‘अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ’
अस्ट्रेलिया । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा रहेको बताएका छन् । शुक्रबार आयोजित एउटा पारिवारिक हिंसाको कार्यक्रममा उनले अस्ट्रेलियाका पुरुषहरूलाई अगाडि बढ्न र महिलाविरुद्ध हिंसा रोक्न आह्वान गरे । ‘हामीसँग अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ, यो हाम्रो समाजका लागि एउटा विपत्ति हो र यसको अन्त्य हुनुपर्छ’, उनले भने, ‘स्थायी परिवर्तन ल्याउन महिलाले महिलामाथि हुने हिंसाको समाधान गर्ने अपेक्षा गर्न सकिँदैन, अब पुरुषहरूले अगाडि बढ्ने समय आएको छ, यो हामी आफैँलाई, आफ्ना छोराहरूलाई, सहकर्मीलाई र मित्रहरूलाई शिक्षित गर्नु हाम्रो जिम्मेबारी हो, हामीले रोकथामसँगै मिलेर काम गर्ने तथा कामको नयाँ तरिका खोज्नेतिर ध्यान दिनुपर्छ ।’ सिड्नीको एक सपिङ सेन्टरमा छुरा प्रहार गरेर जोएल काउचीले पाँच महिलासहित छ जनाको हत्या गरेपछि उनको उक्त टिप्पणी आएको हो । प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार काउचीका पीडितहरूको लिङ्ग विभाजनलाई चिन्ताजकरूपमा वर्णन गरे । न्यु साउथ वेल्सका प्रहरी उच्चायुक्त करेन वेबले स्पष्टरूपमा काउचीले महिलाहरूलाई लक्षित गरेको बताए । ड्रेफसले अस्ट्रेलियामा महिलाविरुद्ध हिंसा धेरैजसो पुरुषहरूबाट हुने गरेको भनी स्वीकार गर्न आधारभूत परिवर्तन हुन आवश्यक रहेको बताए । उनले अवस्था परिवर्तन गर्न सरकार, सङ्घसंस्था, अग्रपङ्क्ति सेवा, कानून प्रवर्तन, प्राज्ञिक संस्था, न्यायपालिका, परिवार र समुदायले मिलेर काम गर्नुपर्ने बताए । रासस
टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं । टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीवार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो । राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको एएफएडीले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । भूकम्पको धक्का छिमेकी प्रान्तमा महशुस गरिएको निजी प्रशारक एनटिभीले जनाएको छ । एएफएडी र अन्य सम्बन्धित एजेन्सीहरूका टोलीहरूले घटनास्थलमा स्थितिको अनुसन्धान गरिरहेका छन् ।
भारतीय आइटी कम्पनी इन्फोसिसको राजस्व वृद्धि अपेक्षाभन्दा कम
काठमाडौं । भारतको सूचना प्रविधि (आइटी) कम्पनी इन्फोसिसले बिहीबार मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ । कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको अपेक्षालाई प्रभावित गरेको जनाएको छ । बेङ्गलुरु प्रधान कार्यालय रहेको कम्पनी गत वर्ष कोभिड–प्रेरित वृद्धिपछि लडखडाएको छ । कम्पनीले आफ्नो आम्दानीको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ । उच्च ब्याजदर र मुद्रास्फीतिले विश्वव्यापी कम्पनीहरूको प्राविधिक खर्चमा असर पुर्याउँदा थोरै मात्र सम्झौता भएका छन् भने भारतीय सफ्टवेयर आउटसोर्सिङ क्षेत्रको विद्यमान करार पत्रहरू रद्द भएका छन् । इन्फोसिसले त्रैमासिकका लागि ४ अर्ब ५४ करोड अमेरिकी डलर आम्दानी भएको बताएको छ । यो गत आर्थिक वर्षको समान अवधिको तुलनामा एक दशमलव तीन प्रतिशतले बढी हो । कम्पनीको खुद मुनाफा ३० प्रतिशतले बढेर ९५ करोड ४० लाख डलर पुगेको छ तर अन्य आम्दानीमा भएको वृद्धिले यसलाई सहयोग गरेको छ । इन्फोसिसका प्रमुख कार्यकारी सलिल पारेखले समष्टिगत परिदृश्यमा ‘मिश्रित दृष्टिकोण’ रहेको बताए । ‘तपाईंले देखेजस्तै अमेरिकामा हाम्रो दृष्टिकोण सुस्त थियो भन्ने मलाई लागेको छ,’ उनले भने । कम्पनीको सबैभन्दा ठूलो बजार उत्तरी अमेरिकी व्यापारबाट आम्दानीमा दुई दशमलव एक प्रतिशतले कमी आएको छ । ‘लागत, दक्षता र ठूला सम्झौताहरूको एकीकृत प्रकृतिसँग राम्रो प्रवृत्ति छ तर डिजिटल कार्यक्रम वा कुनै विवेकपूर्ण काम अझै पनि हामीले देखिरहेका कामहरूमा देखिरहेका छैनौँ ।’ इन्फोसिसले आगामी १२ महिनाका लागि सुस्त बिक्री वृद्धिको अनुमान गरेको छ । कम्पनीले स्थिर मुद्राका आधारमा आम्दानी एकदेखि तीन प्रतिशतको बीचमा बढ्ने अनुमान गरेको छ । बिहीबार मुम्बईमा कारोबारको अन्त्यमा इन्फोसिसको सेयर एक दशमलव शून्य छ प्रतिशतले बढेर बन्द भएको छ । एजेन्सी