विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ । मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २(१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । दक्षिण कोरियाका लागि हवाङ इन बोम र ओ ह्युन ग्युले समान एकरएक गोल गरे । चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेज्चीले एक गोल फर्काए । खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो । खेलको ५९ औँ मिनेटमा लाडिस्लाभले गोल गर्दै आफनो टोलीलाई पहिलो अग्रता दिलाए । चेक रिपब्लिकको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलकोे ६७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । दक्षिण कोरियाका हवाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई एकरएक गोलका बराबरीमा ल्याए । त्यसैगरी, दक्षिण कोरियाका अर्का खेलाडी ओ ह्युनले खेलको ८०औं मिनेटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेनन र अन्ततः दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गर्यो । जितसँगै दक्षिण कोरियाले शीर्ष तीन अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । समूह ‘ए’अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो । यससँगै समूह ‘ए’मा समान तीन अङ्क बटुलेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
विश्वभर शरणार्थी संकट अझै गम्भीर
काठमाडौं । विश्वभर जबरजस्ती घरबार छोड्न बाध्य भएका मानिसहरूको सङ्ख्या एक दशकपछि पहिलो पटक घटेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले जनाएको छ । तर यो कमी सुरक्षित र दिगो समाधानका कारण नभई लाखौँ मानिस असुरक्षा, दबाब र कठिन परिस्थितिका बीच आफ्नो घर फर्किन बाध्य भएकाले आएको भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । युएनएचसीआरले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०२५ को अन्त्यसम्म विश्वभर ११ करोड ७८ लाख मानिस जबरजस्ती विस्थापनको अवस्थामा थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५४ लाखले कम हो । यद्यपि एजेन्सीले युद्ध, हिंसा, उत्पीडन र अस्थिरताका कारण विस्थापित हुनेहरूको सङ्ख्या अझै पनि ‘अस्वीकार्य रूपमा उच्च’ रहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई थप सक्रिय हुन आग्रह गरेको छ । प्रतिवेदनअनुसार गत वर्ष एक करोड ४७ लाख विस्थापित व्यक्ति आफ्नो मूल थलो फर्किएका थिए । तीमध्ये ४४ लाख शरणार्थी थिए । यो पछिल्ला ६० वर्षको अभिलेखमा दोस्रो उच्च शरणार्थी फिर्तीको दर हो । यही व्यापक फिर्तीका कारण विश्वव्यापी विस्थापनको कुल सङ्ख्यामा कमी देखिएको युएनएचसीआरले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी प्रमुख बरहम सालिहले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै सन् २०२५ मा फर्किएका शरणार्थीमध्ये ९० प्रतिशतभन्दा बढी अफगानिस्तान, सुडान र सिरियामा केन्द्रित रहेको बताए । तर उनका अनुसार तीमध्ये धेरैजसो फिर्ती सुरक्षा, स्थायित्व र सम्मानजनक अवस्थाका कारण नभई दबाबपूर्ण परिस्थितिमा भएका थिए । उनले फर्किएका अधिकांश मानिस पूर्वाधार ध्वस्त भएका, आधारभूत सेवा अभाव रहेका, आर्थिक अवसर न्यून भएका र सुरक्षा जोखिम कायम