थप १ करोड पाकिस्तानी गरिबीको रेखामुनि जाने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सुस्त आर्थिक वृद्धिदर र चालु आर्थिक वर्षमा २६ प्रतिशत मुद्रास्फीतिका कारण १ करोडभन्दा बढी पाकिस्तानी गरिबीको रेखामुनि जान सक्ने जनाएको छ । विश्व बैंकको ‘पाकिस्तान डेभलपमेन्ट आउटलुक’ शीर्षकको द्विवार्षिक प्रतिवेदनले देशको अर्थतन्त्रको निकै डरलाग्दो तस्बिर चित्रण गरेको छ, यसले आफ्नो कुनै पनि ठूला बृहत् आर्थिक लक्ष्यहरू पूरा गर्न असफल हुने संकत गरेको छ। विश्व बैंकको प्रतिवेदनले पाकिस्तानले आफ्नो प्राथमिक बजेट लक्ष्य पनि गुमाउने सम्भावना रहेको र इस्लामावादलाई कम्तीमा तीन वर्षसम्म घाटामा रहने उल्लेख गरेको छ । विश्व बैंकको प्रतिवेदनका प्रमुख लेखक सैयद मुर्तजा मुजफ्फारीले फराकिलो आर्थिक सुधार हुँदाहुँदै गरिबी उन्मुलनका प्रयासहरू पर्याप्त नभएको बताए । ‘आर्थिक वृद्धि दर १.८ प्रतिशतको सामान्य स्तरमा स्थिर रहने प्रक्षेपण गरिएको छ, जसले गरिबीदर ४० प्रतिशतको हाराहारीमा रहनेछ,’ उनले भने, ‘करिब ९ करोड ८० लाख पाकिस्तानी पहिले नै गरिबीसँग संघर्ष गरिरहेका छन् । अब थप १ करोड मानिस गरिबीको रेखामुनि पर्ने खतरा छ ।’ विश्व बैंकको प्रतिवेदनले निरन्तर बढ्दै गएको मुद्रास्फीति र जीवनयापनको लागतसँगै उच्च यातायात खर्च, विद्यालयमा बालबालिकाको न्यून संख्या र कमजोर स्वास्थ्य प्रणाली मुलुकका प्रमुख चुनौती बनेको औंल्याएको छ । यसका साथै खाद्य सुरक्षा गम्भीर संकटमा परेको छ । ‘कमजोर वृद्धि, कम श्रम आय र निरन्तर उच्च मुद्रास्फीतिका कारण गरिबी मध्यम अवधिमा घट्ने प्रक्षेपण गरिएको छ,’ विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले दीर्घकालीन मुद्रास्फीति, पर्याप्त वृद्धिको अभावमा नीतिगत अनिश्चिततासँगै सामाजिक अशान्ति निम्त्याउने र नकारात्मक असर पार्न सक्ने बताएको छ । विश्व बैंकको प्रतिवेदनमा जहाँसम्म पाकिस्तानको आर्थिक वृद्धिको विषय छ, जुन २०२४ मा समाप्त हुने चालू आर्थिक वर्षमा १.८ प्रतिशतले मात्र वृद्धि हुने अपेक्षा गरिएको छ, जबकि आधिकारिक लक्ष्य ३.५ प्रतिशत रहेको छ। साथै, आगामी आर्थिक वर्षको वृद्धिदर पनि २.३ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ, जुन २.६ प्रतिशतको जनसंख्या वृद्धिदरभन्दा कम हो । एजेन्सी

४४ अर्ब डलरको बैकिङ ठगी मुद्दामा महिलालाई मृत्युदण्डको सजाय

काठमाडौं । भियतनामको एक अदालतले अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीकाे आरोप लागेकी महिला ट्रुङ माई लानलाई मृत्युदण्डको सजाय सुनाएको छ । भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा ची मिन्ह शहरमा रहेको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । पक्राउ परेकी लानलाई साइगोन कमर्सियल बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोप लगाइएको बीबीसीले जनाएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ । तर, २७ अर्ब डलर कहिल्यै पनि फिर्ता नहुने अवस्थामा पुगेको अभियोजनकर्ताहरूले बताएका छन् । बीबीसीका अनुसार यो मुद्दामा २७ सय जनालाई बयान दिन बोलाइएको छ । ट्रुङ माई लानविरुद्धका प्रमाणले १ सय ४ वटा बाकस भरिएको र यी कागजपत्रको तौल ५ टन रहेको बताइएको छ । भियतनामका १० वटा राज्यले लानविरुद्ध बहसका लागि २ सय जना वकिल खटाएका थिए । लानको पक्षबाट भने ८५ जना वकिलले बहस गरेका थिए । चिनियाँ–भियतनामी परिवारबाट आएकी ट्रुङ माई लान लामो समयदेखि भियतनामको प्रमुख व्यापारी र उद्योगी हुन् । सन् १९८६ मा सामान्य सौन्दर्यका सामान बेच्दै व्यवसायको सुरु गरेकी लानले सन् १९९० को दशकमा होटल र रेस्टुरेन्टको सञ्जाल फैलाउन थालेकी थिइन् । त्यसपछि घरजग्गा कारोबार र अन्य थुप्रै व्यवसायबाट उनको समूह अर्बपति बनेको थियो । सन् २०११ मा नियम छलेर उनले साइगोन कमर्सियल बैंक किनेकी थिइन् । भियतनामी कानुनले कुनै पनि व्यक्तिलाई एउटै बैंकको पाँच प्रतिशतभन्दा बढी सेयर राख्न निषेध गरेको छ । तर, लानले आफ्ना कामदार र नातेदारहरूको नामबाट साइगोन बैंकमा ९० प्रतिशत सेयर पुर्‍याएकी थिइन् । त्यसपछि बैंकमा प्रबन्धकसहित अन्य जिम्मेवार व्यक्ति आफू अनुकूल नियुक्त गरेर नियम विपरीत ऋण लगेको लानमाथि आरोप लागेको छ । कुनै बेला साइगोन कमर्सियल बैंकको सबै ऋणको ९३ प्रतिशत हिस्सा लानको स्वामित्वमा रहेका कम्पनीमा लगानी भएको थियो । बैंकको अवस्थ खराब हुन थालेपछि उनले सन् २०१९ को फेब्रुअरीदेखि चार अर्ब डलर आफ्ना चालकमार्फत निकालेकी थिइन् । यदि भियतनामको सबैभन्दा ठूलो नोटमा भए पनि चार अर्ब डलरको तौल दुई टन हुने खबरमा उल्लेख छ । उनले दुई टन तौल बराबरका नोट कहाँ राखेकी छन् भन्ने खुलेको छैन । लानले आफ्नो ऋणको छानबिन कहिल्यै नगर्ने सुनिश्चित गर्न एक जना केन्द्रीय बैंकका जिम्मेवार व्यक्तिलाई ५० लाख डलर घुस दिएको पाइएको छ । घुस लिने व्यक्तिलाई पनि आजीवन कारावासको सजाय माग गरिएको छ । बीबीसी

