सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त
काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् । एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए । रिक्त स्थानमा प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो । ‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेवन्तक पोखरेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई दिइएको छ । शरद ओझा निलम्बनमा परेपछि सरकारले बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । प्राधिकरणका अध्यक्ष ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेपछि उनी निलम्बित भएका हुन् । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा कपिलदेव ओली र जीवन प्रकाश सिटौला सदस्य रहेका छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।
महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २० गते बसेको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम नियुक्त भएका ठाकुरसँग बैंकिङ, बीमा तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ । उनले नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) मा प्रमुख कार्यकारी अधिकृत, साथै मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड जस्ता संस्थामा बोर्ड सदस्यको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । ठाकुरले आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमबीच पदबहाली गरेका छन् । सो अवसरमा बैंक सञ्चालक समिति सदस्यहरूले उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बैंकको संस्थागत सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।