बंगलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बंगभवन’ कब्जा गरेका छन् । यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बंग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बंगभवन बाहिर उभिएर बंगलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् । ‘राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ’, एकजना प्रदर्शनकारीले भने । मोहम्मद साहाबुद्दिन बंगलादेशका १६औँ राष्ट्रपति हुन् । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए । भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ । त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् । सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो । बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बंगलादेशमा अन्तरिम सरकारको स्थापना भयो । हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । रासस

‘जहाजमा बम छ’ भन्ने हल्लाले अर्बौं घाटा, डरैडरले उडान भर्दै कम्पनी

काठमाडौं । गत सातादेखि भारतका लगभग हरेक एयरलाइन्सले प्रत्येक दिन धम्कीपूर्ण कल र मेसेजहरू प्राप्त गरिरहेका छन् । विमानलाई बमले उडाउने कल एयरलाइन्सहरूले पाइरहेका छन् । यसले सम्पूर्ण प्रणालीलाई उथलपुथल पारिरहेकाे छ । यसले गर्दा यात्रुलाई मात्रै होइन एयरलाइन्सले पनि ठूलो घाटा बेहोर्नुपरेको छ । केही दिनअघि मात्रै अमेरिका जाने विमानले ३ करोड घाटा बेहोर्नुपर्‍याे । यस्ता धम्कीपूर्ण कल र मेसेजले अहिले जनतामा डरको वातावरण सिर्जना गरेको छ । यही ‘थ्रेट गेम’का कारण यो वर्ष हालसम्म ५ सयभन्दा बढी उडान जोखिममा परेका छन् । यसले झण्डै दुई हजार उडान र साढे तीन लाख यात्रु प्रभावित भएका छन् । यसबाहेक वायुसेवा कम्पनीलाई झण्डै १५ अर्ब भारु घाटा भएकाे विभिन्न रिपाेर्टले उल्लेख गरेाका छन् । मंगलबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा खोजतलास भएकाे थियाे । भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएकाे थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएसँगै खाेजतलास सुरु गरिएकाे थियाे । १५७ जना यात्रु बोकेर जहाज आज अपरान्ह साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियाे । धम्कीले पूरै तालिका गडबड एयरलाइन्सका अधिकारीहरूका अनुसार कुनै पनि उडानको खतराले उक्त एयरलाइन्सको २४ घण्टा एयर तालिका प्रणालीमा ‘चेन रियाक्सन’ निम्त्याउँछ । किनभने एउटा विमानमा खतरा आए पनि एउटा विमानले २४ घण्टामा कम्तीमा चारदेखि छवटा छोटो दूरीको उडान गर्छ । यस्तो अवस्थामा एउटा उडानलाई खतरामा परेमा त्यस विमानको पछिल्ला सबै उडानहरू ढिलो, रद्द वा पुन: तालिकामा असर गर्छ । १५ अर्ब भारुको घाटा प्रत्येक उडानमा औसत १८० यात्रु हुन्छन् । यस्तो अवस्थामा यो वर्ष अहिलेसम्म करिब ५ सय उडान जोखिममा परेका छन्, जसको अर्थ कम्तीमा दुई हजार उडान र ती उडानमा उडान गर्ने साढे तीन लाखभन्दा बढी यात्रु प्रत्यक्ष प्रभावित भएका छन् । प्रति उडान ३ करोड रुपैयाँको ‘चेन रियाक्सन’ घाटालाई हेर्दा हालसम्म देशका विभिन्न एयरलाइन्सले करिब १५ सय करोड अर्थात १५ अर्ब भारु घाटा बेहोर्नु परेको छ । ३ करोड जरिवाना  अक्टोबर १४ मा एयर इन्डियाको विमान मुम्बई एयरपोर्टबाट न्यूयोर्कको जाेन एफ केनेडी (जेएफके) एयरपोर्टको लागि उडेको थियो । जसमा करिब २०० यात्रु र चालक दलका सदस्यहरू थिए । यो विमान करिब १३० टन जेट इन्धनले भरिएको थियो । टेकअफलगत्तै बम रहेको खबर आयो । दुई घण्टापछि विमान दिल्ली एयरपोर्टमा अवतरण गर्नुपर्‍यो । इन्धन, यात्रु, सामानलगायतका यो विमानको तौल ३४० देखि ३५० टनसम्म रहेकाे जनाइएकाे छ । एयर इन्डियाको यो विमानले अधिकतम २५० टन वजनमात्रै अवतरण गर्न सक्छ । यस्तो अवस्थामा विमानमा रहेको करिब १०० टन इन्धन हावामा उडाइएकाे थियाे । यसपछि विमानलाई दिल्लीमा अवतरण गरियाे । एक सिनियर पाइलटका अनुसार एक टन इन्धनको लागत करिब १ लाख रुपैयाँ पर्छ । उक्त विमानबाट एक सय टन इन्धन उडाइएकाे थियाे । यस्तो अवस्थामा इन्धनका कारण मात्रै एयरलाइन्सले १ करोड रुपैयाँ घाटा बेहोरेको छ । यसबाहेक दिल्लीमा ल्यान्डिङ गरेपछि ल्यान्डिङ चार्ज, २०० भन्दा बढी यात्रु र चालक दलका सदस्यलाई होटलमा बस्ने खर्च आदि पनि समावेश छन् । यस्तो अवस्थामा बमको झुटो समाचारका कारण एयरलाइन्सलाई करिब ३ करोड रुपैयाँ नोक्सान भएको केही वरिष्ठ अधिकारीले बताएका छन् ।

