विज्ञहरू भन्छन्- उदीयमान अर्थतन्त्रका लागि ब्रिक्स महत्त्वपूर्ण संयन्त्र हो
काठमाडौं । रुसको कजानमा सुरु भएको १६ औं ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ । गत मंगलबारदेखि बिहीबारसम्म चलेको सम्मेलन सम्पन्न भएको हो । ब्रिक्स संयन्त्र उदीयमान अर्थतन्त्रहरू एकजुट रहन र विश्वव्यापी व्यापारमा सजिलो पहुँच प्राप्त गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्म भएको केही जाम्बियाका विज्ञहरूले बताए । अन्वेषक र जाम्बियाको अन्तर्राष्ट्रिय सम्बन्ध संघका वरिष्ठ सदस्य मवाका चिकोयेले ब्रिक्स साझा चासो भएका देशहरूका लागि विशेष गरी बढ्दो व्यापार संरक्षणवादको बीचमा मूल्यवान रहेको बताए । उनले ग्लोबल साउथको बढ्दो प्रभावले विश्वव्यापीकरणको एजेण्डामा महत्त्वपूर्ण भूमिका खेलेको र विश्व बजारमा प्रमुख खेलाडीको रूपमा आफ्नो क्षमतालाई हाइलाइट गर्ने बताए । चिकोयेका अनुसार ब्रिक्सले निष्पक्षतालाई बढावा दिन्छ । सबै राष्ट्रहरूले आकार वा आर्थिक स्थितिलाई ध्यान नदिई विश्वव्यापीकरणमा अर्थपूर्ण रूपमा योगदान गर्न सक्छन् भन्ने धारणालाई बढावा दिन्छ ।
फ्रान्सद्वारा लेबनानलाई १० करोड युरो सहयोगको घोषणा
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताएका छन् । पेरिसले लेवनानलाई वित्तीय सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरेको सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । युद्धको सकेसम्म चाँडो अन्त्य हुनुपर्ने र लेबनानमा युद्धविराम हुनुपर्नेसमेत उनले बताए। यसै सन्दर्भमा लेबनानी सरकारका प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई एक साथ समर्थन गर्न तथा तत्काल युद्धविराम लागू गर्न आह्वान गरेका छन् । फ्रान्सले लेबनानका लागि आधा अर्ब यूरो जुटाउने लक्ष्य राखेको छ जुन संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अपिलभन्दा दश करोड बढी हो । म्याक्रोनले आर्थिक योगदानको साथै, पेरिसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव –१७०१ अनुरूप लेवलानलाई गुमेको भुमि फिर्ता गर्न सेनालाई सहयोग गर्ने बताएका छन् । म्याक्रोनले हमासको सन् २०२३ अक्टोबर–७ को आक्रमणको एक वर्ष पछि इजरायलले सेप्टेम्बरको अन्त्यमा दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह विरुद्ध स्थलगत आक्रमण सुरु गरेको बताउदै अन्धाधुन्ध आक्रमण रोक्नु पर्ने जनाएका छन् । जर्मनीले पनि बिहीबार मानवीय सहायता अपिलमा लेवनानलाई ९६ मिलियन युरो योगदान गर्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सहभागीहरूलाई लेबनानी सशस्त्र सेनासहित (लेबनानका) सरकारी संस्थाहरू प्रति समर्थन र बलियो बनाउन आह्वान गरे । फ्रान्सले कूटनीति, मानवीय सहायता र लेबनानको आन्तरिक रक्षा राजनीतिलगायतका मामलामा चासो व्यक्त गर्दै अमेरिकालाई स्थायी युद्धविरामका लागि वार्ता गर्न २१ दिने अस्थायी युद्धविरामको वातावरण तय गर्न दबाब दिएको छ । रासस
ल्याम्बोर्गिनीको कथा : फरारीका साहुसँग यसरी लिए फेरुसियाले अपमानको बदला
काठमाडौं । स्पोर्ट्स कार ल्याम्बाेर्गिनी सायद हरेक युवाको सपना हो । सबैले यति धेरै कमाउने सपना देख्छन् ताकि एक दिन यो कार किनेर चढ्न सकियाेस् । के तपाईंले कहिल्यै त्यो कारको सफलताको कथा सुन्नु भएकाे छ, जसलाई लिएर लाखाैं युवा पागल छन् ? यसको सफलताको कथा आफैमा अचम्मको छ । किनभने ट्रयाक्टर बनाउने किसानको छोराले ल्याम्बाेर्गिनी बनाएका थिए । जुन आफैमा एउटा सपनाभन्दा कम थिएन । फेरुसियो किसानको छोरा ल्याम्बोर्गिनी इटालियन उद्यमी फेरुसियो ल्याम्बोर्गिनीले सुरु गरेका थिए । फेरुसीका बाबुआमा दुवै खेतीपानी र अंगूरखेतीमा संलग्न थिए । तर