बम राखिएको हल्लापछि भारतीय आकाशा एयरको विमान ‘डाइभर्ट’ गरियो

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश एयरको विमानलाई ‘सुरक्षा सतर्कता’ प्राप्त भएको र ‘सावधानी’ का रूपमा विमानलाई दिल्ली फर्कन आदेश दिइएको थियो । विमानस्थलको आपतकालीन टोलीले विमानलाई निगरानी गरेको र क्याप्टेनले दिल्लीमा सुरक्षित अवतरणका लागि आवश्यक सबै आपतकालीन प्रक्रियाको पालना गरेको आकाश एयरले जनाएको छ । विमानमा तीन शिशुसहित १८४ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । स्थानीय सञ्चारमाध्यम र एयरलाइन्सले यस हप्ता कम्तीमा पनि छ वटा यस्ता चेतावनी आएको जनाएका छन् । मङ्गलबार पनि एयर इन्डिया एक्सप्रेसको विमानमा बम हुन सक्ने इमेलमार्फत चेतावनी दिएपछि सिङ्गापुरको लडाकु विमानले एयर इन्डिया एक्सप्रेसको विमानलाई सुरक्षा प्रदान गरेको थियो । मङ्गलबार राति चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गर्नुअघि दुई वटा एफ–१५ जेट विमानलाई ‘जनघनत्व भएको स्थानबाट टाढा’ सुरक्षा प्रदान गर्न तैनाथ गरिएको थियो । एयर इन्डियाले नयाँ दिल्लीबाट शिकागोका लागि उडेको आफ्नो एउटा विमानलाई क्यानडामा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । त्यो विमान पनि सकुशल अवतरण भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार साउदी अरबको जेद्दाह र ओमानको मस्कटका लागि उडान भर्ने दुई उडानका बारेमा भारतको कम लागतको अपरेटर इन्डिगोलाई पनि यसै साता यस्तै हल्ला प्राप्त भएको थियो । रासस

अमेरिकी राष्ट्रपति चुनाव : ७६ अर्बपति ह्यारिस र ४९ अर्बपतिको साथ ट्रम्पलाई, यस्ता छन् आर्थिक प्रतिबद्धता

