हर्मुजमा फसेका जहाज निकाल्न अमेरिकाले १५ हजार सेना परिचालन गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वका कारण सामरिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलडमरू (स्ट्रेट अफ हर्मुज) मा फसेका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले विशेष पहल गर्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मार्फत ट्रम्पले यस उद्धार अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिइएको र यो सोमबारदेखि नै सुरु हुने जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यस अभियानको मुख्य उद्देश्य द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न नभएका तेस्रो देशका झण्डा बोकेका नागरिक तथा व्यापारिक जहाजहरूलाई विवादित जलमार्गबाट सुरक्षित रूपमा बाहिर निकाल्नु हो । ‘मैले मेरा प्रतिनिधिहरूलाई निर्देशन दिइसकेको छु कि हामी उनीहरूको जहाज र चालकदललाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गर्नेछौं,’ ट्रम्पले भने । उनले जहाज सञ्चालकहरूले उक्त क्षेत्र सुरक्षित नभएसम्म पुनः नफर्कने अडान राखेको पनि उल्लेख गरे । राष्ट्रपति ट्रम्पले आफ्नो पोस्टमा सैन्य परिचालनको विस्तृत विवरण नदिए पनि पछि अमेरिकी रक्षा विभाग (पेन्टागन) ले अमेरिकी सेन्ट्रल कमाण्डको सामाजिक सञ्जाल पोस्टतर्फ सङ्केत गर्दै अभियानको बृहत् लक्ष्य र सैन्य तयारीबारे प्रष्ट पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यस अभियानको लक्ष्य केवल फसेका जहाज निकाल्नु मात्र नभई हर्मुज जलडमरूमार्फत व्यावसायिक जहाजहरूको आवागमन स्वतन्त्रता पुनःस्थापित गर्नु हो । यसका लागि अमेरिकाले करिब १५ हजार अमेरिकी सैनिकहरू परिचालन गर्ने जनाइएको छ । अमेरिकी सेनाका अत्याधुनिक गाइडेड–मिसाइल डेस्ट्रोयर जहाजहरू प्रयोग गरिनेछ भने १०० भन्दा बढी स्थल र समुद्रमा आधारित विमानहरूका साथै विभिन्न किसिमका मानवरहित प्लेटफर्महरू पनि प्रयोग गरिनेछ । विश्वको करिब २० प्रतिशत कच्चा तेल र झण्डै एक चौथाइ समुद्री तेल व्यापारका साथै ठूलो मात्रामा इन्धन तथा मलजन्य वस्तुहरू यही मार्गबाट ढुवानी हुने गर्छ । इरानसँगको युद्धका कारण यो जलमार्ग प्रायः अवरुद्ध हुँदा विश्वव्यापी आपूर्ति शृङ्खला खलबलिएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ र अमेरिकामा समेत पेट्रोलको मूल्य अकासिएको छ । इरानले जलमार्गमा आवागमन रोक्न जहाजहरूमाथि गोली चलाउने र पानीमा बारुदी सुरुङ ९माइन० बिछ्याउने काम गरेको छ । यसै पृष्ठभूमिमा ट्रम्पले यो कदम कुनै सैन्य आक्रामकता नभई विशुद्ध मानवीय प्रयास भएको दाबी गरेका छन् । ‘यो अभियानको उद्देश्य केवल निर्दोष मानिसहरू, कम्पनीहरू र देशहरूलाई मुक्त गराउनु हो, जो परिस्थितिका पीडित हुन्,’ ट्रम्पले लेखेका छन्, ‘यो अमेरिका, मध्यपूर्वका देशहरू र विशेष गरी इरानका लागि एक मानवीय कदम हो ।’ अमेरिका र इरानबीच विगत दुई हप्ताभन्दा बढी समयदेखि नाजुक युद्धविराम कायम छ, यद्यपि दुई देशबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिसकेको छ । वाशिङ्टन र तेहरानबीच युद्ध अन्त्यका लागि वार्ता जारी रहे पनि हालसम्म कुनै ठोस सम्झौता हुन सकेको छैन । यसै हप्ताको सुरुमा ट्रम्पले इरानको पछिल्लो प्रस्तावप्रति आफू सन्तुष्ट नभएको बताएका थिए । गत शुक्रबार ट्रम्पले कंग्रेसलाई इरानसँगको शत्रुता ‘समाप्त भइसकेको’ जानकारी गराएका थिए। उनको यो दाबी १९७३ को ‘वार पावर्स रिजोलुसन’ अन्तर्गत युद्ध घोषणा वा सैन्य बल प्रयोगका लागि कंग्रेसको अनुमति लिनुपर्ने ६० दिने समयसीमासँग जोडिएको थियो । ट्रम्पले इरानलाई सकारात्मक सन्देश दिँदै यदि तेहरानले फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर जान अनुमति दिएमा जारी शान्ति वार्तामा सकारात्मक वातावरण बन्ने सङ्केत गरे । यद्यपि उनले चेतावनी दिँदै भने, ‘मेरा प्रतिनिधिहरू इरानसँग अत्यन्त सकारात्मक वार्ता गरिरहेका छन्, जसले सबैका लागि राम्रो नतिजा ल्याउन सक्छ । तर, यदि यो मानवीय प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेप वा अवरोध गरियो भने त्यसको सामना बलपूर्वक गरिनेछ ।’ अमेरिकी राष्ट्रपतिले यस अभियानको घोषणा गरे पनि द्वन्द्वका बीच इरानले अमेरिकी सेनालाई अवरोध बिना यो अभियान चलाउन दिनेछ वा छैन भन्नेमा आशङ्का कायम छ । साथै यो जलमार्ग कहिलेदेखि सामान्य आवागमनका लागि खुल्नेछ भन्ने पनि अनिश्चित छ ।
