अमेरिका र इरानबीच शान्ति सम्झौता, चार महिना लामो युद्ध अन्त्य हुने

काठमाडौं । अमेरिका र इरान आफ्नो झन्डै चार महिना लामो युद्ध अन्त्य गर्न एक सम्झौतामा सहमत भएका छन् । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले आइतबार जानकारी दिए । ‘गहन वार्तापछि संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच शान्ति सम्झौता भएको घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ सरिफले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्वीटर) मा एक पोस्ट गर्दै भनेका छन् । पाकिस्तानले यी दुई देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । ‘आधिकारिक हस्ताक्षर समारोह शुक्रबार, १९ जुनमा स्विट्जरल्यान्डमा हुनेछ,’ उनले थपे । प्रधानमन्त्रीको घोषणाको केही समयपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता भएको कुरा पुष्टि गरे । ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपतिले भने, ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ ।’ ‘म यसद्वारा हर्मुज जलडमरूलाई बिनाकुनै अवरोध खोल्ने पूर्ण अधिकार दिन्छु र यसका साथसाथै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने अनुमति दिन्छु,’ ट्रम्पले लेखेका छन् । ट्रम्पले पछि गरेको अर्को पोस्टमा उक्त जलडमरू शुक्रबार खुल्ने बताए । ‘शुक्रबार सम्झौतामा हस्ताक्षर भएपछि बारुदी सुरुङहरू हटाउने उद्देश्यका लागि जलडमरू खुला भएसँगै, यस क्षेत्र र विश्वका लागि दुवैतर्फबाट पुनः तेलको प्रवाह सुरु हुनेछ,’ उनले भने । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले आइतबार तेहरानले समझदारीपत्रलाई अन्तिम रूप दिएको पुष्टि गर्दै लेबनानसहित सबै मोर्चामा हुने सम्पूर्ण सैन्य कारबाहीहरू ‘तत्काल र स्थायी रूपमा’ बन्द हुने जनाएको छ । ‘एमएस नाउ’ द्वारा अनुवादित फारसी भाषाको विज्ञप्ति अनुसार इरान विरुद्धको नौसैनिक नाकाबन्दी पनि तुरुन्तै हटाइनेछ । तर, अन्तिम सम्झौतातर्फको वार्ता भने वासिङ्टनले समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू पहिले पूरा गरेपछि मात्र अघि बढ्ने कुरामा जोड दिइएको छ । एसोसिएटेड प्रेसका अनुसार इरानी सरकारी सञ्चारमाध्यमले टेलिभिजनमा एउटा ब्यानर प्रसारण गर्दै अमेरिका ‘युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्न बाध्य भएको’ दाबी गरेको थियो । इरानी सरकारी टिभीले इरानको विदेश मन्त्रालयले यस क्षेत्रमा जारी असुरक्षा र तनावको खतरनाक परिणामहरूको लागि अमेरिका र इजरायललाई जिम्मेवार ठह‍र्याउने बताएको छ । कतारको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस सम्झौताको स्वागत गरेको छ, जसमा हर्मुज जलडमरूमा नौसैनिक स्वतन्त्रता सुनिश्चित गर्ने उपायहरू समावेश छन् । ‘यसलाई दिगो शान्ति सुदृढ गर्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा आर्थिक वृद्धिलाई बढावा दिनका लागि एउटा महत्त्वपूर्ण कदम मान्दछ,’ मन्त्रालयले भनेको छ । रोयटर्सका अनुसार बेलायत, जर्मनी, फ्रान्स र इटालीसहितका युरोपेली राष्ट्रहरूले आइतबार इरानले आफ्नो आणविक कार्यक्रमका सम्बन्धमा कदम चालेको खण्डमा उसमाथिको प्रतिबन्ध हटाउन आफूहरू तयार रहेको बताएका छन् । ‘इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्नु हुँदैन । यस उद्देश्यका लागि हामी अमेरिका, इरान र आईएईएसँग मिलेर काम गर्न तयार छौं,’ ती राष्ट्रका नेताहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् । गत शुक्रबार इरानी सरकारी सञ्चारमाध्यमले १४ पानाको मस्यौदा समझदारी पत्र तयार पारिएको रिपोर्ट गरेको थियो । जसमा प्रस्तावित शान्ति सम्झौताका सर्तहरू उल्लेख गरिएका थिए, जसमा अमेरिकाले तेल प्रतिबन्धहरू हटाउने र इरानले ३० दिनभित्र हर्मुज जलडमरू पुनः खोल्ने प्रतिबद्धता जनाउने कुरा समावेश थियो । यो सम्झौता युद्धको दिशालाई लिएर वासिङ्टन र तेहरान दुवैतर्फबाट हप्तौंसम्म आएका मिश्रित सन्देशहरूपछि भएको हो । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासहरू भइरहँदा एक कमजोर युद्धविराम लागू रहेको थियो । आइतबार बिहानै इजरायली रक्षा बल (आईडीएफ) ले लेबनानमा इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएपछि यो सम्झौता संकटमा परेको थियो । त्यसपछि बेरुतमा भएका इजरायली हवाई आक्रमणको ट्रम्पले निन्दा गरे र इरान तथा हिजबुल्लाहलाई जवाफी आक्रमण नगर्न चेतावनी दिए । ट्रम्पले दुवै पक्षलाई यो अवसर नगुमाउन आग्रहसमेत गरे । मध्यपूर्वको एक महत्त्वपूर्ण व्यापारिक जलमार्ग, हर्मुज जलडमरू गत फेब्रुअरीको अन्त्यमा द्वन्द्व सुरु भएदेखि नै पूर्ण रूपमा बन्द छ । यस जलमार्गको नाकाबन्दीले तेल, ग्यास र रासायनिक मल लगायतका विभिन्न वस्तुहरूको आपूर्तिमा गम्भीर अभाव सिर्जना गरेको छ, जसले गर्दा मूल्य वृद्धि हुनुका साथै स्ट्यागफ्लेसन (आर्थिक मन्दी र उच्च मुद्रास्फीति सँगै हुने स्थिति) फर्किने चिन्ता बढाएको छ । धेरै प्रमुख अर्थतन्त्रहरूमा मुद्रास्फीति पहिले नै बढ्न थालिसकेको छ, जसमा अमेरिकाको वार्षिक मुद्रास्फीति दर मे महिनामा ४.२ प्रतिशत पुगेको छ, जुन विगत तीन वर्षकै उच्च स्तर हो । सम्झौता भएलगत्तै फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यो सम्झौता अमेरिकी जनताका लागि एक उत्कृष्ट कुरा भएको बताए । ‘मलाई थाहा छ उनीहरू इन्धनको उच्च मूल्यबाट पीडित छन्, राष्ट्रपति पक्कै पनि यो तथ्यप्रति धेरै चिन्तित हुनुहुन्थ्यो,’ भान्सले भने, ‘हामीले अब के गर्न सक्छौं भने, उर्जाको लागत अहिलका लागि मात्र होइन, दीर्घकालका लागि नै घटाउन सक्छौं ।’ बिहीबार युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ब्याजदरमा एक चौथाई बिन्दुले वृद्धि गर्ने घोषणा गर्‍यो । इरान युद्धले युरो जोनको मुद्रास्फीतिलाई लक्ष्यभन्दा बाहिर धकेलिरहेका बेला सन् २०२३ यता पहिलो पटक ब्याजदर बढाइएको हो । यो कदमसँगै ईसीबी ऊर्जा संकटको प्रतिक्रिया स्वरूप आफ्नो प्रमुख ब्याजदर बढाउने विश्वको पहिलो ठूलो केन्द्रीय बैंक बनेको छ । युद्धको अवधिभर बजारको अपेक्षाहरू परिवर्तन भएका छन्, जहाँ व्यापक रूपमा ब्याजदर घट्ने अनुमानहरू हराउँदै गएका छन् र त्यसको ठाउँमा विभिन्न अर्थतन्त्रहरूमा लामो समयसम्म उच्च ब्याजदर रहने वातावरण सिर्जना भएको छ । सीएमईको फेडवाच टुलका अनुसार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अब यसै वर्षको अन्त्य हुनुअघि ब्याजदर बढाउने अपेक्षा गरिएको छ । इरानमा ट्रम्प र नेतन्याहूको रणनीति किन फेल खाँदैछ ? अमेरिकी आक्रमणपछि इरानको प्रतिकार, अस्थायी शान्ति सम्झौताको सम्भावना झन् टाढा इरान युद्धको १०० दिन : विश्वव्यापी बजार र अर्थतन्त्र कसरी प्रभावित भए ? इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ? मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी  इरान र अमेरिका युद्धविरामको सहमति नजिक तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ ।      मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एकरएक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए । खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा  ट्युनिसियाका ओमारले एक गोल फर्काए ।       यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्वीडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा स्वीडेनका लागि माथिइस स्भानवर्गले एक गोल थपे । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौँ गोल गरेपछि स्वीडेनले ट्युनिसियमाथि ५-१ गोलको जित निकाल्यो ।  जितपछि स्वीडेनले शीर्ष तीन अंक जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै समान एकरएक अंंक बाँडेका थिए ।  

विश्वकै पहिलो ‘ट्रिलियनियर’ मस्क : मिहिनेतको कमाइ कि नीतिगत होल ?

