काठमाडौं । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरू पनि विभाजित भएका छन् । राष्ट्रपतिका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् ।
राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरूले पनि पक्ष विपक्ष लिन थालेका छन् । उनीहरूले आफूलाई समर्थन गरेका उम्मेदवारलाई आर्थिक सहयोग गरेर साथ दिइरहेका छन् । फोब्र्सले हाल सार्वजिनक गरेको एक रिपोर्टले ह्यारिसले ७६ जना अर्बपतिको समर्थन पाएकी छन् भने ट्रम्पले ४९ जनाको समर्थन पाएका छन् । फोब्र्सको रिपोर्टका अनुसार ट्रम्पभन्दा ह्यारिसले बढी धनाड्यको साथ पाएकी छन् ।
हालसम्म २८ अर्बपतिहरुले ह्यारिसलाई खुलेरै १ मिलिनर डलरभन्दा बढी चन्दा दिइसकेको रिपोर्टमा उल्लेख छ । एलन मस्कले खुलेरै ट्रम्पलाई साथ दिएका छन् । एलन मस्कले अहिलेसम्म ट्रम्प समर्थक सुपर पीएसी (राजनीतिक कार्य समिति) लाई ४७५ मिलियन डलर प्रदान गरिसकेको विभिन्न समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
अर्बपति मार्क जकरबर्ग र वारेन बफेट भने मौन रहेको रिपोर्टमा उल्लेख छ ।
ह्यारिसलाई समर्थन गर्ने अर्बपति
-ब्ल्यांक (एटलान्टा फल्कन्स)
-रीड हफम्यान (लिंक्डइन)
-विनोद खोस्ला (खोस्ला भेन्चर्स)
-डस्टिन मस्कोविट्ज (फेसबुक)
-स्टिभन स्पिलबर्ग (होलिउड निर्देशक)
-टोरी बर्च (फेशन डिजाइनर)
-रीड हेस्टिंग्स (नेटफ्लिक्स)
-क्रिस लार्सेन (रिपल)
-लौरिन पावेल जोब्स (एप्पल)
यी अर्बपतिहरूले ह्यारिसलाई समर्थन गरेका छन् । ह्यारिसले आर्थिक स्थिरताको नीति ल्याउन सक्ने अनुमान गर्दै ती अर्बपतिहरुले उनलाई साथ दिएको रिपोर्टमा उल्लेख छ ।
यस्तै ट्रम्पलाई पनि ४९ जना अर्बपतिले खुलेरै समर्थन गरेका छन् । ट्रम्पले आफुलाई उच्च धनी र श्रमिक वर्गको वकालत गर्ने नेताको रुपमा प्रस्तुत भइरहेका छन् ।
यी हुन् ट्रम्पका अर्बपति समर्थक
-एलन मस्क (एक्स)
-मिरियम एडेलसन (लास भेगास स्याण्ड्स कर्प)
-डन अहर्न (लास भेगास कन्सट्रक्सन)
-डियान हेनड्रिक्स (एबीसी सप्लाई)
-लिन्दा म्याकमहोन (डब्ल्यूडब्ल्यूई)
-स्टिभ वाइन (वाइन रिसोर्ट्स)
-टिलमेन फर्टिट्टा (ह्यूस्टन रोकेट्स)
-जोन पॉल्सन (पॉल्सन एक कं.)
-थोमस सिबेल (सिबेल सिस्टम्स)
मौन अर्बपति
विश्व प्रख्यात केही अर्बपतिहरूले यो चुनावमा उम्मेदवारको विषयमा मौनता देखाएका छन् । उनीहरुले कुनै पनि उम्मेदवारलाई समर्थन गरेका छैनन् । उनीहरू अहिले तथष्ठ रहेका छन् ।
अमेजनका संस्थापक जेफ बेजोसले कुनै पनि उम्मेदवारको सार्वजनिक रूपमा समर्थन गरेका छैनन् भने सेयरका बादशाह भनेर चिनिने वारेन बफेटले पनि कुनैको समर्थन गरेका छैनन् । तर उनी डेमोक्र्याट भनेर चिनिन्छन् ।
फेसबुकका मालिक मार्क जकरबर्गले ट्रम्पसँग निजी छलफल गरेका छन्, तर उनले पनि कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आधिकारिक रूपमा कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन् तर जुलाईमा दिएको एक अन्तर्वार्तामा उनले ह्यारिसप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए ।
जेपी मोर्गन च्यासेस बैंकका सीईओ जेमी डिमनले पनि कुनैको समर्थन गरेका छैनन । जेपी मोर्गन च्यासेस अमेरिकाको सबैभन्दा ठूलो बैंक हो ।
ब्रिजवाटर एसोसिएट्सका संस्थापक रे डालियोले पनि कुनैको समर्थन गरेका छैनन् । गूगलका सह–संस्थापक सेर्गेई ब्रिन, ल्यारी एलिसन र केन ग्रिफिन पनि यो चुनाबमा मौन छन् ।
यस्ता छन् प्रतिबद्धता
ह्यारिसले चुनावको प्रचारप्रसारमा पहिलो प्राथमिकता नै कामकाजी परिवारहरूको खाना र आवासको खर्च कम गर्ने प्रयास हुने बताएकी छन् । उनले किराना सामानको मूल्यवृद्धि नियन्त्रण गर्ने र पहिलो पटक घर किन्नेहरूलाई सहुलियत दिने तथा माग पूर्ति गर्न आवास क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धता गर्दै आएकी छन् ।
ट्रम्पले मूल्यवृद्धि अन्त्य गर्ने र अमेरिकालाई पुनः सबैका लागि सहज तथा कम खर्चिलो बनाउने प्रतिबद्धता गर्दै आएका छन् । उनले बैंकको ब्याजदर घटाउने, कागजपत्र नभएका आप्रवासीहरूलाई फिर्ता पठाएपछि आवास क्षेत्रमा परेको दबाव कम गर्न सकिने बताउँदै आएका छन् । ट्रम्प खर्बौँ डलर राजस्व घट्ने गरी कर कटौती गर्ने पक्षमा उभिएका छन् ।
ट्रम्पले आफ्नो चुनावी अभियानमा करनीतिलाई केन्द्रमा राखेका छन्। उनले विदेशबाट आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् भने चीनबाट आयात हुने वस्तुमा थप कर लगाउने योजना अघि सारेका छन् ।