टर्कीको मुद्रास्फीति दर ६५ प्रतिशत पुग्यो

एजेन्सी । टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०.७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहले गरेका छन् । यद्यपि, राष्ट्रपति रेसेप तैयप एर्दोगानको बजारमामिला अध्ययन गर्ने अर्थशास्त्रीहरूले नयाँ टोलीले आगामी चार महिनाभित्र मुद्रास्फीति अहिलेसम्मकै उच्च विन्दुबाट घट्न थाल्ने बताएका छन् । दशकौं लामो उच्च मुद्रास्फीति दर सन् २०२२ को अक्टोबरमा ८५ प्रतिशत पुगेको थियो र त्यसपछि स्थिर आरोहण सुरु हुनुअघि नै यो दर घटेको थियो । टर्कीको आधिकारिक वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६४.७७ प्रतिशत सम्म पुगेको छ, जुन नोभेम्बरमा ६१.९८ प्रतिशत रहेको थियो । तर, मासिक २.९३ प्रतिशतको वृद्धि दर विगत छ महिनामा सबैभन्दा कम हो । कोनोटोक्सिया इन्भेस्टमेन्ट हाउसका बजार विश्लेषक बार्टोस्ज साविकीले भने, ‘मुद्रास्फीतिको प्रवृत्तिमा केही सुधार आएको छ र पछिल्ला महिनाहरूमा मुद्रास्फीति दर स्थिर भएको छ ।’ क्यापिटल इकोनोमिक्सका लियाम पीचका अनुसार पछिल्लो तथ्याङ्कले केन्द्रीय बैंकलाई सामान्यतया सान्त्वना दिनेछ । उच्च ब्याज दरलाई ‘सबै दुष्टहरूको आमा र पिता’ भनेका एर्दोगानलाई विश्लेषकहरूले यसका लागि जिम्मेवार देखेका छन् । राष्ट्रपति एर्दोगानले सन् २०२१ मा ‘नाम मात्रको स्वतन्त्र’ केन्द्रीय बैङ्कलाई उधारो लागत घटाउन निर्देशन दिनुलाई विश्लेषकहरूले मुद्रास्फीतिको श्रृङ्खलालाई बढाउने वर्तमान् समस्याको जड मानेका छन् । गत वर्षको मे महिनामा पुनः चुनाव जितेपछि आफ्नो पूरानो प्रतिबद्धतालाई उल्टाउँदै अर्थतन्त्र सुधारका लागि अग्रसरता लिन उनले टर्कीका चर्चित अर्थविद् मेहमेट सिम्सेकलाई अर्थमन्त्रीको रूपमा र पूर्व वाल स्ट्रीटका कार्यकारी प्रमुख हाफिज गए एर्कानलाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गरेका थिए । एर्दोआनको उच्च ऋण लागतको विगतको घृणालाई तोड्दै केन्द्रीय बैङ्कले महत्वपूर्ण ब्याज दरलाई ४२.५ प्रतिशतबाट ८.५ प्रतिशतमा झारेको छ । दुई दशकभन्दा बढी सत्तामा रहेपछि आर्थिक नीति उल्टाउने बृहत् सङ्केत एर्दोगानले नयाँ कार्यक्रमलाई समर्थन गरेका छन् ।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

जापान । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन । भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मङ्गलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो । स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन । भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पु¥याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् । क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् । जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपी मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् । रासस

को हुन् अरविन्द पनगरिया ? जसलाई दिइयो १६औं वित्त आयोगको कमाण्ड

काठमाडाैं । भारतीय केन्द्र सरकारले १६औं वित्त आयोग गठनको घोषणा गरेको छ । जसका लागि सन्दर्भ सर्तहरू स्वीकृत गरिएको थियो । योसँगै वित्त आयोगको अध्यक्षको नाम पनि घोषणा गरिएको छ । केन्द्र सरकारले अरविन्द पनगरियालाई कमाण्ड दिएको छ । यसबाहेक अर्थ मन्त्रालयमा सहसचिव रहेका ऋत्विक रञ्जनम पाण्डेलाई आयोगको सचिव बनाइएको छ । अक्टोबर २०२५ मा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने विश्वास छ । १६औं वित्त आयोगले आगामी ५ वर्षका लागि २०२६ अप्रिल १ गतेदेखि सिफारिस गर्नेछ । को हुन अरविन्द पनगरिया ? मोदी सरकारले १६औं वित्त आयोगको कमाण्ड सन् १९५२ मा जन्मिएका नीति आयोगका पूर्वउपाध्यक्ष अरविन्द पनगरियाको हातमा सुम्पेको छ । उनी कोलम्बिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । जसले एसियाली विकास बैंकको प्रमुख अर्थशास्त्रीका साथै धेरै ठूला र महत्वपूर्ण पदमा काम गरिसकेका छन् । अरविन्दले विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा उच्च पदमा काम गरिसकेका छन् । उनले सेबीको सदस्यका रूपमा पनि काम गरिसकेका छन् । यस्तै पनागरियाले इन्डियन काउन्सिल फर रिसर्च एण्ड इन्टरनेशनल इकोनोमिक रिलेसनको बोर्ड अफ गभर्नर्समा पनि काम गरिसकेका छन्। एजेन्सी