हेपाटाइटिस भाइरसबाट दैनिक ३ हजार मानिसको ज्यान जाने गर्छ : डब्ल्यूएचओ

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मंगलबार चेतावनी दिएको छ । सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा यस भाइरससँग लड्न छिटो कारवाही गर्न आग्रह गरेको छ । यस साता पोर्चुगलमा भएको विश्व हेपाटाइटिस शिखर सम्मेलनका साथ जारी डब्ल्युएचओको प्रतिवेदनअनुसार सन् २०२२ मा एक सय ८७ मुलुकको तथ्याङ्कले भाइरल हेपाटाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १३ लाख पुगेको देखाएको छ । डब्ल्यूएचओको ग्लोबल एचआईभी, हेपाटाइटिस र यौन सञ्चारित सङ्क्रमण कार्यक्रम प्रमुख मेग डोहर्टीले यो डरलाग्दो प्रवृत्ति भएको बताए । प्रतिवेदनमा हेपाटाइटिस सङ्क्रमणबाट विश्वभर दैनिक तीन हजार पाँच सयको मृत्यु हुने गरेको र त्यसमा ८३ प्रतिशत हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीबाट हुने उल्लेख छ । प्रतिवेदनमा प्रभावकारी र सस्तो जेनेरिक औषधिले यस्तो भाइरसहरूको उपचार गर्न सकिने र सन् २०२२ मा पुरानो हेपाटाइटिस–बी बाट सङ्क्रमण भएकामध्ये तीन प्रतिशतले मात्र उपचार पाएको उल्लेख छ । हेपाटाइटिस–सीबाट सङ्क्रमितमध्ये २० बीस प्रतिशतको उपचार गरिएको थियो । ‘हेपाटाइटिसको सङ्क्रमणलाई रोक्न विश्वव्यापी रूपमा प्रगति भए पनि मृत्युदर बढ्दै गएको छ’, डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा भने । अफ्रिकामा पाँचमध्ये एक शिशुलाई जन्मको समयमा खोप लगाइए पनि नयाँ हेपाटाइटिस–बी सङ्क्रमणको ६३ प्रतिशत मामिला देखिएको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र एजेन्सी डब्ल्युएचओले प्रभावित देशहरूसँग जेनेरिक हेपाटाइटिस औषधिमा पर्याप्त पहुँच नभएकामा पनि दुःख व्यक्त गरेको छ । प्रतिवेदनअनुसार कूल हेपाटाइटिसका दुई तिहाइ केस बङ्गलादेश, चीन, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, रुस र भियतनाममा छन् । सन् २०२५ सम्ममा यी १० देशमा हेपाटाइटिस  रोकथाम गर्न र उपचारमा विश्वव्यापी पहुँच पुयाउन आवश्यक रहेको डब्ल्यूएचओले बताएको छ । रासस

