प्लान इन्टरनेशनलका ७६ कर्मचारी बर्खास्त, बालबालिकाको हितमा काम गर्ने संस्थाभित्र कर्मचारी शोषण

काठमाडाैं । प्लान इन्टरनेशनल नेपालमा कार्यरत ७६ जना कर्मचारी बर्खास्त भएका छन् । संस्थामा कार्यरत विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजक पदमा कार्यरत कर्मचारी स्काइप बैठकमा डोनर एजेन्सीले बर्खास्तको निर्णय सुनाएको पीडित कर्मचारीले बताएका छन् । पूर्व सूचना बिना २४ अक्टोबर तारिक मध्यान्नको स्काइप बैठकमा एक्कासी गैरकानूनी, अपमानजनक र अन्यायपूर्ण ढंगले वर्खास्तको निर्णय सुनाएको र ३१ डिसेम्बरदेखि लागूू हुने गरी बर्खास्तीको पत्रसमेत दिएको पीडितहरुले बताएका छन् । संस्थामा १० देखि २० वर्षसम्म कार्यरतस्थायी कर्मचारीहरूलाई संस्थाको पुनर्संरचनाको नाममा अन्यायपूर्ण तरिकाले बर्खास्त आफूहरुको आत्मसम्मानमा चोट पार्नुको साथै नेपालको प्रचलित कानूनको ठाडो उल्लंघन भएको प्लान इन्टरनेशनलका कर्मचारीको गुनासो छ । प्लान इन्टरनेशनलले कर्मचारीहरूसँग समझौता गर्दा ‘नियमित र स्थायी कर्मचारी’ भनी भनिएको छ तथा स्वतः अवकाश हुने उमेर ६२ वर्ष तोकिएको बताइएको छ । एकतिर पद नै आवश्यक नभएको भन्ने तर अर्कातिर विद्यमान स्थायी कर्मचारीहरूलाई बर्खास्त गरी सोही पदमा बाहिरबाट व्यक्तिहरूलाई तत्कालै बहाल गरिएको कर्मचारीको दावी छ । यसमा उच्च व्यवस्थापनमा संलग्न स्वेच्छाचारी निर्णयका पक्षपोषक विदेशी मूलका नेपालका लागि डाइरेक्टर र तिनका सीमित नेपाली दलाल कर्मचारीहरूको चलखेल र मिलेमतो भएको उनीहरुको आरोप छ । कर्मचारी बर्खास्त गर्ने सो संस्थाको निर्णय प्रचलित श्रम ऐन २०७४ दफा १४५ विपरीत उनीहरुको निष्कर्ष छ । यस अघिसमेत प्लान इन्टरनेशनल नेपालले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरूलाई संस्थाबाट निष्कासन गरेको र पूर्ण कार्यअवधिको क्षतिपूर्ति नदिएको र त्यसको मुद्दासमेत अहिले सर्वोच्चमा चलिरहेको र पैसा तथा पावरको भरमा यस संस्थाले सरकारी तथा न्यायिक निकायलाई समेत प्रभावित गर्ने गरेको सम्बन्धित कर्मचारीहरू बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने यस संस्थाको उच्च व्यवस्थापनले नेपालमा गरेका धेरै कार्यहरु विवादमा पर्दै आएका छन् । कर्मचारी कटौतीको निर्णयका विरुद्घ पीडित कर्मचारीहरू प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यालयमा चरणवद्ध, शान्तिपूर्ण तथा अनिश्चितकालीन विरोधका कार्यक्रम संचालन गरिरहेका छन् ।

जनता बैंककाे स्वतन्त्र संचालकमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् । बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सैंजु नियुक्त भएकै दिन पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट वि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी थिइन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।

गैँडाकोटस्थित सहकारीबाट १२ करोड मुनाफा, नेपालमा पहिलो पटक एटीएम सेवा शुरु

काठमाडौं । दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आवमा ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा आर्जन गरेको छ । २०४८ साल भदौमा २६ शेयरधनीबाट शुरु भएको सहकारीले गत वर्ष कूल पूँजी तीन अर्ब ५३ करोड पुर्याएको छ । संस्थाका अध्यक्ष केशव सापकोटाका अनुसार सहकारीले दुई अर्ब ५६ करोड लगानी गरेको छ । निक्षेप रु दुई अर्ब ६५ करोड सङ्कलन गरेको सहकारीमा शेयरपूँजी मात्रै ३१ करोड ५० लाख पुगेको छ । ४५ हजार सदस्य रहेको उक्त संस्थाको मुख्य कार्यालय गैँडाकोटमा रहेको छ । ११ वटा सेवा केन्द्र रहेका सहकारीमा मानव संसाधन विभाग प्रमुख रामप्रसाद भुषालका अनुसार विभिन्न कोषमा मात्रै २७ करोड २५ लाख १० हजार रहेको छ जसमध्ये जगेडा कोषमा १३ करोड ३५ लाख रहेको जनाएका छन् । सहकारीले नेपालमै पहिलो पटक एटिएम सेवासमेत शुरु गरेको छ । भुषालका अनुसार सोही एटिएम कार्डबाट शेयरधनीले नेपाल, भारत र भूटानका बैंकहरुबाट पैसा निकाल्न पाउने भएका छन् । सहकारीले मिसकल, ट्याबलेट, स्मार्ट मोबाइल बैंकिङ, नगदरहित सेवा विस्तार गरिरहेको छ । अध्यक्ष सापकोटाका अनुसार जन्मदेखि मृत्युसम्म भन्ने नारालाई परिमार्जन गरी कोखदेखि चितासम्म भन्ने नारासाथ शेयरधनीलाई सेवा दिइरहेको जानकारी दिएका छन् । रासस