मुकेश अम्बानी पत्नी निताले किनिन् १२ करोडको सुपर लक्जरी कार

काठमाडौं । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी पत्नी नीता अम्बानी फेरि एकपटक चर्चामा छिन् । मिडिया रिपोर्टका अनुसार उनले १२ करोडको सुपर लक्जरी कार किनेकी छन् । देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष नीतासँग करिब १ सय ६८ लक्जरी कारको संग्रह छ । यसमा मेब्याक, फेरारी, बेन्टले, मर्सिडिज बेन्ज र बीएमडब्लू कम्पनीका कारहरू पर्छन् । तर, अम्बानी परिवारको रोल्स रोयससँग विशेष लगाव छ । हालै अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा उनी १० करोडको रोल्स रोयस कलिनन ब्ल्याक ब्याजमा दुबईको एउटा मलमा किनमेल गर्न जाँदै गरेको देखिएका थिए । अब नीता अम्बानीले नयाँ रोल्स रोयस फ्यान्टम भी१२ को डेलिभरी लिएको खबर आएको छ । यो गुलाबी रङको कार विशेष गरी नीताका लागि डिजाइन गरिएको हो। मिडिया रिपोर्टका अनुसार भारतमा यो रोल्स रोयस कारको मूल्य १२ करोड भारु रहेको छ । नीताले किनेको कार विस्तारित ह्विल संस्करण हो। यो गाडीको तस्बिर इन्टरनेटमा तीव्र गतिमा भाइरल भइरहेको छ । यो विशेष गरी नीताका लागि अनुकूलित गरिएको छ । यसको सिटमा ‘एनएमए’ लेखिएको छ जुन नीता मुकेश अम्बानीसँग जोडिएको छ । यो कारको सबैभन्दा ठूलो विशेषता यसको रङ हो । सामान्यतया रोल्स रोयस कारको रङ कालो र सेतो हुन्छ तर नीताको कारलाई रोज क्वार्ट्ज पेन्ट स्किमले अर्किड मखमल इन्टेरियरले सजाइएको छ । कारको अगाडि रोल्स रोयसको लोगोलाई सुनौलो रङ दिइएको छ । यसमा ६।७५ लिटर क्षमताको ट्वीन टर्बो भी१२ इन्जिन छ । जसले ५७१ बीएचपीको बलियो पावर र ९०० एनएमको टर्क उत्पन्न गर्छ । अम्बानीको कार संग्रह हालै यो कार मुम्बईको सडकमा सुरक्षा गाडीको दस्तासँग देखिएको थियो । मुकेश अम्बानीले गत वर्ष आफ्नी श्रीमतीलाई रोल्स रोयस कुलिनन ब्ल्याक ब्याज उपहार दिएका थिए । भारतमा यसको मूल्य १० करोड रुपैयाँ छ र यो भारतको सबैभन्दा महँगो गाडीमध्ये एक हो । यो कार भारतमा तीन जनासँग मात्रै रहेको बताइएको छ । जसमा मुकेश अम्बानी, अभिनेता शाहरुख खान र हैदरावादका व्यापारी नसीर खान पर्छन् । यसबाहेक मुकेशसँग बेन्टले, ल्यान्ड रोभर रेन्ज रोभर, क्याडिलैक, टेस्ला, पोर्श, फेरारी, मर्सिडीज, बीएमडब्ल्यू, अडी, लेक्सस, भोल्भो, टोयोटा लगायत धेरै कम्पनीका लक्जरी कारहरू छन् । अम्बानी परिवारको सुरक्षामा टोयोटा फोर्च्युनर, मर्सिडिज बेन्ज जी-क्लास, ल्यान्ड रोभर डिस्कभरी, मर्सिडीज बेन्ज भी-क्लास र एमजी ग्लोस्टर जस्ता गाडीहरू छन् र साथै टोयोटा इनोभा हाइक्रस जस्ता गाडी छन् । एजेन्सी