनले बताए । यद्यपि कहिलेकाहीँ घोषणा गरिएका काम सोचे अनुरूप पुरा हुन नसक्ने तर यसले कुनै न कुनै दिन सार्थकता पाउनेसमेत उनले बताए । ‘कहिलेकाहीँ मैले सोचेको काम समयमा नभए पनि मैले सोचेको कुरा कालान्तरमा टेस्ला समूहले गरेको छ,’ उनले भने । उपभोक्ताहरूले ‘नयाँ टेस्ला मोडल–३’ कारको खरिद मूल्य ४० हजार अमेरिकी डलरमा अतिरिक्त १२ हजार अमेरिकी डलर मूल्य थपेपछि पूर्णरूपमा स्वचालित क्षमताको कार खरिद गर्न सक्ने उनले बताए । पूर्ण स्व–ड्राइभिङ क्षमता एक महिनाको १९९ अमेरिकी डलर तिरेर ‘सदस्यता व्यापार मोडेल’ को आधारमा खरिद गर्न सकिने उनले जानकारी दिए । ‘सदस्यता व्यापार मोडेल अनुसार ग्राहकले उत्पादन वा सेवामा पहुँचको लागि नियमित अन्तरालमा पुनरावृत्ति मूल्य तिर्नुपर्छ । रासस