यी हुन् युनुसअघि सत्ता हाँकेका नोबेल शान्ति पुरस्कार विजेता
काठमाडौं । विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार बङ्गलादेश फर्कनुभएका मुहम्मद युनुसअघि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने धेरै सत्ता विरोधीहरूले पछिल्लो ३५ वर्षमा आफ्नो मुलुकमा शासन गरेका थिए । म्यान्मा : आङ सान सु की सैन्य शासनकालमा करिब दुई दशकसम्म घरमै नजरबन्दमा रहेकी सु कीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । अन्ततः सेनाले सन् २०१० मा उनलाई स्वतन्त्रता प्रदान गर्यो । उनी सन् २०१६ मा सत्तामा आइन् र सन् २०२१ सम्म शासन गरिन् । तर, रोहिङ्ग्या सङ्कटलाई सम्बोधन गर्ने उनको सरकारको तरिकाबाट विदेशमा उनको विरासतलाई धेरै क्षति भयो । सन् २०१७ को सेनाको कारवाहीप्रति विश्वव्यापी रूपमा घृणा उत्पन्न भएको थियो । सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब ७ लाख ५० हजार सदस्यलाई आफ्नो जलिरहेको गाउँबाट छिमेकी बङ्गलादेशमा भाग्न बाध्य बनाएको थियो । सन् २०२१ फेब्रुअरीमा सैन्य विद्रोहबाट सु कीको सरकार अपदस्थ भएपछि उनलाई हिरासतमा लिइएको थियो । यसबाट म्यान्मामा संक्षिप्त लोकतान्त्रिक प्रयोग समाप्त भयो र व्यापक विरोध प्रदर्शन सुरु भयो । त्यसपछि उनलाई जुन्ता नियन्त्रित मुलुक म्यान्मामा २७ वर्षको जेल सजाय भयो । पूर्वी टिमोर : जोस रामोस–होर्टा स्वतन्त्रता समर्थक जोस रामोस–होर्टालाई सन् १९९६ मा क्याथोलिक विशप कार्लोस जिमेनेस फिलिप बेलोसँगै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । रामोस–होर्टालाई दुई लाख मानिसको ज्यान लिने तीतो द्वन्द्वको अन्त्य गर्ने प्रयासका लागि उक्त पुरस्कार प्रदान गरिएको थियो । इन्डोनेसियाले सन् १९७६ मा पूर्वी टिमोरलाई कब्जामा लिएको थियो । रामोस–होर्टाले पहिलो पटक सन् २००७ देखि सन् २०१२ सम्म दक्षिणपूर्वी एसियाको सबैभन्दा कान्छो मुलुक पूर्वी टिमोरको राष्ट्रपतिका रूपमा काम गरे । उनी मुलुकको पहिलो प्रधानमन्त्री पनि थिए । सन् २००८ को हत्या प्रयासबाट बाँचेका उनी सन् २०२२ मेदेखि पुनः राष्ट्रपति छन् । दक्षिण कोरिया : किम-दाए-जुङ हत्या प्रयास र मृत्युदण्डबाट बच्नुभएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम–दाए–जुङ अथक प्रजातन्त्र अभियानकर्ता थिए । दशकौँमा दक्षिण कोरियाको पहिलो उदारवादी राष्ट्रपति उनले उत्तर कोरियासँग संलग्न हुने ‘सनसाइन पोलिसी’ को स्थापना गर्नुभयो र कोरियाली युद्धपछि पहिलो अन्तर–कोरयाली शिखर सम्मेलनका लागि सन् २००० मा प्योङयाङको भ्रमण गरे । सोही वर्ष उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनी सन् १९९८ देखि सन् २००३ सम्म दक्षिण कोरियाको राष्ट्रपति हुनुहुन्थ्यो । सन् २००९ मा उनको निधन भयो । दक्षिण अफ्रिका : नेल्सन मन्डेला दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी प्रतीक मन्डेला र निवर्तमान श्वेत राष्ट्रपति फ्रेडरिक डि क्लार्कले सन् १९९३ मा नोबेल शान्ति पुरस्कार जितेका थिए । मन्डेलालाई २७ वर्षसम्म जेलमा राखियो र सन् १९९० मा उनको रिहाइले रङ्गभेदको अन्त्य भयो । सन् १९९४ मा उनी दक्षिण अफ्रिकाको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति बने । उनले पाँच वर्षको कार्यकाल पूरा गरे । पदभार ग्रहण गर्दा उनले आफैँ र विश्वको शान्तिमा इन्द्रेणी मुलुकतर्फ काम गरिरहेको बताएका थिए । उनको सन् २०१३ मा ९५ वर्षको उमेरमा निधन भयो । पोल्यान्ड : लेक वालेसा कम्युनिस्ट ब्लकको पहिलो र एकमात्र स्वतन्त्र ट्रेड युनियन, सोलिडारिटीका नेता वालेसाले सन् १९८३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । उनी सन् १९९० मा युद्धपछि पोल्यान्डको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति थिए । उनले दोस्रो विश्व युद्धपछि मुलुकमा तैनाथ सोभियत सङ्घका सैनिकहरूको प्रस्थानलाई सुनिश्चित गरे । सन् १९९५ र सन् २००० को निर्वाचनमा उनी पराजित भए । सार्वजनिक भाषणमा फर्केर उनले विश्व यात्रा गरे र शान्तिपूर्ण सङ्क्रमणको सन्देश फैलाए । उनीमाथि बारम्बार डरलाग्दो गोप्य सेवासँग एजेन्ट कोड ‘बोलेक’ नामको रूपमा काम गरेको आरोप लगाइएको थियो । जसलाई उनले अस्वीकार गरेका थिए ।