रहेका स्थानमा पुगेको उल्लेख गरे । यस्तो अवस्थामा भएको फिर्तीलाई स्थायी समाधान मान्न नसकिने भन्दै उनले यसले पुनः विस्थापनको अर्को चक्र सुरु हुन सक्ने चेतावनी दिए । प्रतिवेदनअनुसार सन् २०२५ को अन्त्यसम्म चार करोड १६ लाख मानिस शरणार्थीको हैसियतमा थिए । वर्षभरिमा ५४ लाख मानिस सीमापार गरेर शरणार्थी बनेका थिए । ती नयाँ शरणार्थीमध्ये ६० प्रतिशत केवल आठ देशबाट आएका थिए । युद्धग्रस्त सुडानबाट झण्डै १० लाख र युक्रेनबाट करिब आठ लाख मानिस भाग्न बाध्य भएका थिए । युएनएचसीआरले सन् २०२६ को सुरुदेखि नै नयाँ विस्थापन सङ्कटहरू थपिएको पनि जनाएको छ । फेब्रुअरीमा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरानमा मात्रै ३२ लाख मानिसले घर छोड्नुपरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी लेबनानमा मार्चयता भएका इजरायली आक्रमणका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । प्रतिवेदनले इरान र लेबनानको द्वन्द्वका कारण धेरै शरणार्थीहरू सिरिया र अफगानिस्तानजस्ता कठिन परिस्थितियुक्त देशमा समेत फर्किन बाध्य भएको जनाएको छ । युएनएचसीआरले शरणार्थी पुनःस्थापनाको अवसर खुम्चिँदै गएको विषयमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छ । एजेन्सीका अनुसार हाल २९ लाख शरणार्थीलाई तेस्रो देशमा पुनःस्थापना आवश्यक छ । सन् २०२४ मा पुनःस्थापनाका लागि उपलब्ध स्थान एक लाख ८८ हजार ८०० पुगेको थियो । यो चार दशकयताकै उच्च स्तर थियो । तर सन् २०२५ मा यो सङ्ख्या घटेर ८१ हजार ८०० मा सीमित भयो । विशेषगरी संयुक्त राज्य अमेरिकाले स्वीकार गर्ने शरणार्थीको सङ्ख्या उल्लेखनीय रूपमा घटेका कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ । एजेन्सीले पुनःस्थापनाका उपलब्ध अवसर र वास्तविक आवश्यकताबीचको दूरी अझै बढ्दै गएको चेतावनी दिएको छ । स्वयं पूर्व शरणार्थीसमेत रहेका सालिहले जबरजस्ती विस्थापन अहिले वर्षौं र दशकौँसम्म लम्बिने समस्या बन्दै गएको बताए । उनका अनुसार हाल विश्वका करिब ७० प्रतिशत शरणार्थी दीर्घकालीन विस्थापनको अवस्थामा बाँचिरहेका छन् । उनले मानवीय सहायता मात्रै पर्याप्त नहुने उल्लेख गर्दै लाखौँ मानिसलाई दीर्घकालीन निर्भरताबाट बाहिर ल्याउन नयाँ अन्तर्राष्ट्रिय पहलमा सहभागी हुन देशहरूलाई आग्रह गरे । मानवीय सहायता आपत्कालीन अवस्थाका लागि बनाइएको व्यवस्था भएको र पुस्तौँसम्म मानिसलाई त्यसैमा निर्भर राख्ने उद्देश्य कहिल्यै नरहेको उनको भनाइ थियो । युएनएचसीआरको नयाँ पहलले आगामी दशकभित्र दीर्घकालीन विस्थापनमा रहेका शरणार्थीहरूको सङ्ख्या आधा घटाउने लक्ष्य राखेको छ । त्यसका लागि स्वेच्छिक फिर्ती, पुनःस्थापना, मानवीय भिसा तथा दिगो बसोबासका अवसर विस्तार गरिने योजना छ । यस्तो प्रयासले लाखौँ विस्थापितलाई स्थायी र सम्मानजनक भविष्यतर्फ लैजान सक्ने विश्वास एजेन्सीले व्यक्त गरेको छ । रासस