‘ग्रो’ले ठाउँ फेरेको करमात्र २१ अर्ब ५२ करोड बढी तिर्‍यो

काठमाडौं । स्टक ब्रोकिङ प्लेटफर्म ग्रोले यस वर्षको मे महिनामा आफ्नो मूल इकाई अमेरिकाबाट भारतमा सार्‍यो । यसका लागि कम्पनीले अमेरिकामा १६० मिलियन अमेरिकी डलर (२१ अर्ब ५२ करोड बढी) तिर्नुपर्‍याे । जसकारण गत मार्च ३१ मा समाप्त हुने आर्थिक वर्षमा कम्पनीले ९६ मिलियन डलर (१२ अर्ब ९१ कराेड बढी) घाटा भयाे । यसभन्दा पहिला वालमार्टको स्वामित्वमा रहेको फोनपे अक्टोबर २०२२ मा सिंगापुरबाट भारतमा सरेको थियो । उसले भारत सरकारलाई एक अर्ब भारु कर तिरेकाे थियाे। फाेनपेले आफ्नाे भारतीय र सिंगापुर एकाइहरूबीच सेयर स्वेप सम्झौता कार्यान्वयन गरेको थियो । तर ग्रोले आफ्नो अमेरिकी मूल इकाईलाई आफ्नो भारतीय इकाईमा मर्ज गरेको छ । जसकारण उसले अमेरिकामा कर तिर्नुपरेको हाे । किन ठेगाना सार्दै छन् कम्पनीहरूले ? इटीले मेमा रिपोर्ट गरेको थियो कि यदि रेजरपे अमेरिकाबाट भारतमा सर्‍याे भने २०० मिलियन (२६ अर्ब ९० करोड बढी) कर तिर्न सक्छ । भारतका वित्तीय नियामकहरूले कम्पनी र तिनका सहायक कम्पनीहरू देशभित्रै रहेको चाहन्छन् । यस संरचनामा समायोजन गर्न फिनटेक कम्पनीहरू भारतमा सर्न बाध्य छन् । साथै आईपीओको सम्भावनाले पनि यस कदममा महत्त्वपूर्ण भूमिका खेल्छ । ललित केश्रे, हर्ष जैन, नीरज सिंह, र इशान बन्सलद्वारा सन् २०१७ मा ग्रो स्थापित भएकाे थियाे । याे स्टक ब्रोकिङ प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई स्टक, एक्सचेन्ज-ट्रेडेड फन्ड (ईटीएफएस ) र आईपी‌ओमा लगानी गर्न अनुमति दिन्छ । ग्रोव इन्भेष्ट टेक बिलियनब्रेन्स ग्यारेज भेन्चर्सको सहायक कम्पनी हो, जसले नियोबिलियन फिनटेक, ग्रोव एसेट म्यानेजमेन्ट, ग्रोव पे सर्भिस, ग्रोव इन्स्योरेन्स ब्रोकिङ, बिलियनब्लक फिनसर्भ जस्ता संस्थाहरू पनि सञ्चालन गर्दै आइरहेकाे छ ।