चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

काठमाडौं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्यांकले देखाएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।

नयाँ वर्षमा जुकरबर्गको भाग्य चम्कियो, कमाइमा एलन मस्कलाई उछिने

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति गत वर्ष २०३ अर्ब डलरले बढ्यो । अहिले ४३७ अर्ब डलरको नेटवर्थसहित उनी नम्बर एक स्थानमा अडिग छन् । तर नयाँ वर्षमा धेरै धनीले कमाइको मामिलामा उनीहरूलाई पछि पारेका छन् । मस्कको कुल सम्पत्ति यो वर्ष अहिलेसम्म ५.०५ बिलियन डलरले बढेको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका मार्क जुकरबर्ग यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने हिसाबले पहिलो स्थानमा छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार जुकरबर्गको कुल सम्पत्ति ८.८६ बिलियन डलरले बढेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५.४ बिलियनले बढेको छ । उनी २२३ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । एनभीडीयाका संस्थापक जेन्सेन हुआङको कुल सम्पत्ति यस वर्ष १२.७ बिलियन डलरले बढेको छ भने चेङ्पेङ झाओको कुल सम्पत्ति ११.९ बिलियन डलरले बढेको छ । अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति यो वर्ष ७.६३ अर्ब डलरले बढेको छ र उनी २४६ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । ल्यारी पेजको कुल सम्पत्ति यस वर्ष ५.९८ बिलियन डलरले बढेको छ भने सर्गेई ब्रिनको कुल सम्पत्ति ५.५८ बिलियन डलरले बढेको छ । त्यस्तै, माइकल डेलको कुल सम्पत्ति ४.५४ बिलियन डलरले बढेको छ । यता, मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ घटेको छ । अम्बानीको नेटवर्थ २.५९ र अडानीको नेटवर्थ ३.५३ बिलियन डलरले घटेको हो । भारतीय सेयर बजारमा सोमबार आएको गिरावटले दुबै जनाको नेटवर्थ घटेको हो । अडानीले यस वर्ष ४.२१ अर्ब डलर गुमाएका छन् भने अम्बानीले ११९ मिलियन डलर गुमाएका छन् । अम्बानी ९०.५ अर्ब डलरका साथ विश्वका धनी व्यक्तिको सूचीमा १७औं स्थानमा छन् भने अडानी ७४.५ अर्ब डलरसहित १९औं स्थानमा छन् ।

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

काठमाडौं । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् । डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।