फेसबुक सञ्चालक जुकरबर्ग संसारकै तेस्रो ठूलो धनी

काठमाडौं । संसारकै ठूलो सामाजिक सञ्जाल वेबसाइट फेसबुकको मूल कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गका लागि सन् २०२४ उत्कृष्ट वर्ष सावित भएको छ । उनी धनको दौडमा रकेट गतिमा अगाडि बढिरहेका छन् । यसको अनुमान उनको नेटवर्थमा भएको उछाल हेरेर गर्न सकिन्छ, जसका कारण मार्क जुकरबर्ग टप टेन अर्बपतिको सूचीमा तेस्रो स्थानमा पुगेका छन् । सन् २०२० पछि उनले धनको दौडमा इलन मस्कलाई पछि पारेका छन् । ब्लुमबर्ग बिलिनायर्स इन्डेक्सका अनुसार विश्वका शीर्ष ३ अर्बपतिको सूचीमा फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट २ खर्ब २३ अर्ब अमेरिकी डलर सम्पत्ति सहित पहिलो स्थानमा छन् भने अमेजनका जेफ बेजोस दोस्रो स्थानमा छन् । गत शुक्रबार २ खर्ब ७ अर्ब डलर सम्पत्ति सहित विश्वको दोस्रो धनी व्यक्ति मस्कलाई हराएर विश्वको तेस्रो धनी व्यक्ति बनेका मार्क जुकरबर्गको कुल सम्पत्ति १ खर्ब ८७ अर्ब डलर पुगेको छ । तीन महिनामा बढ्यो नेटवर्थ यस वर्षको अन्तिम तीन महिनामा मार्क जुकरबर्गको नेटवर्थमा ठूलो उछाल आएको छ । मेटाको सेयरको वृद्धिसँगै उनको सम्पत्ति ५८ अर्ब ९० करोड डलर अर्थात करिब ४९ खर्ब ७ अर्ब १७ करोड ३९ लाख ८५ हजार रुपैयाँले बढेको छ । नेटवर्थमा भएको यो वृद्धिका कारण उनले मस्कलाई चौथो स्थानमा धकेल्दै तेस्रो स्थानमा कब्जा जमाएका छन् । टेस्लाका सीईओ मस्कको कुल सम्पत्ति १ खर्ब ८१ अर्ब डलर छ । यसअघि १६ नोभेम्बर २०२० मा मार्क जुकरबर्ग १ खर्ब ५ अर्ब ६० करोड डलर कुल सम्पत्तिका साथ तेस्रो स्थानमा पुगेका थिए । मस्कका लागि २०२४ खराब वर्ष एकातिर यो वर्ष मार्क जुकरबर्गका लागि लाभदायक सावित भइरहेको छ भने अर्कातर्फ इलन मस्कका लागि पनि उत्तिकै नराम्रो देखिएको छ । ब्लुमबर्गका अनुसार पछिल्लो तीन महिनामा मात्रै मस्कको सम्पत्ति ४८ अर्ब ४० करोड डलर अर्थात करिब ४० खर्ब ३२ अर्ब ८६ करोड ४६ लाख ६० हजार रुपैयाँले घटेको छ । यो वर्ष उनको कम्पनीको सेयरमा भारी गिरावट आएको र यसका कारण उनी विश्वको नम्बर एक धनी व्यक्तिको स्थानबाट खसेर चौथो स्थानमा पुगेका छन् । शीर्ष १० को सूचीमा परे यी नाम विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीको पछिल्लो अपडेट हेर्दा बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, मार्क जुकरबर्ग र इलन मस्कपछि बिल गेट्स १लखर्ब ५३ अर्ब डलरसहित पाँचौं स्थानमा छन् भने १ खर्ब ४७ अर्ब डलरसहित स्टिभ बाल्मर छैटौं स्थानमा छन् । त्यस्तै १ खर्ब ३८ अर्ब डलरका साथ वारेन बफेट सातौं, आठौं स्थानमा १ खर्ब ३८ अर्ब डलरसाथ ल्यारी पेज, १ खर्ब ३७ अर्ब डलरसाथ नवौं स्थानमा ल्यारी एलिसन र १ खर्ब ३१ अर्ब डलरसाथ १०औं स्थानमा सर्गे ब्रिन छन् । मुकेश अम्बानी र गौतम अडानीको वर्चश्व भारतीय अर्बपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका ११औं धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति १ खर्ब १२ अर्ब डलर छ । यस वर्ष अम्बानीको सम्पत्ति १६ अर्ब ११ करोड डलर वा करिब १३ खर्ब ४० अर्ब भारुले बढेको छ । दोस्रो भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानी धनीहरूको यो सूचीमा १४औं स्थानमा छन् र उनको कुल सम्पत्ति १ खर्ब ४ अर्ब डलर छ । यो वर्ष अडानीले पनि १९ अर्ब ९० करोड डलर अर्थात् करिब १६ खर्ब ५० अर्ब भारु कमाएका छन् । एजेन्सी

टर्कीद्वारा इजराइलमाथि व्यापार प्रतिबन्ध : सिमेन्ट, स्टिल र फलाम निर्यातमा रोक

काठमाडौं । गाजामा इजराइली युद्धको जवाफमा टर्कीले व्यापारमा प्रतिबन्ध लगाएको छ । टर्कीले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने घोषणा गरेको हो । टर्कीको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै व्यापार प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘इजराइलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने छ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ । इजराइलले गाजालाई हवाई सहायता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीले नयाँ कदम चालेको हो । विदेशमन्त्री हकन फिदानले सोमबार इजराइलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागू गरिने बताएका छन् । टर्की गाजामा इजराइलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक रहेको छ । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजराइललाई ‘आतङ्कवादी राज्य’ को संज्ञा दिएका छन् ।