जेमी डेमोनको चेतावनी : ट्यारिफ र घाटाले सेयर बजार धरासायी बनाउने

काठमाडौं । जेपी मोर्गन चेइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोनले सोमबार अमेरिकी रेकर्ड घाटा, ट्यारिफहरू र अन्तर्राष्ट्रिय तनावले सिर्जना गरेका जोखिमलाई बजार र केन्द्रीय बैंकहरूले वास्ता नगरेको बताएका छन् । अमेरिकाको सबैभन्दा ठूलो बैंक (सम्पत्तिका आधारमा) का अनुभवी सीईओ तथा अध्यक्ष डिमोनले न्यूयोर्कमा आयोजित आफ्नो बैंकको वार्षिक लगानीकर्ता बैठकमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।  उनले भने, 'उच्च मुद्रास्फीति र सम्भावित स्ट्यागफ्लेसन (मन्दी र मुद्रास्फीति एकैसाथ हुने अवस्था) का जोखिमहरू अहिलेको सेयर बजार मूल्यमा ठीकसँग समेटिएको छैन ।' 'हामीसँग विशाल घाटा छ- मलाई लाग्छ केन्द्रीय बैंकहरू पनि धेरै ढुक्क छन् ।तपाईंहरू सबैलाई लाग्छ उनीहरूले यो सबै सम्हाल्न सक्छन् । तर मलाई लाग्दैन,'डाइमोनले थपे । डिमोनका अनुसार अहिलेसम्म प्रभावकारी ट्यारिफहरू देखिएको छैन । डिमोनको भनाइ मोडीज रेटिङ एजेन्सीले शुक्रबार अमेरिकी क्रेडिट रेटिङ घटाएको केही दिनपछि आएको हो, जसमा सरकारी ऋण बोझ बढ्दै गएको चिन्ता गरिएको थियो ।  राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले मुद्रास्फीति बढाउने र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई सुस्त बनाउने डर बढेको कारण पछिल्ला केही महिनामा बजारहरू उथलपुथलमा परेका छन् । डाइमोनका अनुसार एसएन्डपी ५०० का कम्पनीहरूको वाल स्ट्रिट आम्दानी अनुमान जुन ट्रम्पको व्यापार नीतिका सुरुवाती हप्तामै घट्न थालेका थिए । ती अझै घट्नेछन् किनभने कम्पनीहरूले अनिश्चितताको कारण आम्दानी मार्गदर्शन हटाउने वा घटाउनेछन् । 'मलाई लाग्छ आम्दानी अनुमानहरू घट्नेछ, जसको अर्थ पीई अनुपात पनि घट्नेछ,' डाइमोनले भने । (पीई मूल्य-आम्दानी अनुपात, जुन सेयर बजार विश्लेषकहरूले नजिकबाट हेर्ने सूचक हो।) स्ट्यागफ्लेसन बजारले अनुमान गरेको भन्दा झन्डै दोब्बर रहेको डिमोनको भनाइ छ। अर्कोतर्फ डिमोनका एक शीर्ष सहकर्मीले कर्पोरेट ग्राहकहरू अधिग्रहण तथा अन्य सम्झौतासम्बन्धी मामिलामा अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको बताए । सीईओको पद हस्तान्तरण कहिले गर्ने भन्ने सधैंको प्रश्नमा डाइमोनले भने, 'गत वर्षको आफ्नो भनाइबाट केही परिवर्तन भएको छैन ।' अर्थात् उनी पाँच वर्षभन्दा कम समयसम्म मात्रै रहने सम्भावना छ । 'म अझै चार वर्ष सीईओको रूपमा रहनेछु र सम्भवतः दुई वर्ष कार्यकारी अध्यक्षको रूपमा, त्यो लामो समय हो,'डाइमोनले भने । सोमबार दिइएका कार्यकारी प्रस्तुतिमध्ये उपभोक्ता बैंकिङ प्रमुख मरियन लेकले पूरै एक घण्टा बोलेर सबैभन्दा लामो समय लिइन् । उनी सम्भावित उत्तराधिकारीका रूपमा हेरिएकी छन् । सञ्चालन प्रमुख जेनिफर पिएप्स्जाकले सीईओको दौडमा नजाने घोषणा गरेपछि लेक सम्भावित उत्तराधिकारीको रूपमा हेरिन थालेकी हुन् ।

चिनियाँ कम्पनी साओमीले चिप्स उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

काठमाडौं । चिनियाँ विशाल प्रविधि कम्पनी साओमीले उच्च स्तरीय स्मार्टफोन चिप्स विकास गर्न ५० अर्ब युआन (६.९ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ । स्मार्टफोनदेखि भ्याकुम क्लिनर र विद्युतीय सवारी साधनसम्मका सामान बिक्री गर्ने साओमी चीनको सबैभन्दा प्रमुख उपभोक्ता लक्षित विद्युतीय फर्ममध्ये एक हो ।   स्थापनाको १५ औं वर्ष मनाउँदै गर्दा संस्थापक लेई जुनले सामाजिक सञ्जालमा भनेका छन्, 'चिप्स निर्माण साओमीको लागि अत्याधुनिक प्रविधिमा अन्तर्निहित कामका लागि एउटा नयाँ मार्ग हो त्यसैले यसको उत्पादनको नयाँ सुरूवातका लागि हामी निश्चित रूपमा सबै प्रयास गर्नेछौँ ।' साओमीको सेमीकन्डक्टर बनाउने महत्वाकाङ्क्षालाई पछ्याउँदै, फर्मले कम्तिमा १० वर्षको र ५० अर्ब युआन लगानी’ गर्ने योजना विकास गरेको छ । साओमीले सन् २०१७ मा कम्पनीको पहिलो आन्तरिक चिप ‘सर्ज एस १’ को उत्पादन गरेसँगै स्मार्टफोनका लागि सेमीकन्डक्टरमा प्रारम्भिक कदम चालेको थियो तर प्राविधिक र वित्तीय अवरोधका कारण समूहले चिपको उत्पादन रोक्न बाध्य भएको थियो र त्यसपछि यसले अन्य समानका साथै विद्युतीय सवारी साधनमा पुनः ध्यान केन्द्रित गरेको छ। 'यो हाम्रो ‘अँध्यारो इतिहास’ होइन । हामीले यात्रा गरेको बाटो यही हो,' लेइले सोमबार लेखेका छन् ।    साओमीको चिप विकास कार्यक्रमले सन् २०२१ देखि दुई हजार ५०० भन्दा बढी कर्मचारीहरूको टोलीका लागि अनुसन्धान र विकास कोषमा १३.५ अर्ब युआन प्राप्त गरेको अर्बपति उद्यमी लेइले बताए ।  चीन र संयुक्त राज्य अमेरिका दुवैले सबैभन्दा उन्नत क्षेत्रमा पहुँच सुनिश्चित गर्न खोजिरहेका बेला यो घोषणा आएको हो ।   'साओमीले सँधै ‘चिप उत्पादनको सपना’ देखेको छ', लेइले लेखेका छन्, 'म सबैलाई यस मार्गमा हाम्रो निरन्तर अन्वेषणलाई समर्थन गर्न थप समय र धैर्य दिन हार्दिक अनुरोध गर्दछु ।' धेरै चिनियाँ फर्महरू विदेशी आपूर्तिकर्ताहरूमाथिको निर्भरताबाट आफूलाई मुक्त गर्ने उद्देश्यका साथ चीन आफ्नै चिप्स विकासका लागि पहल गरिरहेको छ ।  सन् २०२३ मा, साओमी र यसको प्रतिस्पर्धी हुवावेले चिपले सुसज्जित उच्च प्रदर्शन स्मार्टफोन अनावरण गरेको थियो जुन विशेषज्ञहरूले विदेशी प्रविधिहरू बिना उत्पादन गर्न असम्भव हुने बताएका थिए, जसले अमेरिकी प्रतिबन्धहरूको प्रभावकारिताको बारेमा प्रश्न उठाएको थियो । 'यो कदमले क्वालकमजस्ता अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम नयाँ च्याम्पियनहरूको उदय हुन सक्छ,' परामर्शदाता फर्म उबिकका सीईओ पास्कल वियाउडले एएफपीलाई भने ।  बेइजिङले कम्पनीहरूलाई विदेशी प्रविधिमा निर्भरता घटाउन पनि दबाब दिएको छ । गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले यस क्षेत्रमा ‘आत्मनिर्भरता’ कायम गर्न आग्रह गरेका थिए । रासस  

२०२५ मा आउँदैछ ठूलो आर्थिक संकट : रोबर्ट कियोसाकीले दिए चेतावनी

काठमाडौं । प्रशिद्ध लेखक रोबर्ट कियोसाकीले फेरि एक पटक चेतावनी दिएका छन् । उनका अनुसार यस वर्ष अर्थात् २०२५ मा ठूलो आर्थिक संकट आउनसक्छ । यस संकटका कारण १.६ ट्रिलियन डलर (करीब २१९.२ लाख करोड रुपैयाँ) एकैचोटि डुब्न सक्छ । तर कियोसाकीले यस संकटबाट कसरी बच्न सकिन्छ भन्ने पनि बताएका छन् । कियोसाकीले उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट गरेका छन् । त्यसमा उनले पहिले कसरी आर्थिक संकटहरू आएका थिए भन्ने बताएका छन् । उनले लेखेका छन्, ‘सन् १९९८ मा वाल स्ट्रिटले मिलेर लङ टर्म क्यापिटल म्यानेजमेन्ट (एलटीसीएम) नामक एक हेज फन्डलाई बचाएको थियो । सन् २००८ मा केन्द्रीय बैंकहरूले वाल स्ट्रिटलाई बचाएका थिए । अब सन् २०२५ मा मेरो साथी जिम रिकड्र्स सोध्दैछन् कि केन्द्रीय बैंकहरूलाई को बचाउने ?’ संकट हरेक पटक अझ खतरनाक कियोसाकीको विश्वास छ कि हरेक पटक संकट अझ खतरनाक बन्दै गएको छ किनभने यसको वास्तविक कारण कहिल्यै ठीक गरी समाधान गरिएको छैन । उनका अनुसार यो समस्याको सुरुवात सन् १९७१ मा भएको थियो । त्यो बेला अमेरिकाका राष्ट्रपतिको रूपमा रिचर्ड निक्सनले डलरलाई सुनको मापदण्डबाट हटाएका थिए । कियोसाकीको भनाइमा यसले पैसाको वास्तविक मूल्यलाई समाप्त गर्‍यो र यहींबाट समस्या सुरु भयो जुन अहिले अझ बढ्दै गएको छ । कियोसाकीका साथी र आर्थिक मामिलाका विशेषज्ञ जिम रिकर्ड्स पनि यस कुरामा सहमत छन् । उनीहरूको मान्छन् कि १.६ ट्रिलियन डलरको विद्यार्थी ऋण डुब्न सक्छ र यही अर्को आर्थिक संकटको कारण बन्न सक्छ । यस्तो छ बच्ने उपाय कियोसाकीका अनुसार सरकार वा सेयर बजारबाट तपाईंलाई कुनै सहयोग पाउनु पर्ने छैन । तपाईंले आफै आफ्नो सहायता गर्नुपर्ने हुन्छ । कियोसाकीले मानिसहरूलाई सल्लाह दिन्छन् कि उनीहरूले सुन, चाँदी र बिटकोइनजस्ता वास्तविक सम्पत्ति किनून् । उनका अनुसार यदि आर्थिक रूपमा बलियो रहन चाहनुहुन्छ भने आफै केही गर्नु पर्ने हुन्छ र अरूमा भरोसा गर्नु हुँदैन । उनले आफ्नो किताब ‘रिच ड्याड पुअर ड्याड’ मा वित्तीय संकटहरूको विषयमा लेखेका छन् ।