दिल्ली संसारकै व्यस्त १० विमानस्थल सूचीमा
काठमाडौं । भारतको दिल्ली विमानस्थल सन् २०२३ का लागि विश्वको व्यस्त विमानस्थल सूचीमा १० नम्बरमा परेको छ । हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल यो सूचीको शीर्ष स्थानमा छ । एयरपोर्ट्स काउन्सिल इन्टरनेसनल (एसीआई) वर्ल्डका अनुसार भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल व्यस्तताका हिसाबले १०औं स्थानमा छ भने दुबई र डालस विमानस्थल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । सोमबार सूची सार्वजनिक गर्दै एसीआईले सन् २०२३ का लागि विश्वव्यापी कुल हवाई यात्रु प्रक्षेपण ८ अर्ब ५० करोड नजिक रहेको पनि बताएको छ जुन कोरोना महामारी अघिको स्तरभन्दा ९३.८ प्रतिशत र २०२२ को तुलनामा २७.२ प्रतिशतले बढी हो । प्रतिवेदनका अनुसार विश्वका शीर्ष १० व्यस्त विमानस्थलमध्ये पाँचवटा अमेरिकाका छन् । १०औं स्थानमा दिल्ली विमानस्थल रहेको छ जहाँबाट २०२२ मा ७ करोड २२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका थिए । २०२२ मा दिल्ली नवौं स्थानमा थियो । हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल सूचीको शीर्षमा छ र गत वर्ष १० करोड ४ लाख ६० हजारभन्दा बढी यात्रुलाई सेवा दियो । अधिभोगका हिसाबले यो दुबई अन्तर्राष्ट्रिय विमानस्थलको पछि छ । जसबाट ८ करोड ६९ लाखभन्दा बढी हवाई यात्रु आवागमन गरे । डलास फोर्थ वर्थ अन्तर्राष्ट्रिय विमानस्थल २०२३ मा ८ करोड १७ लाखभन्दा बढी यात्रुले प्रयोग गरेका थिए, जुन सूचीको तेस्रो स्थानमा छ । सूचीमा चौथो स्थानमा लन्डनको हिथ्रो विमानस्थल, पाँचौंमा टोकियोको हानेडा विमानस्थल, छैटौंमा डेन्भर अन्तर्राष्ट्रिय विमानस्थल, सातौंमा इस्तानबुल विमानस्थल, आठौं स्थानमा लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल र नवौं स्थानमा शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । एसीआई विश्वका एयरपोर्टहरूको व्यापारिक संगठन हो । एजेन्सी
दक्षिण कोरियाको आइसीटी निर्यात मार्चमा पनि वृद्धि
सोल । दक्षिण कोरियाको सूचना र सञ्चार प्रविधि (आइसीटी) उत्पादनको निर्यात स्थानीय रूपमा निर्मित सेमीकन्डक्टरहरूको ठोस मागका कारण लगातार पाँचौँ महिनामा बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । व्यापार, उद्योग र ऊर्जा मन्त्रालयका अनुसार मार्चमा आइसीटी उत्पादन ढुवानी १९ दशमलव चार प्रतिशतले बढेर १८ अर्ब ८२ करोड अर्ब अमेरिकी डलर पुगेको छ । सेमिकन्डक्टर निर्यात गत महिना ३३ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ६९ करोड डलर पुगेको छ । यो लगातार पाँचौँ महिना दोहोरो अङ्कको विस्तार हो । टेलिभिजन र कम्प्युटरका लागि प्रयोग हुने प्यानलको बलियो मागका कारण डिस्प्ले प्यानल ढुवानी १३ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ भने मोबाइल फोन निर्यात छ दशमलव छ प्रतिशतले बढेर ८८ करोड डलर पुगेको छ । कम्प्युटर र पेरिफेरलहरूको ढुवानी २० दशमलव तीन प्रतिशतले बढेर एक अर्ब दुई करोड डलर पुगेको छ भने सञ्चार उपकरणको निर्यात सात दशमलव एक प्रतिशतले घटेर २२ करोड डलरमा झरेको छ । आइसीटी उत्पादनहरूका लागि आयात एक वर्षअघिको तुलनामा एक दशमलव दुई प्रतिशतले घटेर मार्चमा ११ अर्ब ७० करोड डलर भएको छ । चिप्स, डिस्प्ले प्यानल र मोबाइल फोनका लागि आयात गत महिना बढे पनि कम्प्युटर र पेरिफेरलहरूका लागि आयात भने एकल अङ्कमा घटेको छ । रासस
निर्वाचनअघि मोदीको वाचा : सामाजिक खर्च बढाउने, मुलुकलाई उत्पादनको केन्द्र बनाउने
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने वाचा गरेका छन् । मोदी तेस्रो पाँच वर्षको कार्यकालका लागि सत्तामा फर्कने आशामा छन् । उनी तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आम निर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना वाचाहरू सार्वजनिक गरे । मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमहरूलाई विस्तार गर्ने वाचा गरे । यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरिबहरूका लागि लाखौं निःशुल्क घरहरू समावेश छन् । उनको सरकारले गरिब किसानहरूलाई प्रतिवर्ष छ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिहरूले २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । एक अर्ब ४० करोडभन्दा धेरै जनसङ्ख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक हो । भाजपाका अध्यक्ष जे. पी. नड्डाले एक प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरिबीमा बाँचिरहेको बताए । भारतमा मुलुकका भिन्नाभिन्नै हिस्सामा भिन्नाभिन्नै मितिमा निर्वाचन हुन्छ । निर्वाचन धेरै सातासम्म जारी रहन्छ । मुलुकको संसद्का लागि मतदान अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म हुनेछ र नतिजा जुन ४ मा घोषणा गरिनेछ । अधिकांश सर्वेक्षणहरूले मोदी र भाजपाको जितको भविष्यवाणी गरेका छन् । यद्यपि विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनीहरूको हितलाई समर्थन गरेको तर्क दिएको छ । मोदीले मुलुकभर व्यापक प्रचार गरिरहेका छन् र सन् २०२७ सम्ममा मुलुकको अर्थतन्त्रलाई करिब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा गरेका छन् । उनले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको एक सय वर्षको खुशीयाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गरेका छन् । उनले आइतबार आफ्नो पार्टीले भारतलाई औषधि, ऊर्जा, सेमीकन्डक्टर र पर्यटन उद्योगहरूको केन्द्रका रूपमा विकास गर्ने बताए । भारतले आफ्नो रेलवे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उनले बताए । साथै, उनले युवाहरूका लागि नोकरी बढाउने र युवा उद्यमीहरूका लागि सस्तो ऋणमा पहुँच पुर्याउने उल्लेख गरे । हिन्दूवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय छन् र उनले द्रुत गतिमा आर्थिक विकास गरेका छन् । रासस/एपी