इरान युद्धमा अमेरिकाको खर्च १० खर्ब डलरतर्फ

काठमाडौं । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै गएको छ । पेन्टागनले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भएको स्वीकार गरे पनि विज्ञहरूले वास्तविक खर्च त्यसको धेरै गुणा बढी भइसकेको दाबी गरेका छन् । दीर्घकालीन सैनिक खर्च, दिग्गज सैनिकहरूको स्वास्थ्य सेवा, क्षतिग्रस्त सैन्य संरचनाको पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनको लागत जोड्दा यो युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न सक्ने चेतावनी दिइएको छ ।      पेन्टागनका वरिष्ठ बजेट अधिकारी जे हर्स्टले मङ्गलबार अमेरिकी सांसदहरूसामु गवाही दिँदै इरानविरुद्धको सैन्य अभियानमा हालसम्म २९ अर्ब अमेरिकी डलर खर्च भइसकेको जानकारी दिए । यसअघि पेन्टागनले अमेरिकी कंग्रेसलाई करिब २५ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान दिएको थियो । तर पछिल्ला परिचालन खर्च, उपकरण मर्मत तथा सैन्य सामग्री प्रतिस्थापनको लागत बढेपछि अनुमान पुनः संशोधन गरिएको हो । हर्स्टका अनुसार युद्ध क्षेत्रमा सैनिक तैनाथ राख्न लाग्ने दैनिक खर्च, क्षतिग्रस्त उपकरणको मर्मत, मिसाइल प्रणालीको पुनःस्थापना र सैन्य तयारीलाई कायम राख्नुपर्ने अवस्थाले खर्च उल्लेखनीय रूपमा बढाएको छ । उनले अमेरिकी सिनेटको एप्रोप्रिएसन उपसमितिको सुनुवाइमा अहिलेको २९ अर्ब डलरको अनुमानमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूमा पुगेको क्षतिको लागतसमेत समावेश नभएको स्पष्ट पारे ।      'यस क्षेत्रका सैन्य अड्डामा पुगेको क्षतिको पूर्ण मूल्याङ्कन अझै गरिएको छैन', हर्स्टले भने ।      अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार पेन्टागनभित्र गरिएका आन्तरिक मूल्याङ्कनहरूले युद्धको वास्तविक लागत अझै धेरै माथि पुग्ने सङ्केत दिएका छन् । क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, सैन्य सम्पत्तिको प्रतिस्थापन तथा अतिरिक्त सैन्य तयारीको हिसाब गर्दा खर्च ४० अर्बदेखि ५० अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।      यद्यपि हार्वर्ड केनेडी स्कुलले हालै सार्वजनिक गरेको अनुसन्धानले भने स्थिति अझ गम्भीर हुन सक्ने देखाएको छ । युद्ध बजेट विशेषज्ञ लिन्डा बिल्मेसले इरान युद्धको कुल लागत अन्ततः १० खर्ब अमेरिकी डलरसम्म पुग्ने दाबी गरेका छन् । उनका अनुसार अहिले सार्वजनिक गरिएको खर्च वास्तविक युद्ध लागतको सानो हिस्सा मात्र हो, आगामी वर्षहरूमा यसको आर्थिक भार अझ धेरै बढ्नेछ ।      बिल्मेसले छोटो अवधिको प्रत्यक्ष सैन्य खर्च मात्रै प्रतिदिन करिब दुई अर्ब अमेरिकी डलर पुगिरहेको बताए । यसमा मिसाइल प्रहार, अवरोधक प्रणाली सञ्चालन, विमानवाहक युद्ध समूहको परिचालन, सैनिकहरूको युद्ध भत्ता, उपकरण मर्मत तथा क्षतिग्रस्त सैन्य सामग्रीको प्रतिस्थापन समावेश रहेको उनले उल्लेख गरे ।      अनुसन्धान प्रतिवेदनअनुसार युद्ध सुरु भएको प्रारम्भिक केही दिनमै अमेरिकाले कम्तीमा १६ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री प्रयोग गरिसकेको थियो । महँगा मिसाइल प्रणालीको तीव्र प्रयोग र उच्च परिचालन लागतका कारण यो खर्च पेन्टागनको प्रारम्भिक अनुमानभन्दा धेरै माथि पुगेको हो ।      