फेरुसियोलाई खेतीमा कहिल्यै रुचि लागेन । यद्यपि उनी खेतीपातीमा प्रयोग हुने उपकरण बनाउन भने निकै मन पराउँथे । दोस्रो विश्वयुद्धको समयमा फेरुसियो राेयल एयरफाेर्समा सामेल भए र मेकानिकको रूपमा वायु सेनामा काम गरे । युद्ध समाप्त भएपछि उनले ट्र्याक्टरहरू निर्माण गर्न थाले । उनको ट्र्याक्टर कम्पनी चाँडै कृषिका लागि उपकरण निर्माणमा संलग्न विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो । रेसिङ कारको सपना फेरुसियो आफै धेरै विलासी कारको मालिक थिए । उनको ग्यारेजमा मसरती, मर्सिडिज बेन्ज र अल्फा रोमियोजस्ता कार थिए । यसपछि उनले फरारी किन्ने निर्णय गरे । जुन निर्णय उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । उनको यो निर्णय ल्याम्बोर्गिनीको सफलताको सुरुवात हो । उनी एक महँगो रेसिङ कार किन्न चाहन्थे । त्यसैले उनले फरारी किनेका हुन् । फेरुसियो एक दिन आफ्नो फरारीमा घुम्न गएका बेलामा कारको क्लचमा केही समस्या भयाे । क्लचले राम्ररी काम गरिरहेको थिएन । उनी कार मर्मत गर्नुको सट्टा फरारीकाे मालिकसँग कुरा गर्न चाहन्थे । त्यसपछि उनले फरारी मालिक एन्जो फरारीलाई यो समस्याको बारेमा जानकारी दिए । फरारी मालिकले गरे अपमान जब फेरुसियोले एन्जाेलाई क्लचवाला कुरा भने तब उनी रिसाए । एन्जो फरारीले अपमानक शैलीमा फेरुसियोलाई क्लचमा समस्या नभइ कार चलाउने व्यक्तिको भएकाे बताए । यतिमात्र नभइ उनले फेरुसियोलाई फरारी चलाउनुको सट्टा ट्र्याक्टर चलाउनसमेत भने । यो कुराले फेरुसियोलाई निकै रिस उठ्यो अनि उनले एन्जोसँग यसकाे बदला लिने दृढ अठाेट गरे । त्यसबेलादेखि फेरुसियोको दिमागमा एउटै कुरा चल्न थाल्यो- जसरी हाेस् संसारको उत्कृष्ट रेसिङ कार बनाएरै छाड्छु र फरारीसँग अपमानकाे बदला लिन्छु । फरारीका पुरानो इन्जिनियरको मद्दत अपमानपश्चात फेरुसियोले नयाँ लक्जरी स्पोर्ट्स कार बनाउने काम सुरु गरे । उनले सबैभन्दा पहिले कार डिजाइन गर्न थाले । उनलाई कस्तो कार चाहिएको थियो भन्ने विषयमा राम्राे ज्ञान थियाे । त्यसैले उनले केही महिनामै रेसिङ कार तयार पारे । फेरुसियोले रेसिङ कारको पहिचान गर्न साँढेको चित्रलाई यसको प्रतीकको रूपमा प्रयोग गरे । उनको राशि वृष थियो र यस राशिको प्रतीक साँढे हो । त्यसैले ल्याम्बोर्गिनीको प्रतीक साँढे राखिएकाे हाे । फेरुसियोले आफ्नो पहिलो कार ल्याम्बाेर्गिनी ३५० जीटी बनाउनका लागि एक पुरानो फरारी इन्जिनियर र दुई युवा इन्जिनियरहरूलाई काममा राखेका थिए । ल्याम्बोर्गिनी आउने बित्तिकै चर्चित तत्कालीन प्रसिद्ध भी-१२ इन्जिन ३५० जीटीमा राखिएकाे थियाे ताकि याे हावाकाे वेगमा दाैडिन सकाेस् । पहिलो ल्याम्बोर्गिनी सन् १९६३ मा लन्च गरियाे । यसबारे सबैले थाहा पाउन सकुन् भनेर पहिलो प्रस्तुतीकरणमा कारकाे बारेमा जानकारी दिइएको थियो । सन् १९६४ को सुरुवातसँगै ल्याम्बोर्गिनी कारको बिक्री पनि सुरु भयो । ल्याम्बोर्गिनीको बिक्री सुरु हुनेबित्तिकै यसलाई किन्न मानिसहरूबीच प्रतिस्पर्धा भएको बताइएको छ । ल्याम्बाेर्गिनी यति हिट भयो कि १२० वटा कार बने । यो दुई सिटर लक्जरी स्पोर्ट्स कार थियो । मानिसहरू यसको मोडलसँग यति खुसी थिए कि ल्याम्बोर्गिनीले छोटो समयमा आफ्नो नयाँ मोडल सार्वजनिक गर्न बाध्य भयाे । नयाँ मोडलको नाम ४०० जीटी थियो र यो पनि आउने बित्तिकै सुपरहिट भयो । ल्याम्बाेर्घिनीकाे नेट वर्थ अहिले ११ बिलियन डलर पुगेकाे छ । सन् २०२३ मा ल्याम्बाेर्गिनीले १० हजारभन्दा बढी गाडी बिक्री गरी आफ्नाे नयाँ इतिहास बनाएकाे थियाे । अगिल्ला वर्षहरूभन्दा कम्पनीले १० प्रतिशत बढी गाडी बिक्री गरेकाे हाे । २५ वर्षअघि यसको वार्षिक बिक्री तथ्यांक केही सय युनिटमात्र थियो ।