आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त खुला
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको एक विज्ञ सदस्यको पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पद खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट भरिने भएकाले इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । आवेदन सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयभित्र बुझाउन सकिनेछ । दरखास्त दिनको लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्ने र सार्वजनिक निकायसँग सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको विज्ञता प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी, उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नठहरिने व्यक्ति मात्र योग्य हुनेछन् । उमेर हदको सन्दर्भमा, दरखास्त दिनको मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले मन्त्रालयको वेबसाइटमा प्रकाशित निर्देशिकाको अनुसूची २ अनुसारको ढाँचामा दरखास्त भर्नुपर्नेछ । साथै, दुई प्रति पासपोर्ट साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, अनुभव सम्बन्धी प्रमाणपत्र तथा स्वघोषणा फाराम आफैँले प्रमाणित गरी पेश गर्नुपर्नेछ । मन्त्रालयले समयमै आवश्यक सबै कागजातहरू संलग्न नगर्ने दरखास्त स्वीकृत नहुने स्पष्ट पारेको छ ।
गोर्खाज फाइनान्सको कामु सीईओमा दिपक न्यौपाने
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले दिपक न्यौपानेलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिन निर्णय गरेको हो । वित्तीय संस्थामा हाल कार्यकारी प्रमुख पद रिक्त रहेको छ भने हालसम्म कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका मुकुन्द श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि उक्त जिम्मेवारी न्यौपानेलाई दिइएको हो । नवनियुक्त न्यौपाने विगत तीन वर्षदेखि गोर्खाज फाइनान्समा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्मको शैक्षिक योग्यता हासिल गरेका न्यौपानेलाई वित्तीय क्षेत्रको करिब एक दशकको अनुभव छ । उनले विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुखको भूमिका निर्वाह गर्नुका साथै लेखापरीक्षण फर्महरूमा समेत काम गरेका छन् ।
समता घरेलु लघुवित्तको सीईओ बने डा. मदन घिमिरे
काठमाडौं । समता घरेलु लघुवित्त वितिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. मदन घिमिरे नियुक्त भएका छन् । लघुवित्तको २२ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सचिव विश्वराज श्रेष्ठले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत उनको नियुक्तिको जानकारी गराएका हुन् । उनकाअनुसार डा. घिमिरेको कार्यकाल आगामी वैशाख १ गतेदेखि सुरु भई चार वर्षका लागि रहनेछ ।