काठमाडौं । चर्चित व्यवसायी एलन मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ (१ हजार अर्ब डलर सम्पत्ति भएको व्यक्ति ) बनेका छन् । उनको स्पेस–एक्स कम्पनीले प्रारम्भिक सेयर निष्कासन (आईपीओ) जारी गरेसँगै मस्कको नेटवर्थले यो ऐतिहासिक र अकल्पनीय उचाइ छोएको हो । फोर्ब्सका  अनुसार गत जुन १२ मा मस्कको सम्पत्तिले यो सीमा पार गरेको थियो । हाल उनको नेटवर्थ १.११ खर्ब अमेरिकी डलर रहेको छ । यो सम्पत्ति कति धेरै हो भने अहिले मस्क एक्लैसँग संसारको तल्लो तहमा रहेका ४६ प्रतिशत जनसंख्या (करिब ३ अर्ब ८० करोड मानिस) सँग भएजति बराबरको सम्पत्ति छ । तर, मस्कले आखिर यो सबै सम्पत्ति कसरी कमाए त ? के यो केवल उनको मिहिनेत र आविष्कारको प्रतिफल हो? अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको पछिल्लो विश्लेषण र विभिन्न रिपोर्टहरूका अनुसार मस्कको यो विशाल साम्राज्य एक व्यक्तिको उद्यमशीलताको जगमा मात्र उभिएको छैन । यसको पछाडि धनीहरूलाई मात्र फाइदा पु‍र्याउने अमेरिकी कर प्रणाली, सरकारी अनुदानको दुरुपयोग र राजनीतिक पहुँचको ठूलो हात छ । अक्सफाम अमेरिकाका आर्थिक न्याय विभागका वरिष्ठ निर्देशक नबिल अहमद भन्छन्, ‘एलन मस्क ट्रिलियनियर बन्नु भनेको कुलीनतन्त्रको नयाँ पराकाष्ठा हो र लोकतन्त्रका लागि यो एक कालो दिन हो ।’ मस्कको यो अथाह सम्पत्तिको रहस्यलाई मुख्य तीनवटा बुँदामा यसरी विश्लेषण गरिएको छ। १. कर छली र कानुनी छिद्रको भरपुर फाइदा मस्कको अधिकांश सम्पत्ति टेस्ला, स्पेस–एक्स, स्टारलिंकजस्ता कम्पनीहरूको सेयरमा आधारित छ । अमेरिकी कर कानुनअनुसार सेयरको मूल्य जतिसुकै बढे पनि त्यो सेयर बिक्री नगरेसम्म त्यसमा कर लाग्दैन । नाम मात्रैको कर: सन् २०१४ देखि २०१८ को बीचमा मस्कको सम्पत्ति करिब १३.९ अर्ब डलरले बढ्यो, तर उनले संघीय आयकर जम्मा ४५ करोड ५ लाख डलर मात्र तिरे । यो उनको वास्तविक आम्दानीको जम्मा ३ प्रतिशत मात्र हो । सेयर धितो राखेर ऋण: मस्कले आफ्ना व्यक्तिगत खर्च र नयाँ लगानीका लागि सेयर बेच्दैनन् ताकि कर तिर्नु नपरोस् । बरु, उनी त्यही सेयर धितो राखेर बैंकबाट अर्बौं डलर ऋण लिन्छन्, जसमा कुनै कर लाग्दैन । कम्पनीले पनि कर नतिर्ने: अक्सफामको रिपोर्ट अनुसार मस्कको विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले सन् २०२५ मा ४.८ अर्ब डलर नाफा कमायो, तर अमेरिकी सरकारलाई संघीय आयकर शून्य तिर्यो । मतलब उसले एक डलर पनि आयकर तिरेन । विगत तीन वर्षमा टेस्लाले औसतमा जम्मा ०.