बिल्मेसका अनुसार अमेरिकाले इरान युद्धको पहिलो चार दिनमै पछिल्ला चार वर्षमा युक्रेनलाई उपलब्ध गराएको भन्दा बढी प्याट्रियट मिसाइल प्रहार गरेको थियो । उनले अमेरिकी सैन्य भण्डार तीव्र गतिमा खाली हुँदै गएको र तिनको पुनःउत्पादन अहिलेको बजार मूल्यमा अत्यन्त महँगो पर्ने बताए ।      उनका अनुसार अमेरिकी सूचीमा रहेका टोमहाक मिसाइलहरूको पुरानो मूल्य करिब २० लाख अमेरिकी डलर भए पनि अहिले त्यही मिसाइल पुनःउत्पादन गर्न ३० लाखदेखि ३५ लाख अमेरिकी डलरसम्म खर्च लाग्छ । त्यसैगरी प्याट्रियट मिसाइलको पुरानो लागत १० लाखदेखि २० लाख अमेरिकी डलर रहे पनि नयाँ संस्करणहरूको मूल्य प्रतिगोटा ४० लाखदेखि ५० लाख अमेरिकी डलरसम्म पुगेको छ । इन्धन, सैन्य उपकरण र अन्य आपूर्तिमा पनि यस्तै मूल्यवृद्धि देखिएको उनले बताए ।      बिल्मेसले युद्धका कारण अमेरिकी रक्षा उद्योगलाई ठूलो आर्थिक अवसरसमेत सिर्जना भएको उल्लेख गरे । लकहिड मार्टिन र बोइङजस्ता रक्षा कम्पनीहरूसँग मिसाइल तथा अवरोधक प्रणाली उत्पादन बढाउन ठूला सम्झौताहरू भइरहेका छन् । साथै मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूको पुनर्निर्माण र सुरक्षामा थप अर्बौं डलर खर्च हुन सक्ने बताइएको छ ।      विशेषज्ञहरूले दीर्घकालीन आर्थिक असर अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । युद्धमा सहभागी हजारौँ अमेरिकी सैनिकहरू भविष्यमा स्वास्थ्य समस्या, अशक्तता तथा मानसिक आघातबाट प्रभावित हुन सक्ने भएकाले उनीहरूको उपचार र सेवा–सुविधामा पनि ठूलो रकम खर्च हुनसक्ने अनुमान गरिएको छ । विशेषगरी पीएसीटी ऐनअन्तर्गत दिग्गज सैनिकहरूको स्वास्थ्य सेवा खर्च आगामी दशकहरूमा बढ्दै जाने बताइएको छ । बिल्मेसले बढ्दो रक्षा खर्च र युद्ध सञ्चालनका लागि लिइँदै आएको ऋणले अमेरिकाको राष्ट्रिय ऋणलाई थप चर्काउने चेतावनी दिए । हाल अमेरिकाको राष्ट्रिय ऋण करिब ३१० खर्ब अमेरिकी डलर पुगेको छ । 'म निश्चित छु, इरान युद्धका कारण अमेरिका अन्ततः १० खर्ब डलरभन्दा बढी आर्थिक भारमा पुग्नेछ । सम्भवतः त्यो रकमको ठूलो हिस्सा अहिले नै प्रतिबद्ध भइसकेको छ', बिल्मेसले भने ।  रासस    

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

काठमाडौं । इरान युद्धका कारण विश्व आपूर्ति शृङ्खलामा परेको असर अब जापानका दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको छ । रङ्गीन मसी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको अभाव भएपछि जापानका केही लोकप्रिय स्न्याक कम्पनीहरूले आफ्ना प्याकेटहरू रङ्गीनबाट श्याम–श्वेतमा रूपान्तरण गर्न थालेका छन् ।      जापानको चर्चित खाद्य कम्पनी क्याल्बीले आलुको चिप्स र अन्नजन्य स्न्याकहरूको प्याकेजिङमा प्रयोग हुने मसीको आपूर्ति प्रभावित भएपछि केही उत्पादनको डिजाइन अस्थायी रूपमा परिवर्तन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार उत्पादनको गुणस्तर र स्वादमा कुनै परिवर्तन नहुने भए पनि प्याकेटको बाहिरी रूप भने पहिलेभन्दा निकै साधारण देखिनेछ ।      टोकियोस्थित कम्पनीले यस साता जारी गरेको विज्ञप्तिमा ‘उत्पादनको स्थिर आपूर्ति कायम राख्न’ यस्तो कदम चालिएको उल्लेख गरेको छ । कम्पनीका १४ प्रकारका उत्पादनमा मे २५ देखि नयाँ प्याकेजिङ लागू हुनेछ, जसमा प्रयोग हुने मसीका रङ दुईवटामा मात्र सीमित गरिनेछ ।      