सपथ लिँदै युनुसले भने- ‘बङ्गलादेश एउटा परिवार हो, यसलाई एकजुट गर्नुपर्छ’
काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् । उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उनको भूमिकाको सपथ गराए । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ । यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो । सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा सुरु भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन् । आलोचकहरूले आरक्षण प्रणालीले हसिनाको पार्टीसँग सम्बन्ध भएका मानिसको पक्ष लिएको बताएका थिए । बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो । सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुस उनलाई अन्तरिम भूमिका निर्वाह गर्नका लािग चयन गर्दा २०२४ ओलम्पिकका लािग फ्रान्सको राजधानी पेरिसमा थिए । उनी कडा सुरक्षाबीच ढाका विमानस्थलमा बिहीबार स्वदेश फर्किएका हुन् । आफ्नो आगमनपछिको पहिलो टिप्पणीमा उनले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताए । ‘बङ्गलादेश एउटा परिवार हो, हामीले यसलाई एकजुट गर्नुपर्छ,’ उनले विद्यार्थी नेताहरूसँग भने, ‘यसको सम्भावना अपार छ ।’ बुधबार पेरिसमा युनुसले शान्ति र सबै पक्षपातपूर्ण हिंसा अन्त्य गर्न आह्वान गरेका थिए । यसैबीच एएफपीका अनुसार युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले सपथ लिएका छन् । उनीहरू मन्त्री नभएर सल्लाहकारको पदमा छन् । सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद हुनुहुन्छ । उहाँहरूले हप्तौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । अन्यमा पूर्वविदेशसचिव तौहिद हुसेन र पूर्वमहान्यायाधिवक्ता हसन आरिफ छन् । पुरस्कार विजेता पर्यावरण वकिल सैयदा रिजवाना हसन र कानूनका शीर्ष प्राध्यापक तथा लेखक आसिफ नजरुलले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रमुख मानवाधिकार कार्यकर्ता आदिलुर रहमान खानले पनि सल्लाहकारका रूपमा सपथ लिएका छन् । उनलाई हसिना सरकारले दुई वर्षको जेल सजाय सुनाइएको थियो ।
ओलम्पिकलाई कोका-कोलासँगको सम्बन्ध तोड्न सुझाव
काठमाडौं । ओलम्पिक आयोजकलाई कोका–कोलासँगको सम्बन्ध तोड्नु पर्ने दुई जना स्वास्थ्य विशेषज्ञले बताएका छन् । पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूले यस्तो बताएका हुन् । उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोट्र्स वास’ गर्न अनुमति दिएको बताएका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोका–कोलासँगको साझेदारीमा भने गर्व गरेको छ । कम्पनीले भने चिनीरहित पेयपदार्थ पनि उपलब्ध गराएको बताएको छ । फ्रान्सको राजधानीमा हुने प्रतियोगितामा कोका–कोलाको सर्वव्यापी फिजी पेयहरूको विज्ञापन समावेश छ । कोका–कोलाले सन् १९२८ देखि ओलम्पिकलाई प्रायोजन गर्दै आएको छ । तर, विश्वव्यापी स्वास्थ्य समूह भाइटल स्ट्राटिजिजका ट्रिस कोटर र सान्ड्रा मुलिनका अनुसार यी चिनीयुक्त पेय पदार्थहरूले ‘थोरै वा कुनै पोषण मूल्य प्रदान गर्दैनन्’ र त्यस्ता अस्वस्थकर उत्पादनहरूलाई प्रवर्द्धन गर्न खेलमा कुनै स्थान छैन । चिनीयुक्त पेय पदार्थहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप र हृदय रोगसहित विश्वभरका मानिसहरूलाई असर गर्ने गम्भीर स्वास्थ्य समस्याहरूको एक मुख्य चालक भएको दुवै जनाले बिएमजे ग्लोबल हेल्थ जर्नलमा टिप्पणीमा लेखेका छन् । कोका–कोलाका उत्पादनहरूले विश्वव्यापी प्लास्टिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र ठूलो मात्रामा पानीको प्रयोगमा पनि योगदान पुर्याएको उनीहरूको तर्क छ । ‘कोका–कोलासँगको सम्बन्धलाई निरन्तरता दिएर ओलम्पिकले खराब पोषण, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विश्वव्यापी महामारीलाई तीव्र पार्ने जोखिम छ,’ लेखकहरूले भनेका छन्, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले खेलाडी, दर्शक र पृथ्वीको हितमा कोका–कोलासँग सम्बन्ध तोड्ने समय आएको छ ।’