इरानमा ट्रम्प र नेतन्याहूको रणनीति किन फेल खाँदैछ ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विश्वास थियो कि इरानमाथिको विजयले सम्पूर्ण मध्यपूर्वलाई बदल्नेछ । यो क्षेत्र परिवर्तन त हुँदैछ, तर त्यसरी होइन जसरी अमेरिका र इजरायलले सोचेका थिए । इस्लामी गणतन्त्र इरान अझै पराजित भएको छैन । इरानी शासनलाई परास्त गर्नु ट्रम्प र नेतन्याहूको सोचभन्दा कयौं गुणा बढी कठिन साबित भएको छ । उनीहरूको आकलन एकदमै गलत साबित भयो र अहिले भइरहेका परिणामहरूमा दुवै देशको कुनै नियन्त्रण रहेन । इरानले अमेरिकी अपाचे हेलिकप्टर खसाल्नु यसको ताजा उदाहरण हो । यो यस्तो घटना हो, जसले इरानका शासकहरू अझै पनि अमेरिकीहरूलाई चोट पुर्याउन सक्छन् र यस युद्धको विजेता बनेर निस्कने आफ्नो संकल्पबाट पछि हट्ने नहट्ने देखाउँछ । आफ्नो अस्तित्व कायम रहनु र रणनीतिक रूपमा विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक, हर्मुज स्ट्रेटमाथिको नियन्त्रणलाई मान्यता मिल्नु इरानका लागि विजयको अर्थ हो । इरानले आफूलाई सजिलै दबाउन नसकिने अमेरिका र इजरायललाई प्रष्ट पारिसकेको छ । यद्यपि, अहिलेसम्म असफल रहेको कूटनीतिक प्रक्रियाको सम्भावना पनि बाँकी राखेको छ । एउटा पुरानो पाठ ट्रम्प इरानसँग एउटा सम्झौताको दाउ लगाइरहेका छन् ताकि हर्मुज स्ट्रेटलाई पुनः खोल्न सकियोस् र ठूला मुद्दाहरूमा दीर्घकालीन वार्ता सुरु हुन सकोस् । जसको सुरुवात इरानको संवर्धित युरेनियमको भण्डार र उसको व्यापक आणविक कार्यक्रमबाट होस् । अमेरिकी जनताले यो युद्धलाई मन पराएका छैनन् । साथै ट्रम्प पनि जितको रूपमा आफूलाई प्रस्तुत गर्न सकिने कुनै बाटोको खोजीमा छन् । यो उनका लागि निकै कठिन चुनौती साबित भइरहेको छ । ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू एउटा पुरानो पाठ सिकिरहेका छन् । जबदेखि मानव सभ्यताले युद्धको कला र अभिशाप पत्ता लगायो तब नेताहरूलाई थाहा भयो कि युद्ध सुरु गर्न सजिलो हुन्छ, तर त्यसलाई क्लिन तरिकाले जितका साथ अन्त्य गर्न कयौं गुणा कठिन हुन्छ । जब फेब्रुअरीको अन्तिम दिन उनीहरूले आफ्ना देशहरूलाई इरानसँगको युद्धमा होमेका थिए, तब दुवैले भिडियो वक्तव्य जारी गरेका थिए । उनीहरूका शब्दहरूबाट कुनै ऐतिहासिक परिवर्तन आउन लागेको झलक देखिन्थ्यो । सन् १९७९ मा शाहको सत्ताच्यूत भएदेखि इरानमा शासन गरिरहेको त्यो शासन व्यवस्था अब अन्त्यतर्फ अघि बढिरहेको थियो । बिहानको प्रारम्भिक घण्टाहरूमा फ्लोरिडास्थित आफ्नो रिसोर्ट मार–ए–लागोमा ट्रम्पले जनवरीमा इरानी शासनका विरोधीहरूसँग गरेको प्रतिज्ञा दोहोर्याएका थिए । ‘आज राति म इरानका महान र स्वाभिमानी जनतालाई भन्दैछु कि तपाईंहरूको स्वतन्त्रताको समय आएको छ । सुरक्षित रहनूहोस् । घरबाट बाहिर ननिस्कनूहोस् । बाहिर धेरै खतरा छ । जताततै बम खस्नेछन् । जब हामी आफ्नो काम समाप्त गर्नेछौं, तब आफ्नो सरकारमाथि कब्जा गर्नूहोला । त्यो तपाईंहरूको हुनेछ । यो सायद तपाईंहरूका लागि कयौं पुस्तामा मिल्ने एकमात्र अवसर हुनेछ,’ उनले भनेका थिए । भोलिपल्ट बिहान तेल अभिभको केन्द्रमा रहेको इजरायलको अग्लो रक्षा मन्त्रालय भवनको छतमा घाममा उभिएर नेतन्याहूले आफ्नो सम्बोधन रेकर्ड गरे । ट्रम्प जस्तै उनले पनि यसरी कुरा गरे मानौं जित निश्चित छ । ‘सेनाहरूको यो गठबन्धनले हामीलाई त्यो गर्ने क्षमता दिन्छ, जसको म ४० वर्षदेखि कामना गरिरहेको थिएँ, आतंकवादी शासनलाई जरैदेखि उखालेर फ्याँक्नू । मैले यही वाचा गरेको थिएँ र हामी यही गर्नेछौं,’ उनले भनेका थिए । गल्ती कहाँ भयो ? आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा नेतन्याहूले यही भन्दै आएका छन् कि इजरायलका लागि वास्तविक खतरा इरानबाट छ, न कि प्यालेस्टिनीहरू वा आफ्ना अरब छिमेकीहरूबाट । उनले अन्य अमेरिकी राष्ट्रपतिहरूलाई इरानमाथि हमला गर्नका लागि साथ ल्याउने प्रयास गरे, तर असफल रहे । ट्रम्प फरक थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमला गरेपछि अर्थात् दुई वर्षभन्दा बढी समयदेखि नेतन्याहू इजरायलीहरूलाई भन्दै थिए कि अमेरिकाको सहयोगले उनीहरूको सेनाको ताकतले शत्रुहरूलाई परास्त गर्नेछ र सुरक्षित भविष्य लिएर आउनेछ । उनका अनुसार जवाफ ताकत थियो, कूटनीति होइन । नेतन्याहूको हाउभाउ यस्तो थियो, मानौं उनको समय आएको होस् । यसको विपरीत जब सोमबार ट्रम्पले उनलाई बेरुतमा हमला गर्ने योजना रद्द गर्न भने र उनी क्यामेराको अगाडि आए, तब इजरायलको प्रमुख अखबारका स्तम्भकार बेन कास्पितले लेखे कि उनी एउटा थिचिएको (हावा फुस्किएको) बेलुन जस्ता देखिइरहेका थिए । कास्पित प्रधानमन्त्रीका सबैभन्दा प्रखर आलोचकहरूमध्ये हुन् । तर यो प्रष्ट छ कि क्षेत्रलाई आफ्नो इच्छाअनुसार झुकाउनका लागि बल प्रयोग गर्ने नेतन्याहूको रणनीति असफल भइसकेको छ । ट्रम्पलाई चाँडै जितको आशा थियो । उनले खुसी हुँदै हेरेका थिए कि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई अपहरण गर्यो, उनीहरूलाई न्यूयोर्कको जेलमा हाल्यो र काराकासमा आफ्नो अनुकूलको उत्तराधिकारी स्थापित गर्यो । उनको हिसाबले यो किताबहरूमा दर्ता गर्न लायकको ‘शासन परिवर्तन’ थियो । जुन इराक र अफगानिस्तानमा उनका पूर्ववर्तीहरूका तर्फबाट लडिएका अनन्त युद्धहरूभन्दा कयौं गुणा राम्रो थियो । इरान सूचीमा अर्को थियो। दुवैले सोचिरहेका होलान् कि गल्ती कहाँ भयो । अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना छ । इजरायल मध्यपूर्वको महाशक्ति हो । खाडी देशहरूको नोक्सानी ट्रम्प र नेतन्याहूले देखेका थिए कि इरानको शासन प्रतिबन्ध, कुव्यवस्थापन र भ्रष्टाचारबाट पैदा भएको आर्थिक संकटसँग जुधिरहेको थियो । इजरायलले उसका सहयोगीहरू, गाजामा हमास र लेबनानमा हिजबुल्लाहलाई ठूलो नोक्सान पुर्याएको थियो । उसको अर्को महत्त्वपूर्ण सहयोगी, बसर अल असद, सिरियाको राष्ट्रपति पदबाट हटाइएका थिए र मस्को भागेका थिए । जनवरीमा इरानी शासनले आफ्नो विरुद्ध भएका ठूला प्रदर्शनहरूलाई दमन गर्दै हजारौं इरानी नागरिकहरूलाई मारेको थियो । अमेरिका र इजरायलले इस्लामी शासनको दृढता र बाठोपनलाई नजरअन्दाज गरे । उनीहरूलाई विश्वास थियो कि यसका सर्वोच्च नेता र उनका सबैभन्दा निकटतम सहयोगीहरूलाई मार्नाले शासन भित्रैबाट ढल्नेछ । त्यसैगरी, उनीहरूले त्यस शासनविरुद्ध सैन्य तागतको प्रभावलाई अझ बढी नजरअन्दाज गरे, जसले लगभग ५० वर्षदेखि बारम्बार खतराहरूको सामना गर्दै आएको छ । अमेरिकाका सहयोगी खाडीका तेल उत्पादक देशहरू युएई र बहराइनले ठूलो नोक्सानी बेहोरिरहेका छन् । उनीहरूले आफ्नो भविष्य खाडीको स्थिरता र अरबौं डलरको व्यापारमा टिकाइराखेका थिए । सम्भावित लगानीकर्ता र पर्यटकहरूले युद्धले त्यो दृष्टिकोणलाई मृगतृष्णामा बदलिरहेको देखिरहेका छन् । इरानको विश्वास छ कि आफ्नो अस्तित्व