काठमाडौं । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरू पनि विभाजित भएका छन् । राष्ट्रपतिका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरूले पनि पक्ष विपक्ष लिन थालेका छन् । उनीहरूले आफूलाई समर्थन गरेका उम्मेदवारलाई आर्थिक सहयोग गरेर साथ दिइरहेका छन् । फोब्र्सले हाल सार्वजिनक गरेको एक रिपोर्टले ह्यारिसले ७६ जना अर्बपतिको समर्थन पाएकी छन् भने ट्रम्पले ४९ जनाको समर्थन पाएका छन् । फोब्र्सको रिपोर्टका अनुसार ट्रम्पभन्दा ह्यारिसले बढी धनाड्यको साथ पाएकी छन् । हालसम्म २८ अर्बपतिहरुले ह्यारिसलाई खुलेरै १ मिलिनर डलरभन्दा बढी चन्दा दिइसकेको रिपोर्टमा उल्लेख छ । एलन मस्कले खुलेरै ट्रम्पलाई साथ दिएका छन् । एलन मस्कले अहिलेसम्म ट्रम्प समर्थक सुपर पीएसी (राजनीतिक कार्य समिति) लाई ४७५ मिलियन डलर प्रदान गरिसकेको विभिन्न समाचार संस्थाहरूले उल्लेख गरेका छन् । अर्बपति मार्क जकरबर्ग र वारेन बफेट भने मौन रहेको रिपोर्टमा उल्लेख छ । ह्यारिसलाई समर्थन गर्ने अर्बपति -ब्ल्यांक (एटलान्टा फल्कन्स) -रीड हफम्यान (लिंक्डइन) -विनोद खोस्ला (खोस्ला भेन्चर्स) -डस्टिन मस्कोविट्ज (फेसबुक) -स्टिभन स्पिलबर्ग (होलिउड निर्देशक) -टोरी बर्च (फेशन डिजाइनर) -रीड हेस्टिंग्स (नेटफ्लिक्स) -क्रिस लार्सेन (रिपल) -लौरिन पावेल जोब्स (एप्पल) यी अर्बपतिहरूले ह्यारिसलाई समर्थन गरेका छन् । ह्यारिसले आर्थिक स्थिरताको नीति ल्याउन सक्ने अनुमान गर्दै ती अर्बपतिहरुले उनलाई साथ दिएको रिपोर्टमा उल्लेख छ । यस्तै ट्रम्पलाई पनि ४९ जना अर्बपतिले खुलेरै समर्थन गरेका छन् । ट्रम्पले आफुलाई उच्च धनी र श्रमिक वर्गको वकालत गर्ने नेताको रुपमा प्रस्तुत भइरहेका छन् । यी हुन् ट्रम्पका अर्बपति समर्थक -एलन मस्क (एक्स) -मिरियम एडेलसन (लास भेगास स्याण्ड्स कर्प) -डन अहर्न (लास भेगास कन्सट्रक्सन) -डियान हेनड्रिक्स (एबीसी सप्लाई) -लिन्दा म्याकमहोन (डब्ल्यूडब्ल्यूई) -स्टिभ वाइन (वाइन रिसोर्ट्स) -टिलमेन फर्टिट्टा (ह्यूस्टन रोकेट्स) -जोन पॉल्सन (पॉल्सन एक कं.) -थोमस सिबेल (सिबेल सिस्टम्स) मौन अर्बपति विश्व प्रख्यात केही अर्बपतिहरूले यो चुनावमा उम्मेदवारको विषयमा मौनता देखाएका छन् । उनीहरुले कुनै पनि उम्मेदवारलाई समर्थन गरेका छैनन् । उनीहरू अहिले तथष्ठ रहेका छन् । अमेजनका संस्थापक जेफ बेजोसले कुनै पनि उम्मेदवारको सार्वजनिक रूपमा समर्थन गरेका छैनन् भने सेयरका बादशाह भनेर चिनिने वारेन बफेटले पनि कुनैको समर्थन गरेका छैनन् । तर उनी डेमोक्र्याट भनेर चिनिन्छन् । फेसबुकका मालिक मार्क जकरबर्गले ट्रम्पसँग निजी छलफल गरेका छन्, तर उनले पनि कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आधिकारिक रूपमा कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन् तर जुलाईमा दिएको एक अन्तर्वार्तामा उनले ह्यारिसप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । जेपी मोर्गन च्यासेस बैंकका सीईओ जेमी डिमनले पनि कुनैको समर्थन गरेका छैनन । जेपी मोर्गन च्यासेस अमेरिकाको सबैभन्दा ठूलो बैंक हो । ब्रिजवाटर एसोसिएट्सका संस्थापक रे डालियोले पनि कुनैको समर्थन गरेका छैनन् । गूगलका सह–संस्थापक सेर्गेई ब्रिन, ल्यारी एलिसन र केन ग्रिफिन पनि यो चुनाबमा मौन छन् । यस्ता छन् प्रतिबद्धता ह्यारिसले चुनावको प्रचारप्रसारमा पहिलो प्राथमिकता नै कामकाजी परिवारहरूको खाना र आवासको खर्च कम गर्ने प्रयास हुने बताएकी छन् । उनले किराना सामानको मूल्यवृद्धि नियन्त्रण गर्ने र पहिलो पटक घर किन्नेहरूलाई सहुलियत दिने तथा माग पूर्ति गर्न आवास क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धता गर्दै आएकी छन् । ट्रम्पले मूल्यवृद्धि अन्त्य गर्ने र अमेरिकालाई पुनः सबैका लागि सहज तथा कम खर्चिलो बनाउने प्रतिबद्धता गर्दै आएका छन् । उनले बैंकको ब्याजदर घटाउने, कागजपत्र नभएका आप्रवासीहरूलाई फिर्ता पठाएपछि आवास क्षेत्रमा परेको दबाव कम गर्न सकिने बताउँदै आएका छन् । ट्रम्प खर्बौँ डलर राजस्व घट्ने गरी कर कटौती गर्ने पक्षमा उभिएका छन् । ट्रम्पले आफ्नो चुनावी अभियानमा करनीतिलाई केन्द्रमा राखेका छन्। उनले विदेशबाट आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् भने चीनबाट आयात हुने वस्तुमा थप कर लगाउने योजना अघि सारेका छन् ।

नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक बिक्री

काठमाडौं । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक बिक्रेताले बुधबार जनाएको छ । लघु कथाकार र उपन्यासकार हानको म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि उनी विदेशमा परिचित छन् । उनको ‘द भेजिटेरियन’ अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो । नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका समेत बनेकी ५३ वर्षीया लेखिकालाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले गत साता जनाएको थियो । हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उनका कृति र उनको लेखन शैलीबारे सनसनी मच्चिएको छ । नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूको वेबसाइटहरूमा उनका कृतिहरूको माग ह्वात्तै बढेको थियो । दशौं हजार मानिसहरूले उनका कृतिको माग गर्न थालेपछि बजारमा उनका कृतिहरूको अभाव देखिएको छ । गत बिहीबारको नोबेल घोषणापछि बुधबार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा बिक्रेता क्योबो, अलादिन र येस २४ ले एएफपीलाई बताएका छन् । क्योबोका प्रवक्ता किम ह्युन जुङले एएफपीसँग भने, ‘हानका पुस्तकहरू अत्यधिक बिक्री भइरहेको अनुभव भएको छ । यो अवस्था हामीले यसअघि कहिल्यै देखेका थिएनौं ।’ अनलाइन पुस्तक पसल अलादिनका अनुसार हानले नोबेल पुरस्कार विजयपछि गत वर्षको अब्टुबर १५ सम्मको तुलनामा उनका पुस्तकको बिक्रीमा एक हजार २०० गुणाले वृद्धि भएको छ, साथै, समग्र दक्षिण कोरियाली साहित्यको बिक्रीमा नाटकीय रूपमा वृद्धि भएको छ । उनलाई सहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणासँगै कोरियाली साहित्यको समग्र बिक्री अघिल्लो वर्षको तुलनामा १२ गुणाले वृद्धि भएको छ । हालसालै हानले पढेको उल्लेख गरेका जुडिथ शालान्स्कीको ’इन्भेन्ट्री अफ लस’ र ज्याँ ज्याक रुसोको ‘एटलस डे बोटानिक एलेनटेरियल’ नामक दुई पुस्तकको बिक्री पनि बढेको अलादिनले बताएको छ । क्योबो बुक सेन्टरले आफूसँग यकिन तथ्यांक नभए पनि हानका पुस्तकहरू अन्य नोबेल पुरस्कार विजेताहरूको तुलनामा नाटकीय रूपमा बढी बिक्री भएको जनाएको छ। क्योबोका कर्मचारीले एएफपीसँग भने, ‘हामी केही समयदेखि प्रकाशन उद्योगमा छौं, तर यो सम्पूर्ण अवस्था हामीमध्ये केहीलाई पनि असाध्यै अवास्तविक लाग्छ ।’ दक्षिण कोरियालीहरू यो समाचारले अति हर्षित भएका छन् । हानले उच्च शिक्षा हाँसिल गरेको सियोलको योन्सेई विश्वविद्यालयमा हानको प्रसंशा गर्दै ब्यानरहरू टाँगिएका छन् । ब्यानरमा हानले नोबेल पुरस्कार जितेकोमा खुशी व्यक्त गर्दै लेखिएको छ, ‘साहित्यमा नोबेल पुरस्कार जितेकोमा पूर्व छात्र हान काङलाई बधाई छ, योन्सेई विश्वविद्यालय उनलाई आफ्नो पूर्व विद्यार्थी भनेर चिनाउन पाउँदा गोरवान्यित बनेको छ ।’ उनको गृहनगर ग्वाङ्जुमा सन् १९८० मा एउटा नरसंहार भएको थियो जसले हानको प्रशंसित उपन्यास ’ह्युमन एक्ट्स’लेख्न उनलाई प्रेरित गरेको थियो । हानका पुस्तकहरूको माग पूरा गर्न केही छापाखानाहरूले सप्ताहन्तमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको स्थानीय रिपोर्टहरूले जनाएका छन् । ‘सन् २००६ मा कम्पनीमा आबद्ध भएदेखि म यति धेरै व्यस्त कहिल्यै भएको थिइनँ’, अलादिनका एक कर्मचारीले एएफपीसँग भने, ‘यो सबै धेरै खुशीको कुरा भएको छ ।’ रासस