क्याल्बीका लोकप्रिय स्न्याकहरू जापानभरका सुविधा स्टोरमा व्यापक रूपमा बिक्री हुने गर्छन् । कम्पनीका उत्पादन अमेरिका, चीन र अस्ट्रेलियासमेत निर्यात हुँदै आएका छन् ।      सन् १९४९ मा स्थापना भएको क्याल्बीमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । कम्पनीले अहिलेको भू–राजनीतिक परिस्थितिका कारण आपूर्ति व्यवस्थापनमा लचिलोपन अपनाउन बाध्य भएको जनाएको छ । यो परिवर्तन कति समयसम्म जारी रहने भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन ।      इरानमा जारी युद्धका कारण हर्मुज जलघाँटी प्रभावकारी रूपमा अवरुद्ध भएपछि विश्व बजारमा तेल तथा तेलजन्य कच्चा पदार्थको आपूर्तिमा दबाब बढेको छ । त्यसको प्रत्यक्ष असर प्लास्टिक, रसायन र मसी उद्योगमा परेको बताइएको छ ।      जापान लगभग पूर्ण रूपमा आयातित तेलमा निर्भर देश भएकाले यस्तो सङ्कटले उत्पादन उद्योगमा थप चुनौती सिर्जना गरेको छ । विशेषगरी ‘नाफ्था’ नामक तेलजन्य पदार्थ प्लास्टिक र मसी उत्पादनमा अत्यावश्यक मानिन्छ । आपूर्ति अवरोध र मूल्यवृद्धिका कारण उद्योगहरूले उत्पादन लागत घटाउन वैकल्पिक उपाय अपनाउन थालेका छन् ।      जापानी सरकारले राष्ट्रिय तेल भण्डार पर्याप्त रहेको भन्दै बजारमा देखिएको चिन्ता कम गर्ने प्रयास गरिरहेको भए पनि उपभोक्ताले अब प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्न थालेका छन् ।      क्याल्बीको लोकप्रिय ‘उसु शिओ’ अर्थात् हल्का नुनिलो चिप्स पहिले चम्किलो सुन्तला रङको प्याकेटमा बिक्री हुने गर्थ्यो, जसमा आलुको कार्टुन पात्र र पहेँला चिप्सको तस्वीर राखिएको हुन्थ्यो । तर नयाँ संस्करणमा भने रङ्गीन डिजाइन हटाएर केवल श्याम–श्वेत अक्षर प्रयोग गरिएको छ ।      त्यसैगरी कम्पनीको चर्चित झिँगेमाछा (प्राउन) चिप्स ‘काप्पा एबिसेन’ को प्याकेजिङमा पनि समान परिवर्तन लागू गरिने भएको छ ।      मार्च महिनामा मात्रै कम्पनीले दीर्घकालीन विकास रणनीति सार्वजनिक गरेको थियो । तर पछिल्लो भू–राजनीतिक तनावले उत्पादन र आपूर्ति व्यवस्थापनलाई नयाँ चुनौती दिएको कम्पनीले जनाएको छ ।      क्याल्बीले आफ्नो विज्ञप्तिमा ‘भू–राजनीतिक जोखिमसहित सञ्चालन वातावरणमा आउने परिवर्तनप्रति कम्पनीले छिटो र लचिलो प्रतिक्रिया दिनेछ’ भन्दै सुरक्षित र उच्च गुणस्तरका उत्पादनको निरन्तर आपूर्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ । रासस   

‘गुप्त एजेन्ट’ बनेको खुलासापछि क्यालिफोर्नियाकी मेयरको राजीनामा

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक सहरकी मेयर आइलीन वाङले सोमबार  राजीनामा दिएकी छन् । अमेरिकी न्याय विभाग (डीओजे) ले उनलाई चीनका लागि अवैध विदेशी एजेन्टको रूपमा काम गरेको आरोप लगाएको केही समयमै उनले राजीनामा दिएकी हुन् । ५८ वर्षीया वाङले उक्त फौजदारी अभियोग स्वीकार गर्ने सहमति जनाएकी छन् र उनलाई १० वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता बिल एस्सायलीले भने, ‘हाम्रो देशभित्र गोप्य रूपमा विदेशी सरकारका लागि काम गर्ने व्यक्तिहरूले हाम्रो लोकतन्त्रलाई कमजोर बनाउँछन् । चीनले हाम्रो संस्थालाई भ्रष्ट बनाउने प्रयासविरुद्ध मातृभूमिको रक्षा गर्ने हाम्रो अभियानमा यो सहमति अर्को सफलता हो ।’ न्याय विभागका अनुसार वाङ र चिनो हिल्स निवासी ६५ वर्षीय याओनिङ ‘माइक’  सनले जनवादी गणतन्त्र चीन (पीआरसी) सँग मिलेर चीनको हित प्रवर्द्धन गर्ने प्रचार सामग्री सञ्चालन गर्थे । उनीहरूले चलाएको ‘यूएस न्युज सेन्टर’ नामक वेबसाइट स्थानीय चिनियाँ(अमेरिकी समुदायका लागि समाचार स्रोत भएको दाबी गर्थ्यो । नोभेम्बर २०२२ मा सिटी काउन्सिलमा निर्वाचित वाङले अभियोग स्वीकारसम्बन्धी सम्झौता सार्वजनिक भएको केही घण्टामै मेयर पद खाली गर्ने घोषणा गरेकी थिइन् ।  लस एन्जलस काउन्टीअन्तर्गत करिब ५४ हजार जनसंख्या रहेको आर्केडियाका अधिकारीहरूले संघीय अधिकारीहरूले उल्लेख गरेका गतिविधि वाङ निर्वाचित हुनुअघि भएका बताएका छन् । आर्केडियाका सिटी म्यानेजर डोमिनिक लाजारेट्टोले नगरको वेबसाइटमार्फत जारी गरेको सन्देशमा भने, ‘विदेशी सरकारले स्थानीय निर्वाचित अधिकारीमाथि प्रभाव जमाउने प्रयास गरेको आरोप अत्यन्त चिन्ताजनक छ । हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं ।’ ‘यो अनुसन्धान व्यक्तिगत गतिविधिसँग सम्बन्धित छ र आरोपहरू डिसेम्बर २०२२ मा वाङले पदभार ग्रहण गरेपछि बन्द भएका गतिविधिसँग सम्बन्धित हुन् । आन्तरिक समीक्षा पछि हामी पुष्टि गर्न सक्छौं कि नगरको वित्त, कर्मचारी वा निर्णय प्रक्रियामा कुनै असर परेको छैन,’ उनले थपे । लाजारेट्टोका अनुसार आगामी बैठकमा बाँकी काउन्सिल सदस्यहरूमध्येबाट नयाँ मेयर र उपमेयर चयन गरिनेछ । राष्ट्रिय सुरक्षासम्बन्धी सहायक महान्यायाधिवक्ता जोन ए. आइजनबर्गले भने, ‘अमेरिकामा सार्वजनिक पदमा निर्वाचित व्यक्तिहरूले आफूले प्रतिनिधित्व गर्ने अमेरिकी जनताका लागि मात्र काम गर्नुपर्छ । पीआरसी सरकारी अधिकारीहरूको निर्देशन लिने र कार्यान्वयन गर्ने व्यक्ति अहिले सार्वजनिक विश्वासको पदमा हुनु अत्यन्त चिन्ताजनक विषय हो ।’ न्याय विभागले उल्लेख गरेको एक घटनाअनुसार जुन २०२१ मा पीआरसीका एक अधिकारीले इन्क्रिप्टेड वीच्याट समूहमा वाङ र अन्य व्यक्तिहरूलाई पूर्वतयार समाचार सामग्री पठाएका थिए । तीमध्ये एउटा लेख लस एन्जल्स टाइम्समा प्रकाशित थियो, जसमा ‘शिनजियाङमा नरसंहार भएको छैन, कपास उत्पादनसहित कुनै पनि उत्पादन गतिविधिमा जबर्जस्ती श्रम छैन’ भन्ने चीनको धारणा प्रस्तुत गरिएको थियो । केही मिनेटमै वाङले उक्त सामग्री ‘यूएस न्युज सेन्टर’ वेबसाइटमा पोस्ट गरिन् र लिंक पीआरसी अधिकारीलाई पठाइन् । समूहका अन्य सदस्यहरूले पनि त्यस्तै गरे । त्यसपछि ती अधिकारीले ‘यति छिटो, सबैलाई धन्यवादझ् भन्दै प्रतिक्रिया दिएका थिए । न्याय विभागका अनुसार वाङले नोभेम्बर २०२१ मा चीनका राष्ट्रपति सी जिनपिङसम्म प्रत्यक्ष पहुँच भएका पीआरसी गुप्तचर समूहका उच्च सदस्य जोन चेनसँग पनि सम्पर्क गरेकी थिइन् । वाङले आफ्नो वेबसाइटको ‘समाचार’ लेख पोस्ट गर्न आग्रह गर्दै ‘यो विदेश मन्त्रालयले पठाउन चाहेको सामग्री हो’ भनेर लेखेकी थिइन् । क्यालिफोर्नियाको चिनो निवासी चेनले नोभेम्बर २०२४ मा चीनको अवैध एजेन्टको रूपमा काम गरेको तथा सार्वजनिक अधिकारीलाई घुस दिन षड्यन्त्र गरेको अभियोग स्वीकार गरेका थिए । उनलाई संघीय जेलमा २० महिनाको सजाय सुनाइएको थियो । सनलाई डिसेम्बर २०२४ मा पक्राउ गरिएको थियो । उनले पनि विदेशी राष्ट्रको अवैध एजेन्टको रूपमा काम गरेको अभियोग स्वीकार गरेका थिए । उनलाई फेब्रुअरीमा चार वर्षको संघीय जेल सजाय सुनाइएको थियो ।