जोगाउन उसले सजिलै हर्मुज स्ट्रेट बन्द गर्न र छिमेकी अरब राष्ट्रहरूमाथि हमला गर्न सक्छ । यसरी विश्व अर्थतन्त्रलाई दबाबमा राख्ने आफ्नो क्षमतालाई इरानले अमेरिका र इजरायलविरुद्ध दीर्घकालीन रणनीतिक शक्तिका रूपमा प्रयोग गर्न चाहन्छ । असाधारण कूटनीतिक सफलताको आवश्यकता इजरायल र अमेरिकाको आक्रमणमा मारिएका पुराना इरानी नेताहरूको ठाउँमा अहिले नयाँ नेताहरू आएका छन् । सोच्ने तरिकामा यी नयाँ नेताहरू पनि पुराना जस्तै छन्, तर एउटा कुरामा भने धेरै फरक छन् । उनीहरू देश बचाउनका लागि पुराना नेताहरू भन्दा धेरै ठूलो जोखिम मोल्न तयार छन् । उनीहरूको बुझाइमा अब अमेरिका वा इजरायलको आक्रमणलाई भाषण वा चेतावनी दिएर रोक्न सकिँदैन । त्यसैले उनीहरू जस्तालाई त्यस्तै जवाफ फर्काउन चाहन्छन् । उनीहरू संसारलाई यो देखाउन चाहन्छन् कि यदि अब इरानमाथि फेरि हमला भयो भने त्यसको नतिजा एकदमै भयानक र खतरनाक हुनेछ । इरानको रणनीतिको एउटा महत्त्वपूर्ण हिस्सा हो—लेबनानको युद्धलाई खाडीको युद्धसँग जोड्नु । इरानी शासनले ट्रम्पलाई सन्देश दिइसकेका छन् कि यदि इजरायलले लेबनानमाथि बमबारी जारी राख्छ र हिजबुल्लाहलाई नष्ट गर्ने प्रयास गर्छ भने उनीहरूले कुनै पनि प्रकारको सम्झौताको आशा राख्न सक्दैनन् । हिजबुल्लाह एउटा मिलिसिया र राजनीतिक आन्दोलन हो, जसलाई इरानले सन् १९८० को दशकदेखि इजरायलविरुद्ध अग्रिम रक्षापंक्तिको रूपमा तयार गरेको छ । ट्रम्पले इजरायललाई बेरुत (लेबनान) मा हमला गर्नबाट रोके । उनलाई लागेको थियो कि चाँडै नै एउटा शान्ति सम्झौता हुन सक्छ (यद्यपि यस्तो दाबी पहिले पनि गलत साबित भइसकेको छ) । ट्रम्पको यो कदमले के देखाउँछ भने लेबनानको युद्ध र खाडी क्षेत्रको तनाव यी दुवै कुराहरू आपसमा जोडिएका छन् र एउटालाई शान्त नपारी अर्को रोकिँदैन । इजरायलका प्रधानमन्त्री नेतन्याहूले यी दुई कुरा आपसमा जोडिएको कुरालाई मान्न अस्वीकार गर्छन् । उनले यसलाई असह्य र पूर्ण रूपमा गलत भने । नेतन्याहूको मुख्य उद्देश्य इरानको सत्तालाई पूर्ण रूपमा कमजोर बनाउनु हो र उनी त्यतिन्जेल युद्ध लडिरहन चाहन्छन् । तर, ट्रम्प भने नेतन्याहूको यो अडानभन्दा माथि उठेर आफ्नै फाइदा र युद्ध रोक्ने कुरालाई प्राथमिकता दिइरहेका छन् । नेतन्याहूँले बेरुतको हमला त रोके, तर इजरायली सेनाले दक्षिणी लेबनानमा भने लगातार ठूला आक्रमणहरू गरिरहेकै छ । गएको मार्च महिनामा हर्मुज स्ट्रेट बन्द भएको थियो । त्यतिबेला नै चेतावनी दिइएको थियो कि यदि यो जुनसम्म बन्द रह्यो भने संसारभरिको अर्थतन्त्रमा ठूलो धक्का लाग्नेछ । अमेरिका र इजरायलले इरानमाथि हमला गर्नुअघिसम्म यो बाटो खुला थियो, तर अहिले पनि यो बन्द नै छ । अब कुनै ठूलो र जादूमयी कूटनीतिक सहमति भएन भने यो बाटो तत्कालै खुल्ने सम्भावना निकै कम छ । अमेरिकी आक्रमणपछि इरानको प्रतिकार, अस्थायी शान्ति सम्झौताको सम्भावना झन् टाढा इरान युद्धको १०० दिन : विश्वव्यापी बजार र अर्थतन्त्र कसरी प्रभावित भए ? इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ? मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी इरान र अमेरिका युद्धविरामको सहमति नजिक तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति