लक्ष्य, चुनौती र आगामी योजना समेटेर एनआईसी एशिया लघुवित्तको प्रदेश समीक्षा गोष्ठी सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेशस्तरीय बजेट समिक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गतेसम्म बाँकेको कोहलपुरमा सम्पन्न गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूबाट १२१ जना प्रतिनिधिहरूको सहभागिता थियो । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट प्रदर्शन गर्न सफल कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न प्रेरित गरेका थिए । सो अवसरमा नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, प्रतिबद्धता र दक्षताको आवश्यकता औंल्याउँदै अगाडि बढ्नुपर्ने बताएका थिए । विभागीय प्रमुखहरू राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले पहिलो त्रैमासिक अवधिमा आफ्ना विभागहरूले हासिल गरेका उपलब्धि प्रस्तुत गर्दै चालु त्रैमासका लागि कार्ययोजना सार्वजनिक गरेका थिए । गोष्ठीमा पहिली त्रैमासिक उपलब्धि, देखिएका चुनौती, सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो । साथै, दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा गहन छलफल गरिएको संस्थाले जनाएको छ । गोष्ठीले कर्मचारीहरूलाई थप उत्प्रेरणा, उत्साह र जिम्मेवारीका साथ काम गर्न प्रोत्साहित गर्ने र शाखा सञ्चालन सुधार तथा सेवा गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले लिए शपथ
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सोमबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ गराएका हुन् । नेपाल सरकारले कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।
कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले ३२ लाख ६८ हजार २०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २० गते कृषि विकास बैंकको सभाहल रामशाहपथ काठमाडौंमा बिहान ११:३० बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, सञ्चालक समिति गठन गर्नेछ । कृषि विकास बैंकका कर्मचारी र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरूको संचय कोषको रकम तथा अन्य पुँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरूको धितोपत्र तथा ऋृणपत्रहरू र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यका साथ विसं २०५० चैत २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विसं २०५० चैत ३० गतेदेखी संचालनमा आएको हो ।