इरान-अमेरिका द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थता, इरानी प्रस्ताव वासिङ्टन पठाइयो
काठमाडौं । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका र इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थताको प्रयास यथावत रहेको बताएका छन् । इरानको आधिकारिक समाचार संस्था आइआरएनए (इर्ना) सँगको अन्तर्वार्तामा राजदूत मोघादामले भने, ‘अमेरिकासँगको द्वन्द्व अन्त्य गर्ने इरानको नयाँ वार्ता योजना हालको प्रक्रियाको मुख्य मध्यस्थकर्ताका रूपमा पाकिस्तानले प्रयास गरिएको छ ।’ पाकिस्तानी नेतृत्वले इरानी प्रस्तावलाई वाशिङ्गटनसमक्ष हस्तान्तरण गरेको छ भने यसको औपचारिक जवाफ आइसकेको छैन । ‘तेहरान आफ्नो स्थिति र मागमा पारदर्शी छ । यो संयुक्त राज्य अमेरिकामा निर्भर छ । यदि उसले इमान्दारीपूर्वक मुद्दाहरू समाधान गर्न र वार्तामा सफलता हासिल गर्न खोज्छ भने उसले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ,’ राजदूत मोघादामले थपे । उनले मध्यपूर्व क्षेत्र र विश्वका सबै समुदाय वार्ताको परिणामको प्रतीक्षामा रहेको र इरानले देशको रक्षाका लागि आवश्यक उपायहरू प्रदान गर्दा कूटनीतिको बाटो पछ्याउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘संयुक्त राज्य अमेरिकाले आफ्नो अत्यधिक र आक्रामक आचरण अन्त्य गर्नुपर्दछ र यसको सट्टा इरानको अधिकारको सम्मान गर्ने दृष्टिकोण अपनाउनु पर्छ ।’
जेलमा इरानकी नोबेल पुरस्कार विजेताको स्वास्थ्य बिग्रिएपछि परिवारको राख्यो यस्तो माग
काठमाडौं । जेलमा बन्द इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीका आफन्तहरू तथा नोबेल शान्ति पुरस्कार समितिले उनलाई राम्रो स्वास्थ्य सेवा उपलब्ध हुने स्थानमा सार्न माग गरेका छन् । उनको स्वास्थ्यमा अचानक गम्भीर गिरावट आएपछि यस्तो माग गरिएको हो । शुक्रबार उनका परिवारले जानकारी दिएअनुसार ५४ वर्षीया नरगिसलाई उत्तर–पश्चिमी इरानको जेलबाट स्थानीय अस्पतालमा लगिएको छ । परिवारले यस कदमलाई ‘अन्तिम समयमा चालिएको कदम, जुन सायद निकै ढिलो गरिएको हो’ भनेर टिप्पणी गरेको छ । नर्वेमा बस्दै आएका उनका भाइले शनिबार बीबीसीलाई भने, ‘उनको रक्तचाप निकै छिटो घटिरहेको छ र त्यसलाई स्थिर राख्न सकिएको छैन ।’ नरगिस मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनलाई डिसेम्बरमा अधिकारीहरूको आलोचना गरेको आरोपमा पक्राउ गरिएको थियो । गत महिना उनका भाइ हामिदरेजा मोहम्मदीले बताएका थिए कि उत्तर–पश्चिमी इरानको जञ्जान जेलमा सँगै रहेका कैदीहरूले उनलाई बेहोस अवस्थामा भेटेका थिए, सम्भवतः उनलाई हृदयघात भएको थियो । उनले बताएअनुसार मुटु, फोक्सो र रक्तचापसम्बन्धी पुराना रोगहरूको इतिहास हुँदाहुँदै पनि जेल प्रशासनले उनलाई अस्पताल सार्न अस्वीकार गरेको थियो । शुक्रबार नरगिस मोहम्मदी फाउन्डेशन (जसलाई उनका परिवारले सञ्चालन गर्छ) ले ‘उनको स्वास्थ्यमा आएको अत्यन्त गम्भीर गिरावट’ पछि उनलाई जञ्जान प्रान्तको एक अस्पतालमा सारिएको जनाएको छ । वक्तव्यमा यो पनि उल्लेख गरिएको छ कि यो कदम ‘१४० दिनको मनमानी हिरासत र आवश्यक विशेष स्वास्थ्य सेवाबाट निरन्तर वञ्चित गरिएपछि’ चालिएको हो । नरगिस मोहम्मदी फाउन्डेशनका अनुसार उनलाई अहिलेसम्म विभिन्न समयमा १३ पटक पक्राउ गरिएको छ र उनलाई कुल ३१ वर्षको जेल सजायसँगै १५४ कोर्रा हान्ने सजाय सुनाइएको छ ।