एनआईसी एशिया लघुवित्तको सञ्चालकमा बलराम पौडेल, ३९ वर्षको बैंकिङ अनुभव

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूह प्रतिनिधित्व गर्ने सञ्चालक पदमा बलराम पौडेललाई नियुक्त गरेको छ । आइतबार सम्पन्न बैठकले ललितपुर निवासी पौडेललाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उक्त पदमा यसअघि शशांक अग्रवालले प्रतिनिधित्व गर्दै आएका थिए । नयाँ सञ्चालक पौडेलको नियुक्तिसँगै संस्थाले लिएको दीर्घकालीन लक्ष्यमा थप ऊर्जा मिल्ने विश्वास लिइएको छ । पौडेलसँग करिब ३९ वर्षको बैंकिङ तथा लघुवित्त क्षेत्रको अनुभव छ । उनले नेपाल सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सञ्चालित 'ग्रामीण उद्यम तथा रेमिट्यान्स परियोजन' मा प्रशिक्षण विशेषज्ञको रूपमा कार्य गरेका थिए । साथै, सिभिल लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक र साना किसान विकास बैंक लगायतका संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । समाजशास्त्रमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त पौडेलको अनुभव र नेतृत्व क्षमताले एनआईसी एशिया लघुवित्तलाई अझ सशक्त र अग्रणी संस्था बनाउनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तको सीईओमा हरिकृष्ण जोशी पुनःनियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिकृष्ण जोशीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । वित्तीय संस्थाको वैशाख २ गते बसेको बैठकको निर्णयअनुसार भानु नगरपालिका–११ स्थायी ठेगाना भएका जोशीलाई आगामी ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गरिएको हो । जोशीको दोस्रो कार्यकाल आगामी वैशाख १५ गतेदेखि लागू हुने संस्थाले जानकारी दिएको छ । जोशीको नेतृत्वमा संस्थाले अघिल्लो कार्यकालमा सन्तोषजनक प्रगति गरेकाले पुनः नियुक्ति गरिएको बताइएको छ । ग्लोबल आइएमई लघुवित्त ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा सक्रिय रहेको संस्थामध्ये एक हो ।

समृद्धि फाइनान्सका सीईओ सन्तोष घिमिरेले गरे पदभार ग्रहण

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले पदभार ग्रहण गरेका छन् । मंगलबार अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथ ग्रहण गर्दै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । संस्थाको फागुन २८ गते बसेकाे सञ्चालक समितिको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो । उनले यसअघि नेपाल राष्ट्र बैंकमा तीन दशक सेवा गरी अवकाश प्राप्त गरेका थिए । त्यस्तै, गोर्खाज फाइनान्स लिमिटेडमा पनि सीईओको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल राष्ट्र बैंकमै कार्यरत रहँदा समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुखको जिम्मेवारी पनि सम्हालेका घिमिरेसँग नियामक निकायदेखि वित्तीय संस्थासम्मको अनुभव छ । उनको अनुभव, नेतृत्व क्षमता र दूरदर्शिता समृद्धि फाइनान्सलाई आगामी दिनमा अझ सशक्त र स्थायीतर्फ उन्मुख गराउने संस्थाको विश्वास छ । संस्थाले आफ्नो वित्तीय सेवा विस्तार र व्यवसायीक समृद्धिका लागि घिमिरेको नियुक्तिलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरेको छ ।