तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित

काठमाडौं । चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत विभिन्न शहरहरूमा सयौं हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् । चीनको मौसम विज्ञान प्रशासनले जनाए अनुसार यो तीव्र हावा  चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ।  'अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायु गति सन् १९५१ यता कै रेकर्ड नाघ्न सक्नेछ,' मौसम विभागले बताएको छ। बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्च स्तरको हावा हुरी सतर्कता जारी गरेको छ। शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् ।  त्यसैगरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्र गतिको रेल सेवा पनि स्थगित गरिएको छ। समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियो पार्कजस्ता पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।  बेइजिङ शहरमा करिब ३०० रूख ढलेका छन् र १९ वटा गाडीहरूमा क्षति पुगेको छ, तर हालसम्म कुनै मानवीय क्षतिको खबर छैन । जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटनाहरू चीनमा बारम्बार देखिन थालेका छन् । गत वर्ष बाढीका कारण दर्जनौं नागरिकको मृत्यु भएको थियो र हजारौं विस्थापित भएका थिए । यसैगरी, गत मे महिनामा लगातारको वर्षाले दक्षिणी चीनको एउटा सडक भासिँदा ४८ जनाको मृत्यु भएको थियो ।

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

काठमाडौं । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलता पूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो ।  यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् ।  कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ । यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा विपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ ।  हुआङले भने, ‘हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौं ।’ 

मिस्टरबिस्ट जसले यूट्यूबबाटै कमाउँछन् वार्षिक ११ अर्बभन्दा बढी

काठमाडौं । यूट्यूबबाट कमाइको बारेमा तपाईंले धेरै उदाहरण सुन्नु भएको होला । जस्तै फलानाले धेरै पैसा कमायो, अहिले महँगा गाडी चढ्ने गरेको छ, ठूलो घर बनाएको छ । तर एउटा यूट्यूबर यस्तो पनि छ, जसले यो प्लेटफर्मबाट धेरै कमाइ गरेर ठूला व्यापारीहरूलाई पनि पछि पारेको छ ।  हामी कुरा गर्दैछौं मिस्टरबिस्टको जसको लोकप्रियता यूट्यूबको कारणले सारा संसारमा फैलिएको छ । रिपोर्टअनुसार उनले यति धेरै पैसा कमाइसकेका छन् कि ठूला–ठूला हलिउड स्टार्सको भन्दा पनि बढी सम्पत्ति हुन सक्छ । यो सबै उनले अनलाइन काम गरेर हासिल गरेका हुन् । यूट्यूबमा उनका सब्सक्राइबर्सको संख्या पनि अकल्पनीय छ । यूट्यूबमा मिस्टर बीस्टका सब्सक्राइबर्सको संख्या ३८४ मिलियन (अर्थात् करिब साढे ३८ करोड) पुगेको छ । अरू युट्युबरहरू झैं उनी हरेक दिन भिडियो अपलोड गर्दैनन् । कहिलेकाहीं महिनामा ३ वटा त कहिलेकाहीँ १ मात्र भिडियो अपलोड गर्छन् । तर उनका भिडियोहरूमा धेरै भ्यूज आउँछन् ।  एउटा भिडियोमा औसत १०० मिलियनभन्दा बढी भ्यूज हुन्छ । फ्यानहरू उनीहरूको भिडियोको प्रतीक्षा गरिरहेका हुन्छन् । २ हप्ता अघि उनले अपलोड गरेको नयाँ भिडियोले ८८ मिलियन भ्यूज पाइसकेको छ । उनी कस्ता खालका भिडियो बनाउँछन् ? मिस्टरबिस्टलाई अन्तर्राष्ट्रिय अनलाइन इन्फ्लुन्सरको रूपमा चिनिन्छ । उनका भिडियोहरूमा ट्रेन्डिङ र भाइरल टपिक्स समेटिएको हुन्छ । उनका धेरै भिडियोहरू साहसिक किसिमका हुन्छन् । चाहे गुफामा बस्ने होस् वा इजिप्टको पिरामिडमा समय बिताउने, मिस्टरबिस्ट सधैं केही अनौठो, भिन्न विषयवस्तुका भिडियो लिएर आउँछन् र दर्शकलाई आकर्षित गर्छन् ।  यही कारणले उनका भिडियोहरू लामो समयसम्म यूट्यूबमा चर्चित रहन्छन् । मानिसहरूले ती भिडियोहरू हेर्छन्, जसबाट मिस्टरबिस्टलाई ठूलो आम्दानी हुन्छ । एक वर्षमा कति कमाउँछन् ? मिस्टरबिस्टको कमाइका बारेमा फोब्र्स र सेलिब्रेटी नेटवर्थ जस्ता रिपोर्टहरूले देखाउँछन् कि उनले अनलाइन कामबाट ठूलो सम्पत्ति जोडेका छन् । उनी यूट्यूबबाट कमाइ गर्नुका साथै विभिन्न ब्रान्डहरूसँग काम गर्छन्, जसबाट उनलाई आम्दानी हुन्छ।  रिपोर्टअनुसार जुन २०२३ देखि जुन २०२४ सम्म उनले करिब ८५ मिलियन डलर (११ अर्ब ३० करोड ५० लाख नेपाली रुपैयाँ ) कमाएका छन् । उनको नेटवर्थ ५५० मिलियन (७३ अर्ब ७५ करोड रुपैयाँ) भन्दा बढी भएको बताइन्छ । भनिन्छ कि यूट्यूबबाहेक उनले अन्य विभिन्न व्यवसायहरू पनि सञ्चालन गरिरहेका छन् । टिकटक किन्न चासो मिस्टरबिस्टको नाम पछिल्लो समय तब फेरि चर्चामा आयो, जब केही रिपोर्टहरूमा भनियो कि उनले अमेरिकाभित्र टिकटकको बिजनेस किन्नमा रुचि देखाएका छन् । उल्लेखनीय कुरा के हो भने टिकटकलाई अमेरिकामा आफ्नो बिजनेस बेच्नुपर्ने अवस्था आएको थियो । तर अन्तिम निर्णय नभएकाले टिकटकलाई ७५ दिनको म्याद थप गरिएको छ ।  यदि मिस्टरबिस्टले टिकटकको अमेरिकी कारोबारमा हिस्सा पाए भने त्यो उनको लागि ठूलो सफलता हुन सक्छ।