मलेसियाले रद्ध गर्यो चिनियाँ रेल र पाइपलाइन परियोजना, आर्थिक औपनिवेशवाद अस्विकार गर्ने घोषणा

बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीया लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गरेका छन् । बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको ऋण रकम तिर्ने निश्चित नहुँदासम्म यस्तो लगानी स्वीकार नगरिने उनले बताए । यी परियोजनामा मलेसियाको पूर्वी तटबाट दक्षिणी थाइल्यान्ड र क्वालालम्पुर जोड्ने रेलमार्ग तथा दुईवटा ग्यास पाइपलाइन निर्माण रहेका छन् । “हामीले ऋण लिएर पूर्वी तटीय रेलमार्ग किन निर्माण गर्न सकिन्न भनेर चिनीया नेतृत्वलाई जानकारी दिएका छौं,” चीनको पाँचदिने भ्रमणका क्रममा प्रधानमन्त्री महाथिरले मलेसियाली संवाददाताहरुलाई भने, “प्रश्न नै यति ठूलो रकमको हो, यो हामी तिर्न सक्दैनौं र हामीलाई तत्कालै यी परियोजनाको आवश्यकता पनि छैन । अहिलेको मुख्य समस्या नै हाम्रो वित्तीय घाटालाई कसरी समाधान गर्ने भन्ने हो ।” महाथिरले मलेसियाको राष्ट्रिय ऋणलाई न्यून गर्ने प्रयत्न गरिरहेका छन । मलेसियामाथि यस्तो ऋण रकम २५० अर्ब अमेरिकी डलर पुगिसकेको छ । चिनीया प्रधानमन्त्री ली केक्वाङसँगको भेटवार्तापछि महाथिरले चीनले आफ्नो मुलुकको वित्तीय समस्या सुल्झाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । मलेसियाली नेताले “नयाँ स्वरुपको औपनिवेशवाद स्वीकार्य नहुने” बताउँदै आएका छन् । उनको विचारमा खुला स्वतन्त्र व्यापारको नाममा ठूला, धनी मुलुकसँग गरिब राष्ट्रले प्रतिस्पर्धा गर्छु भन्नु मुर्खता मात्र हो । करिब २० अर्बको रेल परियोजनाको निर्माणको जिम्मा चीनको सबैभन्दा ठूलो इन्जिनियरिङ कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ र यस परियोजनाका लागि सबैजसो रकम ऋणस्वरुप एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइनाबाट लिइनेछ । मलेसियाको अर्थ मन्त्रालयका अनुसार, दुईवटा ग्यास पाइपलाइन निर्माण परियोजनाका लागि जुलाईमा ८८ प्रतिशत रकम अर्थात् २ अर्ब ३२ करोड अमेरिकी डलर चिनीया ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकिएको छ । यो परियोजनामा हालसम्म १३ प्रतिशतमात्र काम भएको तर भुक्तानी ज्यादै भएकोले पूर्व सरकारमाथि सर्वत्र आलोचना भइरहेको छ । एउटा पाइपलाइन मलेसियाको सबाहमा र अर्को मलाक्कामा निर्माण भइरहेका छन् । गत मे महिनामा महाथिरले सिंगापुर र मलेसिया जोड्ने उच्च गतिको रेलमार्ग निर्माण गर्ने बताएका थिए र यसको लागत पनि ज्यादै कम छ । मलेसियासँग चीनको सम्बन्ध पूर्व प्रधानमन्त्री नजिब रजाकको शासनकालमा न्यानो रहेको थियो, र तीनवटा परियोजनामा सम्झौता भएलगत्तै चिनीया लगानी बढेको थियो । तर आलोचकहरुले यी परियोजनामा पारदर्शिताको अभाव रहेको र ऋणको व्याजदरका शर्तहरु प्रकाशमा नल्याइएको आरोप लगाउँदै आएका छन् ।

भेनेजुएलामा अर्थतन्त्र जोगाउन शुन्य कटौती अभियान

काराकास । रासस/एएफपी । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ । यही परिस्थितिमा राष्ट्रपति मदुरोले नयाँ बैंक नोट जारी गरेका छन । यी नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ । मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन् । “उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,” इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले बताए । “यहाँ अहिले अराजक परिदृश्य छ ।” गत शुक्रबार मदुरोले गरेको राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ । यो वृद्धि यसै वर्षको पाँचौं हो । अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ । यसको मुख्य कारण नै बोलिभार (भेनेजुएलाको मुद्रा) मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फिती हो । पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा “वित्तीय अनुशासन” कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताए । तर अर्थशास्त्रीहरुको भनाईमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ । राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन् । “सबै तौरतरिका पुरानै छ, मूल्य वृद्धि निरन्तर हुनेछ,” सडकमा खाद्यपदार्थ बिक्री गर्ने ३९ वर्षीय ब्रुनो चोयले बताए । अर्का ६७ वर्षीय एन्जेल एरिआसले नयाँ नोटलाई “झुठको खेती” को संज्ञा दिए । मुलुकका तीनवटा मुख्य विपक्षी समूहहरु प्राइमेरो जस्टिसिया, भोलुन्टाड पपुलर र कउसा आरले सुधारको योजनालाई अस्वीकार गरेका छन् र यसका विरुद्ध मङ्गलबार प्रदर्शनमा उत्रन आह्वान गरेका छन् । भेनेजुएलाको नयाँ मुद्रा चलनचल्तीमा रहेको संदेहात्मक र बदनामी कमाएको मुद्रा (क्रिप्टोकरेन्सी) पेट्रोभन्दा सशक्त हुने सरकारको दाबी छ । एक पेट्रोको मूल्य बजारमा करिब ६० डलर छ, र यो भेनेजुएलाको एक ब्यारेल तेलको मूल्य बराबर हो । नयाँ मुद्रामा गणना गर्दा यो ३,६०० बोलिभार हुन्छ, र यसले पनि बोलिभारको अवमूल्यन व्यापक हुने देखिन्छ । तर, न्यूनतम ज्याला भने आधा पेट्रो (१८०० बोलिभार) तोकिएको छ । यो करिब २८ डलर हो । मदुरोका पूर्ववर्ती ह्युगो चाभेजले पनि सन् २००८ मा बोलिभार नोटबाट तीनवटा शून्य झिकेका थिए तर त्यसले पनि उच्च मुद्रास्फितीलाई रोक्न सकेको थिएन ।

भियना बन्यो संसारकै सुन्दर शहर, काठमाडौं कहिले ?

लण्डन । रासस/एएफपी । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा विश्वका १० वटा शहरहरुलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ । अस्ट्रेलियाको मेलबोर्नले ९८.४ अङ्क प्राप्त गरी दोस्रो स्थानमा परेको छ । मेलबोर्न विगत सात वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो । तेस्रो स्थानमा जापानको ओसाका सहर परेको छ । क्यानाडाको क्यालगरी चौथो स्थानमा, अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा, क्यानाडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौं र सातौं स्थानमा, जापानको टोकियो आठौं, डेनमार्कको कोपनहेगन नवौं र अष्टे«लियाको एडिलेड दशौं स्थानमा परेका छन् । उत्कृष्ट १० स्थानमा परेका यी शहरलाई हेर्दा अष्ट्रेलिया र क्यानाडामा तीन तीन शहरहरु परेका छन् । भिएना अष्ट्रेलियाको मेलबोर्न शहरलाई पछि पार्दै आगाडि पहिलो नम्बरमा आएको छ । भिएनामा अपराधमा कमी आएको, यातायातको सुविधा, शिक्षा र स्वास्थ्य सुविधा जस्ता कुरा लगायत राजनीतिक स्थायित्वको कारण पनि बस्न लायक शहरको पहिलो स्थानमा परेको बताइएको छ । बस्न अयोग्य शहरको सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ । यस्तै बङ्गलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराची र पपुवा न्यु गिनीको पोर्ट मोरेस्बी पनि बस्न अयोग्यको सूचीमा रहेका छन् । पाँच वर्षयता अबिद्जान, हनोइ, बेलग्रेड र तेहरान सहरले भने विकासको फड्को मारेका छन् ।