डाक्टर लाइसेन्स खुल्यो, मंसिर ८ गतेसम्म फारम भर्न सकिने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको आवेदन खुलाएको छ । काउन्सिलले कात्तिक ९ गतेदेखि मंसिर ८ गतेसम्म आवेदन फारम खुलाएको हो । फारम अनलाइनबाटै भर्न सकिने काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार अनलाइनबाट मात्रै आवेदन बुझाउन सकिनेछ । एमबिबिएस, बिडिएस वा सो सरह अध्ययन गरेको व्यक्तिले ६ महिना इन्टर्नसिप गरेको हुनुपर्नेछ । यसैगरी विदेशबाट अध्ययन गर्ने व्यक्तिको हकमा १ वर्ष इन्टर्नसिपको प्रमाणपत्र आवश्यक पर्नेछ । आवेदन बिदाको दिनमा पनि दिन सकिनेछ । मंसिर ९ र १० गते भने दोब्बर शुल्कमा आवेदन दिन सकिने काउन्सिलले जानकारी दिएको छ । फारम www.nmc.org.np मा गर्इ भर्न सकिनेछ ।

नाडेप लघुवित्तकाे सीईओमा उपेन्द्रबहादुर कार्की, मंसिर १ गतेदेखि लागू हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी कार्यकारी अधिकृतमा कार्कीलाई नियुक्त गरेको हो । नवनियुक्त कार्कीले आगामी चार वर्षसम्म संस्थाको कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले असोज २५ गतेदेखि बैंकको नायवप्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । बैंकिङ् क्षेत्रमा १८ वर्षभन्दा बढिको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केहि समय व्यवस्थापन समूहको संयोजकको रुपमा रहेका थिए । ढकाल तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए । साथै, उनीसंग विभिन्न संघसंस्थाहरुको संचालक समितिमा रहि कार्य गरेको अनुभव समेत रहेको छ । नवनियुक्त नायब सीईओ ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुन् ।