४७ प्रतिशत मात्र कर तिरेको छ, जबकि त्यहाँको नियमअनुसार कम्पनीहरूले २१ प्रतिशत कर तिर्नुपर्छ । २. जनताको पैसाबाट मस्कलाई फाइदा, मजदुरको भने शोषण एलन मस्क अमेरिकी सरकारको बलियो आडबिना कहिल्यै ट्रिलियनियर बन्न सक्ने थिएनन् । उनका सबैजसो ठूला कम्पनीहरू सरकारी अनुदान, कर छुट र सरकारी ठेक्काको भरमा टिकेका छन् । विगत दुई दशकमा मस्कका कम्पनीहरूले अमेरिकी सरकारबाट कम्तीमा ३८ अर्ब डलर बराबरको ठेक्का, ऋण र अनुदान पाएका छन् । नासाबिना स्पेस–एक्स असम्भव : स्पेस-एक्सलाई यो उचाइमा पु‍र्याउन अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) र रक्षा मन्त्रालयले दिएको अर्बौं डलरको ठेक्काले मुख्य भूमिका खेलेको छ । सरकारी अनुदानमा टेस्लाः पर्यावरणमैत्री र नवीकरणीय ऊर्जाका नाममा सरकारले दिने अनुदान र उपभोक्तालाई मिल्ने कर छुटका कारण टेस्लाका गाडीहरू लोकप्रिय र कम्पनी बलियो भएको हो । मजदुरमाथि अन्यायः कम्पनीहरूले सरकारी पैसाबाट अर्बौं कमाए पनि मस्कले मजदुरको अधिकार र पारिश्रमिकमा भने कञ्जुस्याइँ गर्ने गरेका छन् । टेस्लाले अन्य गाडी कम्पनीको तुलनामा मजदुरलाई कम ज्याला दिने गरेको र मजदुर युनियन गठन गर्न नदिएको आरोप छ । ३. असीमित पैसाको बलमा राजनीतिक र आर्थिक सत्ता कब्जा मस्कले आफ्नो धन र सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) को शक्तिको प्रयोग गरेर राजनीति र नीति–निर्माणमा प्रत्यक्ष हस्तक्षेप गरिरहेका छन् । चुनावमा भारी लगानीः सन् २०२४ को अमेरिकी चुनावमा मस्कले रिपब्लिकन उम्मेदवारहरू र उनीहरूका संगठनहरूलाई २९ करोड डलरभन्दा बढी चन्दा दिएका थिए । स्वार्थको द्वन्द्व : अमेरिकी सरकारको ‘सरकारी दक्षता विभाग’ (डज) मा मस्कको संलग्नतापछि उनकै कम्पनीहरूलाई फाइदा पुग्ने गरी ठूला सरकारी ठेक्काहरू मिलेको रिपोर्टहरूले देखाएका छन् । पब्लिक सिटिजन नामक संस्थाका अनुसार मस्कले नेतृत्व गरेको सरकारी सुधारको दायरामा परेका ७० प्रतिशतभन्दा बढी एजेन्सीहरू सिधै मस्ककै व्यापारिक स्वार्थसँग जोडिएका छन् । सन् २०२६ मा आइपुग्दा मस्क ट्रिलियनियर बन्नुले विश्वमा बढ्दै गएको आर्थिक असमानताको डरलाग्दो रूप देखाउँछ । आजको समयमा संसारका प्रत्येक ४ मध्ये १ जना मानिसले पेटभरि खान पाइरहेका छैनन्, तर अर्कोतर्फ एकै व्यक्तिसँग खर्बौं डलर थुप्रिएको छ। अक्सफाम अमेरिकाकी कर्पोरेट जवाफदेहिता निर्देशक इरित तामिर भन्छिन्, ‘मस्कको यो अकल्पनीय सम्पत्ति उनको कडा मिहिनेत वा प्रतिभाको उपज नभई यो त कर्पोरेट लोभ, शोषण र त्रुटिपूर्ण प्रणालीको प्रत्यक्ष प्रतिफल हो ।’